७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

अनलाइन गेमले लिन सक्छ ज्यान

इन्टरनेट, स्मार्टफोन र ट्याब्लेटहरूको बढ्दो प्रयोगले जीवन सहज बनाएको त छ । तर, केही जटिलता पनि थपिरहेको छ । यसले प्रयोगकर्तालाई डिप्रेसन, अपराध र आत्महत्या बढाउन पनि उत्तिकै बाध्य बनाएको छ।

केही वर्षदेखि अनलाइनमा आएका विभिन्न खेलप्रति किशोरकिशोरीको रुचि बढिरहेको छ । र, उनीहरू ती खेलप्रति अम्मली भइरहेका छन् । तर, केही यस्ता खतरनाक खेल पनि छन्, जसले किशोरकिशोरीलाई आत्महत्या गर्न प्रेरित गरिरहेको छ।

केही वर्षअघि किशोरकिशोरीका माझमा एउटा ज्यानमारा खेल चर्चित भयो । विशेष गरी किशोरावस्थामा रहेकाहरू आकर्षित हुने त्यो खेल न गुगलको प्ले स्टोरमा डाउनलोड गर्न सकिन्थ्यो, न एप्पलको एप स्टोरमा । सामाजिक सञ्जालमा भएका गोप्य समूहबाट लिंक आदानप्रदान गरेर खेल्न सकिने त्यो खेलमा विभिन्न चरणहरु थिए । ब्लेडमा हातमा काटेर त्यसको फोटो क्युरेटरलाई पठाउने, बिहान ४ः२० मा उठेर क्युरेटरले पठाएका डरलाग्दा भिडियोहरू हेर्ने, विहानै उठेर घरको छतमा जाने, दिनभर कसैसँग नबोल्ने र अन्तमा अग्लो भवनबाट हाम फालेर आत्महत्या गर्ने जस्ता त्यो खेलका विभिन्न चरण थिए । त्यो खेलबाट संसारभर एक सय ५० भन्दा धेरै किशोरकिशोरीले ज्यान गुमाए भने छिमेकी मुलुक भारतका केही किशोरकिशोरी पनि यसको सिकार भए।

पछिल्लो समयमा यस्तै अर्को ज्यानमारा खेल साइबर संसारमा फैलिएको छ । किशोरकिशोरीमाझ ह्वाट्सएपबाट फैलिइरहेको यो खेलका कारण अर्जेन्टिनामा एक १२ वर्षीया किशोरीले ज्यान गुमाएकी थिइन् ।

पछिल्लो समयमा यस्तै अर्को ज्यानमारा खेल साइबर संसारमा फैलिएको छ । किशोरकिशोरीमाझ ह्वाट्सएपबाट फैलिइरहेको यो खेलका कारण अर्जेन्टिनामा एक १२ वर्षीया किशोरीले ज्यान गुमाएकी थिइन् । गत साता मात्र भारतमा पनि यही ज्यानमारा खेलका कारण कक्षा १० मा पढ्ने १६ वर्षकी एक किशोरीले झुण्डिएर आत्महत्या गरेको दाबी गरिएको छ।

भारतमा स्थानीय प्रहरीले उनको आत्महत्यामा अनलाइन खेलको भूमिकाबारेमा अनुसन्धान गरिरहेका छन् । ती किशोरीका साथीहरूले उनले खेलिरहेको अनलाइन खेलको अन्तिम चरणमा पुग्नका लागि एकदम व्यग्र रहेको बताएको उल्लेख गरेका छन् । उनका भाइले पनि ती किशोरीले विद्यालयमा खाली समयमा पनि त्यो खेल खेलिरहेको देखेको बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले ती किशोरीले झुण्डिनुअघि हातको नाडी काटेको भेटिएको बताएका छन्।

यो ज्यानमारा खेल अमेरिका, अर्जेन्टिना, फ्रान्स, मेक्सिको, जर्मनी, भारतलगायतका विभिन्न देशका किशोरकिशोरीमाझ लोकप्रिय हुँदै गइरहेको छ । अनलाइन सुरक्षा विश्लेषकहरुले यही गतिमा यो खेल फैलिएमा यसले अघिल्लो खेलको तुलनामा अझ धेरै किशोरकिशोरीको जीवन जोखिममा पर्न सक्ने खतरा औंल्याएका छन्।

नेपालमा पनि किशोरकिशोरीमाझ यो खेलका लागि अनलाइनमा निमन्त्रणा आउन सक्ने र उनीहरू यसमा फस्न सक्ने सम्भावना छ ।  बाल मनोविज्ञानका क्षेत्रमा काम गर्ने धेरैले किशोरकिशोरी यो खेलको लतमा लागेको थाहा पाउन सक्ने केही लक्षणहरू पनि बताएका छन् । उनीहरूका अनुसार, यस्ता खेलहरूमा कडा नियम हुने भएकाले किशोरकिशोरीको व्यवहारमा अवलोकन गर्न सकिने खालका परिवर्तनहरू देखा पर्छन् । यो खेलमा सामेल भएपछि किशोरकिशोरीमा एक्लै रहन मन पराउने, साथी र परिवारसँग कम कुराकानी गर्ने वा कुराकानी गर्न बन्द गर्ने, घरबाट टाढा रहन सक्ने, खाने र सुत्ने बानीमा परिवर्तन हुने जस्ता लक्षणहरू देखा पर्न सक्ने उनीहरू बताउँछन्।

यो विषयमा सही जानकारी हुनु पनि एकदमै महत्वपूर्ण छ । कतिपय अवस्थामा आत्महत्याको पछाडि यस्ता खेलहरूको भूमिका स्पष्ट नभएको पनि प्रहरी अनुसन्धानहरूमा देखिन्छ । तर, जटिल अवस्था आउनुअघि नै यसबारे सचेत भएमा किशोरकिशोरीलाई यस्ता खेलहरूबाट टाढा राख्न सकिन्छ । अभिभावकले यी उपायहरू अपनाउँदा किशोरकिशोरीलाई अनलाइनमा सुरक्षित राख्न सहयोग पुग्छ।

१. आफ्ना बालबालिका र किशोरकिशोरीहरूले उनीहरूको उमेर सुहाउँदो अनलाइन साइटहरू प्रयोग गरिरहेको सुनिश्चित गर्नुहोस् । अनैतिक व्यवहार वा हिंसालाई प्रवद्र्धन गर्ने खालको साइटहरू र एप्लिकेसनहरू प्रयोग नगरुन् भनेर सचेत रहनुहोस्।

२. बालबालिकाले परिवारको सबैले पहुँच गर्न सक्ने स्थानमा राखिएको कम्प्युटरबाट इन्टरनेट प्रयोग गरिरहेको सुनिश्चित गर्नुहोस्।

३. आफ्ना बालबालिकासँग नियमितरूपमा कुराकानी गर्नुहोस् । आफूसँगै उनीहरूलाई राखेर अनलाइन सामग्रीहरु खोज्न सहयोग गर्नुहोस्।

४. तपाईंको बालबालिकाले प्रयोग गर्ने सबै साधनहरूमा ‘प्यारेन्टल कन्ट्रोल’ राख्नुहोस् । स्क्रिन समयको निरीक्षण गरी उनीहरूको अनलाइन गतिविधिमा नजर लगाइरहनुहोस्।

५. बालबालिकाहरूले अभिभावकको सिको गर्न रुचाउँछन् । त्यसैले, आफ्ना बालबालिकाका लागि आफू नमुना बन्ने प्रयास गर्नुहोस् । आफ्नो अनलाइन गतिविधिका बारेमा पनि सचेत हुनुहोस्।

६. इन्टरनेटमा भइरहेका पछिल्ला प्रवृत्ति र घटनाहरूको बारेमा आफूलाई अद्यावधिक राख्नुहोस्।

७. बालबालिकाको व्यवहारलाई नजिकबाट नियाल्नुहोस् । झर्किने, कम कुराकानी गर्ने वा बोलचाल नगर्ने, पढ्नमा कम रुचि राख्नेजस्ता असामान्य गतिविधिहरू देखिएमा उनीहरूको अनलाइन गतिविधिको निगरानी राख्नुहोस् । यसको बारेमा अन्य अभिभावक र विद्यालयका शिक्षकसँग पनि कुराकानी गर्नुहोस् । आवश्यक परेमा, बालमनोवैज्ञानिकसँग परामर्श पनि लिनुहोस्।

८. बालबालिका पहिले नै अनलाइनमा हुने ज्यानमारा खेलमा सामेल भएको पाइएमा वा अन्य अनलाइन हिंसाका गतिविधिमा संलग्न भएमा सम्झाइ बुझाइ ती खेल खेल्न वा गतिविधिमा सामेल हुनबाट तत्काल रोक्नुहोस्।

(एजेन्सीको सहयोगमा)

प्रकाशित: १६ भाद्र २०७५ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App