पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । कमाउनको लागि अनेक बाटो छन् । फरक यति हो, सानो–ठूलो नभनी कामको सम्मान गर्नपर्छ।
रसुवाकी यमुना तामाङले कामलाई सम्मान गरेकै कारण उनलाई भ्याइनभ्याइ छ । उनले गर्ने काम ‘सामान्य’ हो । तर, आम्दानी लोभलाग्दो छ।
उनी अरुको घरमा गएर भाडा माझ्ने, लुगा धुने, कुचो लगाउने काम गर्छिन् । यसबाट उनी मासिक २५ हजार रूपैयाँ कमाउँछिन् । ‘काम गर्नेलाई नेपालमा कामको खाँचो छ जस्तो लाग्दैन,‘ यमुनाले भनिन्, ‘अनि किन विदेश गइरहन पर्यो। विदेशमा गएर पनि नेपालीले राम्रो काम पाउने होइनन् । त्यहाँ गर्ने काम यहाँ गर्दा के फरक पर्छ । आखिर लाजले काज त टर्दैन्।’
यमुना एकल महिला हुन् । उनी एक्लीले अरुको घरमा काम गरेर दुई छोरालाई क्याम्पस पढाएकी छिन् । एक छोरी स्कुल पढाउँछिन् । यमुनाले चार जनाको परिवार रामै्रसँग धानेकी छन् । ‘चार घरमा भाँडा माझ्ने, कुचो लगाउनेजस्ता काम गर्छु,’ उनले भनिन्, ‘त्यही आम्दानीबाट घर खर्च चलाउने, छोराछोरी पढाइरहेकी छु।’
यमुनालाई एक मिनेट आराम गर्न मन लाग्दैन । फुर्सद भयो कि केही न केही आम्दानी हुने काम गरिहाल्छिन् । उनी चार घरको काम भ्याएर रहेको समयमा पानी बेच्ने काम गर्छिन् । यसरी व्यस्त रहँदा पनि यमुना बेखुसी छैनन्।
‘व्यस्त रहनु त मेरो खुसीको कुरा हो,’ उनले भनिन्, ‘जति व्यस्त भयो, त्यती आनन्द आउँछ।’
एकताका यमुनालाई पनि विदेश जाउझैं लागेको थियो । तर, विदेश गएर दुःख भोग्ने महिलाको दर्दनाक कथा सुन्दा भने उनको मनले विदेश रोज्न मानेन । हिजोआज पनि विदेशमा दुःख भोग्नेको कथा सुन्दा यमुनाको मन कुडिन्छ।
‘जे गरेको छु, ठीकै गरेछु जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘झन् अरुले राम्रो काम गरेको भनेर प्रशंसा गरिदिँदा खुसीले चुली छुन्छ।’
यमुना मात्रै होइन, यमुनाको जसरी कामलाई सम्मान गरेर जीविको चलाउनेहरू काठमाडौंमा धेरै छन् । त्यहीमध्येमा पर्छिन्, घट्टेकुलो बस्ने लमजुङकी लक्ष्मी भुजेल । उनलाई गाउँबाट काठमाडौं आउँदा कसरी पेट पाल्ने चिन्ता थियो।
जब उनले एउटा घरमा मासिक ३५ सय रूपैयाँ पाउने गरी काम पाइन्, यसपछि भने गाउँलाई सम्झिनुपरेको छैन । अहिले यसैगरी घरघरमा अरुको काम गरेर मासिक २० हजार रूपैयाँभन्दा बढी कमाउँछिन् । काममा सन्तुष्ट पनि छ उनलाई।
‘अफिसमा जस्तो १०–५ खट्नु पर्दैन,’ उनले भनिन्, ‘फुर्सद मिलाएर काम ग¥यो । बाँकी समय आफ्ना नानीबाबुलाई दियो।’
लमजुङकै विमला भुजेलको पनि कथा उस्तै छ । ११ वर्षको उमेरमा काठमाडौं आएकी बिमलाले लामो समय अरुको घरमा काम गरेर बिताएकी छन् । तर, उनी यमुना र लक्ष्मी जस्तो सन्तुष्ट भने छैनन्।
‘भाँडा माझेरै जिन्दगी बित्ने भयो भनेर चिन्ता लाग्छ,’ उनले भनिन्, ‘अर्कोतिर कामको पनि इज्जत हुँदैन ।’ यो हुँदाहुँदै पनि सोही काम गरेर जीविको भने धानिरहेकी छन्।
मध्य बानेश्वरमा तरकारी पसल गर्दै आएकी उदयपुरकी गोमा ढुंगाना पनि बिचलित छैनन् । उनले घरकै काम गरेर छोराछोरी पढाइन्।
‘हरेस नखानु नै मेरो सफलता हो,‘ उनले भनिन्, ‘हिजोको दिनमा अरुको घरमा काम गर्दै पढाएको छोरा आज क्याम्पस पढिरहेको छ । सानोतिनो जागिर समेत गर्छ।’
यतीबेलाचाहिँ गोमा तरकारी पसल गरिरहेकी छन् । काठमाडौंमा उनले कति दिन भोकै बिताएकी छन् । तर, आज गोमाले दुःखबाट पाठ सिक्दै सफलताको खुड्किलो टेक्ने क्रममा छिन् । ‘सानोतिनो काम भन्दै लाज मानेको भए आज मेरो हविगत हुने थियो,’ उनले भनिन्, ‘बाँच्नका लागि गलत बाटो रोज्नुभन्दा मेहनत गरेर अगाडि बढ्ने दृढताले नै आज यहाँसम्म आएकी हुँ।’
हिजोआज धेरैको लागि घरेलु काम जिविको धान्ने माध्यम बनेको छ । यसरी घरेलु काम गरेर जिविका चलाउनेहरू धेरै भेटिन्छन् । तिनै मध्येमा पर्छिन्, दोलखाकी गीता रोक्का । श्रीमान्को कमाइले मात्र घर धान्न नसकेपछि घरेलु काम रोजेकी गीता त्यही आम्दानीबाट यतिबेला घर चलाउने आधार बनाइरहेकी छिन् । तर, जाडोको मौसममा घरेलु काम गर्न चिसाले समस्या हुने भने गीता दुखेसो पोख्छिन् । दुःखै भए पनि काम गरेर जीविको चलाइरहेको कुरा भने उनी स्वीकार्छिन्।
घरमा काम लगाउने हिमा ओली चुडाली पनि महिलालाई काम दिन सकेकोमा खुसी व्यक्त गर्छिन् । ‘घरेलु काम गरेर धेरैले काठमाडौंमा गुजाराको माध्यम बनाएका छन्,’ चुडालीले भनिन्, ‘मैले पनि घरमा एक जनालाई काम दिएको छु । उनलाई कामदारको भन्दा पनि परिवारको रूपमा व्यवहार गर्छु । दसैंमा कपडा दिनेदेखि चाडपर्वमा मिठो खुवाउनेसम्म गर्छु।’
घरमा काम लगाउनेले परिवारको जस्तै व्यवहार गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो समाजमा घरको कामलाई काम भन्ने चलन छैन । मिलेर काम गरे महिलालाई मात्रै लोड पर्दैन । श्रीमान् श्रीमती दुवै अफिस जानु परेकाले पनि कतिपय परिवारले कामकाजी महिला राख्नुपरेको छ,’ उनले भनिन्, ‘यसरी कामदार राख्दा पारिवारिक व्यवहार र उसको समस्या पनि बुझ्न सके राम्रो हुन्छ।’
प्रकाशित: २५ श्रावण २०७५ ०६:३७ शुक्रबार





