८ वैशाख २०८१ शनिबार
अन्य

९ मुक्तक

असंख्य घाउ दिलाउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ
कहिले  जहर पिलाउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ
तपाई शत्रु हुनुहुन्छ या मित्र चिन्न सकिएन कहिल्यै  
खञ्जरले हिर्काउनु हुन्छ  र सुम्सुम्याउनु हुन्छ ।  
...
पहिले मन बनाउनु भो फेरि मदिरा बनाउनु भो
इश्वरले  मान्छेलाई यसरी चिरा चिरा बनाउनु भो
दुःखी छ मान्छे यश कारण पनि हरेक दिन यहाँ
कसैलाई पित्तल बनाउनु भो कसैलाई हिरा  !
...
धरतीको चिरा मिलेजस्तो कतै गरा मिले जस्तो
धड्कन मिलेजस्तो  धमनी  शिरा मिलेजस्तो
 प्रेममा त  जूनहरु पनि भेटिन्छ तारा पनि भेटिन्छ
यहाँ त  फुलसँग पुतली र भमरा मिलेजस्तो
...
हिँड्दा उकालो आउला कतै ओह्रालो आउला
जीवनको बाटो हो सम्म आउला कतै भिरालो आउला
ठेस लाग्ला, काँढाहरुले कोतर्ला लडिएला होस गर्नु
धैर्य गर्नू  हिंडिरहनू कुनैदिन तिम्रो पनि पालो आउला ।
...
मनको रङ्ग झनै गाढा गाढा हरियो छ
पिरतिको आँगन प्यारो फराकिलो छ
मेहन्दी र चुराका गीत फिका लाग्ने गरि
साउन आफैं हरियो छ सरगम सुरिलो छ ।  
...
आगो पानी तिमी नै हौ ओदान तिमी नै हौ
बिस्तारा र सिरानी हौ मचान तिमी नै हौ
पत्थरमा इश्वर खोज्ने रहर छैन मलाई  
जे जस्तो छौ मेरा निम्ति महान तिमी नै हौ ।
...
धेरै  मान्छे  धन कमाउन हिँडेका छन्
धेरै मान्छे पसिना खन्याउन हिँडेका छन्
पैसाकै दौड देखिन्छ हरेक पाइला पाइलामा
 धेरै मान्छे जहानका निम्ति रमाउन हिँडेका छन् ।
...
जिउँदोलाई काँडा लासलाई फूल चढाइदिन्छन
नाङ्गोलाई  पत्थर,पत्थरलाई तुल चढाइदिन्छन
सम्बन्धको लत रहुन्जेल रहेछ बाँच्न सजिलो
लत छुटेपछि आफैंले आफैंलाई शुल चढाइदिन्छन् ।
...
बाँचुन्जेल तिरस्कार मरेपछि सम्मान किन ?
सुत्न दिन्नौ बाचुन्जेल मर्दा सैया दान किन
एइया एइया भन्दासम्म हुन्न कोही के भो भन्ने
मरेपछि शोक तर्पण भव्य जलपान किन ??

 

प्रकाशित: ५ श्रावण २०७५ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App