२८ श्रावण २०७७ बुधबार
अन्य

खप्तड : एक तान्त्रिक रात्रिभोज

 भोजको निम्तो
    अच्छा गुरुले यसो गर्नु पर्यो ।  
    कसो गर्नु पर्यो ?
   ‘खप्तड काव्य यात्रा’मा मिसिनु पर्यो।

जिन्दगीमा यी ३ कुराको निम्तो नटार्नू भनि म आफैलाई बेलाकुबेला सम्झाइरहन्छु : घुमघाम, दारुपानी अनि प्यार । घुमक्कड, पियक्कड र प्रेमक्कड मानिसको मन राखिरहनु पर्छ ।

त्यसो त आफूले नटेकेको भूगोलमा बहकिनु, पहाडी सालको दारु गिलासमा घरबुना नारेपा घुट्क्याउनु, बिझाउने बिस्तारामा मनमगन फरबिडन एप्पल चबाउनुमा मेरो आफ्नै फिल्ड–रेकर्ड छ । रुचिको फिल्डभित्रको सेल्फ रेकर्ड । घुमक्डक अमृत भादगाउँलेको एक नम्मरी निम्तो टारेर आफ्नै रेकर्ड खराब गर्ने कुरा भएन । बोरिया बन्तुरा कसेर तयार भइयो।

दुई वर्षअघि बोलाएको हो खप्तडले मलाई । भनिन्छ नि तीर्थ त्यही मान्छे जान्छ जसलाई तीर्थले बोलाएको हुन्छ । परार साल पोखराकै दिवस कुँवर र म गन्तव्यमा खप्तड राखेर डडेल्धुरा, दिपायल, सिलगुढीका रनवनमा भौतारिएका थियौँ । हिउँदाका दिनमा खप्तड गइसाध्ये नहुने रहेछ । मौसमको ज्ञानबिनै कुदिएछ । एकाध दिन रल्लिँदा पनि मौसम सुधारिने संकेत नभएपछि हामी फर्केका थियौँ । खप्तडको निम्तो तिनताका ट¥यो । अब टार्न हुँदैन ।‘अमृत सुवेदी, तिमी तयार छौ नि ?’अपेटाइजर अर्थात सन्दीप

सोच्नुस् त, हाम्रा तीर्थहरू भौगोलिक रुपले विकट ठाउँमा मात्र किन बनाइएका होलान् ? हिन्दू मात्रै होइन बौद्ध, इस्लाम, इसाई, जैन आदि सबै धर्मका मुख्य तीर्थहरू सम्झनोस् । अनि अहिलेको हवाई र सडक यातायातलाई भुलेर अनकन्टार विगतको कल्पना गर्नुस् ! चट्टाने पहाड, चिसा हिमाल, अभेद्य नदी प्रवाह, हिंस्रक जनावरले आवाद जंगल, प्यासिलो अनि रापिलो मरुभूमि ... ।

जीवनलाई नै दाउमा लगाएर मात्र पुरा हुन्थ्यो तीर्थयात्रा । तीर्थाटन सजिलो विषय थिएन । तीर्थाटन सजिलो विषय होइन ।अनि म सोचिरहन्छु प्रायः, ईश्वरलाई यस्तो अनकन्टार ठाउँमा किन लुकाएका होलान् ? के आध्यात्म सुलभ अनुभूति होइन ? यी प्रश्नको उत्तर शेल्डन बि. कोपको ‘बाटोमा बुद्ध भेट्यौ भने मार्देऊ’मा चर्चित छ । मलाई पुस्तक समीक्षामा चासो छैन । मलाई खप्तडको बात मार्नु छ ।‘गुरिल्ला दाइ, एउटा चिसो बियर उघार्नुस् ! इट्स टाइम टु गेट अपेटाइज्ड।’

मेन कोर्स टु भैरव तन्त्र  
हरेक वर्ष जेठ शुक्ल दशमीका दिनमा लाग्ने गंगा दशहरा मेला खप्तडको सांस्कृतिक पटाक्षेप हो । निर्जन निकुञ्जको त्रिवेणी धाम परिसरमा लाग्ने हजारौँ भक्तालु र पर्यटकको भीडले तपाईंलाई यस्तो आभास दिन्छ, मानौँ आदि युगको भयंकर युद्धबाट फर्केर भेला भएका काबिलाहरूको उत्सवमा तपाईं पनि सहभागी भइरहनु भएको छ।

बियरको रमरमले पेटका अन्द्रामा ‘भोकको क्षेत्रफल’ बढाएपछि रुकुम गुरिल्ला ट्रेलका उत्पादक सुरेन्द्र राना र म बिचपानीको एकमात्र होटलको एकमात्र भान्छामा छिरेर लोकल भाले भुत्ल्याउन थाल्छौँ ।त्रिवेणी धाममा दुइटामात्रै नदी छन् । एउटा गंगा अर्को जमुना । तर त्रिवेणी हुन आवश्यक पर्ने अर्को नदी सरस्वती  भने गुप्तरुपमा बगेको विश्वास गरिन्छ । भारत प्रयागको त्रिवेणीको कथा पनि त्यही हो । त्यसो भए के खप्तड भैरवतन्त्रको छायाँभूमि हो ? सम्पूर्ण सनातन धामको लघुत्तम समापवत्र्य हो ?

‘महत्तम समापवर्तक पो हो कि ?’ कवि हेमन्त विवशतिर हेरेर मुस्कुराउँदै होमस्टे फ्रिक तारा पहारी भन्छन् ।
हिन्दू दर्शनको त्रिवेणी हो : ज्ञाता, ज्ञेय र ज्ञान । अथवा यसरी भन्दा पनि भयो : द्रष्टा, दृश्य र दर्शन । व्याकरणको भाषामा ः कर्ता, कर्म अनि क्रिया । तन्त्रअनुसार ज्ञाता र ज्ञेय गोचर हुन्छन्, ज्ञान अगोचर हुन्छ । खासमा ज्ञान भनेको ज्ञाता र ज्ञेय बीचको सम्बन्ध हो । यी दुबै भौतिक तत्व हुन् ।

दुई भौतिक तत्वको सबन्धबाट अभौतिक तत्व अर्थात चेतना (ज्ञान-सत्य)को स्थापना हुने कुरा योगले गर्छ । ज्ञाता र ज्ञेय परिवर्तनशील भौतिकी भएकै कारणले तिनको सम्बन्ध पनि समयानूकुल परिवर्तन भइरहन्छ । ज्ञान र सत्य कहिल्यै अन्तिम हुँदैनन् भन्ने हेराक्लिटसको अवधारणा ‘विज्ञान भैरव तन्त्र’बाट लिएको सापटी हो । त्यो ‘खोला’मा पाइला टेक्ने कुरा त्रिवेणी परिकल्पनाकै उपज हो ।तन्त्र अनुसार मुलाधार चक्रबाट दुई नाडी इडा र पिङ्गला अर्थात गंगा र जमुना हाम्रो मेरुदण्डलाई छड्केपड्के पार्दैै माथितिर जान्छन् । गंगा देब्रे नासिका र जमुनाचाहिँ दाहिने नासिकामा जोडिएका छन् ।

यी गंगा र जमुनाको मिलन हाम्रो त्रिकुटीमा हुन्छ । त्रिकुटीलाई नै त्रिवेणी भनिएको छ । यसै स्थानमा हिन्दूहरू टीका लगाउँछन् । जब हाम्रो सचेत श्वास दुवै नासिकाबाट समरुप प्रवाहित हुन्छ तब त्यो तेस्रो नाडी सुषुम्ना अर्थात सरस्वती हुँदै प्रवाहित हुन्छ भनेर प्रणायामको महत्वमा बताइएको छ ।

‘फर्किँदाको दिन दिपायलमा घनश्याम गुरुले ध्यान गराउनु हुन्छ है’, बुद्धमाथि बौद्धिक टिप्पणी गरेर नथाक्ने अभय श्रेष्ठले सूचना जारी गर्दा मिस्टर ‘निर्वाण’ले कदाचित बुद्ध बनाइदिए भने त सन्यासी भइएला भन्ने भयले मैले भने मनमनै ध्यानमा नबस्ने मुड बनाएँ । बालाबैंसमा तीनवटा निम्तो त कसैले छोड्नु नपरोस् !ओ, आरके अदिप्त, तिमीलाई सम्झना छ नि तीनवटा निम्तोको कुरो ?

तन्त्र भन्छ, ‘जसको मूलाधार चक्र सक्रिय छ उसको लिबिडो मस्त मोजिलो, भग्न भोगिलो हुन्छ । जसको स्वादिष्ठान चक्र सक्रिय छ ऊ चाहिँ रंग रसिलो, वस्तु विलासी हुन्छ । मणिपुर चक्र तातेको मनुष्यको जीवन शक्ति–संकलनमा सार्थक हुन्छ । अनाहत चक्र सक्रिय हुने चाहिँ कि कवि हुन्छ कि प्रेमी हुन्छ कि पागल । विशुद्ध चक्र उठ्नेको मन्त्र हुन्छ ‘... धिक्कार होस् मकन बाँच्नु नराखी कीर्ति ।’ जसको आज्ञा चक्र चन्चले छ ऊ उत्सुक छ, छटपटे छ, केही न केहीको खोजमा दिमागको बारी खनखोस्री रहन्छ । 

सहस्रार चक्र सक्रिय भएको मानिसको लागि जिन्दगी एक खेल हुन्छ । लीला ।’‘हेर गनेस, अब म उसलाई एउटा लालीगुँरास दिन्छु । शाहरुख खान स्टाइलमा ।’ मुलाधारमा मस्त तर भयंकर अनाहत कवि हेमन यात्रीले अनुमति मागेपछि मैले स्वीकृति किन नदिनू ?‘अंग्रेजीको ‘सेक्सी’ शब्दलाई शुद्ध नेपालीमा अनुवाद गर्दा के हुन्छ ?’ आज्ञा चक्रमा घुमिरहने भादगाउँले प्रश्नलाई ‘कामुक, आकर्षक’ उत्तर दिनेहरू फेल भए । पछि उत्तर सुनेर हेमन पनि हाँस्दैछ । हेमन हाँसेको सुन्नुभो ?

डिजर्ट उर्फ आकाश यात्रा
जिन्दगीमा कति हिँडियो कति तर खप्तड पुगेपछि मात्रै अनुभूति भयो म धरतीमा होइन आकाशमा हिँडिरहेको छु । यस्तो लाग्यो, प्रकृतिको खास सुन्दरता त आकाशको सापेक्ष अनुभूत हुँदो रहेछ।

‘सहस्रार’ लिंगको दर्शनपछि हामी दाल–भात ताकेर हिँडिरहेका थियौ । तालुमाथिको घाम कोल्टिसकेको थियो । भोक र प्यासको अन्तिम परीक्षामा कोही साथी चिट चोर्दै थिए, कोही चोराउँदै थिए । सरासर उत्तीर्ण होलान् जस्तो कोही देखिएका थिएनन् । सधै झैँ सबैभन्दा अगाडि हिँडेको म डाँफेकोटबाट देखिएको दृष्यले अवाक भएँ । अहो त्यो पाटन ! अहो त्यो आकाश ! खुसीले रन्थन्याएर मलाई के गरुँगरुँ भयो । भीरको ठूलो ढुंगोको डिलमा बसेर मस्त मुतेँ । मुतेर लिङ्ग निथ्रिएपछि भ्युटावरको घाँसे थाप्लोमा फन्फनी नाचेँ ।

नाच्दानाच्दै मलाई ‘सहस्रार’ अनुभूति भयो, खासमा सौन्दर्य भनेको त आकाशको उपस्थिती हो । म झन् नाचेँ । नाचिरहेँ ।भर्खरै नाचेको हुनाले म थाकेर घाँसमा लम्पसार बसेको छु । मुखैमा घाम छ । तर भर्खरै एउटा अग्लो मान्छेको छाँयाले छेकेर शितलो भएको छ । फर्केर हेर्छु,  भूपिन पो रहेछन् ।सोधेँ, ‘कवि ‘मैदारो’ कहिले आउँछ ?’‘देजाभू’ निस्केकै छैन । मलाई केको हतारो ?

डाँफेकोटबाट खप्तड दहमा हिँडिरहँदा सोचेँ, ‘चाहे त्यो ताल होस्, निर्झर खोला होस्, महासागर होस्, हिमाल होस्, वा निर्जन मुरुभूमी नै किन नहोस् आकाशको आभामा मात्रै तिनीहरू सुन्दर देखिन्छन् । सुन्दरता प्रकाशित हुने भनेको आकाशको उपस्थितिले हो । आकाश नहुने हो भने प्रकृति सुन्दर नै हुँदैनथ्यो । भए पनि अभिव्यक्त हुँदैनथ्यो ।’अमृत सुवेदी, हेमन यात्री, तारा पराजुली अनि म । खल्तीबाट भटमास, ओखर र काजुका दाना टिप्दै कुटुकुटु पार्दै हिँडिरहेका छौँ ।‘पेट भरिएको नभए पनि मुखलाई व्यस्त राख्न सकियो भने भोकले गाली गर्दैन । भोक कम हुन्छ ।’ मैले बोलेको परैबाट सुनिन्छ।

अनि फेरि मेरै आवाज आउँछ, ‘मान्छेहरु पेटभरि कहिल्यै बाँच्दैनन् । कुटुकुटु भटमास खाए झैँ फुसुफुसु सास फेरेर जीवनको बाँच्ने भोक टारिहेका हुन्छन् ।’आकाशको अघिल्तिर मोटाइ, दुब्लाइ, उचाइ, होचाइ, साघँुरावट, फैलावट सबका सब गौण विषय हुन् । आकाशको आयतन हुँदैन । आकाशको उपलब्धि हुँदैन । आकाश हुनु भनेको केही पनि नहुनु हो । शून्य हुनु हो । आकाश हुनु भनेको निर्गुण–निराकार बाँच्नु हो । उता  आकाशमुन्तिरको जंगल, खोला, ताल, पहाड आदि धरातल बाँच्नु भनेको सगुण–साकार बाँच्नु हो । 

निर्गुण निराकार अनि सगुण साकारको जहाँ मिलन हुन्छ, त्यही सौन्दर्र्य पटाक्षेप हुन्छ । गगन र भुवनको मिलनबाटै सत्यम्, शिवम्, सुन्दरमको मन्त्र पूरा हुन्छ । ज्ञाता र ज्ञेय विलुप्त हुन्छन् । ज्ञान आरम्भ हुन्छ ।’आकाशमाथिको एक झिल्को चिन्तन फुर्ने बित्तिकै भोकको क्षेत्रफल घट्यो । प्यासको गहिराइ साम्य भयो । पेटको परीक्षामा म पास भएँ । अब भात खाने ठाउँतिर होइन अझै २ घन्टा टाढा खप्तड ताल र पाटन पुग्ने मोतो मिलाइयो।

वन फर द रोड
खप्तडका केही रसिला याद छन् । दशहरा मेलामा रातभर सुनिएको देउडाको त्यो मोहनी ट्र्यान्सले अझै रिरिन्न छोपिरहेको छ । केटाकेटी छँदा राति अबेरसम्म भैलो खेलेपछि घर फर्केर बिस्तरामा पल्टिँदा कानमा त्यसै बजिरहने भ्रमको ‘भैलो’जस्तै बजिरहेको छ खप्तडको सम्झना ।

सबैभन्दा रसिलो सम्झना त खप्तड बाबाको कुटी बाहिर भेटिएकी वृद्ध आमाको छ जसले खप्तड बाबा अर्थात  स्वामी सच्चिदानन्द सरस्वतीलाई केटाकेटीमा आफ्नै बाजे ठानेर सेवा गर्थिन् । यिनको सम्झनामा एउटा लामै आर्टिक लेख्न मन छ।

त्यो गल्फ कोर्स जस्तै ‘फेयर’ कलिला घाँसे मैदान, ती झुपुक्क यौवन सकेर झुलिबसेका हिमाली बनस्पतीले छोपिएका झोता ! कवि हेमन्तका अनुसार खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात थुम्काहरू छन् । माइकास्थान, सहस्रार लिङ्ग, नागढुँगा, खप्तड बाबाको आश्रम, खप्तड दह, सीतापाइला, त्रिवेणी धाम, खापर दह, खुडुली, दुदुली, डाँफेकोट, त्रिवेणी, हरिना चरी, जेठी बहुरानी, छिन्तेढुँगा, केदारढुंगा, गणेशस्थान, माइका थान, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, भलाउने पाटन, याइँ घट्ट छ्याइँ पानी, भीम घट्ट ... एकै सासमा भनेर टिप्न नसकिने कति ठाउँ छन् कति खप्तडभित्र ।

पुरै खप्तड घुमेको त मान्छे नै भेटिन्न भन्छन् गाउँलेहरू । सबै ठाउँका पौराणिक र स्थानीय किस्सा छन्, कथा छन् । महिमा छन् । ती अनेकन धार्मिक र सांस्कृतिक स्थलहरूमध्ये कति ठाउँमा हामी आफैँ पुगियो, कति ठाउँमा कवि हेमन्तले आफ्नो जीवन्त वर्णनमार्फत पुर्याइदिए।तान्त्रिकज्यूलाई कस्तो लाग्यो त खप्तड ?

अहिले म राष्ट्रिय निकुञ्जको सेल्टरबाट घर फर्किन ओरालो झर्दै छु । साइकलेहरू यो ओरालोमा दूई हुँइकिने सुर कस्तै छन् । फर्केर हेर्छु, प्रश्न गर्ने मनुख्य भएर उभिएको बस्तुमा चितौने पढक्कु उदय अधिकारीलाई देख्छु ।
अरे दाइ, यो त मिनियचर भैरवल्याण्ड रहेछ।

जस्तो कि मलाई के आभास भयो भने त्यो सहस्रार लिंग भनेको सहस्रार चक्र हो । त्रिवेणी धाममा आज्ञा चक्रको आभा छ । खापरदह जहाँ इन्द्रजात्रा हुन्छ त्यो अनाहत चक्र हो । खप्तड बाबाको कुटीभित्र शक्ति अर्थात मणिपुर चक्र छ । दशहरा मेलामा रातिको रमझम हेर्नेबित्तिकै थाह पाउनु भयो होला कि केदार ढुंगामा स्वाधिष्ठान चक्र छ । अनि त्यो जुन नागढुंगामा प्रेमलीन सेता काला नागहरू देख्नुहुन्छ, तिनले त्यहाँ मुलाधार चक्र बसालेका छन्।

झिग्राना झंकार : ध्यान भर्सेस कल्पना
बीचपानीबाट झिग्राना तिरको ठाडो ओरालो झरिरहँदा मनमा हिजो सहस्रार लिंग जाँदाको सम्झना आइरह्यो । अहो त्यो लिलात्मक अनुभूति ! यस्तो लाग्थ्यो मानौँ मेरो सहस्रार चक्रमा बिग ब्याङ भएको छ । भर्खरै । शरीरभरि क्यान्सरका झैँ गाँठागुँठी पालेर जिन्दगीभन्दा बढी बाँचेका बुढा रुखहरूको जंगलै जंगल जाँदैगर्दा म अति चञ्चल अनुभूति गरिरहेको थिएँ ।

मैले आफूलाई लाखौँ वर्षअघिको फिरन्ता युगमा बाँचेको कल्पना गराएको थिएँ । आधी मान्छे, आधी बाँदरको दोहोरो चरित्रमा बाँधिएको आफूलाई कहिले भाँचिएका रुखका काण्डहरूमा कुदाएँ, कहिले सेताम्मे फुलेका चिमलको झाँङमा घुसारेँ, कहिले हिउँले ताछेको सुकेको मुढो उठाएर पाखुराको तुजुक देखाएँ । कहिले मित्र चन्द्र काफ्लेलाई बोकेर दगुरेँ र पछारेँ ।

कहिले आफ्नै देह सुम्सुम्याउँदै चुपचाप चुपचाप एक्लै हिँडेँ ।‘बाटोभरि देखिएका बुढा रुखहरू एक बल्र्याङ हिउँको ढिस्को कुरेर बसेका छन् । कुनै हिउँदमा तिनको रहरको हिउँपहिरो आउनेछ, त्यसपछि उनीहरू देहमुक्त हुनेछन् ।’ हेमन यात्री भावुक हुन्छ । ‘मान्छे होस्, जनावर होस् या वनस्पति । जीवन त बाल्यकालकै सुन्दर हुन्छ।’

हुन पनि कलिला रुखहरूको ऐँजेरुविहीन सुलुत्त काण्डको पनि एउटा मोहनी हुन्छ । सानै बतासमा पनि चुमुक चुमक हल्लिने कलिला पल्लवीहरूको चपलतामा एउटा यौनिक अकर्षण हुन्छ । परागशेचनको दैहिक स्वानन्दमा फक्रेका फुल हुन या प्रेयसीको ओठ भएर झुलेका रसिला फल, रुखको पनि एउटा बैंस हुन्छ ।

एउटा चिक्चिकाउँदो दैनिकी हुन्छ । तर यी बुढा रुख ! सहरदेखि निकै पर घाट किनारमा बनाइएको वृद्धाश्रममा जुम्रा हेरिरहेका बुढाबुढीजस्तै रुख ! यी कान्तिविहीन अनुभवी रुख ! अनुभव सुन्दरताको दुश्मन हो । यदि सुन्दरता नै सत्य हो भने, अनुभव सत्यको पनि दुश्मन हो । यदि सत्यम् शिवम् सुन्तरम् जीव–मन्त्र हो भने अनुभव शिवको पनि दुश्मन हो।

चेतनको एउटा तहले दुश्मनका बारेमा सोचिरहँदा अर्को तहले भने अनुभवलाई भाऊ दिएर बोल्दै थियो । ‘तपाईं अहिले कति वर्षको हुनुभयो त्यो महत्वपूर्ण होइन । बरु अब तपाईं कति बाँच्दै हुनुहुन्छ त्यो महत्वपूर्ण हो । हाम्रो बाँचेको उमेर होइन, बाँच्न बाँकी आयु महत्वपूर्ण कुरा हो । तर आयूभन्दा पनि महत्वपूर्ण हो अनुभव । धेरै बाँच्नु कुनै कुरा होइन, धेरै अनुभवसहित बाँच्नु बल्ल बात हो ।

जिन्दगीको अर्थ भोगाइ नामको शब्दकोशमा मात्रै खुल्छ ।’म आफैँसँग कुरा गर्दै थिएँ । बाझाबाझ गर्दै थिएँ । अनुभव नहुनुको एउटा नियति यही हो, तपाईं निष्कर्षमा पुग्नै सक्नुहुँदैन । आफ्नै विचारसँग विवाद गरिरहनु हुन्छ । अनुभव भएको भए, एउटा ठिक अर्को बेठिक भइहाल्ने थियो, फटाफट । मलाई फटाफट बाँच्नै आउँदैन । मलाई बूढो भएर बाँच्न घीन लाग्छ । अनुभवी भएर बाँच्न झ्याऊ लाग्छ । म सयौँ वर्ष बाँचेछु भने पनि मेरा अनुभव सुन्न नआउनू । मबाट ज्ञानगुनका कुरा सम्भव छैन । मबाट सही र गलतको फाइनल फैसला सम्भवै छैन । म गैरन्यायिक चरित्रको भोगी मनुवा हुँ।

दिपायल बासको भोलिपल्ट बिहान उठ्दा गाउँ विकास प्रशिक्षण केन्द्रको चौरमा आख्यानकार घनश्याम उर्फ मिस्टर ‘निर्वाण’ले भेटेजति सबैलाई ध्यान सिकाउँदै थिए । मलाई ध्यानस्यानमा खास रुचि छैन । मलाई कल्पना नै प्यारो लाग्छ । ध्यान आफूभित्रको यात्रा हो, कल्पना आफूभन्दा बाहिरको । आफूलाई ध्यान र कल्पना दुवैबाट असंलग्न राखेर लेख्नु बोल्नु भनेको तर्क हो।

‘कविता ध्यान हो । कथा कल्पना हो । यी दुबै हृदयका काम हुन् । उता निबन्ध दिमागको काम हो । यसको मुल चरित्र तर्क हो । आफूलाई अलग राखेर तथ्य र तथ्यांक केलाएर खेल्नु हो । तर नाटक भनेको जीवन हो । जीवन अर्थात ध्यान, कल्पना र तर्कको संयोजन ।’यो मेरो सोचाइ हो । भर्खरैको । यसलाई याद नगर्नू किनकी भोलि म अर्कै कुरा भन्दिन पनि सक्छु ।  ध्यान गर्नु भनेको कवि र योगीहरूको काम हो ।

ओशो भन्थे, कवि र योगी दुबै पानी हुन्थे भने यिनमा मात्र १ डिग्रीको फरक हुन्थ्यो । आफ्नो काव्यिक अनुभूतिको चरम अवस्थामा पुग्दा कविको तापक्रम ९९ डिग्री पुग्छ । कविको तापक्रम यसभन्दा माथि पुग्दैन । त्यसपछि पानी बिस्तारै सेलाउँछ, कवि फेरि सांसारिक हुन्छ । तर योगी जब ध्यानको चरम अवस्थामा पुग्छ, ऊ १०० डिग्रीको पुग्छ।

त्यसपछि ऊ उम्लन्छ र वाफ बन्छ । योगीलाई फेरि पानी जिन्दगी बाँच्नु पर्दैन, सांसारिक जीवनमा फर्किनु पर्दैन । तर अनुभूतिको हिसाबमा, सत्यमाथिको साक्षात्कारको हिसाबमा कवि र ध्यानी बराबर हुन्छन् । एक डिग्रीले अहिलको अवस्थालाई फरक पारे पनि विगतको अनुभवलाई फरक पार्दैन । अनुभूतिलाई फरक पार्दैन ।‘गुरिल्ला दाइ, एउटा चिसो बियर उघार्नुस् ! यो मनसुनमा एउटा लालटिन ट्रेक हान्नुपर्छ ।’

 

प्रकाशित: १६ असार २०७५ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App