८ वैशाख २०८१ शनिबार
अन्य

दिवाकरको अनुहार

‘हजुर तयार भइस्यो त ?’‘हुँदै छु । पख न, एकछिन । केको हतार नि ?’‘छिटो तयार हुनुस्, हजुर । आज पहिलो सोमबार हो । चाँडै मन्दिर जानुपर्छ । ढिलो भयो भने लामो लाइन लाग्छ । फेरि घन्टौँसम्म उभिनुपर्छ । अझ, चिनेजानेका मानिसले देखे भने त ‘ए, तपाईं पनि लाइनमा ?’ भनेर प्रश्न गर्छन्।’

दिवाकर उठिसकेका थिए । आँखा उघ्रिनेबित्तिकै उनको प्रथम दृष्टि टेबुलमाथि राखिएको घडीमा पर्यो । हिजो मात्रै एक शुभेच्छुले उनलाई सहर्ष सुम्पेका थिए, उपहारस्वरूप । विदेशी घडी थियो, त्यो । निकै महँगो । दिवाकरले टेबुलबाट घडी उठाए र गहन नजरले केलाउन थाले ।‘प्रदीपले ल्याइदिएको रहेछ, यो घडी ।’ कोठामा प्रवेश गर्दै गरेकी उषा अर्थात् आफ्नी श्रीमतीतिर मीठो मुस्कान फ्याँक्दै भने ।‘काँ, विदेश गा’थ्यो त्यो ?’

‘अँ, जापानबाट फर्किएको केही दिन मात्रै भएको रहेछ । हिजो मकहाँ आएको थियो । यो घडी दिएर गयो ।’ दिवाकरको एकजोर आँखा कहिले घडी र कहिले रातो चोली र सारीमा सजिएकी श्रीमतीतिर दौडिरहेका थिए ।
‘मलाई सम्झिएन छ, त्यल्ले ?’‘तिम्लाई त पोहोर साल नै त्यत्रो महँगो बाला ल्याइदिएको होइन र ? बर्सेनि कहाँ ल्याइदिन्छन् र ? मलाई त अहिलेसम्म केही पनि ल्याइदिएका थिएनन् । यसपालि एउटा घडी ल्याइदिएछ । यो नै फस्र्ट हो,’ दिवाकरले भने।

‘हाम्ले पनि त कति गर्या थ्यौँ’नि । तपाईं मन्त्री हुनु भएपछि त हो नि, त्यसको बिजनेस चम्किएको । नभए अहिले पनि त्यो सडकमै हुन्थ्यो । तपाईंले काँध नथापिदिनुभएको भए त्यसको बिजनेस कहाँ चम्किन्थ्यो र ?’ उषाले भनिन् ।
‘हाम्लाई पनि त ग¥यो, उसले । उसले सहयोग नगरेको भए बन्थ्यो यो घर, गाडी किन्न सक्थ्यौँ ?’ दिवाकरले पुनः घडीतिर आँखा दौडाउँदै भने, ‘उसलाई हाम्ले गर्या’थ्यौँ र हामीलाई पनि गर्यो । ताली भन्या उही दुई हातले बज्ने त हो नि, हैन र ?’उषा कोठाबाट बाहिरिइन्, निरुत्तर।

दिवाकरले झ्यालबाहिर विचरण गर्न थाले । पश्चिमको अग्लो पहाडको टुप्पोमा वर्षाद् हुने क्रम प्रारम्भ भएको थियो । आकाशमा बादल यता र उता दगुरिरहेका दृश्यलाई उनले अभिभूत हुँदै हेर्न थाले । हेर्दाहेर्दै उनको दृष्टि घरछेउकै अम्बाको बोटमा पर्यो, जहाँ कलिला अम्बाका दाना फलेका थिए, लटरम्म । मुग्ध भए उनी, ‘यसपालि आफैँले रोपेको, आफ्नै घरको बोटको अम्बाको स्वाद लिन पाइने भो ।’‘छिटो नुहाउनुस् न, भन्या । ढिला भइसक्यो । मलाई मन्दिर जान ढिला हुन्छ क्या,’ उषाले निकै नै अनुरोध गरेजस्तो गरी भनिन् । र, टेलिभिजनमा एकपछि अर्को च्यानल बदल्दै समय गुजार्न थालिन्।

‘आज साउनको पहिलो सोमबार हो । हजुरको दीर्घायूका लागि नि !’ उषा अघि बढिन् । उनका हातमा एउटा थाली थियो र त्यसमा फूल, अबिर र बलिरहेको दियो पनि थियो । उनले आफ्ना पतिदेवको नजरमा नजर जुधाउँदै भनिन्, ‘खै, खुट्टा ल्याउनुस् त ।’

दिवाकरले नुवाइधुवाई सिध्याए । कपडा बदल्दै बैठक–कोठातिर निस्किए र उषालाई भने, ‘समाचार हेरौँ न ।’‘ल, लिनुस् रिमोट । अब तयार हुनुस् ।’एउटा थालीमा अनेक थरीका मिठाइ, अर्को थालीमा ताजा फलफूल । त्यस्तै, खण्ड–खण्ड परेको अर्को थालीमा भने अबिर, टीका र फूलहरू । एउटा सानो घन्टी र दियो र कलश पनि । ती सम्पूर्ण सामग्री टेबुलमाथि राखेपछि उषाले भनिन्, ‘तयार हुनुस् है, हजुर अब त ।’

‘मलाई यो फूलको बास्नै मनपर्छ,’ एउटा सानो थालीमा सजाइएको केंवराको फूलको बास्नाप्रति मोहित हुँदै दिवाकरले भने, ‘धेरै नै मादक लाग्छ, मलाई यो फूलको बास्ना । बैँसमा तिम्ले पनि यति धेरै मलाई मताएकी थिइनौ । तर, यो फूलले मलाई त्यसरी मताउँछ, लठ्याउँछ ।’ दिवाकरको अनुहार केही उज्यालियो ।‘छ्या, हजुर पनि !’ उषा लजाइन्।

‘के गर्न लागेकी तिम्ले ?’‘आज साउनको पहिलो सोमबार हो । हजुरको दीर्घायूका लागि नि !’ उषा अघि बढिन् । उनका हातमा एउटा थाली थियो र त्यसमा फूल, अबिर र बलिरहेको दियो पनि थियो । उनले आफ्ना पतिदेवको नजरमा नजर जुधाउँदै भनिन्, ‘खै, खुट्टा ल्याउनुस् त ।’‘खुट्टा ? मेरो खुट्टा ?’

‘हो, तपाईंकै खुट्टा,’ उषाले सिंगो कोठालाई नै गुन्जाउने गरी एउटा मीठो हाँसो प्रदर्शन गरिन् ।‘किन ?’ भयले ग्रस्त दिवाकरले सोधे ।‘आज साउनको पहिलो सोमबार हो । हजुरको दीर्घायूका लागि खुट्टा धोएर पानी खानुपरेन, मैले ? आजको दिन हजुरको खुट्टाको पानी धोएर नखाए त... ।’‘यति धेरै नगरेकी भए पनि हुन्थ्यो तिम्ले । के गर्या यस्तो ? मलाई त काउकुती लागेर आयो,’ दिवाकरले सामान्य रूपमा असहमति जनाउन चाहे ।‘छाड्नुस्, त्यस्ता थोत्रा कुरा... ।’

‘हाम्ले भनेको सांस्कृतिक रूपान्तरण... ?’‘यो पनि एउटा ठूलो रूपान्तरण हो ?’‘अरुले थाहा पाए भने... ।’‘तपाईंको खुट्टाको पानी खान पाउनु मेरा निम्ति सांस्कृतिक रूपान्तरण नै हो, लौजा ।’‘क्रान्तिलाई यति धेरै भ्रष्टीकरण नगरे हुन्थ्यो... ।’‘न अब भ्रष्टीकरण, न प्रष्टीकरण । अब सृदृष्टीकरण... ।’
‘अरुले थाहा... ।’

‘को अरु ? सबैका खुट्टी छामिसकेका छौँ । अरु नेताका स्वास्नी पनि मन्दिरमा पूजा गर्न लाइन लागेको देखेकी छु, मैले । कसैले पनि ओभानो बन्ने स्वाङ नपाले हुन्छ । सबै हिलोका दलदलमा जाकिएका छन्,’ उषा केही उत्तेजित बनिन् ।
‘तिमीमा यस्तो परिवर्तन कसरी आयो, उषा ?’‘परम्परा जति ठूलो चिज अरु केही रहेनछ । मैले त्यही आफ्नो परम्परालाई पछ्याएको मात्र हुँ । अरु केही पनि नौलो काम गरेकी छुइनँ।’

‘प्रत्येक सफल व्यक्तिका पछाडि कुनै न कुनै स्त्रीको हात हुन्छ भन्थे ।’‘बल्ल थाहा पाउनु भो, हजुरले ?’‘अँ, थाहा त पहिला पनि थियो । अब भने व्यवहारमा नै थाहा पाएँ,’ दिवाकरले उषाको उज्यालो मुहारतिर हेर्दै भने र लुगा लगाउँदै भने, ‘आज म खाना खान आउँदिन है । दुई–तीनवटा मिटिङ छ, त्यतैतिर व्यस्त हुन्छु र खानपिन पनि उतै हुन्छन् ।’

‘एउटा कुरा सोधुँ, हजुरलाई ?’ एक साँझ टेलिभिजन हेरिरहेका बेला उषाले दिवाकरसामु धेरै नै विनित भावमा भनिन् ।
‘सोध न । मसँग नसोधे कोसित सोध्छौ त ?’‘अब त हामीले यो घर आफ्नै हो भने हुँदैन र ? कति अरुलाई डेरा हो भनेर झुक्याइरहनु ?’‘खै, तिम्ले कुरा बुझेकी भन्या ?’ दिवाकरको अनुहार बिस्तारै गुन्द्रुकझैँ अमिलिँदै गयो र विनम्रतापूर्वक आफ्ना कुरा राख्न थाले, ‘यो घर हाम्रै नै हो भन्ने कुरा तिम्लाई, मलाई र हाम्रा केही नातेदार र शुभेच्छुकलाई मात्र थाहा छ।

अरुलाई भने हामीले अस्टे«लियातिर बस्ने एकजना नेपालीको घर डेराका रूपमा प्रयोग गरेका हौँ भनिरहेका छौँ । धेरैजसोले भने हाम्रो कुरा पत्याइरहेका छैनन् । हामीले डेरा भने पनि उनीहरूले यसलाई हाम्रै घर भन्ठानिरहेका छन् ।’‘त्यही त भन्या, किन ढाँट्नु ?‘मेरो कुरा बुझ् न उषा । अहिले हामीले यो घर हाम्रो हो भन्ने अवस्था रतिभर छैन । हामीले यो घर हाम्रो हो भन्यौँ भने पार्टीमा कुरा उठ्छ ।

हामीले कुन आर्थिक स्रोतले यो घर बनायौँ भन्नेबारे छानबिन गर्ने कुरासम्म उठ्न सक्छ । मेरा पछाडि विरोधीका हुल नै लागेका छन्, उनीहरूले मेरो राजनीतिक जीवन समाप्त पार्ने मसला यही घरबाट प्राप्त गर्न सक्छन् । भोलि चुनाव लड्नुपर्छ, यही घरलाई इस्यु बनाउन सक्छन्,’ यति भनेर दिवाकर केही समय रोकिए । उनले फेरि भन्न थाले, ‘तिम्लाई डेरा भन्नु किन अप्ठेरो महसुस हुन्छ, उषा ?’‘हैन, म त डेरामा बसेको भनेर हत्तु नै भइसकेँ । सबैले कति डेरामा बसेको, अब त घर बनाउनुपर्दैन, भन्छन् । त्यस्ता मानिसलाई जवाफ दिन पनि आफ्नै घर हो भन्न मन लाग्यो मलाई त।’

‘कस्तो केटाकेटी कुरा गरेकी तिम्ले ?’ दिवाकरभित्र बेखुसीका छाल तरंगिन थाल्यो । उनले भने, ‘थाहा पाइपाई आफ्नै खुट्टामा आफैँले बन्चरो प्रहार गर्ने घृष्टता नगरौँ । यो डेरा हो र हामी डेरामै बसिरहेका छौँ । यो काठमाडौं हो र काठमाडौंमा हामीजस्ता सर्वहाराका लागि घर हुनु ठूलो कुरा हो ।’दिवाकरले आफूलाई संयमित तुल्याउँदै भने, ‘काठमाडौंमा हाम्रो कुनै घर छैन भन्ने मान्यता राख ।’घर, उनीहरूका लागि खुसीभन्दा तनावको विषय बनिरह्यो।

अर्को दिन उषाले अर्कै नौलो प्रस्ताव राखिन् । त्यो बिहानको कुरा थियो । ग्रिन टीको प्रारम्भिक चुस्की लिँदै अखबार पढ्न निमग्न दिवाकरका सामु उषाले भनिन्, ‘यसपालि हिउँदमा त सत्यनारायणको पूजा लगाउनुपर्छ । यो घरमा सरेपछि एकपटक पनि पूजा लगाइएको छैन । पूजा लगाउने भए गाउँबाट आमा पनि आउने कुरा छ।’‘अरुलाई सांस्कृतिक रूपान्तरणको क्लास दिने र आफूले चाहिँ सत्यनारायणको पूजा–पाठमा जोड दिने हो भने हामी कहाँ पुग्छौँ ?’ उषाको प्रस्ताव सुनेर दिवाकरले लामो सास फेरे, ‘यस्तो कुरामा जोड नगर, उषा । अब हामी हरेक हिसाबले अगाडि बढिसक्यौँ । उही पुरानै, थोत्रो र परम्परावादी कुरातिर फर्किने काम त्याग्नुपर्छ । नत्र सांस्कृतिक रूपान्तरण... ।’

‘छाड्नुस्, त्यस्ता रूपान्तरणका कुरा,’ उषाले ओठ बटार्दै भनिन्, ‘अचेल सपना पनि त्यति राम्रो देख्दिनँ । अस्ति सीतापाइलामा एकजना बाजेलाई हेराएको, घरमा स्वस्ति–शान्ति गर्नू भन्नुभयो । सत्यनारायणको पूजा लगाउँदा अझ उत्तम हुन्छ रे ।’दिवाकर हाँस्न थाले । र, हाँस्दाहाँस्दै बदलिएको अनुहार उषातिर व्यंग्य प्रदर्शन गर्दै भने, ‘ए, बाजेलाई समेत हेराइसक्यौ ? राम्रो गरिछ्यौ । अरु पनि केही हेरायौ कि ?’‘हेराएँ नि ।’‘के के हेरायौ ?’

‘हजुरलाई पनि ग्रहदशा छ रे । त्यो ग्रहदशा कटाइएन भने विघ्न–बाधा आइपर्छ रे ।’‘के गर्नुपर्छ रे त ?’‘उद्योग, व्यवसाय, राजनीति, प्रशासन आदि क्षेत्रमा उच्चतम सफलता पाउनका लागि सिद्धमाला वरण गर्नुपर्छ रे । त्यो सिद्धमालामा एकमुखी रुद्राक्षदेखि १४ मुखीसम्मका रुद्राक्ष, गणेश–रुद्राक्ष र गौरीशंकर रुद्राक्ष प्रयोग हुन्छ रे । मालालाई आकर्षक डिजाइन गरेर चाँदीको बनाइन्छ रे।

त्यो माला लगाउँदा राजनीति गर्नेहरूले सफलता पाउँछन् रे,’ उषाले भनिन् ।‘घोकेरै आएकी रै’छौ । पण्डितजीले पनि राम्रै पाठ सिकाएर पठाएछन् । बिचराको गुजारा गर्ने आधार नै त्यही हो,’ दिवाकरले आफूलाई सम्हाल्दै सोधे, ‘के तिमी यी कुराप्रति कन्भिन्स छ्यौ ?’‘म त पूरापूर कन्भिन्स छु।’

‘म त रुद्राक्ष लगाएर हिँड्न सक्दिनँ, उषा,’ दिवाकर अधिक गम्भीर देखिए र भने, ‘यी त हाम्रो सांस्कृतिक रूपान्तरणको अजेन्डाभन्दा बिल्कुलै विपरीत हुन् । मैले रुद्राक्षको माला लगाएर हिँडे भने त ममा सांस्कृतिक विचलन आयो भनेर पार्टीले कारबाही गर्न बेर लगाउँदैन । मन्त्री भएका बेला सुनको औँठी लगाउँदा मलाई कति खिस्याए, पुँजीवादी चिन्तनले ग्रस्त भएको भनेर अनेक आलोचना गरे ।

तिम्लाई यी सबै कुरा के थाहा छ ? आखिर, आलोचनाको घना तुषारोले म छोपिन्छु, त्यसको कठ्यांग्रिँदोपनको अनुभव मैले सँगाल्छु । त्यसको पर्वाह न तिम्लाई हुन्छ, न अरुलाई नै ।’‘आखिर, ठूला नेताले भैँसी पूजा गरेकै त हो नि ।’‘ती नेताहरू आलोचनाको घेराभन्दा माथि छन् । उनीहरू भगवान् भइसके अब । महान् भगवान् । २१औँ शताब्दीको भगवान् । भगवान्को आलोचना गरेर के हुन्छ र, हैन त ?’ अनुहारमा मीठो मुस्कान उमार्दै दिवाकरले भने ।
उषा पनि मुसुक्क हाँसिन्।

‘अँ, एउटा कुरा,’ उषाले भनिन्, ‘एआर रहमानले ओस्कार पाउँछ भन्ने भविष्यवाणी ज्योतिषहरूले पहिल्यै गरेका रहेछन् । सन् २००३ मै रहमानले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउने भविष्यवाणी गरिएको रहेछ । नभन्दै उनले स्लमडग मिलेनिअरमा ओस्कार नै पाए । ज्योतिषको कुरामा त्यति अविश्वास गरिहाल्नु पनि हुँदैन ।’‘भो, उषा । यो अन्तक्र्रियालाई यही विसर्जन गरौँ । म तिम्ले भनेका सबै मान्छु तर रुद्राक्षको माला लगाएर हिँड्न भने म सक्दिनँ ।’‘अनि, घर पूजा नि ?’दिवाकर मौन देखिए । उषाले पनि निकै समयदेखि तन्किरहेको संवादको पोयोलाई त्यत्तिमै स्थगित गरिन् ।

आज दिवाकरसामु डेढ दशकअघिको एउटा दृश्य पसारियो । हिजो मात्रै उषाले उनको चरण धोएर जल पिएको दृश्य र डेढ दशकअघि पश्चिम नेपालको एउटा ग्रामीण घरमा रात्रिकालीन समयमा आफूले दिएको क्लासबीच अन्तर केलाउन खोजे, ‘अब हामीले आफूलाई बदल्नुपर्छ । हामीले आफूलाई बदल्न सकेनौँ भने न समाजलाई बदल्न सक्छौँ, न त देशलाई नै बदल्न सक्छौँ।’

लालटिनको उज्यालोमा त्यो कोठाभरि उपस्थित मानिसका अनुहार प्रस्ट देखिएका छैनन् । दिवाकरको अनुहार भने प्रस्टै देखिएको छ । उनी जुन टेबुलनजिक बसेका थिए, लालटिन त्यही राखिएका कारण उनको अनुहार स्पष्ट देखिएको हो । कोठाको एउटा कुनामा ओछ्याइएको गुन्द्रीमाथि बसेर उषा पनि दिवाकरको प्रवचन सुन्न व्यस्त छिन् । उनीहरू दुवै एउटै अभियानमा सामेल छन्।

दिवाकर प्रवचन दिँदै छ, ‘हामी बाँचिरहेको पुरुषप्रधान समाज हो । त्यही कारण, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायत सबै क्षेत्रमा पुरुष मानसिकता हाबी छ । तपाईंहरूले देख्नुभएकै छ, जीवनका हरेक मोर्चामा पुरुषले विजयको झन्डा फहराउँछन्, त्यो फहराइएको झन्डा हेरेर मुग्ध हुने, ताली पिट्ने कामचाहिँ महिलाबाट हुन्छ । कस्तो विडम्बना ? कस्तो विभेद, कस्तो विषमता ? हेर्नुस् त ।’‘हाम्रातिर छाउपडी छ । त्यल्लाई कसरी हटाउन्या सर ?’ एउटी महिलाले प्रश्न गरिन्।

‘हामीले छाउपडी प्रथा अन्त्य गर्नका लागि अभियान चलाइसकेका छौँ । जति पनि छाउपडी गोठ छन्, हामी त्यसलाई भत्काउनेछौँ,’ दिवाकरले भने, ‘महिलालाई मासिकश्राव हुनु प्राकृतिक कुरा हो । मासिकश्राव हुनु उसको कमजोरी होइन, न त उनीहरुले पाप नै गरेका हुन् । तर, मासिकश्राव भएका वेला महिलाप्रति पशुलाई भन्दा तल्लो स्तरको व्यवहार गरिन्छ र उनीहरूको स्वास्थ्यमाथि खेलबाड गरिन्छन् ।’‘सर, अचेल साउन महिना चलिरहेको छ । महिलाले पुरुषको खुट्टा धोएर पानी खानु कत्तिको उचित हो ?’ एउटी महिलाले सोधिन्।

दिवाकरले उल्टै प्रश्न गरे, ‘तपाईंहरू आफ्ना पतिको खुट्टा धोएर पानी खानुहुन्छ कि हुन्न ?’‘अहँ, खाँदैनौँ,’ सामूहिक स्वर घन्कियो ।‘यो पनि एउटा कुप्रथा नै हो । महिलालाई दबाएर राख्नुपर्छ भन्ने पुरुषवादी मानसिकता र चिन्तनको उपज हो, यो । खुट्टाजस्तो घृणित भागलाई पखालेर पानी पिउन लगाउनु नारीमाथिको शोषण हो, उत्पीडन हो ।’ दिवाकरको दिमागभरि वर्षौंपहिले आफूले दिएको प्रशिक्षणको अंशहरू चलमलाउन थाले।

कुर्सीबाट उठे, दिवाकर, हठात् रूपले । कोठामा सिंगो शरीर नै नियाल्न मिल्ने ऐना टाँगिएको थियो । उनले पटक–पटक त्यो ऐनाअघि उभिएर आफ्नो अनुहार नहेरेका होइनन् । ऐनाअघि उभिएर सुट, बुट, टाई, महँगा विदेशी घडी र महँगा पफ्र्युम लगाइएको शरीर पनि ननियालेका होइनन् । आज भने दिवाकरलाई त्यही ऐनाअघि उभिएर आफ्नो अनुहार हेर्न मन लाग्यो ।ऐनाअघि उभिँदै, आफ्नो अनुहार नियाल्दै दिवाकरले सोधे, आफैँलाई एउटा प्रश्न, ‘के म उही दिवाकर हुँ ?’
 

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App