कुकुरको एक्लोपन र निराशा हटाउन डेटिङ एप सार्वजनिक भएको छ। भारतको हैदराबादस्थित डोफेयर नामक कम्पनीले अनौठो डेटिङ एप सार्वजनिक गरेको हो।
यो एपले कुकुरका लागि म्याचमेकिंग सेवा प्रदान गर्नुका साथै घरपालुवा जनावरका अभिभावक, स्थानीय पशु सेवा प्रदायक र पशु चिकित्सकलाई पनि जोड्ने माध्यमको रूपमा काम गर्छ।
कम्पनीका मालिक मौर्य कम्पेलीले सहरी जीवनमा कुकुरले एकअर्कालाई भेट्ने वा साथी बनाउने अवसर कम पाउने बताए। ‘कुकुर प्राय: एक्लोपन र निराशाबाट ग्रस्त हुन्छन्,’ उनले भने, ‘हाम्रो एपले यही समस्यालाई समाधान गर्न डिजाइन गरिएको हो।’ मार्च २०२५ मा सुरु भएको यो एपले हालसम्म १० हजारभन्दा बढी डाउनलोडको आँकडा पार गरेको छ।
एपले कसरी काम गर्छ?
यो एपमा प्रयोगकर्ताले आफ्ना कुकुरको प्रोफाइल बनाउन सक्छन्, जसमा कुकुरको नस्ल, ऊर्जा स्तर, स्वभाव र मनपर्ने(मन नपर्ने कुराको विवरण समावेश हुन्छ। यी जानकारीको आधारमा एपले नजिकैका उपयुक्त कुकुरसँग म्याच गराउँछ।
यो एप केवल साथि खोज्नका लागि मात्र नभई कुकुरका लागि खेल्ने, भावनात्मक सहयोग प्रदान गर्न पनि उपयोगी हुने कम्पनीले दाबी गरेको छ। एजेन्सी
प्रकाशित: १७ असार २०८२ १२:१८ मंगलबार