२ असार २०८२ सोमबार
image/svg+xml
अन्य

ट्रम्पको तस्बिर उल्टाउँदा सजाय

यस्तो पनि!

अमेरिकाको विस्किन्सन राज्यस्थित एउटा सैन्य तालीम केन्द्रमा राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा मन्त्री पिट हेसेथको तस्बिर उल्ट्याएर राखिएको आरोप लागेपछि त्यहाँकी महिला कमाण्डरमाथि कारबाही गरिएको छ। उनलाई जागीरबाट सस्पेन्ड गरिएको छ।

कारबाहीमा पर्ने महिला कमाण्डर कर्णेल सीला बेइज रेमिरेज रहेकी छन्। फोर्ट म्याक्वाय वेबसाइटका अनुसार उनलाई सस्पेन्ड गर्नुको मूल कारण भने केही बताइएको छैन। तथापि उनलाई यसबाहेक अन्य के कारबाही गरिएको छ भन्ने बारे केही खुलाइएको छैन।

गएको १४ अप्रिलमा सामाजिक सञ्जाल एक्समा ट्रम्प र हेसेथका तस्बिरहरू भित्तामा उल्टो गरी राखिएको पोस्ट गरिएको थियो। उक्त तस्बिरसाँगै लेखिएको थियो: ‘म्याक्वाय कमाण्डको भित्तो काण्डका बारेमा हालै उठेका प्रश्नहरूको जवाफ दिइएको छ। यसका बारेमा अझै थप अनुसन्धानहरू भइरहेको छ। यस अनुसन्धानपछि मात्र वास्तविक रूपमा के भएको थियो भन्ने जानकारी प्राप्त हुनेछ।’

कारबाहीमा परेकी कमाण्डर बेइज रामिरेजलाई त्यहाँ सन् २०२४ को जुलाई महिनामा मात्र सरुवा गरिएको थियो। यसअघि उनी अमेरिकी सैन्य जासूसी तथा सुरक्षा कमाण्ड भर्जिनियामा कार्यरत रहेकी थिइन्। उनी सन् १९९९ मा तालीम कर्पको हिस्सा रहेयता रिजर्भ अफिसरका रूपमा कार्यरत थिइन्। 

उनले मनोविज्ञान र मानसिक स्वास्थ्यमा प्युर्टो रिको विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् र आर्मी वार कलेज पेन्सिलभेनियाबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर गरेकी थिइन्। उनले विभिन्न पुरस्कारहरू समेत प्राप्त गरेकी छन्।
प्रस्तुति: अच्युत कोइराला

प्रकाशित: १६ वैशाख २०८२ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App