इलामको माङ्सेबुङ गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरिएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेका हुन् ।
गाउँपालिकाअन्तर्गत वडा र अन्य सरकारी कार्यालयमा प्रयोग हुने साइनबोर्ड, लेटरप्याड, फारामलगायत सामग्रीमा अब नेपाली भाषासँगै ‘लिम्बू भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपि’समेत प्रयोग गरिनेछ । अध्यक्ष राईले नेपालको संविधान (२०७२) र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा भएको व्यवस्थाबमोजिम जातीय बाहुल्यताका आधारमा गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरिएको बताए ।
‘गाउँपालिकाको भाषा, संस्कृति तथा ललितकलाको संरक्षण तथा विकास कार्यान्वयन निर्देशिका–२०७५’मा मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ,’ उनले भने, ‘सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ सम्म लिम्बू भाषा तथा किरात सिरिजङ्गा लिपि’को पठनपाठनसमेत भइरहेको छ ।’ उनले किरात मुन्धुम अध्ययन–अध्यापन गराउने नेपालको एकमात्र धार्मिक मुन्धुम विद्यालय तथा किरात साम्जिक मुन्धुम युक्सिड निसामहिम सञ्चालनमा रहेको र स्थानीय सरकारले मातृभाषा शिक्षकको दरबन्दीसमेत व्यवस्था गरिसकेको उनले जनाए ।
नेपालको संविधानले बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय बाहुल्यताका आधारमा यो घोषणा गरिएको अध्यक्ष राई बताउँछन् । नेपालको संविधानको धारा ३, ६, ७ (२) तथा धारा ३२(१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने तथा संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गरिएको उनको भनाइ छ ।
माङसेबुङ वडा ५ ले २०७५ मङ्सिर १३ मा लिम्बू भाषालाई वडा कार्यालयको कामकाजी भाषाका रूपमा घोषणा गरी प्रयोगमा ल्याइसकेको थियो । गाउँ कार्यपालिकाको गत वैशाख ११ मा बसेको ६६औं बैठक, त्यसअघि गत भदौ १३ को ५४औं कार्यपालिका बैठकले २०८२ असोज २६ मा यो घोषणा गर्ने निर्णय गरेपनि स्थगित थियो ।
त्यस अवसरमा प्रदेश प्रमुख खापुङले भूगोल, जाति, भाषा, लिपि, धर्म र संस्कृतिको विविधता मुलुकको अमूल्य निधि भएको बताए । उनले विविधताबीचको एकता नै नेपालको शक्ति भएको पनि जनाए ।
‘फूलबारीमा जसरी धेरै प्रकारका फूल समान रूपमा फुल्दा बगैंचाको सौन्दर्य बढेर जान्छ, त्यसरी नै नेपाललाई बगैंचाका रूपमा सम्झेर, हिमाल पहाड, तराई, जातजाति, भाषाभाषी संस्कृति र सम्पदाले समानुपातिक अवसर पाउँदा देश सुन्दर बन्छ,’ उनले भने, ‘सबैको पहिचानको सहभागिताले राष्ट्रिय पहिचान बलियो हुन्छ, राष्ट्रिय पहिचान बलियो भए राष्ट्रिय एकता बलियो हुन्छ ।’ उनले सबै समुदायबीचको सद्भाव, मेलमिलाप, प्रेम र सहिष्णुुता हाम्रा आवश्यकता भएको बताए ।
त्यस अवसरमा पत्रकार राम योङहाङद्वारा लिखित ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी’ पुस्तक विमोचन गरिएको छ । बान्तवा भाषा पाठ्यक्रम (आधारभूत तह) पनि विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ ।
प्रकाशित: १२ जेष्ठ २०८३ १८:५१ मंगलबार





