९ वैशाख २०८२ मंगलबार
image/svg+xml
अन्य

सुगन्ध चोरहरूमाथि निगरानी!

बेलायतमा यतिबेला सुगन्ध चोरहरूबाट कम्पनीहरू दिक्दार भएका छन्। भएछ के भने, अद्भुत सुगन्ध (परफ्युम) हरूको मूल्य अलि बढी नै हुन्छ। बाकाराट रग नामक कम्पनीले उत्पादन गर्ने परफ्युमको मूल्य ५० हजारबाट शुरु हुन्छ। त्यस्तै अर्को एउटा परफ्युम पेनहालिगनको मोल ३५ हजारबाट शुरु हुन्छ। बजारमा भने ठ्याक्कै त्यस्तै सुगन्धको नक्कल निकै सस्तोमा पाइन थालेको छ । 

पछिल्लो समयमा सामाजिक सञ्जालमा कसरी सक्कलीजस्तै परफ्युम बनाउने भन्ने भिडियोहरूका कारण घरैमा उच्च गुणस्तरका सुगन्ध बनाउने क्रम बढ्न थालेको छ। यस्तोमा वास्तविक र महँगा सुगन्ध निर्मातालाई वार्षिक करोडौं डलर घाटा पर्न थालेको छ। यस्तोमा सामाजिक सञ्जालमा फलानो सुगन्धजस्तै बनाउने तरिका भनी सिकाउनेहरूमाथि मुद्दा चलाउनेबारे वकिलहरूले छलफल शुरु गर्न थालेको द अब्जर्भर पत्रिकाले जनाएको छ। 

वकिलहरूका अनुसार, जसलाई पनि मनोहर सुगन्ध मन पर्छ। सुगन्ध निर्माण पनि एउटा कला हो। त्यो कलालाई वर्षौंको अनुसन्धानपछि तयार गरिन्छ र बजारमा बेच्नका लागि पुर्‍याइन्छ तर जब बजारमा त्यो सुगन्ध पुग्छ, त्यसलाई नक्कल गर्नेहरू पनि सामाजिक सञ्जालमा भिडियो नै बनाएर यसरी बनाउनोस्, महँगो परफ्युम भन्दै सिकाउन थाल्छन्। यसले कलाकारहरूको सिर्जना मर्ने र उनीहरूको अनुसन्धानमा गरिएको लगानी खेर जाने विशेषज्ञ वकिलहरूको भनाइ छ।

‘सुगन्ध भनेको कलाकारले निर्माण गर्ने कडा परिश्रमबाट बन्ने तत्व हो। यसका लागि विशेषज्ञता चाहिन्छ, सिर्जनशीलता चाहिन्छ। कलाकारको ऊर्जा र लगानीको त झन् कुरै भएन,’ ब्राडफिल्ड ल फर्मका मिरेली ड्यगरको भनाइ छ। उनी भन्छन्, ‘तर समस्या के छ भने कलाकारले जे जस्तो सुगन्ध बनाउँछ, त्यसमा प्रतिलिपि अधिकार सुरक्षित हुँदैन। कम्पनीको लोगोमा भने प्रतिलिपि अधिकार सुरक्षित हुन्छ। अब हामीले सुगन्धको प्रकारमा समेत प्रतिलिपि अधिकार सुरक्षित गर्नुपर्ने बेला आएको छ।’

त्यसका लागि ठूला कम्पनीहरूले अब सुगन्धको प्याटेन्ट दर्ता गर्नुपर्ने बेला आएको उनको भनाइ छ। जसमा वास्तविक सुगन्धको प्रस्ट रूपमा ट्रेडमार्क दर्ता गराउन ढिला भएको उनीहरूको भनाइ छ। ‘जुन तपाईं हामीले कुनै सुगन्ध मन पराउँछौँ, त्यसलाई ठ्याक्कै शब्दमा व्यक्त गर्न सकिँदैन,’ बौद्धिक सम्पत्ति विभागकी इलोइस हार्डिङ भन्छिन्, ‘त्यसैले यो अलि क्लिष्‍ट विषय हो।’ उता केही विशेषज्ञ भने कसैले कुनै सुगन्ध बनाएको २० वर्षसम्म त्यसको प्रतिलिपि अधिकार रक्षा हुनुपर्ने आवाज उठाइरहेका छन्। 
प्रस्तुति: अच्युत कोइराला

प्रकाशित: २ वैशाख २०८२ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App