२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २१:५४ अपराह्न
अन्य

ट्वाइलेट पेपरले प्यान नपुछ्नोस्

यस्ताे पनि!

जापानीहरू ससाना कुरामा पनि ध्यान दिन्छन्। कतिसम्म भने बिहान पाइखानामा पनि सुमधुर संगीत सुनाउनेदेखि, स्वचालित फ्लश र तातो सिट जस्ता सुविधा राखिदिएका हुन्छन्। यस्ता ट्वाइलेट निर्माताले आफ्नो डिजाइन उम्दा बनाउँछन्। त्यसमा उनीहरू गर्वसमेत गर्छन्। तर यी अत्याधुनिक सिटहरूको दुश्मन बनेर आइपुगेको छ– ट्वाइलेट पेपर। पछिल्लो साता जापानको प्रसिद्ध शौचालय निर्माता टोतोले प्रयोगकर्ताहरूलाई ट्वाइलेटको बैठक सिटलाई ट्वाइलेट पेपरले नपुछ्न सुझाव दिएको छ। खासगरी ट्वाइलेट पेपरको खस्रोपनाले सिटको आवरण कोतरिने र कोतरिएका कारणले सिटमा साना दुलाहरू बन्ने कम्पनीले बताएको छ।

यस्तो दुलाहरूमा पछि पानी छिर्ने कारणले ट्वाइलेटको प्यानको रङ फिक्का हुँदै जान थाल्ने कम्पनीले बताएको छ। कम्पनीले ट्वाइलेट कसरी प्रयोग गर्ने भनेर सिकाउनुको मूल कारण भने पछिल्लो समय कम्पनीमा आएका धेरै गुनासाहरू पनि हुन्।

सामाजिक सञ्जालमा टोतो कम्पनीलाई ट्याग गर्दै केही प्रयोगकर्ताहरूले गुनासो गरेका थिए। गुनासोअनुसार,  ट्वाइलेटको प्यान फिक्का हुन थाले भन्ने थियो। यसपछि ग्राहकहरूलाई शिक्षा दिने हेतुले ट्वाइलेट पेपरले प्यान नपुछ्न अनुरोध गरेको हो।

जापानमा पाइखानालाई कसरी प्रयोग गर्ने भनेर सिकाउने टोतो मात्र कम्पनी होइन। सफाइ विशेषज्ञहरूले र जीवनशैलीसम्बन्धी वेबसाइटहरूले पनि पहिले यस्तै सुझाव दिने गरेका थिए। धेरै वेबसाइटहरूले ट्वाइलेट पेपरको साटो धाराको पानी वा डिटर्जेन्टले भिजाइएको सफा कपडा प्रयोग गर्न सल्लाह दिने गरेका छन्।

पाइखाना सफा गर्न थिनर, नायलन वा धातुका स्क्रबर, वा कोतर्ने वस्तुहरू प्रयोग नगर्न प्रयोगकर्ताहरूलाई सिकाउने गरिन्छ। पाइखानालाई लामो समयसम्म सफा र टिलिक्क टल्काउन यो जत्तिको राम्रो उपाय अरू नहुने टोतोको भनाइ छ।

टोतोले भनेको छ, ‘हामीले कोतर्ने किसिमका सामग्रीहरू प्रयोग नगर्न सुझाव दिइरहेका छौँ। अहिलेसम्म नकोतर्ने सामग्री उत्पादन गर्न व्यापक रूपमा अनुसन्धान गरिरहेका छौँ। त्यो फेला पार्नेबित्तिकै तपाईंहरूलाई जानकारी दिनेछौं तर त्यतिञ्जेलसम्म चाहिँ ट्वाइलेट पेपरले सीटलाई नरगढ्ने, नपुछ्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ।’

टोतोले वाशलेट बिडेट शौचालयमा स्वचालित ढक्कन, एयर ड्रायर र बिडेटको पानीको प्रवाह नियन्त्रणजस्ता सुविधा दिने गरेको छ। जापानी शौचालयहरूलाई देशकै आतिथ्य संस्कृतिको ठूलो अंशका रूपमा हेरिन्छ। जापानीहरूको आतिथ्य विदेशी पर्यटकका लागि अप्रत्याशित आकर्षण मात्र बनेको छैन जापानमै पनि पाइखानामाथि गरिएका अनुसन्धानहरूलाई गर्वका साथ हेरिन्छ।

प्रकाशित: २२ पुस २०८१ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App