जब युरोपेलीहरू नयाँ संसार खोज्दै पृथ्वीको पश्चिमी भेगतिर लागे, १५ औँ शताब्दीको अन्त्यताका टमाटर, मरिच र आलुजस्ता उत्पादन पनि लिएर आए। उनीहरूले त्यस अवधिमा खतरनाक र युरोपका लागि नयाँ रोग भिरिङ्गी पनि लिएर आए।
धेरै वर्षअघिदेखि भिरिङ्गी युरोपमा कुन बेलादेखि फैलियो भन्ने विवाद चलिरहेकोमा सन् १४९५ को वसन्त याममा फ्रान्सेली सम्राट चाल्स आठौँले इटालीमा आक्रमण गर्दा सेनाहरूमा त्यो रोग सरेको देखिन्छ।
भिरिङ्गी रोग सेनामा बढी देखिएको र त्यसको मृत्युदर तुलनात्मक रूपमा बढी थियो। यसअघि युरोपमा नदेखिएको उक्त रोगले पाँच वर्षभित्रै सारा युरोपलाई सखाप पारेको थियो। यो रोग क्रिस्टोफर कोलम्बस नयाँ संसारबाट फर्किएको केही वर्षमा फैलिएको विश्वास विश्लेषकहरूको छ।
केहीले भने सन् १४९३ कै बेलामा कोलम्बसले आफूसँगै भिरिङ्गी रोग ल्याएको हुनसक्ने अनुमान गरेका छन्। त्यो बेला उनले स्पेनमा रोग ल्याएका थिए तर त्यतिबेला रोगको पहिचान हुन सकेको थिएन। नेचर जर्नलमा प्रकाशित शोधअनुसार भिरिङ्गी रोगको स्रोत मेक्सिको, पेरु, चिली र अर्जेन्टिना थियो। त्यहाँका पुराना मानव अवशेषको अध्ययन गर्दा तिनमा भिरिङ्गीको लक्षणहरूका संकेत पाइएको थियो।
डा। केसी किर्कप्याट्रिक लगायतका अध्येताहरूले अध्ययनमा के पाए भने, भिरिङ्गीका डिएनएको माउ खोज्दै जाँदा युरोपमा पाइएका भिरिङ्गी कोलम्बसअघि पाइएको थिएन। यसको अर्थ, उताबाट यता आएको हो।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ९ पुस २०८१ १०:२९ मंगलबार





