लागु औषध मुद्दामा हिरासतमा रहेका थुनुवालाई थुनामुक्त गरिदिन्छु भनी रकम लिने तीन जना पक्राउ परेका छन्।
कैलाली प्रहरीका अनुसार लागु औषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका एक जनालाई थुनामुक्त गरिदिन्छु भनेर परिवारका सदस्यहरूसँग ३९ हजार पाँच सय भारतीय रुपैयाँ घुस रकम लिने तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउद, २२ वर्षका रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन्।
पक्राउ परेका तीनै व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि कैलाली प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान कार्य जारी राखेको सह–प्रवत्ता दर्शन खड्काले जानकारी दिएका छन्।
प्रकाशित: ६ पुस २०८१ ११:३३ शनिबार