८ वैशाख २०८१ शनिबार
अन्य

मध्य उमेरका महिला र पुरुषमा आइपर्ने संकट

सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला... 
केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु । हो, मध्य उमेरको संकटको कुरा गर्न लाग्दैछु । खासमा मध्य उमेरका व्यक्तिमा पहिचान र आत्मविश्वासको ट्रान्जिसन (संक्रमण) लाई नै मध्य उमेरको संकटको रूपमा लिइन्छ । नेपालीहरुको औसत आयुको हिसाबले त अलि अगाडिको उमेरलाई नै मध्य उमेर मान्नुपर्ने हुन्छ । किनकि प्रायः ४५ देखि ६४ को उमेरमा मध्य उमेरको संकट देखापर्ने र यो समस्या पुरुषमा ३ देखि १० वर्ष र महिलामा २ देखि ५ वर्षसम्म रहने अनुमान गरिन्छ ।

बढ्दो उमेर, रोक्न नसकिने मृत्युको निकट आभाष र जीवनको उपलब्धिमा असफलता वा कमीका कारण मानसिक संकट निम्तिन्छ । अवसाद (डिप्रेसन), चिन्ता, फेरि युवा हुने चाहना जीवनशैलीमा आउने परिवर्तनका कारण पनि यस्तो संकट आइपर्छ । त्यसो त यो विषय चर्चा परिचर्चा हुन थालेको पनि आधा शताब्दी भइसक्यो । यस उमेरमा प्रायः व्यक्तिले आफ्नो विगत मूल्यांकन गर्न थाल्छन् । आफूले आफ्नो पुनरावलोकन गर्न थाल्छन् । 

तनाव उत्पादकलाई संकटको रूपमा लिने गरे र दिनदिनैको तनावले संकट निम्त्याउने भए पनि खासमा तनाव र संकट पृथक् कुरा हुन् । वास्तवमा यी तनाव उत्पादक त अधिक भार मात्र हो । महिला पुरुष दुवैले परिस्थितिअनुसार एकैपटक विभिन्न भूमिका (घरमा श्रीमती, आमा, नन्द, भाउजू अनि फेरि अफिसमा कर्मचारीको भूमिका) निभाउनु पर्दा यस्तो संकट आइलाग्छ । महिलाको जस्तै हालत छ पुरुषको पनि । आफ्नै जीवन साथीको मृत्यु अनि आफ्नो क्यारियरमा आइपरेको कुनै समस्याले यस्तो संकट निम्त्याउँछ । सालाखाला १५ प्रतिशत मानिसले यस्तो अकल्पनीय मध्य उमेरको संकटको अनुभव गर्छन् । र, अध्ययनले कम पढेकोमा बढी संकट देखा परेको देखिन्छ भने त्यसको ठीक उल्टो युरोपियनको दाँजोमा एसियनहरुमा यस्तो समस्या कम पाइएको छ । त्यसो त नेपालीहरुमै पनि खप्ने क्षमता, सहनशीलता, सधैंभरि दुखजिलो बाटो, जीवनको आशा अपेक्षा नै कम भएकाले एसियनहरुमा जस्तै नेपालीहरुमा पनि यस्तो संकट कम पाइएको होला । 

तर पनि ढल्कँदो उमेर वा उमेरसँगै काम र क्यारियरमा दाम्पत्य जीवनमा उतारचढाव, बच्चाहरु हुर्कँदै आउनु, अभिभावकको मृत्यु हुनु पनि मध्य उमेरको संकटको कारण हुनसक्छ । महिला र पुरुषमा तनाव उत्पन्न कारक तत्वमै  भिन्नता हुने कारण मध्य उमेरको संकटको कारक तत्व पनि फरक हुनसक्छ । जस्तो कि पुरुषमा यस्तो संकट जागिर, काम वा विलासिताका वस्तुसँग सम्बन्धित हुन्छ भने महिलामा फेसन, देखावटीसँग सम्बन्धित हुनसक्छ । खासमा यो आफ्नो भूमिकाको व्यक्तिगत मूल्यांकनको उपज पनि हो ।

मध्य उमेरको संकट उत्पन्न हुनुमा जीवनको उद्देश्य प्राप्ति नहुँदा, सफलताको शिखरमा पुगेका साथीहरुमाझ आपूmलाई निर्धो सम्झिने बानी, फेरि युवा हुने चाहना पनि हो । यस्तो बेला यौन चाहना अधिक वा कम हुने, एक्लै बस्ने वा कसैको हरदम सामीप्य चाहने, शारीरिक वजनमा बढोत्तरी, अनुहारमा चाउरिपना आउने, शरीरको छाला झोलिने, कपाल झर्नेजस्ता भौतिक परिवर्तन देखिन सक्छ । नियमित व्यायाम र स्वस्थ एवं सन्तुलित भोजनको अभावले पनि यस्तो संकट आउन सक्ने भए पनि सिग्मन्ड फ्रायडका अनुसार मध्य उमेरमा आगत मृत्युको डर नै मुख्य कारक तत्व हो । धेरैले आफ्नो विगतको उपलब्धिलाई नकारात्मक तवरमा लिए पनि वास्तवमा आफ्नो व्यक्तित्व विकासलाई लिएर सकारात्मक सोच राखेमा सबै कुरामा फाइदा  हुन्छ । काममा, जीवनशैलीमा एकांकीपन (मोनोटोनस) ले यस्तो संकटलाई बढावा दिन्छ । शब्द, अंक नै भुल्ने, नाम बिर्सने हुन्छ । वयस्क हुँदै जाने क्रममा आफ्नै जीवनप्रति वितृष्णा जाग्ने हुन्छ । 

पुरुषमा चिडचिडाहट, यौन उत्तेजनामा कठिनाइ, आलस्य, अवसाद, भ्mयाउ लाग्ने, दिक्क लाग्ने हुन्छ । ‘टेस्टेस्टोरोन’ हर्मोनको कमीसँगै आधा बाटो पुगेँ, समय गुज्रिँदै छ, समय घर्किँदै छ, समय सकिँदैछ भन्ने सोच अनि मर्ने बेला नजिकिँदै छ भन्ने डर हुन्छ । मध्य उमेरको संकट ठ्याक्कै मेडिकल समस्या होइन तर प्रायः मा चिन्ता र अवसाद हुन्छ ।  
अवसाद भन्नाले दुई हप्ता वा बढी समयसम्मको मुडमा कमी, जीवनमा उत्साहको कमी, निराशा, थकान, शक्तिहीन, एकाग्र दैनिक जीवन कार्यमा अधिक निद्रा वा अनिद्राको शिकायतलाई बुझाउँछ । गम्भीर खालको अवसादका लक्षण चिह्नहरुमा, खानपिनमा बदलाव, निद्रामा समस्या, थकान, छटपटी, चिन्ता, चिडचिडाहट हुन्छ । 

सम्बन्ध विच्छेद वा दाम्पत्य जीवनमा आएको परिवर्तनका साथै भौतिक परिवर्तन र मानसिक बदलावका कारण पनि यस्तो संकट निम्तिन्छ । पुरुषको हकमा मध्य उमेरको संकटको क्रममा मुडमा झुलझुलाहट, मांसपेशीको मात्रामा कमी, व्यायाम गर्ने क्षमतामा कमी, जिउमा बोसोको वितरणमा बदलाव, स्तन बढ्ने, रुचिमा कमी, जिज्ञासाको कमी, ईच्छा शक्तिमा कमी, ध्यान केन्द्रितमा कठिनाइ उत्पन्न हुनसक्छ । पुरुषमा ‘एन्ड्रोजेन’ हर्मोन (टेस्टोस्टेरोन) मा कमी सँगै माथि उल्लेखित लक्षण चिह्नहरु देखा परेका कारण के पुरुषमा पनि रजनोवृत्ति हुन्छ भन्ने सवाल उत्पन्न भएको छ । तर यो सत्य होइन किनकि ३० को उमेरपछि क्रमशः वर्षेनी २ प्रतिशतको दरले यो हर्मोन घट्दै जाने हुनाले प्रायः पुरुष मानिसमा यो समस्या हुँदैन । जीवनको उत्तराद्र्धतिर ‘टेस्टोस्टेरोन’को अभावमा यी लक्षण चिह्न देखिनुमा जिम्मेवार पनि छन् तर हर्मोनसँग मात्र यी लक्षण चिह्नसँग कुनै तालमेल वा सम्बन्ध छैन । 

कुपोषण, अत्यधिक मद्यपान, धूमपान एवं आर्थिक समस्या पनि कारक तŒव हुन् । विशेषतः मोटोपना वा दोस्रो प्रकारको मधुमेह भएकामा यस्तो संकट बढी देखा पर्छ । अतः मध्य उमेरको संकटको व्यवस्थापनमा यी कुराको उचित व्यवस्थापनका साथै तनाव व्यवस्थापन, चिन्ता अवसादको उपचार, एकाध जनामा ‘टेस्टोस्टेरोन’ परिपूर्तिको थेरापी, (उपचार) व्यायाम, योगा, ध्यान, रिल्याक्स, थेरापीको उत्तिकै भूमिका हुन्छ । 

महिलाको हकमा रजनोवृत्तिलाई अलि बढी महŒव दिएको पाइन्छ । त्यसो त डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ । यो क्रममा लगातार कम्तीमा १२ महिनासम्म महिनावारी हुँदैन । नेपालमा सामान्यतया ४० वर्ष देखि ५५ वर्ष (औसतमा ५० वर्ष) सम्ममा नेपाली महिलाहरुको महिनावारी सुक्ने गरेको छ । महिलाको उमेर घर्केपछि डिम्बाशयमा डिम्ब सकिनाले तथा टाउको भित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थीदेखि पाठेघरको भित्री तहको आ–आफ्नो काममा शिथिलता आउनाले महिनावारी सुक्छ तर महिनावारी सुरु हँुदाको उमेर वा पछिल्लोपटक गर्भवती भएकोसँग रजनोवृत्ति सम्बन्धित छैन ।
त्यसैगरी गर्भको संख्या, स्तनपानको अवधि, पिल्स चक्कीको सेवन, सामाजिक तथा आर्थिक अवस्था, जाति, उचाइ, तौलसँग पनि यसको सम्बन्ध छैन । तर पनि पातलो ज्यान भएकी, कडा खालको कुपोषण भएकी तथा धूमपान गर्ने महिलामा चाँडै रजनोवृत्ति हुनसक्छ । ४० वर्षमुनिका महिलामा महिनावारी सुक्नुलाई चाँडै रजनोवृत्ति, ५५ वर्षपछि महिनावारी सुक्नुलाई ढिलो रजनोवृत्ति भनिन्छ । पाठेघरमा मासु पलाएमा, मधुमेह, कतिपय डिम्बाशयको ट्युमरमा ढिलो रजनोवृत्ति हुन्छ भने पाठेघर निकाल्ने वा अन्य शल्यक्रियाका क्रममा दुवै डिम्बाशय निकालेमा वा विकीरणका कारणले कृत्रिम रूपमा रजनोवृत्ति निम्तिन्छ ।

विश्वमा अन्यत्र जस्तै नेपाली महिलाको औसत आयुको वृद्धिसँगै रजनोवृत्तिपछि पनि एक तिहाई जीवन बाँकी हुने हुँदा यस अवधिमा लामो समयसम्म ‘इस्ट्रोजेन हर्मोन’को अभावमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । ‘इस्ट्रोजेन हर्मोन’को अभावमा पाठेघरलाई भर दिने मांसपेशी तथा बाक्लो तन्तु पनि खुकुलो हुन गई आङ खस्नेलगायत पिसाब थैली झोलिने, पिसाब राम्ररी ननिख्रने समस्या उत्पन्न हुन सक्छ ।

रजनोवृत्तिपछि डिम्बाशय सुक्छ, चाउरिन्छ । पाठेघर, डिम्बवाहिनी नली, योनिद्वार साँगुरिन्छ । यी अङ्गको लचकपना घट्नुका साथै यसको बाह्य सतह पातलिन्छ । ‘डोडेरलेन’ नामक ब्याक्टेरियाको अभावमा योनिद्वारको क्षारियपना बढ्न गई स्त्री जननेन्द्रियको संक्रमणको खतरा बढ्छ । स्तनमा बोसोको मात्रा घट्न गई आकार सानो हुने तथा स्तन झोलिने हुन्छ । रजनोवृत्ति भएकी महिलाको छाला चाउरिने, चाँडै असर पुग्ने, संक्रमण हुने हुनसक्छ ।

रजनोवृत्तिपछि हड्डी कमजोर हुने, हड्डी त्यत्तिकै भाँचिने, हृदयाघात हुने, मुटुका रक्तनलीको समस्या हुने, मस्तिष्कमा आघात हुने सम्भावना बढ्छ । ‘इस्ट्रोजेन’को अभावमा रजनोवृत्तिपछि कोलेस्ट्रोलको मात्रा तथा हानिकारक लिपोप्रोटिन बढ्ने, राम्रो खाले लिपोप्रोटिन घट्ने, रक्तनलीको भित्ताको बाक्लोपना बढ्ने, कडा हुने, रक्तनली भित्रै रगत जम्ने समग्रमा मुटुसम्बन्धी समस्या बढ्न सक्छ ।

रजनोवृत्ति लगत्तै कतिपय महिलालाई बेलुकी गर्मी महसुस हुने, पसिना आउने, निद्रा लाग्न गाह्रो हुने, मुटुको ढुकढुकी बढ्ने, नाडी छिटो चल्ने हुनसक्छ भने यौनसम्पर्कका क्रममा बढ्ता पीडा हुने हुनसक्छ । यस्ता महिलामा हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउँदा पिसाब छुट्ने तथा पिसाब पोल्ने, पटक–पटक पिसाब लाग्ने हुनसक्छ । यसका साथै चिन्ता हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, चिडचिडाहट हुने, उदास हुने हुनसक्छ । यसरी मध्य उमेरका महिलाको संकटका लक्षण चिह्नसँग महिलामा हुने रजनोवृत्तिका कतिपय लक्षण चिह्न मिल्दोजुल्दो छन् । रजनोवृत्ति भएकी महिलाको इस्ट्राडिओल, फोलिकुलर स्टिमुलेटिङ तथा ल्युटेनाइजिङ हर्मोनको मात्रामा गडबडी आउँछ । 

रजनोवृत्ति उमेर पुग्न लागेका तथा भइसकेकी महिलालाई पोसिलो खानाका साथै थप क्याल्सियम, नियमित व्यायाम लगायत भिटामिन डी, बाइफोस्फेट, फ्लोराइड, क्याल्सिटोनिन, थप हर्मोनको जरुरत पर्नसक्छ । यसका साथै यदि उक्त महिलामा उच्च रक्तचाप, धूमपान, उच्च कोलेस्ट्रोल, मधुमेह छ भने थप उपचारको जरुरत पर्छ ।

प्रकाशित: १४ चैत्र २०७४ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App