coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

म तिमीसँग बिहे गर्न सक्तिनँ

निरुपा प्रसून
म बाहुनकी छोरी । यतिखेर सार्की युवकको पछि लागिरहेकी छु, मरिमेटेर, लागिपरेर, भावुक भएर, गम्भीर भएर, जिउज्यान दिएर ।‘बिहे गर्छु के म तिमीसँग ?’‘पलभरको आवेग तिम्रो,’ युवक मेरो कुरालाई गम्भीर रूपमै लिँदैन । मुस्कुराएर टारिदिन्छ ।

‘कस्तो स्मार्ट लाग्यो नि मलाई तिम्रो आमा । अरु बूढाबूढी भए त भेट्नेबित्तिकै सोधिहाल्थे, बाबुको के थर हो भनेर, छोरी नै माग्न आएको जस्तो गरेर,’ ऊ खुसी देखिन्थ्यो, आफ्नो जात भन्न नपरेकामा ।
‘धन्न आफ्नो ओरिजिनल हुनेवाला सासुआमाले सोधिनन् है । देख्यौ कस्तो स्मार्ट छ हाम्रो फेमिली,’ जिस्काइदिएँ मैले ।

‘सोध्नुभएको भए झूट बोल्थ्यौ तिमी ? तिमीहरूलाई आफ्नो थर भन्न किन यति धेरै आपत्ति हुन्छ ?’ आँखा तरेरै प्रश्न गरेँ मैले ।‘नेभर, म पूरा तयार थिएँ । जे हो त्यही भनिदिन्थेँ । तिम्लाई के थाहा छ, दलित हुनुको पीडा ? भोग्नेलाई पो थाहा हुन्छ,’ ऊ किन हो डराएरै भनिरहेको थियो, एक किसिमको आक्रोश मिश्रित आवाजमा । आमाको पनि त्यही दिन मेरोभन्दा दुई घन्टाअगाडि पोखराका लागि उडान थियो ।

डिले भएछ । म अफिसको कामले नेपालगन्ज जाँदै थिएँ । पानी परेकाले निश्चित समयमा उडेका थिएनन् प्लेनहरू । एयरपोर्टमा सुभाष र आमाको भेट भएको थियो । सुभाष मलाई पुर्याउन एयरपोर्ट आएको थियो । त्यो दिन मैले सुभाष र आमाका तस्बिरहरू पनि खिचेकी छु ।हामी मिल्ने साथी हौँ ।

आमा भन्नुहुन्छ सधैँ, ‘म त अनुहार हेरेरै चिन्दिन्छु को मान्छे के जातको हो भनेर ।’ पछि सोधे मैले, ‘आमा ! एयरपोर्टमा भेट्या मेरो साथी कुन जातको हो ल भन्नुस् त ?’‘ठकुरीजस्तो थियो,’ हाँसो रोक्न सकिनँ मैले । यस्तो पनि अनुहार हेरेर जात चिन्ने रे ! हैट ।

मेरी आमा अरु कुरामा मोर्डन भए पनि यो जातको मामिलामा असाध्यै पुरातनवादी हुनुहुन्छ । यस्तो आमाकी छोरी मैले भने दलित भनिएको जातसँग बिहे गर्ने निर्णय गरिसकेँ, मनोमानी ढंगले । दिदीलाई भनिसकेँ, पत्याउनुभएको छैन ।

 स्कुल पढ्दाको साथी प्रशान्त पन्त । ऊ स्कुलसम्म पढाइमा अब्बल थियो । पछि के भयो कुन्नि ब्याचलर भर्ना गरेर पनि नपढी दुबई पो गएको रैछ । फेसबुक च्याटमा कुरा भयो निकै पछि ।‘मेरो बिहेमा आउ है ?’
‘वाउ ! कहिले ?’‘यही मंसिरमा ।’‘स्योर । कंग्र्याटस् ! लभ हो कि एरेन्ज ?’‘लभ ।’‘वाउ ! खै फोटो हेरुम ?’
उसले फोटो सेन्ट गर्यो । मंगोलियन टाइपको थियो, केटीको अनुहार ।‘इन्टरकास्ट हो ?’

आफ्नो कुरा पनि उसलाई सुनाउँछु भनेर सोच्दै थिएँ, म पनि इन्टरकास्ट बिहे गर्दै छु भनेर सुनाउनु थियो ।
‘हो नि । पानी नै नचल्ले पो हुँदैन, अरु त खासै फरक पर्दैन,’ उसको जवाफ ।धिक्कार लाग्यो २१औँ शताब्दीको युवाको सोच ।

त्यसपछि अरु कुरा गर्ने मुड पनि भएन मलाई त्योसँग । पानी नचल्ले जातसँगको मेरो बिहेको प्रसंग किन सुनाउँ त्यसलाई ? सुनाइनँ ।मलाई माया गर्ने दाइ एकजना हुनुहुन्छ । नाता पर्ने दाइ होइन, गोत्र एउटै भएर दाइ–बहिनी बनेका हामी । म आफ्ना कुरा अक्सर सुनाउँछु । भाइबरमा कुरा हुन्छ हाम्रो ।एक दिन मैले सोधेँ, ‘दलितप्रति धारणा के छ हजुरको ?’

‘उनीहरूलाई समान अधिकार दिनुपर्छ, शिक्षामा जोड दिनुपर्छ सरकारले ।’‘उफ् अधिकारको कुरा गरेकी होइन क्या । यो भेदभाव, तल्लो जात, छुवाछुत के के जाति भन्छन् नि ।’‘त्यस्तो भेदभाव गर्नुहुन्न । रगत उस्तै । छाला उस्तै लिंग उस्तै, केही फरक छैन हामी र उनीहरूबीच । तिमी पनि कमिनीजस्तै त छौ नि ।’
‘मतलब ?’‘राम्री छौ भन्या क्या ।’‘मानिलिउँ मैले सार्कीसँग बिहे गरेँ भने हजुर के ठान्नुहुन्छ ?’ प्रसंग बदलेँ मैले ।

‘तिम्रो माइती बनेर तिम्लाई घर–माइती गराउँछु ।’‘साँच्चै ?’‘डन भयो हन्ड्रेड परसेन्ट,’ दाइको कुराले म एकदमै फुरुंग भए ।माइती पनि पाइसकेँ । सपोर्ट गर्ने मान्छे पनि । सुभाष मेरो प्रेमी होइन, नजिकको साथी हो । माया लागेर, ऊसँग बिछोड हुन नसकेर होइन, मैले बिहे गर्छु भनेर हिँडेकी । न त अरु कोही नभेटेरै हो । म परिर्वतन चाहन्छु । लियो टोल्सटोयले ‘वार एन्ड पिस’मा भनेका छन्, ‘हामी संसार बदल्न चाहन्छौँ तर आफू बदलिन कहिले पनि चाहँदैनौँ ।’


आजसम्मको मलाई मनपर्ने हरफ पनि यही हो । हो म समाज बदल्ल चाहन्छु । र, सुरुवात आफैँबाट गर्नुपर्छ ।कलेज पढ्दा पनि मसँग मिल्ने साथी दमिनी थिई । तीन वर्षसँगै कलेज पढेकी साथीको असली थर मैले कलेज सकिएपछि मात्र थाहा पाएकी थिएँ । केका आधारमा, कुन शासकका पालामा छुट्ट्याइयो यो जातपात ! समाजले यो विभेदलाई आजसम्म बोकी हिँडेको छ । कसैका लागि आफू ठूलो भएको अहं या गर्व, कसैका लागि आफूलाई सानो बनाइएको हीनताबोध, यसको कारण के होला ?


हुन त, दलितहरुको पनि बाहुन–क्षेत्रीकै जस्तो थर हुन्छ भन्छन् । जेहोस्, आजको विज्ञानको युग, नवजागरण र सामाजिक न्यायमा बहस हुने युग, तर मानिसहरु जातमाथि अहं र हीनताबोध गरिरहेकै छन् ।यी र यस्तै धेरै कुरा आए मनमा र म थर लुकाउने साथीसँग बोलिनँ । उसले लामो म्यासेज गरेपछि म पुनः बोल्न थालेकी थिएँ ऊसँग ।ऊ भन्थी, ‘आफ्नो जात भन्दाको पीडा भनिसाध्य छैन ।
हो, हामी चार दिन भान्छामा पस्न नपाउँदा के के न आकाश खसेजस्तो गरिरहेका छौँ, झन् जन्मभर अछुत बनेर कसरी बाँच्नु होला ? सम्झँदै रिंगटा लाग्छ ।

उसको आमा बितेको भोलिपल्ट धेरै च्याट भयो हामीबीच । मृत्य, जीवन र जगत्बारे उसलाई सम्झाएँ । आमाको काम सकिसकेपछि हामी भेट्यौँ । म निःशब्द भएँ । एक्कासि सम्मान त दोब्बर भयो उसप्रति । सुभाषले मसँग बिहे गर्छु भन्यो । मैले स्विकारेँ । म यही समयको पर्खाइमा त थिएँ । असाध्यै खुसी हुनुपर्ने हो तर त्यो साँझ घर फर्किएर अलिकति बिचलित भएँ म ।

अन्तद्र्वन्द्वमा फनफनी रहेँ । दुनियाँ एकातिर र म अर्कोतिर भएको परिदृश्य पनि आए आँखासामुन्ने । ‘सजिलो बाटो त जो पनि हिँड्न सक्छ, कोही नहिँडेको बाटो हिँड्नु पो हिँड्नु,’ बुवाले सानोमा सिकाउनुभएको कुरा सम्झेँ । र पनि यो कुरामा मेरो बुवा बिल्कुलै सहमत हुनुहुन्न एउटा मार्मिक असन्तुष्टिले भित्रभित्रै निस्सासिएकी थिएँ एकैछिन ।

ऊविना त अब मेरो कुनै पनि काम पूरा हुँदैन । यता जाउ सुभाष, उता जाउ सुभाष, यो सुन सुभाष, त्यो सुन सुभाष । डाइरेक्ट हजब्यान्डवाला फिल आउँछ । उसलाई के फिल आउँछ कुन्नि !सुभास एक्लै बस्छ काठमाडौंमा । म बिदामा उसको कोठा जान्थेँ । उसलाई काममा सघाउन उमेर बाँकी नै छ जस्तो लाग्थ्यो र सघाउँदिनँथेँ । बस्, उसले बनाएको चिया पिउँथेँ र अरु बढी भाँडा जुठो बनाएर आउँथेँ ।


 म सम्पूर्ण रूपमा ऊप्रति सर्मपित थिएँ । मन, वचन र कर्म सबै–सबैमा सुभाष मिसिएको थियो । सम्पूर्ण रूपमा उसकी हुन तयार थिएँ । मलाई कसैको डर लाग्दैनथ्यो, न त कसैले मलाई ऊबाट अलग बनाउन सक्छ जस्तो लाग्थ्यो । निर्धक्क र निस्फिक्री थिएँ म ।पीर पर्नुपर्ने हो मलाई । म त असाध्यै खुसी भएँ । हतार गरेर फोनमै सुनाएँ । उसले कन्फर्म गर्न डाक्टरबाट रिपोर्ट हेर्न भन्यो ।‘तिमी पनि हिँड,’ मैले भने ।
उसले अफिसको कामले नभ्याउले कुरा गर्यो । एकछिन त लाग्यो बिहे नभएको केटी कसरी जाने प्रिग्नेन्सी टेस्ट गर्न ? उसैले सुझायो, डाक्टरलाई बिहे भइसकेको बताउन ।

रिपोर्ट आयो । सात हप्ता भइसकेको रहेछ । मिठाई लिएर म उसको कोठामा गएँ ।‘अबोर्सन गर्नुपर्छ,’ उसले भन्यो । उसको कुरा ठट्टा जस्तो लागे पनि मुटु चस्स बिझ्यो । संसारको उत्कृष्ट सुख आमा बन्दै थिएँ । ऊ भने ?

‘तिमी ठूला जात भनिएकाहरूले कति पीडा दिएका छौ । त्यो हिसाब बराबर गर्नु छ मलाई । हेर हामी पनि केही हौँ थाहा पायौ होला । हाम्रो पनि केही अस्तित्व छ, देखाउनु छ तिमीहरूको जातलाई । म तिमीसँग बिहे गर्न सक्तिनँ । सरी !’‘तर यो कुनै बदला लिने तरिका होइन सुभाष ! अरुले गरेको गल्तीको सजाय मलाई किन ?’

धेरै कुरा भन्न मन थियो, तर केही पनि भनिनँ । मेरो पाठेघरमा उसको निर्णय ? यो हुनै सक्दैन । मैले समाजलाई केही सिकाउन चाहेँ । ऊ बदला लिन चाह्यो समाजसँग । समूहले गरेको तिरस्कारको बदला व्यक्तिसँग लिनु कति न्यायसंगत थियो कुन्नि ! उसको कोठाबाट निस्किएँ ।
मैले घर छाड्दा हुरी पानी केही पनि आएन । असार महिना टन्टलापुर घाम लागिरहेको थियो ।

प्रकाशित: २७ माघ २०७४ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App