९ असार २०७८ बुधबार
अन्य

जो डार्विन बन्न सकेनन्

  चार्ल्स डार्विनलाई बेलायती हुलाकमार्फत पठाइएको एउटा पत्र थमाइयो, १८५८ जुन १८ को बिहान । उक्त चिठी कुनै सन्चो–बिसन्चोको सोधनी वा घटनाक्रमको वर्णन नभएर एउटा उत्कृष्ट वैज्ञानिक लेख थियो । त्यो समयमा अहिलेजस्तो पिअर रिभ्यु (लेखको सहकर्मी समीक्षा) को चलन थिएन । आफूले लेखेका वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ व्यक्ति वा सहकर्मीलाई पत्रको रूपमा पठाइन्थ्यो । त्यस्ता पत्रलाई पछि वैज्ञानिक छलफल वा सम्मेलनमा प्रस्तुत गरिन्थ्यो वा वैज्ञानिक लेखको रूपमा जर्नलमा छापिन्थ्यो । त्यस्तो लेखरूपी पत्र हात परेपछि एकछिन त डार्विन तिलमिलाए ।

पत्रमा वर्णित कुरा डार्विनले पत्याउनै सकेनन् । आफू एक्लैले निर्णय लिन नसक्ने भएपछि उनले ‘मैले यो हदको विचित्रको संयोग कहिल्यै देखेको थिइनँ, मेरो विचारधाराको मौलिकता सबै सखाप भयो’ भन्दै आफ्ना मिल्ने साथीहरू वनस्पतिविद् जेडी हुकर र भूगर्भविद् चाल्र्स लायललाई गुहारे । पत्रमा लेखिएको थियो, ‘जंगली जनावरको जीवन भनेको बाँच्नका लागि संघर्ष रहेछ, जहाँ निर्धा र कम निपुणहरू सधैँ हार्छन् ।’ जुन कुरा डार्विनको दिमागमा करिब १५ वर्ष अघिदेखि जरो गाडेर बसेको प्रकृति छनोटको सिद्धान्तको निष्कर्षसँग हुबहु मिल्थ्यो ।

त्यतिबेला डार्विन विभिन्न समुद्री यात्राका क्रममा देखेका र संकलन गरेका चराचुरुंगी र कीराहरूको अवलोकनबाट जीव उत्पत्तिको प्रकृति छनोटको सिद्धान्तलाई लिपिबद्ध गर्ने कोसिसमा थिए । सोही समय हजारौँ माइल टाढा इन्डोनेसियाको टापुमा जीवहरू संकलन गरिरहेका एक व्यक्ति जसलाई डार्विनको अनुसन्धानबारे खासै ज्ञान थिएन, उसले स्वतन्त्र रूपमा डार्विनको सोचसँगै ठ्याक्कै मिल्दो आफ्नो निचोडलाई उक्त पत्रमा लेखेर पठाएका थिए । जुन आफैँमा आश्चर्यजनक परिघटना थियो । इतिहासको त्यो अनौठो संयोगबारे डार्विन लेख्छन्, ‘हामी कसरी एउटै विचारधाराको नजिक पुग्यौँ, त्यो रहस्यमय छ ।’ पत्रमा अनुरोध थियो, त्यो विचारधारा डार्विनलाई उपयुक्त लागेमा कुनै जर्नलमा छापिदिन सहयोग गरिदिनु– अल्फ्रेड रसेल वालेस ।

‘विज्ञानको इतिहासमा रसेल वालेस जतिको प्रशंसनीय पात्र सायद बिरलै होला’ भन्छन्, अहिलेका चर्चित टेलिभिजन व्यक्तित्व (वन्यजन्तुसम्बन्धी वृत्तचित्रमा स्वर दिने) र पाका प्रकृतिविद् सर डेभिड अटनवरो । तर, संसार हल्लाउने उत्पत्तिको सिद्धान्तका सहअन्वेषक डार्विनको हाइहाई हुँदा अर्का सहअन्वेषक वालेस भने गुमनामजस्तै छन् । हाल उत्पत्तिको प्रकृति छनोटको सिद्धान्तलाई जीव विज्ञानको जननी मानिन्छ । विज्ञानमा मात्रै होइन, राजनीतिदेखि सामाजशास्त्र र व्यापारसम्म ‘सर्भाइभल अफ दी फिटेस्ट’को उदाहरण दिइन्छ । तर, उक्त सिद्धान्तको एक अन्वेषकको नाम बूढा बच्चाको मुखमा झुन्डिँदा, उनको तस्बिर बेलायतको पैसामा, विभिन्न देशको हुलाक टिकटमा अंकित हुँदा, उनको सालिक विश्वका सयौँ ठाउँमा ठडिँदा, उक्त सिद्धान्तको सह–आविष्कारक वालेसको भने कतै गुन्जायस छैन । डार्विनको लोकप्रियताको छायामा परेका १९औँ शताब्दीका यी महान् वैज्ञानिकको नाम इतिहासको कम्बलले किन र कसरी छोपिदियो?

डार्विन र वालेस दुवैलाई अध्ययन गर्ने अध्येता भन्छन्– सायद प्रारब्धले र वालेस स्वयंको स्वभावले । वालेसले प्रकृति छनोटको सिद्धान्तको आफ्नो लेखको पाण्डुलिपि त्यस्ता मानिसलाई पठाएका थिए, जो व्यक्ति त्यही सिद्धान्तको वरिपरि वर्षौंदेखि सोचमग्न र अनुसन्धानरत थिए । एक अर्थमा भन्दा त्यो व्यक्तिको स्वार्थ आफूभन्दा पहिले कसैले पनि उक्त सिद्धान्तको स्वामित्व नलेओस् भन्ने थियो । तर, इतिहासको क्रूर संयोग वालेसले त्यो पाण्डुलिपि सीधै जर्नलमा नपठाईकन डार्विनलाई पठाएका थिए । त्यो जर्नलमा पठाएर छापिएको भए सायद अहिले पढिने डार्विनवाद वालेसवाद हुन सक्थ्यो । त्यस अर्थमा डार्विन र वालेस एकअर्काका नजानिँदा प्रतिस्पर्धी थिए, तर दुवैले एक अर्काप्रति कहिल्यै वैरभाव लिएनन् । त्यो नै डार्विनको जीवनको ठूलो सन्तुष्टि थियो । डार्विन लेख्छन्, ‘वालेस र म एक हिसाबले प्रतिस्पर्धी भए पनि हामीबीच इष्र्या भाव कहिल्यै जागेन । जीवनमा मैले सन्तुष्टि पाएका थोरै कुरामध्ये यो एक हो ।’

वालेसको यात्रा
डार्विनको जस्तो सम्भ्रान्त परिवार र उच्च शिक्षाको अवसर वालेसले पाएनन् । त्यतिखेरको समाजमा अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालयमा प्रवेश पाउने प्रायः धनी र सम्भ्रान्त परिवारका सदस्य हुन्थे । तेह्र वर्षको उमेरमा स्कुलबाट जबर्जस्ती निकालिएका वालेस औपचारिक शिक्षाविनै रुचि, लगाव र स्वअध्ययनले प्रकृतिविद् बनेका थिए ।

जीविकाको खोजीमा विभिन्न काम गर्ने क्रममा उनको भेट कीरा विशेषज्ञ हेनरी वेट्ससँग भयो । त्यतिबेला डार्विनको ‘विगलको समुद्री यात्रा’ नामक पुस्तक प्रकाशित भइसकेको थियो । चाल्र्स डार्विन र अलेक्जेन्डर भोन हम्बल्ट जस्ता प्रकृतिविद्को प्रभावले उनीहरू पनि उष्ण तापिए क्षेत्रको समुद्री यात्रा गर्न चाहन्न्थे । केही अनुसन्धान गरेर सम्भ्रान्त बौद्धिकको क्लबमा सामेल हुन चाहन्थे । यद्यपि उनीहरूसँग यात्राका लागि चाहिने पैसा थिएन । तर पनि यात्राका क्रममा भेटिएका जीवजन्तुहरू संकलन गर्ने र त्यसलाई बेचेर पैसा कमाउने भन्दै सन् १८४८ मा उनीहरू अमेजन क्षेत्रको यात्रामा निस्किए ।दक्षिण अमेरिकाका विभिन्न ठाउँमा चार वर्ष बिताएपछि बेलायत फर्कने क्रममा उनीहरूको पहिलो यात्रा भयानक दुर्घटनामा टुंगियो । एट्लान्टिक सागरबीच पुग्दा उनीहरूको जहाजमा आगो लाग्यो । संकलन गरेका जीवजन्तुका नमुना सबै ध्वस्त भए । उनी बालबाल बाँचेर लन्डन फर्किए ।

अमेजन यात्राको दुई वर्षपछि सन् १८५४ मा वालेस सिंगापुर पुगे । त्यसपछि उनले दक्षिण पूर्वी एसियाका न्युगिनी, मलेसिया, इन्डोनेसियाजस्ता उष्ण तापीय टापुका जंगलमा घुमे । त्यहाँका टापुहरू चहार्ने क्रममा उनले आठ वर्षमा २२ हजार किलोमिटरको यात्रा तय गरेर विभिन्न जीवजन्तुका एक लाख २६ हजार भन्दा बढी नमुना संकलन गरे । जसमध्ये पाँच हजारभन्दा बढी जीवजन्तुहरू वैज्ञानिक जगत्का लागि नै नयाँ प्रजाति थिए ।

डार्विन समुद्री यात्राका क्रम भेटिएका जीवजन्तुका अवलोकनले प्रकृति छनोटको सिद्धान्तको नजिक पुगेका थिए । वालेस भने एक प्रजातिबाट अर्को प्रजाति उत्पत्ति हुन्छ भन्ने १९औँ शताब्दीको उत्पत्तिसम्बन्धी लेमार्कजस्ता वैज्ञानिकको निष्कर्षबाट प्रभावित थिए । जसले वालेसले प्रजातिको उत्पत्ति कसरी हुन्छ ? भन्ने प्रश्नलाई यात्राका क्रममा आफ्नो अनुसन्धानको प्रस्थान बिन्दु बनाएका थिए । यात्रामा उनले निष्कर्ष निकाले, ‘प्रजातिको उत्पत्ति समय र स्थानको संयोग साथै अन्य सम्बन्धित प्रजातिको उपस्थितिले निर्धारण गर्छ । एक अर्कासँग सम्बन्धित प्रजाति एकै भूगोल र समयमा पाइन्छन् ।’

उक्त निचोड ‘सावारक ल’ भन्ने शीर्षकमा सन् १८५५ मा जर्नलमा छापियो । उक्त लेख त्रुटिपूर्ण र अपुरो हुँदाहुँदै पनि त्यसले उत्पत्तिको सिद्धान्तको जग हाल्ने काम गरेको थियो । त्यसैले लेखले खासै ठूलो प्रभाव नपारे पनि एउटा सर्कलमा भने त्यसले चिसो पस्यो । जसमध्ये थिए, डार्विनका साथी भूगर्भविद् चाल्र्स लायल र कोलकातामा रहेका वनस्पतिविद् एडवार्ड ब्लेथ । दुवैजना प्रकृति छनोटको सिद्धान्तमा अनुसन्धानरत डार्विनबारे जानकार थिए । वालेसले डार्विनको सोचसँग मिल्ने लेख लेखेको थाह पाएर उनीहरूले डार्विनलाई सचेत गराए । तर, डार्विनले सो लेखमा ‘खासै नयाँपन नभएको’ भनेर ठप्पा लगाइदिए । पछि डार्विनले वालेसलाई उनको लेख आफूले लायलमार्फत पढ्न पाएको र लेखको निचोडमा आफू सहमत भएको कुरा बताउँदै पत्र लेखे ।

वालेसको पत्र
१८५८ को फेब्रुअरीमा वालेस ज्वरोका कारण बिरामी भएर इन्डोनेसियाको दुर्गम गाउँमा थलिए । जसकारण उनको थप यात्रा र नमुना संकलन कार्य रोकियो, आराम गर्नुपर्ने भयो । त्यहीवेला उनले आफूले तीन वर्षपहिले प्रकाशित गरेको लेखमाथि थप विश्लेषण गरेर प्रकृति छनोटको सिद्धान्तलाई पूर्णता दिने काम गर्ने अवसर पाए । ‘कसरी एक प्रजाति अर्को प्रजातिबाट फरक बन्छ’ भन्ने निचोडसहितको लेख तयार पारे । तर, यसपटक उनले त्यो लेख अघिल्लोपटक जस्तो सीधै जर्नलमा नपठाईकन डार्विनलाई पठाए । किन भने उनको अघिल्लो लेखमा रुचि देखाएर उनलाई प्रतिक्रिया डार्विनबाहेक अन्य कसैले पठाएका थिएनन् । अघिल्लो लेखमा डार्विनको प्रतिक्रिया पाएर वैज्ञानिक संस्थापनसँग आफू जोडिन पाएको भन्दै वालेस यसै पनि दंग थिए । डार्विनले पत्रमा भनेका चाल्र्स लायल त्यति बेलाका निकै सम्मानित वैज्ञानिकमा गनिन्थे।

डार्विनलाई पठाउनुको साटो त्यो लेख सीधै जर्नलमा पठाइएको भए सायद जीव विज्ञानको हामीले पढ्ने इतिहास अर्कै हुन्थ्यो । तर, त्यो पत्र डार्विनलाई पहिले पुग्यो, जसलाई पाएर डार्विन झस्किएका थिए र लायल र हुकर आत्तिएका थिए । जसको चर्चा अघि नै गरिसकिएको छ । वास्तवमा त्यतिखेर पनि समयमै लेख छापिनु अहिलेजस्तै महŒवपूर्ण कुरा थियो । लायल र हुकरले वालेसको पत्र डार्विनमार्फत हेरिसकेपछि उनीहरूलाई डार्विनको वर्षौंको मेहनत कसैले क्षणभरमै छिनेको जस्तो भयो र उनीहरूले एउटा ‘नाटक’ रचना गरे । उनीहरूले डार्विनलाई प्रकृति छनोटको सिद्धान्तबारे उनको अनुसन्धानको निचोडको पाण्डुलिपि हतारमा लेख्न लगाएर आफूहरूलाई उपलब्ध गराउन भने । जसले उक्त सिद्धान्त प्रतिपादनको जस दुवैलाई दिन सकियोस् ।

लायल र हुकरको योजनाअनुसार, १८५८ जुलाई १ मा प्रतिष्ठित लिनियन सोसाइटीको बैठकमा हतारमा तयार पारिएको डार्विनको पाण्डुलिपि, वालेसले डार्विनलाई पठाएको पाण्डुलिपि र अमेरिकी वनस्पतिविद् आसा ग्रेको पाण्डुलिपि प्रस्तुत गरियो । तर, जीव विज्ञानमा अहिलेसम्मकै सबैभन्दा महŒवपूर्ण सिद्धान्त सार्वजनिक गर्ने त्यो ऐतिहासिक क्षणमा दुवै अन्वेषक डार्विन र वालेस नै अनुपस्थित भए । बैठकभन्दा दुई दिनअघि मात्रै कान्छो सन्तानको मृत्यु भएकाले डार्विन उपस्थित हुन सकेनन् भने वालेस त्यतिवेला न्युगिनीमा बिरामी अवस्थामै थिए ।

एक महिनापछि दुवै पाण्डुलिपि लिनियन सोसाइटीले प्रकाशित गर्ने जर्नलको अगस्ट अंकमा छापियो । जसमा डार्विनलाई पहिले र वालेसलाई दोस्रो क्रममा ‘नियतवश’ नै राखिएको थियो । लेख छापिँदासम्म वालेसलाई डार्विनले पनि प्रकृति छनोटको सिद्धान्तमा अनुसन्धान गर्दै छन् भन्ने कुराको भेउ थिएन । उनलाई डार्विन उत्पत्तिको सिद्धान्तमा रुचि राख्ने वैज्ञानिक हुन् भन्ने मात्रै जानकारी थियो । महान् दिमागहरूको सोच्ने तरिका एउटै हुन्छ भनेझैँ इतिहासमा यसरी एकै कुरा दुई व्यक्तिले फरक ठाउँमा बसेर स्वतन्त्र रूपमा सोचेका थिए । उक्त सोच जर्नलमा दुवैको नाममा छापिएपछि उक्त सिद्धान्त प्रतिपादन गरेको स्वामित्व दुवैले लिन मिल्ने भयो । डार्विनलाई आफूले एक दशकभन्दा बढी समय लगाएर अनुसन्धान गरिएको सिद्धान्तको पहिलो हकदार बन्नु थियो भने वालेसलाई वैज्ञानिक सर्कलमा प्रवेश पाउनु थियो । त्यसकारण लायल र हुकरको योजना मुताबिक त्यो दुवैका लागि जित–जितकै अवस्था थियो।

सेलर अन द ओरिजिन अफ स्पेसिज
जर्नलमा लेख छापिएरभन्दा उत्पत्तिको प्रकृति छनोटको सिद्धान्तले त्यतिवेला बढी जनमत बटुल्यो, जतिवेला डार्विनको पुस्तक अन द ओरिजिन अफ स्पेसिज छापियो । यो छापिनु अघिसम्म बाह्य जगत्का लागि डार्विन खासै परिचित नाम थिएन । पुस्तकको पाण्डुलिपि बोकेर डार्विन त्यो बेलाको प्रतिष्ठित बेलायती जर्नल क्वार्टर्ली रिभ्युको सम्पादक ह्वाइवेल एल्विनसमक्ष पुगे । सम्पादकले उक्त किताब हेरिसकेपछि डार्विनलाई सल्लाह दिए, किताब ठीकै छ, तर यस्तो किताबले धेरै पाठक पाउँदैन, बरु परेवाबारे एउटा किताब लेख, परेवामाथि सबैको उत्सुकता र रुचि छ । डार्विनले उक्त सम्पादकको कुरा मानेनन् । अर्काे प्रकाशकमार्फत नोभेम्बर २४, १८५९ मा पुस्तक प्रकाशन गरे ।

अनौठो के भइदियो भने प्रकाशन भएको दिन नै छापिएको सबै एक हजार दुई सय ५० प्रति पुस्तक मात्रै बिक्री भएन, प्रकाशकले थप एक हजार पाँच सय  प्रति पुस्तकको अग्रिम अर्डर पनि पाए । सन् १९०१ मा पुस्तक प्रकाशनको अधिकार सकिँदासम्म त्यो पुस्तक एक लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । सन् २०१५ मा विश्वभर अहिलेसम्म प्रकाशित सबैभन्दा महत्वपूर्ण प्राज्ञिक किताबका लागि विश्वभर भोटिङ भएको थियो । जसमा संसार बदल्ने २० पुस्तकजस्तै प्लेटोको ‘द रिपब्लिक’, माक्र्स ऐंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’, आइन्सटाइनको ‘द मिनिङ अफ रिलेटिभिटी’, इम्यानुल कान्टको ‘क्रिटिक अफ पिओर रिजन’, स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’, देखि एडेम स्मिथको ‘द वेल्थ अफ नेसन’सम्म सूचीकृत थियो । ती पुस्तक सबैलाइपछि पार्दै चाल्र्स डार्विनको अन द ओरिजिन अफ स्पेसिजले अहिलेसम्म लेखिएको सबैभन्दा प्रभावशाली पुस्तकको एक नम्बरमा रहन सफल भयो ।

प्रकृति छनोटको सिद्धान्तमा आधारित डार्विनको अन द ओरिजिन अफ स्पेसिजले तहल्का मच्चाएको समय उक्त सिद्धान्तका सहअन्वेषक वालेस भने गुमनाम दक्षिणपूर्वी एसियामा बसिरहेका थिए । सन् १९६२ मा वालेस बेलायत फर्किए । त्यसपछि उनले प्रकृति छनोटको सिद्धान्तलाई थप बल पुग्ने लेख छपाए । डार्विनजस्तो उनको कुनै एउटै कुरामा मात्रै लागिरहने स्वभाव थिएन । अभियान चलाउनेदेखि, अध्यात्मसम्म, साम्यवाददेखि कवितासम्म उनको रुचि थियो । वालेस दयालु र सादगी स्वभावका थिए, उनमा खासै ठूलो महŒवाकांक्षा थिएन । त्यसैले उनले आफू उक्त सिद्धान्तको सहअन्वेषक भएको दाबी गरेर बस्नभन्दा पनि त्यसको सबै स्वामित्व डार्विनको पोल्टामा हालिदिए । यतिसम्म कि प्रकृति छनोटको सिद्धान्तलाई डार्विनवाद भनेर पहिलोपटक लेख्ने पनि वालेस नै थिए ।

पुरस्कारबाट वाक्क वालेस
प्रचारबाट टाढा भाग्दा र नचाहँदानचाहँदै पनि वालेसले त्यतिवेला थुप्रै सम्मान पाए । भनिन्छ, वालेसको मृत्यु भएको बेलासम्म उनलाई सबैभन्दा प्रतिष्ठित वैज्ञानिकका रुपमा मानिन्थ्यो । उनले रोयल सोसाइटीबाट पाउने प्रायः सबै मेडल पाएका थिए । बेलायतको राजसंस्थाबाट नागरिकलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान उनलाई दिइएको थियो । तर, उनी त्यस्ता पुरस्कार थाप्दा थाप्दै वाक्क भएका थिए । त्यसैले उनी राजसंस्थाबाट दिइएको पुरस्कार थाप्न बकिङघम प्यालेस नै नगई बसे । उक्त पुरस्कार लिन जान नयाँ सुट लगाउनुपर्ने थियो । नयाँ सुट किन्न झ्याउ लागेकाले पुरस्कार ग्रहण गर्न जान नै इन्कार गरिदिए, यद्यपि उक्त पुरस्कारपछि उनको घरमै पुर्याइएको थियो ।उनको मृत्युपछि उनको शरीरलाई डार्विनको समाधिसँगै गाड्न खोजियो ।

तर, उनको छोराले बुबा लोकप्रियताबाट टाढा हुन खोज्ने र अनावश्यक तामझाम मननपराउने भएकाले सामान्य मानिसलाई जसरी समाधिस्थ गरियोस् भनेर अनुरोध गरे । त्यसपछि उनलाई सामान्य नागरिकसँगै अन्यत्र समाधिस्थ गरियो । जीवनभर मैन भएर डार्विनलाई ज्योति दिएका वालेसले मरेपछि पनि डार्विनसँगै बसेर डार्विनको ज्योति कम गर्न वा आफू चहकिलो हुन खोजेनन्, गुमनामीको बाटो रोजे ।

अहिले डार्विनजस्तै नोट, टिकट, पोस्टर र पम्प्लेटमा सजिएर भित्तामा र सालिक भएर गल्लीमा नसजिए पनि बिस्तारै मानिसले वालेसको सादगी र विनम्रतालाई सम्झन थालेका छन् । जीव वैज्ञानिक र विज्ञान इतिहासकारले वालेसको नाम डार्विनको छायामा बिलाउन दिन हुन्न भन्न थालेका छन् ।

अहिले वैज्ञानिकहरू उत्पत्तिको सिद्धान्तमा चाल्र्स डार्विनको मात्रै नाम जोडिएकामा बेखुस देखिन्छन् । इतिहासले अन्याय गरेका वालेसको नाम पनि डार्विनसँगै जोडिनुपर्छ भन्न थालिएको छ । डार्विन–वालेस सम्बन्धका नयाँ प्रमाण आउन थालेपछि डार्विन–वालेसको प्रकृति छनोटको सिद्धान्त भन्नुपर्छ भन्नेमा धेरै मत देखापर्न थालेका छन् । विज्ञानको सुन्दरता भनेको यसको गतिशीलतामा छ । अन्य विधाजस्तो यो जड हुँदैन । भविष्यमा कुनै दिन इतिहासले तपसिलमा झुन्डाएको वालेसलाई न्याय देला ?

 

प्रकाशित: १३ माघ २०७४ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App