१६ चैत्र २०८० शुक्रबार
अन्य

सोनाम ल्होछार माघ कि फागुनमा ?

नेपाल सरकारले आगामी माघ ४ गते सोनाम ल्होछार पर्ने भन्दै बिदा दिने निर्णय गरेको छ । पञ्चांग निर्णायक समितिले तयार पारेको पात्रोमा पनि त्यसै दिन सोनाम ल्होछार पर्ने उल्लेख छ । तर, सोनाम ल्होछार मनाउने तामाङ समुदायकै संगठन, नेपाल तामाङ घेदुङले भने सोनाम ल्होछार आगामी फागुन ४ गते पर्ने दाबी गरिरहेको छ। 

सोनाम ल्होछारको तिथिका विषयमा फरक मत बाहिर आएपछि यही विषयलाई लिएर तामाङ समुदायका संघ–संस्था र व्यक्तित्वबीच विवाद बढिरहेको छ। 

नेपाल तामाङ घेदुङले पात्रोअनुसार ल्होछार फागुन ४ गते पर्ने बताउँदै आएको छ। अर्कातिर घेदुङकै उपाध्यक्ष समेत रहेका अजितमान तामाङलगायत समूह माघ ४ मै ल्होछार पर्ने अभिव्यक्ति दिइरहेका छन्। यस विषयलाई लिएर सामाजिक संघ–संस्था र नेतृत्व एकअर्कामा आरोप प्रत्यारोप गरिरहेका छन्। 

केही दिनअघि नेपाल तामाङ घेदुङले माघ ४ गतेको बिदा सारिदिन भनेर सरकारलाई अनुरोध गरेपछि विवाद बढेको हो। घेदुङका अध्यक्ष मोहन गोलेले भने, ‘सोनाम ल्होछारको तिथि तय आफ्नै परम्परा छ। यो चन्द्र पात्रोअनुसार तय गरिन्छ । यो पात्रोअनुसार ल्हो (वर्ष) फिर्ने दिन फागुन ४ मै पर्छ।’ 

‘घेदुङले एक वर्षअघि तयार पारेको ‘तत्व ज्योतिषमा आधारित कृषि पात्रो (सोनाम ल्होथो)’ मा यो वर्षका ल्होछार फागुन ४ गते नै अंकित गरिसकेको थियो,’ अध्यक्ष गोलेले भने, ‘यही पात्रोका आधारमा विगत वर्षमा पनि ल्होछारको मिति तय गर्दै आएको हो।’

माघमै पर्छ : उपाध्यक्ष तामाङ
संस्थागत रूपमा नेपाल तामाङ घेदुङले ल्होछार फागुन ४ गते ल्होछार पर्ने निर्णय गरेको भए पनि उपाध्यक्ष अजितमान तामाङ भने माघ ४ गते ल्होछार पर्ने पक्षमा छन् । 

उपाध्यक्ष तामाङका अनुसार ल्होछार माघ ४ गते नै हुनुपर्नेमा तीनवटा कारण छन् । पहिलो, तामाङ समुदायमा माघमा ल्हो (वर्ष) पोबा (फिर्ने) भन्ने मान्यता रहिआएको छ । दोस्रो, नेपाल देशीय पञ्चांगअनुसार माघ शुक्ल पक्ष माघ ४ गते नै परेको छ । तेस्रो, फागुन ४ गते फागुन शुक्ल प्रतिपदा पर्ने भएकाले त्यो तिथिमा ल्होछार हुन सक्दैन। 

उनका अनुसार शुक्ल र कृष्णपक्षको गणना गर्नु नै चन्द्र पात्रो हो । ‘त्यसैले माघ ३ गतेको शुक्ल प्रतिपदा सौर्यपात्रो हो भन्नु गलत हो,’ घेदुङको पात्रो बनाउन नेतृत्व गर्ने धर्मगुरु सोनाम ग्युर्मेप्रति लक्षित गरी उनी भन्छन्, ‘एक धर्मगुरुले भन्दैमा तामाङ समुदायले मान्न मिल्दैन।’ 

त्यस्तै, घेदुङले गएको पर्व बनाएको पात्रो चिनियाँ पात्रोको हुबहु सारेको उनले आरोप लगाएका छन् । ‘नेपाल देशको समयसँग चीनको देशको समय र पात्रो मिल्दैन । कुनै व्यक्तिले चीनको पात्रो हुबहु नेपालको सोनाम ल्होछारको तिथि तय गर्न मिल्छ ?’ उनको प्रश्न छ। 

यस वर्ष मलमास परेका कारण ल्होछारको तिथि सर्न गएको भन्ने सोनाम ग्युर्मे लगायतको तर्कको जवाफमा अजितमान भन्छन्, ‘२०७४ सालमा नेपाली पञ्चांगमा कुनै मलमास परेको छैन । त्यो मलमास चीनको पात्रोमा परेको छ । चीनको मलमासलाई गनेर नेपाली पात्रोको तिथि सार्न मिल्दैन ।’ माघ शुक्ल प्रतिपदा फागुनमा पर्न गएको खण्डमा मात्र ल्होछार फागुनमा पर्ने उनी बताउँछन्। 

साथै, नेपाल सरकारको पञ्चांग समितिको स्वीकृतिविना नै घेदुङले पात्रो चलाएको हुनाले त्यसले मान्यता नपाउने उनी बताउँछन् । यसरी गडबडी गरे कारबाहीका लागि आफूले उजुरी गर्ने उनले बताए । आफू घेदुङको उपाध्यक्ष रहे पनि पात्रो बनाउने बेला आफूलाई एकपटक समेत जानकारी नदिएको  उनले बताए । उनले भने, ‘म सरकारी ओहोदामा रहेको व्यक्ति भएकाले घेदुङका गतिविधिमा लागिरहन सकिनँ । त्यहीबेला चीनको पात्रो हुबहु सारेर पात्रो बनाइएको रहेछ।’ 

नेपाल तामाङ घेदुङबाटै छुट्टिएर गएको नेपाल राष्ट्रिय तामाङ घेदुङले पनि माघ ४ गते नै ल्होछार पर्ने बताएको छ । राष्ट्रिय घेदुङका सहायक महासचिव प्रवीण बलले भने ‘सरकारले मान्यता दिएको र विगतदेखिकै प्रचलनअनुसार माघ शुक्ल प्रतिपदाकै दिन ल्होछार पर्छ । केही व्यक्तिले सिर्जना गरेको भ्रममा नपर्न हामीले तामाङ समुदायलाई आह्वान गरेका छौँ ।’ राष्ट्रिय घेदुङले माघ ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा तीनदिने ल्होछार सांस्कृतिक महोत्सव गर्ने उनले जानकारी दिए। 

राष्ट्रिय घेदुङले एक हजार एक सदस्यीय २८५४औँ खि–ल्हो (कुकुर वर्ष) सोनाम ल्होछार बृहत मूल समारोह समिति गठन गरी माघ २, ३ र ४ गते कार्यक्रम गर्ने जनाएको छ । 
  
‘पञ्चांग निर्णायक समितिले सोधेन’
ल्होछारको तिथि तय गर्ने बेला आफूहरूसँग कुनै परामर्श नगरेका कारण समस्या आएको नेपाल तामाङ घेदुङले बताएको छ । ‘तामाङहरूले चलाउने मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होछार (२८५४ खि नागी ल्हो) फागुन ४ गते परेको छ ।’ पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले भने यो विवाद तिथिमितिको नभई समूहसमूह बीचको विवाद रहेको बताएका छन् । उनले भने, ‘सोनाम ल्होछार माघ शुक्ल परेवाकै दिन हो । त्यो माघ ४ गते नै हो । माघ कि फागुनमा भनी तामाङ संघ–संस्थाकै समूह समूहबीच विवाद भएको हो।’ 

घेदुङ अध्यक्ष गोले भने मञ्जुश्री पात्रो र नेपाल सरकारको पञ्चांग निर्णायक समितिको पात्रो नमिल्ने बताएका छन् । २८५३ वर्षअघि मञ्जुश्रीले धर्म देशना गरेको तिथिलाई तामाङले ल्होछार मान्दै आएको छ । यसपालि २८५४औँ खि (नागी) ल्होछार हो। 

अध्यक्ष तामाङ भन्छन्, ‘ग्रिगोरियन पात्रोअनुसार फेब्रुअरी ४, ५ लाई मध्यबिन्दु पारेर जनवरी २१ तारेखदेखि फेब्रुअरी २० तारेखभित्र चन्द्रमास माघ (ख्रेला छेपागी) को प्रतिपदा पर्छ । अर्थात् जनवरी २१ तारेखभन्दा तलको तारेखमा माघ (ख्रेला) चन्द्रमास माघको तिथि पर्दैन भने फेब्रुअरी २१ तारेखदेखि माथिको तारेखमा माघ शुक्ल पक्षको प्रतिपदा हुँदैन । यो नै तामाङले मान्ने तत्व ज्योतिषमा आधारित सोनाम लोथो (कृषि पात्रो)को सैद्धान्तिक परम्परा हो ।’ तामाङहरू तिथिमा चल्ने समुदाय भएको हुँदा त्यो ख्रे (माघ) महिना विक्रम संवत्मा धेरै माघ र कहिलेकाहीँ फागुनबाट पनि सुरु हुने उनी बताउँछन् । त्यसैअनुसार यसपालि फागुन ४ देखि ल्हो (वर्ष) परिवर्तन हुने उनको भनाइ छ। 

मञ्जुश्री संवत्को कृषि पात्रो बनाउँदा चिनियाँ पात्रो हुबहु सारेको नभई चिनियाँ पात्रोसँग कृषि पात्रो मेल मात्र खाने उनी बताउँछन् । ‘चीन र नेपालको चन्द्र पात्रोको तिथि एक–दुई दिनको फरक हुन सक्छ । तर, महिनाकै फरक त हुन सक्दैन ।’ मञ्जुश्री संवत्को कृषि पात्रोमा यस वर्ष मलमास परेका कारण तीन सय ८३ दिनको वर्ष भएको हुनाले यसपालि ल्होछार एक महिना सरेको उनले बताए। 

यसअघि पनि २०७१ सालमा फागुन ७ गते, २०६६ मा फागुन २ गते, २०६३ सालमा फागुन ६ गते, २०५५ मा फागुन ४ गते सोनाम ल्होछार परेको थियो । ती मितिमा पनि सरकारी बिदा र कृषि पात्रोमा परेको सोनाम ल्होछार फरक दिनमा परेको घेदुङ अध्यक्ष गोलेले बताए । उनले भने, ‘विगतमा हाम्रो नेतृत्व बिदा सार्ने आँट गर्न सकेनन् । यसपालिको बिदा सार्न नसकिए पनि हामीले इस्वी संवत्को २०२१ सम्मको ल्होछारको तिथिसहितको कृषि पात्रो पञ्चांग निर्णायक समितिलाई दिएका छौँ ।’ 

त्यसैले सोनाम ल्होछार माघमै हुनुपर्छ भन्ने कुरा भ्रम रहेको अध्यक्ष गोलेले बताए । ल्होछार त गर्ने कृषि पात्रोमा पहिले नै तय भइसकेको कुरालाई घेदुङका उपाध्यक्ष आफैँले नमान्ने अभिव्यक्ति दिएकाले जनमानसमा विवाद सिर्जना भएको उनको भनाइ छ। 

कुन दिन हो ख्रे ला छेपागी ?

महिना र वर्ष गणनाको तामाङ जातिमा आफ्नो छुट्टै परम्परा छ ।  जसअनुसार ख्रे ला (माघ महिना) लाई तामाङहरूले पहिलो महिना मान्छन् र ‘तापा ला’लाई अन्तिम महिना मान्छन्।

अहिले त्यही ख्रे ला सुरु हुने दिन अर्थात ख्रे ला छेपागी (पहिलो दिन) कुन हो भन्नेमा विवाद देखिएको हो । घेदुङले मञ्जुश्री संवत्अनुसार फागुन ४ गते ख्रे ला छेपागी पर्ने बताउँदै आएको छ । घेदुङकै उपाध्यक्ष अजितमान तामाङ भने माघ ४ गते (माघ शुक्ल प्रतिपदा) का दिन ख्रे ला छेपागी परेको बताउँछन् । 

ल्होछारको इतिहास
०५१ सालमा तामाङ, ह्योल्मो, गुरुङ, शेर्पा र दुरा जातिले ल्होछारलाई राष्ट्रिय पर्व बनाउन प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । मनमोहन अधिकारीको नेतृत्वमा रहेको तत्कालीन सरकारले माघ शुक्ल प्रतिपदाका दिन ल्होछार मान्ने कर्मचारीलाई बिदा स्वीकृत गरेको थियो । त्यही सालदेखि ल्होछारलाई राष्ट्रिय पर्वका रूपमा बिदा दिने चलन चलेको हो । पछि ल्होछार मान्ने समुदायले छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै नामका ल्होछार मनाउन थालेका हुन्। अहिले गुरुङ समुदायले पुस १५ गते तमु (तोला), तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम र शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्वो ल्होछार मनाउँछन् । सबै ल्होछारमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ। 

प्रकाशित: २९ पुस २०७४ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App