म्यान्मारको कत्था सहरमा सम्पन्न युवा सम्मेलनपछि गत नोभेम्बर २० तारिख बिहान मिचिनातिर लागियो, ‘अखिल म्यान्मा गोर्खा हिन्दू परिषद्’को टोलीसँग । युवा सम्मेलनपछि रंगुन फर्कने योजना परिवर्तन गर्दै परिषद्का अध्यक्ष सागर घिमिरेको निर्णयले हामी मिचिनातर्फ लागेका थियौँ । परिषद्को केन्द्रीय टोली विभिन्न स्थानका शाखाले गर्ने कार्यक्रममा सहभागी हुन मिचिनातर्फ लागेको थियो । र, त्यसैमा मिसिएको थिएँ म पनि ।
हामी जंगल, खेत र होचा पहाडबीच साँघुरो बाटो छिचोल्दै अघि बढ्यौँ । सडक आसपास गोरुगाडा, हलो–जुवासँगसँगै धान झार्ने थ्रेसर समेत देखिए । बिहान ११ बजेको कार्यक्रम भ्याउन ५ बजे कत्थाबाट हिँडेका हामी १० बजे नै मिचिना पुग्यौँ । मिचिना पुग्नुअघि एउटा गाउँ रहेछ, चानबारी मोगाउँ । ‘ब्रिटिस सैनिकले तारो हान्ने ठाउँलाई चानबारी भन्छन्,’ हाम्रो टोलीमा रहेका योगराज भण्डारीले अथ्र्याए ।
मान्डले सहरका व्यापारी भए पनि योगराजको मूल थलो मिचिना रहेछ । उनको मूल थलोतर्फ लागेकाले भण्डारी हाम्रा लागि पथप्रदर्शकजस्तै भए । ‘यो अंग्रेज सिपाहीले चान (तारो) हान्ने ठाउँ रहेछ, त्यसैबाट गोर्खालीले चानबारी नाम राखेको भन्ने भनाइ छ,’ स्थानीय लालबहादुर थापा मगरले भने ।
मिचिना मन्दिर परिसरमा स्थानीय नेपालीभाषीले भव्य स्वागत गरे, हाम्रो टोलीलाई । नेपाली मूलका बर्मेलीको बसोबास क्षेत्रमा पुगेकाले धेरैपछि दाउराको आगोमा पकाएको दालभात र सागसँगै भैँसीको एक गिलास दूधको समेत स्वाद लिन पाइयो ।
मिचिनाको यो मन्दिर बनेको गत वर्ष एक सय वर्ष पुगेको रहेछ । त्यस अवसरमा ठूलो मेला समेत लगाइएछ । उदासी नामका बाबाले स्थापना गरेकाले यसको नाम राखिएको रहेछ, उदासी मठ । भारतीय मूलका एक व्यापारीको सहयोगमा पुनर्निर्मित मन्दिर भव्य रहेछ । नेपाली मूलका बर्मेलीको बसोबास भएका अन्य क्षेत्रमा जस्तै यहाँ पनि आफ्नो पुख्र्यौली थलोबारे जान्न उत्सुकहरूले मलाई घेरिहाले । मसँग भलाकुसारी गर्न चाहनेमध्ये अधिकांश ५० वर्ष नाघेका अग्रज छन् । टिनले छाएको पक्की मञ्चमा कार्यक्रम सुरु हुँदै गर्दा म भने यिनै अग्रजसँग भलाकुसारी गर्न थालेँ ।
‘म भीमप्रसाद वस्ती, मेरा पिताआमा तेह्रथुमबाट आउनुभएको रे,’ ६४ वर्षीय एकजनाले भने । नेपाली बोल्नेहरू पनि यता पितामाता भन्ने रहेनछन्, बोलीचालीमा पिताआमा चलेको छ । धेरै बाहुन–क्षेत्रीसँग भलाकुसारी भएकाले म भने फरक अनुहार खोजिरहेको थिएँ ।
मेरा आँखा काउब्वाई टोपी लगाएको एक मंगोल आकृतिमा गएर अडिए । उनी रहेछन्, लालबहादुर थापामगर । उनको पहिरनले लाग्थ्यो, उनी अवकाशप्राप्त सैनिक हुन् । ‘मेरो पिता जितबहादुर पल्टनमा थिए, उन्नाइस् पाँच नौ (१९५९)मा रिटायर भयो, म पल्टनमै हुँदा पिता बिते,’ लालबहादुर आफ्नै लवजमा बोले । पुर्खाको थातथलो उनलाई थाहा छैन, खोजी पनि गरेका छैनन् । ‘यहीँ जन्मियो, यहीँ हुर्कियो, मातृभूमि यही भयो,’ ९३ बर्मा रेजिमेन्टमा २५ वर्ष सैन्यसेवा गरेका उनले भने । लालबहादुर श्रीमती र दुई छोराका साथमा अवकाश जीवन बिताइरहेका छन् ।
‘कस्तो छ यहाँको बसाइ ?’
‘कोहीकोही नेपाली बात बुझ्दिनँ,’ हाँस्दै उनले भने । यही मौकामा नेपाली भाषा जानेको प्रमाण दिन तम्सिए अर्का व्यक्ति । ‘म लामिछाने क्षेत्री हुँ, नाम विद्याकुमार, उमेर भयो ७०, म पनि सैनिक नै थिएँ नि,’ उनी बोले ।
यी लामिछाने बाको कथा अरुको भन्दा भिन्न रहेछ । ‘३० वर्षअघि कचिन प्रान्तमा कचिन जातिले सरकारसँग आफ्नो छुट्टै राज्यको माग गरेर युद्ध सुरु ग¥यो,’ लामिछानेले भने, ‘कचिन प्रान्तको मखान्ती भन्ने गाउँमा हामी गोर्खालीको पाँच सय जति घर थिए ।’
उनी पुराना दिनको स्मरण गर्दै भन्न थाले, ‘हाम्रो गाउँबाट ८० जना युवालाई कचिन बागीले उठाएर लग्यो, हामीलाई दुःख पनि दिन थाल्यो । हाम्रा मुखिया हरिप्रसाद पाण्डे, छगुनारायण पराजुलीहरूले हतियार पाए आफ्नो सुरक्षा आफैँ गर्ने बताउनुभयो ।’
म्यान्मार बस्ने नेपालीभाषीले बताउनेभन्दा फरक कथा सुनेपछि उत्सुकता बढ्यो । लामिछाने मेरा लागि फरक कथा लिएर आएका इतिहासवाचक बने । ‘सरकारसँग कुरा गर्ने जिम्मा मलाई दिइयो, कचिन प्रान्तका सैनिक कमान्डर आफैँ हाम्रो गाउँमा आए, तिमीहरू सुरा जाति हौ, दुःख पायौ, के सेवा चाहियो ? भनेर सोध्नुभयो,’ लामिछाने बोल्दै गए, ‘हामीले हतियार माग्यौँ, दुई दिनपछि नै हामीले २० वटा एम– २२ र एम– २१ राइफल पायौँ, एक साताको तालिम पनि दिइयो, हामीले ज्यान दिएर भए पनि कुनै नोक्सानी हुन नदिने बतायौँ ।’
लामिछाने म्यान्मारमा सन् १९८७ मा सरकारविरोधी कचिन सशस्त्र समूहविरुद्ध आफूले लडेको कथा सुनाउँदै थिए । त्यसबेला सशस्त्र विद्रोही समूहविरुद्ध लड्न नेपालीले प्रतिकार समूह गठन गरेका रहेछन् । त्यसमा आबद्ध नेपाली युवाले कचिन विद्रोहीविरुद्ध र सैन्य सरकारका पक्षमा लडेछन् ।
‘हामी सरकारी तलबविनै मातृभूमि रक्षाका लागि लडेका हौँ,’ लामिछाने गर्वका साथ भन्दै थिए, ‘नौ वर्षमा ३५ पटकसम्म हामी बागीसँग लड्यौँ, आखिर उनीहरू परास्त भए ।’
म्यान्मारको सशस्त्र विद्रोह र सैनिक दमनसम्बन्धी इतिहासकारले नेपाली समुदायको भूमिकालाई आफ्नै ढंगले व्याख्या गर्लान् । शासक र विद्रोहीको विश्लेषण पनि फरक होला । तर, नेपालीले आफ्नो समुदायको रक्षा र तत्कालीन शासकलाई रिझाउन प्रतिकार समूह बनाएर लडेका रहेछन्, अनि त्यो अभियान सफल समेत भएको रहेछ ।
‘जंगलको बीचमा मखान्ती देवीस्थान थियो, शुद्ध मनले पूजा गथ्र्यौं, त्यसैको शक्तिले लड्यौँ,’ लामिछानेले भने, ‘हामीलाई केही भएन, बागी धेरै मरे ।’ त्यसबेलाका सैन्य कमान्डर आएर ‘गोर्खालीको रगत कहिल्यै नसकिने रहेछ,’ भनेको लामिछानेलाई झलझली याद छ ।
एकजना अपवाद भेटिए, ३० वर्षदेखि थाइल्यान्डको फुकेटमा टेलरिङ चलाएर बसेका ओमबहादुर । उनीसँग भने तीन देशको नागरिकता रहेछ । ‘नेपालको महेन्द्रनगरमा बर्माबाटै जानुभएको काका हुनुहुन्छ, त्यतिखेर बर्माको पासपोर्टले थाइल्यान्ड बस्न सजिलो नभएकाले नेपाल पुगेर नागरिकता र पासपोर्ट बनाएको थिएँ, म सुतार कार्की भए पनि नेपालको नागरिकतामा मेरो थर भण्डारी छ,’ उनले भने ।
भलाकुसारीमै भेटिएका विद्याकुमारका पुर्खा भने भारतको दार्जिलिङबाट बर्मा पुगेका रहेछन् । बर्माबाटै नेपाल फर्केर उनका मामा रामबहादुर चौहान भने नेपाल प्रहरीमा जागिरे बनेछन् । ‘बैँसमा बडो नेपाल जान मन थियो,’ उनले भने, ‘नेपालको मिल्ट्रीमा घुस्छु भन्ने थियो, त्यो ख्वाप पूरा हुन सकेन, उमेरमै केही गर्न सकेको भए जान्थेँ, बूढो भएपछि जाने इरादा मरेर गयो ।’
मञ्चमा कार्यक्रम सुरु भइसकेको थियो । दर्शक दीर्घामा युवा कम र पाका धेरै थिए । बर्मेली गाउँमा बस्ने नेपालीका कथा पनि हाम्रा गाउँघरकै जस्ता छन् । युवाहरू उच्चशिक्षा र वैदेशिक मजदुरीका लागि हिँडिहाल्छन् । नागरिकता नपाउने समस्या छँदै छ । रंगुन र मान्डलेमा बसोबास गर्ने व्यापारी र सम्पन्न नेपालीलाई मात्र चिनेको मैले मिचिना पुगेर आम नेपालीका कथा बुझ्न पाइयो ।
लामो समयदेखि निरंकुश सैन्य सत्तालाई रिझाएर बसेका रहेछन् नेपालीहरू । यहाँ पनि नेपालीहरू अन्यत्रझैँ लडाकुकै रूपमा चिनिएकाले बसाइ केही सहज छ । गोर्खालीले बेलायती शासनका बेला जापानसँग लडेको र स्वतन्त्रतापछि पनि चीन, थाइल्यान्ड र भारतसँग सीमा रक्षा गरेको ‘इमेज’ बनाएका रहेछन् ।
अहिले पनि म्यान्मार सरकारका नजरमा नेपाली सोझा र इमानदार जातिका रूपमा चिनिन्छन् । त्यही इमानदारको ‘इमेज’ जोगाउन लागिपरेका छन्, नेपाली मूलका बर्मेलीहरू । त्यसैले त अनेकौँ अफ्ठेरामा मौन बसेका छन् उनीहरू । गौतम बुद्धसँगको नेपाल साइनो र बौद्ध धर्मावलम्बीको हिन्दूप्रतिको सकारात्मक सोचले समेत नेपालीलाई सहज बनाइदिएको छ ।
म कार्यक्रममा रमाउनभन्दा गाउँमा भलाकुसारी गर्ने उद्देश्यले गएको थिएँ । त्यसैले लुसुक्क बाहिर निस्किए । मन्दिर वरिपरि खेत र फाट्टफुट्ट घर रहेछन् । बाटोमा एक हुल गाई लाम लागेर जाँदै थिए । गाई धपाउँदै गरेका दुई पुरुषलाई नाम सोधेँ । ‘इन्द्रबहादुर र कपिलबहादुर,’ उनीहरूले जवाफ फर्काए ।
‘पहिलाजस्तो गाई चरन धेरै छैन, अब २५ वटा मात्रै बाँकी छन्,’ इन्द्रबहादुरले भने । घाम पश्चिमतिर ढल्कँदै गएकाले केटाकेटीहरू स्कुलबाट फर्कंदै थिए । बर्मेली लुंगी र सेतो सर्ट लगाएका नेपाली समुदायका आठ–दश वर्ष उमेरका केटाकेटी मन्दिर अगाडि खेलिरहेका थिए । कुरा गर्न खोज्दा उनीहरू लजाए ।
केटाकेटीसँग कुरा गर्न खोज्दै गर्दा भेटिए, मोटरसाइकल चलाउन लागेका दुई महिला । ‘मेरो शुभनाम सुमित्रा अधिकारी हो, म चानबारी प्रशाखा महिला विभागकी अध्यक्ष हुँ,’ एक महिलाले भनिन्, ‘मेरो बाउको शुभनाम तुलाराम खड्का हो, कालीकोटे खड्का, ससुराको शुभनाम फौजबहादुर अधिकारी अनि स्वामीको नाम राम अधिकारी ।’
‘अशुभ नाम पनि हुन्छन् र ?’ मेरो ठट्टा उनले बुझिनन् । अर्की महिलातर्फ हेरेँ, ‘बस्नेत कि छोरी, अहिले अधिकारी, शुभनाम कविता हो,’ उनले भनिन् । सुमित्रालाई सुखमा नेपालको खासै याद आउँदैन रे ! ‘तर, बर्माले दुःख दिँदा धेरै याद आउँछ नेपालको, मातृभूमि हो नि त,’ सुमित्राले भनिन् । सँगै रहेकी कविताले भने गीत गाइन्–
बर्मा छँदा बर्मेलीले भन्छ हाम्लाई नेपाली ।
आजबाट नेपाल पुग्यौँ नेपालीले बर्मेली ।
सुमित्रालाई नेपाल जाने इच्छा छ तर अहिले जान सक्ने स्थिति छैन । पैसा छैन । छोराछोरी पढाइरहेकी छन् । उनलाई छोराछोरीले कमाएर लगिदिएछन् भन्ने आस छ । सुमित्राले बाइकमा राखेर आफ्नो घर पु¥याइन् । आँगनमा रहेका छोराछोरीलाई मतिर देखाउँदै भनिन्, ‘बडाबालाई नमस्ते गर ।’
म अचम्ममा परेँ । उनले श्रीमान्लाई बोलाउँदै भनिन्, ‘तपाईंका गोत्रका दाजु ल्याइदिएकी छु ।’ काठको घर रहेछ । खेतीपाती र पशुपालन गरेर बसेको यो परिवारसँग २५ माउ गाई रहेछन् ।
उनका अनुसार यस क्षेत्रमा दुई सय १३ घर गोर्खाली छन्, एक हजार चार सय ९५ जनसंख्या । तीन पुस्तादेखि यही जन्मेर हुर्केका नेपाली मूलका बर्मेलीमा पनि कहीँकतै डर छ । त्यही डरले उनीहरूलाई नेपाल सम्झाइरहन्छ ।
त्यसैदिन साँझ मिचिना सहर पुग्नुअघि पामती बस्तीको मन्दिरमा पुगियो । सन् १९४७ मा भारतीय मूलका उडिया बाबाले बनाएको यो मन्दिर नेपाली समुदायको संरक्षणमा रहेछ । इरावडी नदीको किनारमा अवस्थित यो मन्दिरले नेपालीभाषीलाई जमघट हुने मेलो मिलाइदिएको छ । खाना खाएर हामी मिचिना सहरतिर लम्कियौँ । सहरको बीचमा रहेछ, परिषद्को शाखा कार्यालय, त्यससँगै राधाकृष्ण मन्दिर र धर्मशाला ।
कत्था, मोगाउँपछि मिचिना शाखामा पनि उस्तै गरी कार्यक्रम भइरहेको छ । यहाँका कार्यक्रममा सहभागी भएपछि धेरै कुरा थाहा हुँदै गयो । परिषद्को चासो र संलग्नता धेरै क्षेत्रमा फैलिएको रहेछ । स्वास्थ्य र शिक्षाका लागि दीपक अधिकारी र कमल खरेललगायत नेपालीको नेतृत्वमा आफ्नै लगानीमा गाउँगाउँमा डाक्टर पढाउने चलन सुरु भएछ । परिषद् अन्तर्गतकै विश्वविद्यालय विद्यार्थी मण्डलीले शिक्षामा ठूलै लगानी गरेको रहेछ । परिषद्को दुःख निवारण समितिले आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च जुटाइदिने गरेको रहेछ । अहिलेको सबैभन्दा ठूलो समस्या हो, नागरिकता र शिक्षा । यिनलाई हल्ला नगरी समाधान गर्न चाहन्छन् अध्यक्ष सागरचाहिँ ।
सन् १९८४ को नागरिकता नियमले नेपाली मूलकालाई अप्ठेरो पारेको रहेछ । सन् १८२४ (पहिलो अंग्रेज–बर्मा युद्ध)भन्दा अघिदेखि बसोबास गरेकाले मात्रै जन्मसिद्ध नागरिकता पाउने भएछन् । त्यसका लागि सैनिक सरकारले ‘सिटिजनसिप बुक’ प्रकाशित ग¥यो ।
धेरै नेपालीले गाउँगाउँमा आएका सरकारी टोलीमार्फत नागरिकता पाए । त्यसबेला नेपाल फर्कने भनेर बसेका र विभिन्न कारण छुटेका एवं तिनका सन्तानको नागरिकता बनाउन समस्या भएको परिषद्का उपाध्यक्ष रुद्रप्रसाद न्यौपाने बताउँछन् । ‘स्थिति यतिसम्म अप्ठेरो छ कि छोराछोरीको नागरिकता छैन, पहल पनि गरेको छैन, थाइल्यान्ड पुगेर उतै बिहे गरेका छन्, उता जन्मिएका छोराछोरीको नागरिकता कसरी बनाउने ?’ बर्माको स्थानीय निकायमा जन्मदर्ता नहुँदा अर्को समस्या थपिएको छ ।
गैरनागरिक भएर बसोबास गरेका नेपाली अधिकार खोज्न सक्दैनन् । त्यसैलाई आधार बनाएर सरकारले अप्ठेरो नपारोस् भनेर सचेत भइरहेका छन् । रोहिन्जा समस्याले थप डर पैदा गरिदिएको छ । चीन र थाइल्यान्डको सीमा क्षेत्रबाट छिर्ने आप्रवासीले अर्को समस्या थपिदिएका छन् ।
४५ वर्षको उमेरमा पनि नागरिकताविहीन मोगाउँ चान्वारी मन्दिरका पुजारी खिलप्रसाद गुरागाईंका छोरा कुलप्रसाद भन्छन्, ‘कागजपत्रमा सामान्य त्रुटि देखियो भने पनि धेरै दुःख दिन्छन्, भोलि आइज, पर्सि आइज भन्छन्, धेरै घुस माग्छन् ।’
अनेकौँ झमेला खपेर पनि परिषद्ले केही वर्षभित्रै नागरिकता समस्या समाधान गर्ने अभियान चलाएको छ । बर्मेली भाषामा लेखिएका नागरिकतासम्बन्धी सरकारी नियम रुद्रप्रसाद न्यौपानेले पढेर सुनाउन थालेका बेला म भने नयाँ मान्छेसँग भलाकुसारीको लोभमा लुसुक्क निस्किएँ ।
एकजना अपवाद भेटिए, ३० वर्षदेखि थाइल्यान्डको फुकेटमा टेलरिङ चलाएर बसेका ओमबहादुर । उनीसँग भने तीन देशको नागरिकता रहेछ । ‘नेपालको महेन्द्रनगरमा बर्माबाटै जानुभएको काका हुनुहुन्छ, त्यतिखेर बर्माको पासपोर्टले थाइल्यान्ड बस्न सजिलो नभएकाले नेपाल पुगेर नागरिकता र पासपोर्ट बनाएको थिएँ, म सुतार कार्की भए पनि नेपालको नागरिकतामा मेरो थर भण्डारी छ,’ उनले भने । उनले नेपाली नागरिकता लिन ५० हजार रुपैयाँ खर्चेका रहेछन् ।
थाइल्यान्डको नागरिकतामा चाहिँ उनको नाम सोहन छ र बर्मामा चाहिँ होमुई । ‘तीनवटा नागरिकताले समस्या हुँदैन ?’ उनी भन्छन्, ‘किन समस्या हुन्थ्यो, नेपाल जाँदा नेपाली बोल्छु, थाइल्यान्डमा थाई, यहाँ बर्मेली बोलिहाल्छु ।’
माओवादी सशस्त्र विद्रोहमा रहेका बेला ६ महिना काठमाडौं बसेका उनी भन्छन्, ‘कमान्डर आयो, कमान्डर आयो भनेर करायो, म त गाडीबाट ओर्लिएर झन्डै भागेको, पत्रिका बेच्न पो आएको रहेछ ।’
लेगाउँ मिचिनाका युवा राम दाहालले पनि नेपाली नागरिकता लिएका रहेछन् । उनले एक हजार रुपैयाँ खर्चेर नागरिकता बनाएको बताए । आफ्नो मामाघर बारा आएका बेला पाँच वर्षअघि उनले नागरिकता बनाएका रहेछन् । उनी त्यसबेला ६ महिना नेपाल बसेका थिए । उनी ठोकुवा गर्छन्, ‘जबसम्म रजिस्टरमा कलमले लेख्न र काट्न मिल्छ, तबसम्म नेपालमा जसको पनि नागरिकता बनाउन मिल्छ, भुटानी, तिब्बती, भारतीय धेरैले यसरी नै बनाएका हुन् ।’
दाहालको ठोकुवामा कति सत्यता छ थाहा छैन, तर उनीसँगको दोहोरो नागरिकताले मलाई भने यस्तो हुँदैन भन्ने विश्वास लाग्न छाडेको छ । उनको पासपोर्ट पनि नेपाली नै रहेछ । पासपोर्ट नवीकरण गर्न भने थाइल्यान्डस्थित नेपाली दूतावासले झन्झट दिएको उनको गुनासो छ ।
५० वर्षीय नवराज कार्की भने गत वर्ष नेपाल पुगेर गोकर्णमा श्राद्ध गरेर फर्केछन् । उनले जहाजबाट उत्रनेबित्तिकै नेपाली भूमिलाई नमस्कार गरे रे ! ‘हाम्रो पुख्र्यौली थलोचाहिँ पूर्व ५ नम्बर हाडदेवा भन्ने ठाउँमा रहेछ, बडो ठन्डा ठाउँ रहेछ, अप्रिलमा पनि हामी सिरक ओढेर सुतेको,’ उनले भने । उनकी जेठी सासूको घर काठमाडौंको साँखुमा भएकाले नेपाल जान सजिलो भएको रहेछ ।
झापाको शनिश्चरेबाट तिहारमा दिदीको घर आएका टीकाराम लम्साल चानबारीमा जन्मिएका थिए । २०२७ सालमा सपरिवार नेपाल गएका उनी त्यसबेला पाँच वर्षका मात्र थिए । उनलाई आफ्ना बाबुआमा नेपाल फर्कनुको कारण थाहा छैन । ‘हामी नेपाल फर्कंदा दिदीहरूको बिहे भइसकेकाले उहाँहरू यतै रहनुभएको हो,’ उनले भने ।
किरात परिषद् मिचिना शाखाका अध्यक्ष पुरन लिम्बु र उनका सोल्टी मणि फोम्बो लिम्बुका बाजेहरू भने बेलायती सेनामा थिए । दोस्रो विश्वयुद्धका बेला उनीहरू बर्मा आइपुगेका हुन् । पुरनका आफन्त पनि भक्तपुरको थलीमा बसोबास गर्छन् । उनीहरू एक वर्षअघि नेपाल पुगेर आएका रहेछन् । अझै पनि आफ्नो पुख्र्यौली थलो तेह्रथुमको इसिबु पुग्न नपाएकामा भने मणिलाई गुनासो छ । पुरनचाहिँ पुख्र्यौली जिल्ला ताप्लेजुड पुगे पनि गाउँसम्म पुग्न सकेनन् ।
धार्मिक परिषद्का कार्यालय व्यवस्थापक तिलकराम निकै रसिक छन् । कविता गजल सुनाउन सधैँ तयार हुन्छन् । नेपाली भाषामा स्नातक कक्षाका शिक्षक सेरु थापा पनि साथै छन् । उनी पनि कविता लेख्छन् । कसरी नेपाली साहित्यलाई स्तरीय बनाउने भन्ने उनीहरूको चिन्ता छ ।
इरावडी नदीको पानी लाग्ने जग्गा उर्वर छ । त्यसैले नदीको किनारामै बसोबास धेरै देखिन्छ । मिचिना पनि इरावडीको दुवै किनारमा अवस्थित छ । उर्वर भएकैले नेपालीहरू पनि यहाँ आएर खेती तथा पशुपालन गरेर बसेका हुन् ।
मिचिनामा भेटिएका देवीप्रसाद ढकालका अनुसार यहाँका सबैजसो नेपाली किसान थिए । गाईलाई चरन चाहिने भएकाले जंगल छेउमै बसोबास गर्थे । अचेल भने बिस्तारै सहरतिर सर्न थालेका छन् । नेपाली मूलका बर्मेलीका अनुसार कचिन क्षेत्रमा अझै पनि विद्रोही बाँकी नै छन् । कचिन जातिका नाममा प्रान्त दिए पनि म्यान्मार सरकारले सीधँ शासन गरेकाले उनीहरू खुसी छैनन् ।
बर्मेली भाषामा एउटा उखान रहेछ, ‘म्येम्यो य्वे लम्यो म्प्यौ, लु म्योमा लु प्यौ मी’ अर्थात् ‘माटोले खाएर मान्छे सकिन्छ तर मान्छेले मान्छे खायो भने समुदाय सकिन्छ ।’ यही उखानजस्तै म्यान्मारमा बस्ने नेपाली मूलका बर्मेलीलाई आफ्नो समुदाय कसरी जोगाउने भन्ने चिन्ता छ । नेपाली जातिकै अस्तित्व सकिने हो कि भन्ने डर छ ।
शताब्दी अघि नेपालबाट बर्मा गएको पुस्ताले युद्ध ग¥यो, जंगल फाँडेर सृष्टि ग¥यो । दोस्रो पुस्ताले समुदाय बनायो, परिषद्संस्था, मठ–मन्दिर, धार्मिक शिक्षाको जग बसायो । तेस्रो र चौथो भने अहिले नेपाली गाउँबाट युवा बिदेसिएझैँ थाइल्यान्ड र मलेसियातर्फ गइरहेको छ ।
भोलिपल्ट धार्मिक परिषद्को टोली इरावडी नदीपारि वाइमोनगर जाँदै थियो । जहाँ नेपाली समुदायले मखान्ती संस्कृत पाठशाला सञ्चालन गरेको रहेछ । यहाँ अझै सात सयभन्दा बढी नेपाली घर छन् भन्ने सूचना पाएको थिएँ । तर, त्यहाँ विदेशीलाई जान अनुमति रहेनछ । परिषद्का अध्यक्ष सागर संकटमा थिए, मलाई लिएर जाने कि छाड्ने भनेर ।
मन अशान्त छ, नेपालीभाषी र तिनका कथा सुनेर । भोलि बिहान वाइमोनगर जान पाइने हो कि हैन भन्ने चिन्ता उत्तिकै । निद्राले नछुँदै होटलको अव्यवस्थित झ्याल छिचोल्दै ठूलो कोलाहल छि¥यो कोठाभित्र । झ्याल उघारेर हेरेको त सडकभरि मान्छे छन्, दुई किनारामा तरकारीको व्यापार चलिरहेको छ । म उठेको चाल पाएर परिषद्का अध्यक्ष सागरले भने, ‘यहाँ हरेक राति १२ देखि ५ बजेसम्म बजार लाग्छ ।’ सायद संस्कृति भनेको नै यही हो, हरेक समुदायले आफूले चाहेअनुसार अभ्यास गर्न पाउने र आउने पुस्तालाई त्यही जीवनशैली हस्तान्तरण गर्ने । त्यसलाई परिस्कार र संवद्र्धन गर्ने काम भने नयाँ पुस्ताको हो ।
कचिन भाषामा ‘मि’को अर्थ ठूलो, ‘चि’ भनेको नदी र ‘ना’ भनेको किनार रहेछ । ठूलो नदीको किनारामा भएकाले यो स्थानको नाम मिचिना रहेको हो । म भने इरावडी नदी पार गरेर भोलि होमनाथ घिमिरे अर्थात् नाताले बडाबालाई भेट्न पाउँछु कि पाउँदिन ? चिन्तामै निदाउने कोसिस गर्छु ।
प्रकाशित: २२ पुस २०७४ ०१:२८ शनिबार