गत हप्ता भेटघाटको क्रममा म एक जना आफन्तकहाँ गएकी थिएँ । त्यहाँ छोराले अन्तर्जातीय युवती मन पराएर विवाह गर्न खोजेको रहेछ । आमाबाबु र छोरामा विवाहलाई लिएर विवाद चलिरहेको थियो । छोराले त्यही युवतीसँग विवाह गर्न पाए गर्ने, नत्र नगर्ने । आमाबावुको भनाइ थियो– एउटै छोरा अन्तर्जातीय विवाह गर्दा यो समाजमा कसरी मुख देखाउने ? हामीले यही समाजमा बाँच्ने हो, कसरी समाजमा मुख देखाउने ? पूजाआजामा बुहारीलाई कसरी अगाडि ल्याउने ? कसरी नआऊ भन्ने ? तिमीले गर्नु हुँदैन भनेर कसरी भन्ने ? विदेश बस्ने भए त केही थिएन तर यही समाजमा बस्दा गाह्रो हुन्छ भन्ने अभिभावकको भनाइ थियो ।
अन्तर्जातीय विवाहलाई हाम्रो संस्कृति र समाजले मान्यता दिएको छैन भन्दै ती छोरालाई अभिभावकहरुले सम्झाउँदै थिए, ‘बाबु प्रेम भनेको समुन्द्रको छाल हो । केही समय आउँछ र फेरि साम्य हुन्छ ।’ आमाले सम्झाउँदै थिइन्, ‘हेर बाबु, तिमीलाई हामीले केही कुराको दुःख दिएका छैनौं । अहिलेसम्म तिमीले भनेका सबै कुरा मानेका छौँ । तिमै्र सुन्दर भविष्यका लागि भनेका हौँ । बिन्ति छ, आफ्नै जातको केटी विवाह गर ।’
उनीहरुले धेरै किसिमले सम्झाउने प्रयास गरिरहेका थिए तर छोराले मानिरहेका थिएनन् । आमाबाबुले बेलाबेलामा मेरो समर्थन खोजिरहेका थिए । म भने अप्ठ्यारोमा परिरहेकी थिएँ । दुवैको कुरा केही हदसम्म जायज नै लागिरहेको थियो ।
अचेल समाज धेरै अगाडि बढिसकेको छ । हामी एक्काइसौँ शताब्दीमा छौँ । जातभातको कुरा त उहिल्यै सकिइसक्नु पर्ने हो तर यसले अझैसम्म छाडेको छैन हामीलाई । सकेसम्म सबै कुरा मिले त अन्तर्जातीय विवाह अति उत्तम हो तर घरमै कलह निम्त्याउने भएपछि राम्रो पनि कसरी मान्ने ? विवाह दुई जोडीको कुरा मात्र होइन, दुई वटा परिवारको मिलन पनि हो । विवाहले दुई युवाको जोडा मात्र नमिलाई दुई परिवारलाई नै मिलाउन सक्दा त्यो जस्तोसुकै विवाह भए पनि उत्तम विवाह हुन्छ ।
हिजोआज मन मिल्ने भनेको धेरै समयको कुराकानी, उठबस, विचारधारा आदानप्रदान, आनीबानी, पढाइको स्तर आदि सबै मिलेपछि मात्र आधुनिक जोडीले एकअर्कालाई प्रेम प्रस्ताव राख्छन् । सफल वैवाहिक जीवनका लागि लामो समयसम्म एकअर्कालाई चिन्नु अति आवश्यक हुन्छ । हिजोआज पढाइ सकेपछि २५÷२६ वर्ष र कतिपय त त्योभन्दा पनि पछिको परिपक्व उमेरमा विवाह बन्धनमा बाँधिन्छन् । हरेक जोडीले घर–अफिसको काम सम्हाल्दै एकअर्काको विचारधारालाई सम्मान गरेर काम गरिरहेका हुन्छन् । कुनै पनि निर्णयमा एकअर्काप्रति विश्वासको वातावरण हुन्छ । सन्तान जन्माउने, हुर्काउनेदेखि आफ्नो भविष्यको खर्चसम्म योजना गरेर सम्बन्ध बनाएका हुन्छन् । परिवारको कुनै सदस्यले उनीहरुलाई दुःख दिएको छ भने दुवै मिलेर त्यो दुःखको समाधान गर्ने र एकअर्काको आत्मसम्मान जोगाएर राखेका हुन्छन् । जीवन बाँच्न र चलाउनका लागि यो ठूलो आँट र भरोसा पनि हो ।
माथिकै प्रसङ्गमा मिल्दोजुल्दो म एउटा समाजमा भएको कुरा राख्न चाहन्छु । मेरो साथी अस्मितासँग धेरैपछि भेट भएको थियो । आफ्नो उमेरभन्दा पनि १५ वर्ष बढी देखिएकी थिइन् । राम्रै घरकी छोरी थिइन् । स्कुलमा पढाइलेखाइ सबै कुरामा अब्बल थिइन् । उनले विवाह र परिवारका बारेमा धेरै सपना पालेकी मात्र थिइनन्, जीवनमा देश र समाजकै लागि केही गर्ने ठूलो इच्छा बोकेकी थिइन् । घरको जेठी छोरी, त्यसमाथि राम्रो परिवारबाट माग्न आएपछि आमाबाबुले १८ वर्षकै उमेरमा विवाह गरिदिए । हामी कलेज प्रथम वर्षमा पढ्दै थियौं । त्यतिखेर हामीलाई लाग्थ्यो, अस्मिता साह्रै भाग्यमानी रहिछ । आधुनिक भव्य घर, घरमा ठूलो बगैँचा बारी, चम्किलो मोटरगाडी !
निकैपछि उनलाई भेट्दा र उनको व्यथा सुन्दा मनै व्याकुल भएर आयो । विवाह त ठूलो घर, विशिष्ट परिवार र समाजका ठालू व्यक्तिसँग भयो । ‘त्यस घरकी बुहारी, भाउजू, देउरानी, माइजू, काकी, दिज्यू, मालिक्नी विवाहपछि दुलही यानी श्रीमती कहिल्यै भइनँ, श्रीमान्को सहभागिनीका रुपमा म कहिल्यै उभिन पाइनँ,’ उनको गुनासो थियो, ‘उहाँले कुनै पनि कुरामा मलाई अँगाल्नु भएन । खाली परिवार, आमाबाबु, दाजुभाइ र साथीभाइ मात्र आफन्त ठान्नुभयो । म सधैँ रातदिन घरभित्रै कामकाजमा व्यस्त भएँ । माइतीमावली सबै बिर्सेर घरमा उफ् पनि नभनी व्यस्त रहेँ । बाहिरबाट हेर्दा छोरी सुखी छे, खुसी छे भन्ने देखिन्थ्यो । आफ्ना परिवारको कुरा बाहिर नगर्नु नै जाति लाग्थ्यो मलाई र मेरा आमाबुबाको शिक्षा, संस्कार पनि त्यही थियो ।’
अस्मिताले भनिन्, ‘छोराछोरी ठूला हुँदै गएपछि पनि उनीहरुका बुबाले समय नदिएको देख्दा प्रश्न गर्न थालेँ । बदलामा छुच्चीको उपमा पाउन थालेँ । अहिले पनि उनी आमाको छोरा, दाइको भाइ, भाउजूको देवर, मामाको भाञ्जा बन्न खोज्छन् तर छोराछोरीका बुबा र पत्नीका पति हुन खोज्दैनन् ।’
घरमा सल्लाह होस्, आफूले ती सल्लाहमा केही सुझाव दिन पाऊँ भन्ने उनलाई लाग्थ्यो तर सबै कुरा लुकाउने र घरको सदस्य नै नसम्झने उनको पतिको व्यवहार थियो । ‘मैले यति लामो जीवन उनीसित कसरी बिताएँ होला !’ अस्मिताले आफैँसँग गुन्गुनाएझैँ मलाई सुनाइन्, ‘एउटी स्त्रीलाई अन्य सारा नाताभन्दा पतिको पत्नी हुुनुमा गर्व महसुस हुँदोरहेछ । त्यही नभएपछि अन्य सारा कुरा त व्यर्थ लाग्दोरहेछ !’ ओहो ! अस्मिताले कति गहिरो कुरा गरिन् !
‘साथी अब त जीवनका अन्तिम समय गनेर बसेकी छु,’ उनले यसो भन्दा मेरो मन कटक्क खायो, भनिन्, ‘यो झुटो संसारमा बाँच्नुभन्दा चाँडै काल आउनु जाती ।’
अस्मिताका यी सबै कुरा सुन्दा मन व्याकुल भएर आयो । आजको परिवेश परिवर्तन भएको छ । सबैले पढाइ पूरा नभई विवाह गर्दैनन् । सकेसम्म विवाह गर्दा दुई चार चोटी भेटेर आफ्ना विचार, लक्ष्य राखेर, बरु विवाह ढिलो भए केही हुँदैन भन्दै एउटा उज्ज्वल भविष्यको कल्पना गरेर एकअर्कालाई सम्मान गर्ने जीवनसाथी खोज्ने चलन बसेको छ ।
आखिर अस्मिताले सजातीय विवाह गरेर के फल पाइन् त ? त्यसैले अहिलेको समयमा सजातीय वा अन्तर्जातीय विवाहले खासै अर्थ राख्दैन । अर्थ त, एकबारको जुनीमा एकअर्कालाई सम्मान गर्ने, एकअर्कालाई मरिहत्ते गर्ने जीवन बाँचेको राम्रो हो नि, होइन र ?
मुख्य कुरा त दुलाहादुलही, घरपरिवारले छोराबुहारीको स्वर्णिम भविष्यको कामना गर्नुपर्छ । अनि मात्र सुखमा सुख देखिन्छ । दुःखमा पनि सुःख देखिन्छ । मन खुसी भयो भने यो संसारको दुःख त केही पनि होइन ।
प्रकाशित: ६ मंसिर २०७४ ०६:०५ बुधबार