१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

ह्यान्ड पेन्टिङमा रमाएकी अनु

सानैदेखि स्केचिङ गर्ने, चित्र कोर्ने भनेपछि हुरुक्कै हुन्थिन् अनु । रङहरुसँग खेल्न खुब रुचाउँथिन् तर भविष्यमा फेसन डिजाइनर नै बनिएला भन्ने उनलाई लागेको थिएन । 

‘सानैदेखि कलामा झुकाव थियो । जे गरे पनि कलासँग सम्बन्धित भएर काम गर्छु भन्ने थियो तर फेसन डिजाइनिङ नै गर्छु भन्ने लागेको थिएन,’ उनी सम्झन्छिन्, ‘मेरा दिदीहरु भन्नुहुन्छ, म स्कुल पढ्दा प्रत्येक कपीको अन्तिम पानामा स्केचिङ गरिरहेकी हुन्थेँ । रङ, चित्र र स्केचसँग प्रेम भएरै होला म ह्यान्ड पेन्टिङमा लागेँ ।’ 

अुनले फेसन डिजाइनरका रुपमा काम गरेको २० वर्ष भइसक्यो । १९ वर्ष अन्य डिजाइन हाउससँग सहकार्य गरेर काम गरेकी अनुले १ वर्षयता आफ्नै डिजाइन हाउन खोलेकी हुन् । नाम राखेकी छन्, ‘कलिस्टो’ ।  ग्रिक भाषामा यसको अर्थ हुन्छ, ‘अति सुन्दर ।’ 
कलिस्टोले हातले पेन्ट गरिएका रेशमका कपडाहरु (साडीं, पोंचो, स्कार्फ, कफनलगायत) उत्पादन गर्छ । ‘सेतो कपडामा हामी हातले विभिन्न कन्सेप्टमा पेन्ट गर्छौं र स्टिच गर्छौं । हामी हाम्रा हरेक डिजाइनलाई युनिक र विशेष बनाउने प्रयत्न गर्छौं,’ अनुले भनिन् । 

उनी हाल नेपाली आर्टिस्टहरुसँग पनि काम गरिरहेकी छन् । फेसन सोहरुमा पनि आफूले डिजाइन गरेका पहिरन प्रदर्शन गरिरहेकी छन् । भन्छिन्, ‘म आफ्नो कलालाई कपडामा उतार्न चाहन्छु । नेपाली आर्टलाई पहिरनयोग्य आर्ट (वेरेबल आर्ट)का रुपमा विकास गर्न चाहन्छु । ताकि मान्छेलाई कपडा लगाउँदा सहज महसुस होस् ।’

अनुले भारतको दिल्लीस्थित साउथ दिल्ली पोलिटेक्निक कलेजबाट तीन वर्षे फेसन डिजाइनिङको कोर्स लिइन् । नेपालमा हिस्ट्री र पोलिटिकल साइन्स विषय लिएर स्नात्तक गरेकी उनी फेसन डिजाइनिङतर्फ कसरी आकर्षित भइन् त ? भन्छिन्, ‘कलेजमा अन्तर्वार्ता दिन भनेर गएकी थिएँ । त्यतिबेला कुन विषय छान्ने भनेर सोच्दै जाँदा फेसन डिजाइनिङमा रुचि लाग्यो । योभित्र फेसन सो, ग्ल्यामर, मेकअप, हेयर, सुज, ड्रेसअपलगायत कुरा पर्दारहेछन् भनेपछि झन् आकर्षित भएँ ।’ 

सुरुमा निकै उत्साहित भएर यो विषय रोजेकी अनुलाई पछि सजिलो नलागेको बताइन् । ‘पछि गएर थाहा भयो, एकदमै गाह्रो हुनेरैछ,’ उनले भनिन्, ‘बिहानदेखि रातिसम्म एक वर्ष लगातार बिदा पनि भन्न नपाइकन सिक्नु पर्यो ।’ 

अनुले वर्षमा दुईपल्ट दसैँतिहार र क्रिसमसको अवसर पारेर कलिस्टोका उत्पादनहरुको प्रदर्शनी गर्ने लक्ष्य लिएकी छन् । भदौमा उनले चार दिने प्रर्दशनी आयोजना गरिसकिन् । ‘अब क्रिसमस आउनुअघि गर्छु,’ उनले योजना सुनाइन् । 

अनुले आफ्ना उत्पादन युरोपमा समेत निर्यात गर्ने गर्छिन् । ‘अमेरिकामा पनि पठाउन थालेकी छु,’ उनले सुनाइन् । अनुले आफैँ कम्पनी सुरु गरेयता थुप्रैले रोजगारी पनि पाएका छन् । २० जना त कर्मचारी नै छन् । ‘सिलाई र बुनाईका काममा आउटसोर्सिङ पनि गर्ने गरेकी छु,’ उनले बताइन् ।

अनुका अनुसार कुनै बेला बुटिकमा गएर कपडा किन्ने मान्छेहरु एकदमै कम हुन्थे । आर्थिक क्षमता राम्रो भएका मान्छेहरु पनि विदेशमा गएर किन्थे । ‘तर अहिले त्यस्तो छैन,’ अनु भन्छिन्, ‘फेसन डिजाइनिङमा अब करिअर राम्रो छ । बजार बिस्तारै राजधानीबाहिर पनि जाँदैछ । अब त नेपालमै क्वालिटीको कपडा पाउँछ भने विदेश किन जाने भन्ने सोच राख्नेहरु बढेका छन् ।’ आफूले चाहेजस्तो डिजाइनको कपडा नपाए ग्राहकहरुले अर्डरसमेत गर्ने गरेको उनले सुनाइन् । 

अनुलाई लाग्छ, अहिले धेरै नेपालीहरु ब्राण्ड कन्सस भइसके । ‘सडकमा हेर्नुस् न हरेक मान्छे अहिले पहिरनप्रति सचेत छ, फेसनेबल भएर हिँड्न खोजिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘मान्छेको जीवनस्तर र शिक्षामा परिवर्तन आएसँगै लवाईखवाईमा पनि परिवर्तन आएको छ ।’ प्रविधिको विकाससँगै नेपालको फेसन ट्रेन्ड पनि चाँडो परिवर्तन भइरहेको उनले बताइन् ।

अनुले नेपालका फेसनप्रेमीलाई तीन तहमा विभाजन गरेकी छन् । पहिलो– योङस्टर्स । ‘योङस्टर्सहरु आज लगाएको लुगा भोलि लगाउँदैनन्, चेन्ज गरिरहनुपर्छ, त्यसैले उनीहरु धेरै पैसा खर्च गर्दैनन्,’ उनले भनिन्, ‘दोस्रोमा कामकाजी महिला पर्छन् । उनीहरु मूल्यप्रति पनि सचेत हुन्छन्, खर्च गर्दा पनि राम्रो र टिकाउ नै रोज्छन् । तेस्रोमा परिपक्व र पाकाहरु पर्छन् जो संघसंस्था र कम्पनीतिर काम गर्छन् । उनीहरुको खरिद क्षमता पनि राम्रो हुन्छ, फेसन सेन्स पनि राम्रो । त्यसैले नहिच्किचाई आफूलाई मनपरेको डिजाइन लगाउँछन् ।’ उनका अनुसार अहिले हेन्ड पेन्टेड सारी र कुर्ता, अफ सोल्जर टप्स, स्ट्रेट फुल पाइन्ट लगायतका डिजाइन चल्तीमा छन् । 

सेतो कपडामा हातले पेन्ट गर्नु चानचुने काम होइन । यसका लागि सिर्जनशीलता पनि आवश्यक पर्छ । ‘फ्रेस मुडमा स्केच गर्नलाई कहिलेकाहीँ म पोखरा पनि गइरहेको हुन्छु,’ अनुले भनिन्, ‘यो काम सजिलो छैन तर म इन्जोय गर्छु । आफूले मिहिनेत गरेर बनाएको डिजाइन कसैले शरीरमा पहिरिँदा खुसी लाग्छ । ’ 

उनले नेपालमा भनेजस्तो सामग्री नपाउँदा चीनबाट आयात गर्नुपरेकोमा दुःख व्यक्त गरिन् । ‘१५ दिन भयो अझै ‘र म्याटरियल’ आएको छैन,’ काठमाडौं, सोल्टीमोडस्थित उनको अफिसमा पुग्दा उनले गुनासो पोखिन्, ‘आफ्नै देशमै टिकाउ सामान पाउने भए विदेशको भर पर्नु पर्दैनथ्यो ।  असनको बजारमा पाउने भए त म दौडेर गएर किन्थेँ नि ! फेरि मैले देश बाहिरको कम्पनीसँग पनि काम गर्ने भएकाले उनीहरुलाई कपडाचाहिँ टिकाउ नै चाहिन्छ ।’

अनुको परिवारमा हाल पति, छोरा र ससुरा छन् । पति विश्व बैंकका आइटी इन्जिनियर छन्, छोरा रातो बंगला स्कुलमा पढ्दैछ । उनको काममा पतिको पूर्ण समर्थन छ । भन्छिन्, ‘सहयोग नगरेर हुन्छ त ? मलाई त कहिलेकाहीँ पसलमै आएर सहयोग पनि गर्नुहुन्छ ।’

अनुका लागि फेसन भनेको के हो ? ‘तपाईंलाई मनपरेको र सहज लाग्ने लुगा लगाउनु नै फेसन हो । तपाईं जे लगाउनुहुन्छ त्यो ट्रेन्ड बनोस्,’ उनले जवाफ दिइन् । 

प्रकाशित: २२ आश्विन २०७४ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App