७ वैशाख २०८१ शुक्रबार
अन्य

‘मोनो रेल’को महत्त्वाकांक्षा

अष्ट्रेलियाकाे सिड्नीमा गुडिरहेकाे माेनाे रेल

ललितपुर जिल्लाका ६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल तीन अर्ब ५५ करोड ६० लाखको अनुमानित बजेट तयार पारेका छन् । 

ललितपुर महानगरपालिकासहित दुई नगरपालिका र तीन गाउँपालिकाले विभिन्न महत्वाकांक्षी योजना बनाई बजेट तयार पारेका हुन् । उनीहरूले असारभित्रै नगर तथा गाउँपरिषद् गरेर बजेट पारित गर्नेछन् । 

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि पुल्चोक–कुपोन्डोल फ्लाई ओभर र मोनो रेलको सम्भाव्यता अध्ययनका लागि रकम विनियोजन गर्दै छ । दातृ निकाय र ललितपुरका भगिनी सहरलाई सम्भाव्यता अध्ययनका लागि आह्वान गर्ने निर्णय नगरपरिषद्बाट गराउने तयारी छ । 

महानगरका प्रवक्ता राजु महर्जनले दुवै परियोजनाको सम्भाव्यता अध्ययन र पूर्वाधार विकासको नयाँ मोडलका विषयमा नगरपरिषद्मा निर्णय हुने बताए । उनले नियमित प्रक्रियागत बजेटबाहेक केही नयाँ योजना ल्याउने तयारी भइरहेको जानकारी दिए । 

महर्जनले महानगरले आन्तरिक स्रोतबाट एक अर्ब ३० करोड तथा सरकार र परियोजनाका लागि ८४ करोडको अनुमानित बजेटको टुंगो लागेको बताए । महानगरपालिकाले आगामी शनिबार नगरपरिषद् गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपरिषद्को उद्घाटन गर्नेछन् । 

आगामी वर्षका लागि गोदावरी नगरपालिकाले पाँच करोड आन्तरिक र ४८ करोड ४८ लाख सरकारी एवं परियोजना सहयोग गरी ५३ करोड ४८ लाखको अनुमानित बजेट निर्माण गरेको छ । उपमेयर मुना अधिकारीका अनुसार अगामी आर्थिक वर्षमा नगरपालिकाले १८ करोड रुपैयाँ विकास निर्माणका लागि छुट्याएको छ । अरू रकम भने नियमित शीर्षकमा खर्च हुनेछ । 

महालक्ष्मी नगरपालिकाले ३९ करोडको अनुमानित बजेट बनाएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट नभई सरकार तथा परियोजनाबाट आउने रकमका आधारमा बजेट बनाएको हो । 

ललितपुरको महांकाल गाउँपालिकाको १८ करोड ७८ लाख २१ हजार, कोन्ज्योसोम गाउँपालिकाको १८ करोड ३४ लाख र वाग्मती गाउँपालिकाले १२ करोड ४५ लाख रुपैयाँ अनुमानित बजेट बनाएका छन् । कोन्ज्योसोम गाउँपालिकाले बिहीबार गाउँपरिषद् गरेको छ भने महांकाल गाउँपालिकाको गाउँपरिषद् शुक्रबार हुँदै छ । वाग्मती गाउँपालिकाले पनि शुक्रबार नै गाउँपरिषद् राख्ने तयारी गरेको अध्यक्ष वीरबहादुर लोप्चनले बताए । 

शनिबार महालक्ष्मी नगरपालिकाको नगरपरिषद् हुँदै छ । त्यसको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भइरहेको मेयर रामेश्वर श्रेष्ठले बताए । शनिबार नै गोदावरी नगरपालिकाले पनि नगरपरिषद् गर्दै छ ।

प्रकाशित: ३० असार २०७४ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App