coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जन्मोत्सव जीवनमय बनोस्

आयु जीवनले धानेको, बोकेको, बिताएको समय हो । समय, जीवनलाई नाप्ने गणितीय औजार वा माध्यम हो । वर्षहरू खुड्किला हुन्, मान्छे चढ्दै जान्छ, उक्लिँदै जान्छ, अनेक आयाम र उपलब्धिमा विस्तारित हुँदै जान्छ । सँगसँगै निख्रँदै, घट्दै, छोटिँदै, खिइँदै जान्छ उमेरसँगै । आयु लामो वा छोटो, जति पनि हुन सक्छ । जीवनमा वर्षहरू थपिँदै जान्छन्, जीवन रसिलो, भरिलो, तेजिलो, सुकिलो हुँदै पनि जान्छ । फेरि उमेरको मध्याह्नपछि यो विरसिलो, खुकुलो, मधुरो र धमिलो पनि बन्दै जान्छ । यो जीवन जस्तो भए पनि भोग्नुपर्छ । तर बाध्यता हुनुहुँदैन जीवन, जीवन त रहर हुनुपर्छ । रहरैरहरमा फुल्नुपर्छ र फुलिरहनुपर्छ, ओइलाउनु हुँदैन जीवन । अनि जीवनको जन्मोत्सव हरेक वर्ष मनाउनुपर्छ । जन्मोत्सव नमनाउनेले जीवनलाई बिर्सेका हुन्छन् । आफ्नै जीवन नै बिर्सेर पनि के गरी बाँच्नु ।

आमा (८४) अझै भन्नुहुन्छ, ‘माघमा भुइँचालो गयो अरे, आउँदो वैशाखकी अरे म ता ।’ हजुरआमाले आमाको जन्मबारे बताउनुभएको जन्मको तिथिमिति त्यही होला । सामान्य नेपाली घरपरिवारका झन्डै ७० वर्ष उमेर नाघिसकेका बुवाआमाको जन्ममिति थाहा पाउन भुइँचालो गएको, असिना परेर सारा खेतीपाती नष्ट भएको, ठूलो बाढीपहिरोले तहसनहस पारेकोजस्ता प्राकृतिक घटनाको सहायता लिइन्छ ।

धेरैको जन्म साल, महिना थाहा भए पनि गते थाहा हुँदैन, त्यो बिर्सिइएको हुन्छ । हाम्रो आमाबुवाको पुस्ताले जन्मदिनको ख्यालै गरेन, वर्ष र महिनासम्म सम्झे पुग्यो उहाँहरूलाई । ज्योतिषीले लेखेको चिनामा पनि अन्दाजी गते अनि सम्झेअनुसार ‘यति घडी जाँदा’ भन्ने उल्लेख गरेर त्यसैका आधारमा ग्रह, नक्षत्र, राशि, गण, पक्ष आदिको टुंगो लगाए पुगिहाल्थ्यो ।

शैक्षिक वा सामाजिक चेतनाका हिसाबले सात सालअघि जन्मेको पुस्ताले एउटा अन्धकारमय समयलाई व्यहोर्नुपर्‍याे । शैक्षिक अवसर ज्यादै सीमित र नगन्य थियो, भए पनि सम्भ्रान्त र शासक वर्गका लागि थियो । राजधानीमा भएका शिक्षण संस्थामा पनि सर्वसाधारण नेपालीको पहुँच ज्यादै कम थियो । राजधानीबाहिर त अपवादबाहेक शिक्षण संस्था थिएनन् । समाजमा एकादुई चिनाटिपन गर्ने ज्योतिषी, कर्मकाण्ड, पूजाआजा गर्ने गुरु वा पण्डित हुन्थे । सामाजिक व्यवहार तिनीहरूबाटै निर्धारित हुन्थ्यो । त्यस्तो युगमा ‘जन्मदिन’को स्मरण गर्ने वा मनाइने चलन हुने कुरै भएन । जन्ममितिको यकिन जानकारीबिना नै हामी अघिका पुर्खा बितेर गए । 

उनीहरूको समय अभिलेखविहीन भएर बित्यो । शासक खलकका मात्रै अभिलेख राखियो, लेखाइयो । जन्म वा अरु पनि तिथिमितिअनुसारको अभिलेखले सम्बन्धित समयको अवस्था बुझ्न आँखीझ्यालको काम गर्छ । त्यसको महत्त्व यसमै छ । तिथिमितिबिनाको इतिहास कति अस्पष्ट, अन्योलपूर्ण थियो होला । अपसोच, अझै गणतन्त्र नेपालको भूगोल र समाजको ठूलो हिस्सा इतिहास भएर पनि इतिहासविहीन छ । हाम्रा बा, आमाहरू अझै आफ्नो उमेर आैँला भाँचेर गन्द छन् । समय २१औँ शताब्दीमा हिँड्दै छ ।

राजाका जन्मदिवस र जयन्ती खुब मनाइन्थ्यो । स्कुलका गुरुले सूचना जारी गर्थे, सबजना हाजिर हुनु भनेर । स्कुलबाट जुलुस निस्कन्थ्यो । हाई स्कुल पढ्दा त झन् भव्य जुलुस । क्याम्पसमा पढ्दा भने कसैले उर्दी लगाएन, राजाका जन्मदिवस वा जयन्तीमा जुलुस निकाल्न । साहित्यिक कार्यक्रममा भने सहभागी होइन्थ्यो, त्यहाँ राजस्तुतिका कविता सुनाउने अनिवार्यता हुँदैनथ्यो । निरंकुश पञ्चायतीकालमा आफूलाई बढी राजभक्त, व्यवस्थाभक्त देखाउन स्थानीय पञ्च नेतालाई राजाका जन्मदिन विशेष उल्लेखनीय रहन्थे । ज–जसले बढी तामझामपूर्ण राजाका जन्मदिवस वा जयन्ती मनाउँथे, उनीहरूले स्तरअनुसारका पदक पाउँथे । पुरातन सामन्ती संस्कारग्रस्त नेपालको राजसंस्थालाई रिझाउन यो नै सहज र उपयुक्त माध्यम थियो । राजाहरूलाई देशको यथार्थभन्दा भक्तिगानयुक्त शब्दजालमा पारी आफ्नो निहित स्वार्थ पूरा गर्न पञ्चहरूले कुनै कसर बाँकी राखेनन् । नेपालका राजा, एन्डर्सनका कथाको नायक बनिरहे, पञ्चहरूले हावामै राजालाई अनेक रंगीविरंगी पोसाक पहि¥याइरहे । राजाको जन्मदिन त्यस्तो पोसाक पहि¥याउनेको तँछाडमछाड हुन्थ्यो । त्यो क्रम ०४६ को फागुन ७ गतेसम्म नै विशेष रुपमा रह्यो । पछि राजा ज्ञानेन्द्रलाई पनि जुलाहाहरूले त्यही क्रम दोहो¥याए, त्यसको पनि उनले पत्तो पाएनन् । निरंकुशताप्रेमी शासक जहाँ पनि र जहिले पनि यथार्थभन्दा आफ्नो स्तुति सुन्न चाहन्छन्, राजाहरूले त्यही गरे ।

नेपालको इतिहासमा सदाकाल सम्झन सकिने एक मात्र राजा भए, उनको मूल्यांकन उनकै समयको परिस्थितिअनुसार गरिनुपर्छ । ती राजा हुन्, नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह । इतिहासप्रति कृतघ्न नभईकन ‘म नेपाली हुँ’ भन्ने भित्री भावना भएको जो–कोहीले पनि उनलाई बिर्सन सक्दैन । उनको जन्मजयन्ती मनाउनु हुँदैन कसैले भन्छ भने उसको आत्मामा ‘नेपाल’ हुन सक्दैन । ‘नेपाली हुन पवित्रआत्मा नेपाली चाहिन्छ ।’ (गोपाल योञ्जन) 

संसारमा धेरै राजा समय र जनचाहनाअनुकूल हुन नसक्दा समाप्त भएका त छन्, तर उनीहरूको ऐतिहासिक योेगदान छ भने त्यसलाई बिर्सिएको छैन । सामन्ती युगमा विश्वका धेरै देशको निर्माण राजाकै नेतृत्वमा भएको थियो ।

पृथ्वीबाहेक आधुनिक नेपालका केही राजनेता, केही वाङ्मय स्रष्टा साधकका नामहरू राष्ट्रिय जन्मजयन्ती मनाउनयोग्य हुन सक्छन् । यस निम्ति राज्य सञ्चालक सबै किसिमका संकीर्णता वा वैचारिक, भाषिक घेराबन्दीभन्दा माथि उठ्नु जरुरी हुन्छ ।

पूर्वीय सांस्कृतिक पृष्ठभूमिअनुसार जन्मजयन्तीको परम्परा अति लामो छ । हाम्रा आध्यात्मिक ग्रन्थमा वर्णित अनेकाँै देवताका जयन्ती अनुष्ठानपूर्वक मनाइने गरिन्छ । यो एउटा विश्वासमा आधारित सांस्कृतिक परम्परा हो । विश्वासमै त संसार चलेको छ । राम, कृष्ण, बुद्ध, मोहम्मद, क्राइस्ट आदि महामानवलाई सदा सम्झिने गरिन्छ । पूर्वीय सांस्कृतिक, धार्मिक परम्परामा पारिवारिक तहमा पनि आ–आफ्ना पिता–पुर्खालाई श्रद्धापूर्वक स्मरण गरिने संस्कार छ ।

 व्यक्तिको जीवनकालमै राष्ट्रिय स्तरमा जन्मोत्सव मनाएर आरोग्यताको कामना गर्ने चलन पनि विगतमा राजपरिवारका सदस्यका जन्मदिनका लागि मात्र सीमित थियो । राजतन्त्रको अन्त्यपछि त्यो क्रम रोकिएको छ । सर्वसाधारणमा जीवनको उत्तराद्र्धमा जन्मोत्सव मनाइने क्रमले भने बिस्तारै गति लिँदै छ । जंकु वा चौरासी पूजाका नामबाट जन्मोत्सव मनाइँदा वृद्धवृद्धामा अझै बाँच्ने आशा पलाउँछ, जीवनप्रति आशावादी बन्न प्रेरणा दिन्छ । व्यक्तिगत रूपमा जन्मदिनलाई एउटा उत्सव वा विशेष दिनका रूपमा मनाइनु निजी धारणा, रुचि वा स्वनिर्णयको कुरा हो । त्यसमा अरुले टिप्पणी वा आलोचना गर्नु उचित हुँदैन । विशेष खर्चालु शैलीमा मनाइँदा भने त्यसले आडम्बर मात्र देखाउँछ । सामाजिक आडम्बरले समाजमै नकारात्मक प्रभाव निम्त्याउँछ ।

उमेरको सिँढी चढ्दै अर्को खुड्किलोमा टेक्नु भनेको आयु घट्दै, छोटिँदै जानु हो । अरुले जतिसुकै शुभकामना वा आरोग्यताको कामना गरुन्, प्रत्येक पल आयु छोटिँदै जान्छ । मानिसले केही काम नगरे पनि, गरे पनि वर्ष दिन बित्छ । उमेरलाई वर्षमा र आयुलाई जीवनावधिमा गणना गरिन्छ । जन्मोत्सव जीवनकालमा व्यक्तिको सुस्वास्थ्य, शान्तिको शुभकामनाका लागि मनाइन्छ । जन्मजयन्ती जीवनोपरान्त व्यक्तिले सम्पन्न गरेका असल कर्मको पुनःस्मरणका लागि मनाइन्छ । 

अरुले जन्मोत्सव मनाएको धेरै वर्षदेखि देख्दै आएको हुँ, आफूले भने अहिलेसम्म आफ्नो जन्मोत्सव मनाएकै छैन । सरसंगतमा परेर होला, मैले पनि कसैकसैले जन्मोत्सव मनाएको भेउ पाएँ भने ‘ह्यापी बर्थ डे’ भनिदिने गरेको छु । मेरो आफ्नै ‘बर्थ डे’ को हेक्का मैलाई हुँदैन भने अरुलाई झन् हुने कुरै भएन ।

पश्चिमी समाज जन्मदिन अर्थात् जन्मोत्सव मनाउन बडो उत्सुक रहन्छ । बूढाबूढीलाई टाढा भएका आफन्तले पनि जन्मदिनको शुभकामना पढाउँछन् । घरमा पनि उनीहरू आफ्नो जन्मदिन मनाउन कहिल्यै बिर्सदैन । उनीहरू त अरुको जन्मदिन थाहा पाए भने पनि ‘शुभकामना’ दिँदा रहेछन् ।

 सन् २००० मा म तालिमका सिलसिलामा जर्मनी गएको थिएँ । त्यहाँ रहँदा आयोजकले बर्लिनबाट म्युनिखतिर घुमाउन लगे । फ्याङ्कर्पट, बोन, कोलोन हुँदै फर्कने कार्यक्रम थियो । कोलोनमा केही दिन बसेर बर्लिन फर्कने दिन गाडीमा चढेपछि डचेवेलका हस्र्ट, हाइडी लगायत स्टाफले ‘ह्यापी बर्थ डे धमला’ भन्दै शुभकामना दिएँ । मेरो जन्मदिन उनीहरूलाई मैले नेपालबाट पठाएका कागजातबाट थाहा भएको रहेछ । गाडीमै उनीहरूले उपहारसँगै शुभकामना दिए । कस्तो रमाइलो ! आफूले भने सम्झेकै थिइनँ । मनाउने ग¥या भए पो सम्झिनु !

मैले आफ्नो जन्मदिनमा उपहार पाएको त्यो नै पहिलो र हालसम्मको अन्तिम पनि हो भने हुन्छ । त्यो त आफूले अनुभव गरेको कुरो भयो । तर युरोप, अमेरिका सबैतिर जन्मदिन मनाउने, सम्झिने र त्यो दिन रमाइलो गर्ने चलन छ । हामीकहाँ विशेषगरी सहरबजारमा बच्चाबच्चीलाई खुसी पार्न उनीहरूको जन्मदिनमा पश्चिमी शैलीअनुसार केक काटेर, बत्ती निभाएर, ह्याप्पी बर्थ डे भन्दै नाटक पाराको बर्थ डे मनाइन्छ । हाम्रो आफ्नै संस्कृतिको दियो बालेर, पूजाआजा गरेर, केकको बदला, अर्थोकै मिष्ठान्न खाएर, ख्वाएर पनि जन्मदिन मनाउनुहुन्छ नि । हामी आफैँ जानाजान आफैँलाई र आफ्ना सन्ततिलाई पश्चिमी संस्कृतिको दास बनाइरहेछाँै । हाम्रो मानसिकतालाई आडम्बरमय अन्धोपनले छोप्दै गइरहेछ । संस्कृति नै हाम्रो परिचय हो तर त्यही भेटियो, नासियो, मक्कियो भने हाम्रो परिचय के होला !

आजभोलि कहिलेकाहीँ आफूलाई जन्मदिनको सम्झना भने हुन थालेको छ । जन्मदिन मनाउने सोचले होइन । उमेरप्रति अलि हेक्का (कन्सियस) हुन थालेको भएर होला । क्यालेन्डर (पात्रो) का तिथिमिति, पक्ष, गते, हप्ता, बार आदि हजाराैँ पटक फेरिइसके । वर्ष र ऋतुका चक्र घुमेका घुम्यै छन् । हजाराैँ दिनका सूर्योदयले झ्यालबाट चियाए र सूर्यास्त भए । तैँले के गरिस् त ? त्यत्रो हर्षबढाइँ गर्नैपर्ने काम के चाहिँ सम्पन्न गरिस् त ए ! जन्मोत्सव मनाएरै देखाउनुपर्ने खालको भनेर आफैँले प्रश्न गर्दा जवाफ दिनयोग्य अहिलेसम्म केही छैन । अनि केको जन्मदिन मनाउनु ? जन्मदिन आउँछ, जान्छ सधैँझँै । म उसरी नै नुन खाको कुखुरोझैँ आलस्यमय थच्चिएको थच्चियै छु । 

प्रत्येक वर्ष जन्मोत्सवका दिन नयाँ–नयाँ जीवनदायी कर्म गर्ने प्रण गर्न सकियोस् र ती कर्म सम्पन्न गरेर मन, बुद्धि, विचार, विवेक सबैलाई नयाँ क्षितिजमा पु¥याउन सकियोस् । अनि पो जन्मोत्सव साँच्चै जीवनोत्सवका रूपमा मनाउन मन लाग्छ र हर्षबढाइँ गरेर अविस्मरणीय बनाउन सकिन्छ । नत्र बर्सेनि उही ताल र उही चाल रहने हो भने उमेरको गणना गर्दै झोँक्राएर बस्यो, जन्मोत्सव मनाए पनि के भो, नमनाए पनि के भो ? 

जन्मदिन, जन्मोत्सव वा जीवनोत्सव, जसले जे नामबाट मनाए पनि त्यो जीवनमय होस् । सबैका जन्मदिनलाई शुभकामना।

प्रकाशित: २४ असार २०७४ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App