सञ्चिता लुइँटेल, अभिनेत्री
म जिम जान थालेको तीन वर्षजति भयो । गौशालास्थित इन्द्रेणी फिटनेस सेन्टर जान्छु । त्यहाँ म दुई घण्टा अभ्यास गर्दै बिताउँछु । जिम जान सकेसम्म छुटाउँदिनँ । यदि छुटिहालेमा घरको छतमै व्यायाम गर्छु । जहाँ मैले व्यायाम गर्ने ठाउँ र सामानको व्यवस्था गरेकी छु । जिमखानामा साइक्लिङ, रनिङ र हलुका खालका व्यायाम गर्छु ।
पहिले म मर्निङवाक जान्थेँ । अहिले त धुलोधुवाँले जानै मन लाग्दैन । त्यसैले हेल्थ क्लब जानेबित्तिकै आधी घण्टाजति ट्रेडमिलमा दौडिन्छु । ठूलो आवाजमा फास्ट ट्र्याक भएका म्युजिकको तालमा व्यायाम गर्न मज्जा लाग्छ । व्यायामबाहेक हप्तामा दुई दिन साउना बाथ लिने गर्छु । क्लबमा दबाबमा व्यायाम गर्दिनँ । रमाइलो मान्दै व्यायाम गर्छु ।
जिम जान थालेपछि मेरो शारीरिक बनावट बदलिएको छ । ८० केजीबाट घटेर अहिले मेरो तौल ५० केजी भएको छ । म वर्कआउटअनुसार खानेकुरामा पनि त्यति नै ध्यान दिन्छु । खान मन लागेको खानेकुरा खाइहाल्छु । बिहान एक लिटरजति पानी खान्छु । पाउरोटी, कर्नफ्लेक्स खान्छु । हरेक दिन एउटा स्याउ खान्छु । पहिला ब्ल्याक कफी खान्थेँ । अहिले अलि कम खान थालेकी छु । साँझ चार बजे हल्का खानेकुरामा फलफूल नै खाने गर्छु । त्यसपछि राति सात बजेसम्ममा रोटी, साग, सुप खाएर समयमै सुत्छु । अबेरसम्म बस्दिनँ ।
‘नछुटाई जिम आउँछिन् सञ्चिता’
विजय महर्जन, सञ्चिताका जिम इन्स्ट्रक्टर
सञ्चिता तनाव नलिई व्यायाम गर्छिन् । एकदमै ध्यान दिएर अभ्यास गर्छिन् । जिम गर्दा उनको अनुहार हँसिलो हुन्छ । उनी सकेसम्म नछुटाई जिम आउँछिन् । बिहान भ्याइएन भने साँझको समयमा आएर भए पनि उनले व्यायामलाई निरन्तरता दिने गरेकी छिन् । यहाँ आएपछि डेढ÷दुई घण्टाजति अभ्यास गर्छिन् ।
प्रकाशित: ६ असार २०७४ ०८:०७ मंगलबार





