–अनिल यादव
कुरा सन् २००५ तिरको हो । काठमाडौँस्थित सेन्ट जेभिएर्स कलेजमा स्नातक अध्ययरत तीन युवतीलाई कलेज बंक गरेको अवस्थामा भेटियो । किन बंक गरेको ? ‘दिदीको बिहे छ, त्यसैले,’ तीनमध्ये एक युवतीको जवाफ थियो । कलेजले उनको कुरा पुष्टि गर्न तत्काल घरमा फोन गर्यो ।यथार्थ त अर्कै रहेछ– घरकी जेठी छोरी नै उनी रहेछिन्, कहाँबाट हुनु दिदीको बिहे ? कलेजले अन्य दुईलाई केही गरेन । तर, ती युवतीविरुद्ध कठोर निर्णय ग¥यो । एक वर्षका लागि कलेजबाट निष्कासन गर्यो ।
कलेजबाट निकालिएकी ती युवती थिइन्– पुष्पा बस्नेत । जो सन् २०१२ मा ‘सीएनएन हिरो’ बनिन् र सन् २०१६ मा ‘सीएनएन सुपरहिरो’ । ‘त्यतिबेला मलाई बडो दुःख लाग्यो,’ कलेजबाट निकालिएको क्षण सम्झिँदै उनी भन्छिन्, ‘म त पढ्ने मुडमै थिइनँ तर बुबाले ‘त्यही कलेजबाट डिग्री हासिल गरेर देखाउनुपर्छ’ भनेपछि एक वर्ष कुरेर भए पनि त्यहीँ पढेँ र सोसियल वर्कमा डिग्री गरेँ । तैपनि मेरो मनमा एक किसिमको इख थियो, मलाई उहाँहरूको निर्णय गलत साबित गर्नुथ्यो, केही गरेर देखाउनुथ्यो ।’
जिन्दगी बदलिदिने त्यो ‘भिजिट’
कलेजबाट निकालिनुअघि फिल्ड वर्कका क्रममा पुष्पा काठमाडौँ, सुन्धारास्थित केन्द्रीय महिला कारागार पुगेकी थिइन् । जेल कस्तो हुन्छ ? हेर्ने उत्कट चाहना थियो उनलाई । त्यहाँ पुगेपछि उनले निर्दोष बालबच्चाको बिजोग देखिन् । फर्किने क्रममा उनको सल उनलाई कतै अल्झिएजस्तो लाग्यो । त्यो अल्झिएको थिएन– आठ महिनाको बच्चाले तानेको थियो । उनलाई हेरेर मुस्कुराइरहेको थियो । त्यही दृश्य घर पुगेर आमाबालाई सुनाइन् । आमाबुबाले ‘यो सामान्य कुरा हो’ भन्दै गम्भीर नहुन आग्रह गरे । ‘तर, मेरो जिद्दी स्वभाव, मनले के मान्थ्यो र ? मैले त्यो कुरा बिर्सनै सकिनँ,’ पुष्पा भन्छिन्, ‘कलेजले निकाल्नु मेरा लागि फाइदा भइदियो । त्यही बेला मैले कारागारका बालबच्चा हुर्काउने सपना बुन्न पाएँ । त्यही सपनाले आज मलाई यहाँसम्म पु¥यायो ।’
खासमा पुष्पाले कहिल्यै समाजसेवी हुँला भन्ने सोचेकी थिइनन् । ‘मलाई नपुग्दो केही थिएन,’ उनी भन्छिन्, ‘बुबाको हाइड्रोपावरसम्बन्धी इलेक्ट्रिकल सामग्रीको व्यवसाय छ, त्यही सम्हाल्छु भन्ने थियो । तर, त्यो एउटा फिल्ड भिजिटले मेरो जिन्दगीको उद्देश्य नै बदलिदियो । खासमा मान्छे आफूसँग जे छैन, त्यो पाउन खोज्दो रहेछ ।’
सन् २००५ मे ११ तारिख । यो मिति पुष्पालाई राम्रोसँग याद छ । यही दिन उनले नौजना सदस्यको नागरिकता लिएर संस्था दर्ता गरेकी थिइन्, प्रारम्भिक बालविकास केन्द्र अर्थात् अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर (ईसीडीसी) । २१ वर्षकी थिइन् उनी त्यतिवेला । कारागारका बच्चा हुर्काउँछु भन्दा धेरैले उनको मजाक उडाएका थिए । यतिसम्म कि संस्था दर्ता गर्न जाँदा उनको ‘क्याजुअल’ गेटअप देखेर ‘यस्तो त संस्थाको अध्यक्ष रे, कसरी काम गर्ली’ भनेर कर्मचारीले उडाएका थिए । ‘तर मैले हिम्मत हारिनँ, ‘तँ आँट म पु¥याउँछु’ भनेको हो रैछ,’ पुष्पा अहिले दंग छिन्, ‘मान्छेले हिम्मत ग¥यो भने जीवनको लक्ष्य प्राप्त गर्नबाट इन्द्रको बाउ चन्द्रले पनि रोक्न सक्दैन ।’
काठमाडौँको डिल्लीबजारमा जन्मिएकी पुष्पाले ‘डे केयर’ चारजना बालबच्चाबाट सुरु गरेकी थिइन् । त्यतिबेला उनी स–साना बालबच्चालाई बिहान ट्याक्सीमा कारागारबाट भाटभटेनी ल्याउँथिन्, दिनभरि स्याहारसुसार गर्थिन्, खेलाउँथिन्, पढाउँथिन् अनि बेलुकी जेलमै फर्काइदिन्थिन् । दुई वर्षपछि उनको त्यो ‘रुटिन’ विस्तारित भयो । कारागारका बालबालिकालाई शिक्षा, आवास र स्वास्थ्य सेवा दिने गरी उनले ‘बटलफ्लाई होम’ अर्थात् बालगृह नै खोलिन् । विभिन्न ठाउँबाट साथ र सहयोग मिल्न थालेपछि ६० हजार रुपैयाँ भाडा तिरेर बालगृह सञ्चालन गरिन् ।
कोही पनि निर्दोष बच्चा जेलभित्र हुर्केको देख्दा उनको मन दुख्छ । उनलाई लाग्छ– ‘ती बच्चाले केही गल्ती गरेका छैनन्, त्यसैले तिनीहरू जेलका पर्खालभित्र हुर्कनु न्यायसंगत हुँदै होइन ।’ जतिबेला उनी भाडामा बालगृह सञ्चालन गरिरहेकी थिइन्, उनको एउटै सपना थियो, आफ्ना सन्तानलाई घर बनाइदिने । अमेरिकी टेलिभिजन सीएनएनले उनलाई न्युयोर्कमा ५० हजार डलरसहित सीएनएन ‘सुपर हिरो अवार्ड’बाट पुरस्कृत गरेपछि उनको त्यो सपना पूरा भयो । उनले काठमाडौँको बुढानीलकण्ठमा बालगृह बनाएकी छिन् । जहाँ अहिले देशभरका महिला कारागारमा रहेका कैदीहरूका ४५ जना बालबालिका आश्रित छन् ।
मानवीय एवं सामाजिक सेवामार्फत असाधारण योगदान गर्ने व्यक्तिलाई ‘सीएनएन हिरो’का रूपमा पुरस्कृत गरिन्छ । सन् २००७ देखि सुरु भएको ‘सीएनएन हिरो’ को सम्मान बस्नेतले सन् २०१२ मा जितेकी थिइन् । ‘सीएनएन हिरो’ अभियानको दशौँ वर्ष गाँठका अवसरमा सीएनएन टीभीले ‘सीएनएन हिरो’मध्येबाटै सर्वोत्कृष्ट ठहराएर पुष्पालाई ‘सीएनएन सुपरहिरो’ घोषित गरेको हो । थुप्रै राष्ट्रिय एवं अन्तराष्ट्रिय सम्मान तथा अवार्ड जितेकी बस्नेतले सन् २०१२ मा दक्षिण कोरियाकै प्रतिष्ठित ‘द योङ आईएलजीए’ अवार्ड जितेकी थिइन् । प्रसिद्ध कोरियाली समाजसेवी की योङ कीको नाममा सन् १९८९ मा स्थापित सो अवार्ड जित्ने बस्नेत पहिलो विदेशी नागरिक हुन् ।
सबैकी मामु पुष्पा
पुष्पा ३३ वर्षकी भइन् । अविवाहित छिन् । तर, बिहे नगरीकन उनी ४५ जना बालबालिकाकी ‘मामु’ भने भइसकेकी छिन् । सबै उनलाई मामु भन्छन् । उनले बिहे गर्ने÷नगर्ने निधो गरिसकेकी छैनन् । घरमा आमाको कहिलेकाहीँ दबाब आउने भए पनि बुबाले यसको निर्णय पुष्पामाथि नै छोडेका छन् । ‘जुन काम म गरिरहेकी छु, त्यो मसँग मात्र नभई मेरा बच्चाहरूसँग पनि जोडिएको छ,’ पुष्पा भन्छिन् । खासमा बिहेपछि नयाँ जिम्मेवारी निर्वाह गर्दा आफ्नो यो काम र जिम्मेवारी ओझेलमा पर्ला कि भन्ने डर पुष्पामा छ । तर, आफ्नो कामलाई बुझ्ने मान्छे पाए ‘बिहे गर्छु’ भन्ने सोच पनि छ उनको ।
पुष्पाले बिहे नगरीकन आमा हुनुको अर्थबोध गरिसकिन् । स्कुलबाट नानीहरू घर आइपुग्ने बेलामा उनी पनि कामबाट फर्किसकेकी हुन्छिन् । भन्छिन्, ‘म सानोमा स्कुलबाट घर फर्कंदा मेरी आमा अफिसबाट घर आइपुग्नुहुथ्यो । त्यसैले म मेरा छोराछोरी आइपुग्नुअघि घरमा पुगिसक्छु । यसले उनीहरूलाई खुशी बनाउँछ, बेग्लै ऊर्जा दिन्छ ।’
पुष्पा मामुको भूमिकामा खरो उत्रिन्छिन् । बच्चाका एक–एक कुरामा ध्यान दिन्छिन् । ‘चिसोले कसैको गाला फुटेको छ कि’, ‘बच्चाहरूले लगाउने भित्री लुगा बदलेका छन् कि छैनन्’, ‘उनीहरूले खाए कि खाएनन्’ सबै कुरामा उनको ध्यान जान्छ । आवश्यक परे खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मको काम पनि उनी नहिचकिचाई गर्छिन् । भन्छिन्, ‘हामी परिवार भएर बसेका छौँ । परिवारभित्र जे हुन्छ, हाम्रो घरमा पनि त्यही हुन्छ ।’
लागुऔषधको मुद्दामा जेल चलान भएकी कुममाया तामाङले सात वर्ष कारागारमा जीवन बिताइन् । अरू कुनै विकल्प नभएपछि उनले आफ्ना दुई छोरीलाई जेल लगेकी थिइन् । उनले त्यहाँ पुष्पाबारे सुनेपछि आफ्ना दुई सन्तान उनलाई सुम्पिन तयार भइन् । ‘सायद पुष्पा नभएको भए मेरी छोरीहरू शिक्षावाट वञ्चित हुन्थे, उनीहरूले सडकमा जीवन बिताउनुपर्ने हुनसक्थ्यो,’ पुष्पाले अवार्ड पाएपछि सीएनएनसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘मलाई विश्वास छ– मेरा छोरीहरूलाई पुष्पाले मैलेजस्तै गरी हुकाईन् । ’ त्यतिबेला उनकी छोरी लक्ष्मीले पनि ‘पुष्पा मामु नभएको भए मेरो जीवन अन्धकार हुन्थ्यो’ भनेकी थिइन् ।
पुष्पाको बालगृहमा बालबालिकालाई तेक्वान्दो, चरिया डान्स, योगा क्लास, म्युजिक सबै सिकाइन्छ । फरक पृष्ठभूमि, फरक स्थान, फरक स्वभावका बालबालिकालाई पुष्पा हुर्काइरहेकी छिन् । उनलाई साथ दिने थुप्रै सहयोगी छन् उनीसँग । बालबालिकाको पढाइ, स्वास्थ्य सेवा लगायतमा सहयोग गर्ने दाताहरू छन् । गृहमा रहेका बच्चाहरूलाई पढाईतर्फ प्रेरित गर्न उनले रकमको व्यवस्थासमेत गरेकी छिन् । कक्षा–१२ पास गरेकोलाई एक लाख, ब्याचलर्स पास गरेपछि दुई लाख र मास्टर्स पास गरेपछि दुई लाख रुपैयाँ ती बालबालिकाका खातामा जम्मा हुने गरेको उनले बताइन् । ‘मास्टर्स गरिसक्दा उनीहरूको खातामा पाँच लाख जम्मा भइसक्छ, यो कार्यक्रम उनीहरूलाई शिक्षातर्फ मोटिभेसन गर्नलाई पनि हो,’ उनी भन्छिन् ।
पुष्पाले आश्रय दिन सम्भव नभएका देशभरिका महिला कारागारमा रहेका बालबालिकाको हितमा पनि काम थालेकी छिन् । ‘एक महिना भयो, हामीले पौष्टिक आहार र पुतली बाकस कार्यक्रम सुरु गरेका छौँ,’ उनी भन्छिन्, ‘देशभरिका महिला कारागारमा प्रत्येक बालबालिकालाई छ किलो पौष्टिक आहार महिनैपिच्छे पठाउने भएका छौँ । र, एउटा पुतली बाकस पठाउनेछौँ, जहाँ प्रारम्भिक बाल शिक्षाका सामग्री हुनेछन् । यो कार्यक्रम एक वर्षसम्म चलाउने उद्देश्य छ ।’ कारागारका बालबालिकाका लागि मात्र काम गर्ने हो ? यो प्रश्नमा पुष्पाको निर्धक्क जवाफ छ, ‘म आज जुन ठाउँमा छु, यिनै बालबालिकाका कारण छु । मेरो अनुभव यसमै छ । मेरा छोराछोरी यिनै हुन् । त्यसैले मेरो जिन्दगी यस्तै बालबालिकाको सेवामै बितोस् । यही मेरो चाहना हो ।’
पुष्पाको दुःखमनाउ
गैरसरकारी संस्थालाई हेर्ने समाजको खराब दृष्टिकोणप्रति पुष्पाको दुःखमनाउ छ । ‘मेरो सबैभन्दा ठूलो चित्तदुखाइ यहीँनेर छ,’ उनी भन्छिन्, ‘धेरैले ‘डलर खेती’ अर्थात् पैसा कमाउने भाँडाका रूपमा लिन्छन् यस्ता संस्थालाई । बालबालिकाका अभिभावकले पनि यसरी हेर्ने गर्छन् । तर, पैसा अपुग भएको भए म खानदानी व्यवसाय गर्थें, समाज सेवा किन गर्थें र ?’
(नागरिक परिवारबाट साभार)
प्रकाशित: ३० जेष्ठ २०७४ ०६:२८ मंगलबार





