७ वैशाख २०८१ शुक्रबार
अन्य

सन्न्यास

मित्र, पहिले त म यसलाई अलि लामो आकार दिन भूमिकाजस्तो केही लेख्न चाहिरहेछु। लामा कथा मैले लेखेको छु, कुराकन्था जोरजाम गर्दै। एउटा लोभ पनि यो कि लामा कथा लेख्नेमध्ये नाम आओस्। नाम त हुनेछ, दुर्नामै भए पनि। भूमिकामा तपाईंलाई सम्बोधन गरेपछि राम्राभन्दा हाम्रा मान्छे नियुक्त गर्ने राजनीतिक कुरीतिको अनुशरणमा हुन्छु म। यसरी मेरो यो कथा छापिदिन विनम्र याचनापूर्ण अनुनयविनय जस्तो पनि हुन जान्छ। यो कथा छापिन लायक लागेमा मात्र छाप्नुहोला। म यस्तो भन्दिनँ तर यो कथा अहिले प्रचलित परम्पराभन्दा भिन्न छ। यो दाबी नै हो मेरो। यस्तो दाबीको आसय प्रथम द्रष्टया यो कसैलाई आक्षेप लगाउन लेखेको जस्तो देखिन सक्छ, तर लेखिएको छ र यो परम्परागत कथाभन्दा बेगल छ। खासै यस्तो भनिरहनुपर्ने त थिएन, किनभने यसमा जुनजुन व्यक्तिबारे मैले कुरा उठाएको छु, तिनलाई मित्रले चिनेकासित टेली गरिरहनु मनासिब छैन। यत्ति हो, मबाहेक अरू को हुन् भनेर खोजिपस्नु व्यर्थ भए पनि त्यस्ता व्यक्ति कथाकार समाजमा हुन पनि सक्छन्, नहुन पनि सक्छन्। पात्र होलान्/नहोलान् तर चरित्र अवश्य छन्।

मलाई कथा नलेख भन्नु ठूलै राष्ट्रिय अपमान थिएन, सिमानाभित्र छिरेर एसएसबीले गोली ठोकेर नागरिक मारिरहेको थियो र नेताहरू आँखा निहुराएर आफूले माफी माग्ने मुद्रामा पारिकालाई माफी माग्नुपर्छ भनेर सानो स्वरमा भनभनाइरहेका थिए। त्यस्तो चोट त सहियो भने अब यो मुलाले कथै लेख्न छाडिदे भन्दा कत्रो वेदना हुने थियो र? झेलिएकै छ।

यो एउटा पछि कोट गर्न सकिने स्थापना पनि हो। कथामा चरित्र नहुन सक्दैन र पात्र त हुन्छन् नै। कथाको पात्रको अनुहार ठ्याक्कै यस व्यक्तिसित मिल्छ भन्न सकिहालिएला, तर वास्तवमा त्यो एउटा संजोग मात्र हो तर चरित्र मिल्नु संजोग होइन, त्यस्ता चरित्र लेखक समाजमा छन् भन्ने सिद्ध हुन्छ। मित्र, तर मलाई बलजफ्ती केही सिद्ध गर्नु छैन, चीन वा भारत भ्रमण सफल रह्यो भनेझैँ। हामीले भ्रमण सफल भयो भने पनि गर्ने उनीहरूले आफ्नै मनको हो। यस मामिलामा म आफ्नो मुलुकझैँ किनारीकृत छु। अरूले सफलता प्रमाणित नगरिदिए पनि आफैँ सफल छु भनेर एयरपोर्टमा उत्रने बित्तिकै दाबी गरिहाल्ने।

मलाई किनारीकृत हुने रहर त छैन तर छेउछेउबाट हिँड्ने व्यक्ति परेँ। त्यस उसले होला मलाई यो कथाको केन्द्रीय पात्रले प्रताडीत गरेको। म किनारकिनार लागेर तर्कंदै हिँडे पनि त्यो केन्द्रीय पात्र ममाथि खनिन आक्रमण गर्न किनारकिनारतिरै आइदियो। यो पात्र मभन्दा निकै माथिल्लो स्तरको हुँ भन्ने अहं भएको थियो। सरदरमा ऊ मभन्दा बलियै लाग्थ्यो। मलाई यो चित्त बुझिरहेको थिएन, साहित्यकार भएर पनि उसमा यस्तो मापसे उद्दण्डता कसरी आयो? पहिलो भेटमा मलाई उसले भन्यो, 'तपाईंले पुरस्कार पाउन सक्नुभएको छैन।' उसको भनाइमा मानौँ पुरस्कार नपाउनेले लेख्ने अधिकार राख्दनै भन्ने व्यंग्य भाव थियो। म खिसिक्क हाँसेँ, नपाए पनि के भो र भन्ने विनयसूचक भाव अनुहारभरि पोतेर। उसले सायद एउटा पुरस्कार थापिसकेको थियो, आफ्नो कथा गुरुको कृपाले। फेरि भन्यो, 'तपाईंका कथाहरू खै...।' मैले सोचेँ 'खै' को सवाल के? किन? हो। कथा छापिएका छन्। पढ्नेले पढ्छन्, मन नपर्नेले नपढेका पनि होलान्। त मैले कथा छपाएँ भन्दैमा यसलाई केको खुजुली? तर म पुनः फिस्स नै हाँसिरहेँ– के गर्नु, छाप्नेले छापिदिएपछि भन्ने भावमा।  

किन हो, उसले मेरा कथा मन पराएन। उसले पढ्दो पनि हो, कथाहरू। मैले थाहा पाएअनुसार उसको एक कथागुरु छ। त्यो गुरुबाहेक अरूले लेखेको कथा ऊ मन पराउँदैन। यस्तो किंवदन्ती थियो वा छ। मित्र, देखिहाल्नुभएको छ, मान्छे तस्करी गर्ने म्यान पावरकाहरू पैसा पेलेर मुलुकको इज्जत धान्ने राजदूत हुँदै छन्। राजनीतिमा मात्र यस्तो हुँदो रहेनछ। ऊ पनि चाकरी पेलेर कथागुरुको प्रिय पात्र भएको छ। जस्तै भनुँ न अहिले चुनावको माहोल छ र नेताहरू जिल्लामा पुगेपछि सयपत्रीका खातका खात माला घाँटीमा भिराइन्छन्। यो एउटा मानक पनि हो, जुन नेताले बढी माला भिरेको हुन्छ, उसको पार्टीले स्थानीय चुनावमा धेरै ठाउँ जित्ने प्रबल सम्भावना हुन्छ। यो मलाई मन नपराउने व्यक्ति पनि कथागुरुको अन्धभक्त भएर नेताको घाँटी खोज्दै माला छिराउन खोज्ने कार्यकर्ताजस्तै बनेको छ। यो चरित्रको पात्र अहिले पनि जीवित छ, त्यसैले मैले 'छ' भनिरहेछु। अनि मित्र, यस्तो जिज्ञासा पनि लाग्न सक्ला, यत्तिका धेरै अरूबारे गनगन गुनासो गर्नेको आफ्नोबारे के भनाइ छ त? के हुनु! लेख्ने नै म हुँ भनेपछि आफू सेफ साइडमा बसेर थोरबहुत पक्षपात लेख्ने प्रयास गरेको प्रत्यक्ष नै होइहाल्छ। लुकाउनुपर्ने के छ र, अनि लुकाएर साध्य पनि छैन। अचेल उसरी पारदर्शीको जमाना छ। तर एउटा यथार्थ यो छ, म यहाँ कथामा हीन पात्र भा'छु, स्वस्फूर्त। अब कथाको मुख्य पात्रले भनिरहेछ मित्र, मेरा कथामा स्तर छैन त मैले लेख्न छाडिदिँदा हुन्छ? मलाई त्रास पनि लाग्यो, यी सीमा पारिका त्यस्ता एसएसबी शक्ति हुन्, जसले हामीलाई आफ्नै मुलुकको भूमिमा निर्माण कार्य गर्न दिँदैनन्। मेरो कथा लेखनको उसले अवमूल्य गरिरहेछ तैपनि म हेँहेँ गर्दै हाँसिरहेछु। भित्र कतै डर छ, यसले मुड्क्याउन पनि सक्छ, यद्यपि त्रिविको मास्टर डिग्री धारक हो ऊ। मैले मनमनै सोचेँ– त्रिविको रेकर्ड पनि त राम्रो छैन। 

भेट हुनेबित्तिकै उसले मेरा कथा निर्ममतापूर्वक रिजेक्ट गर्ने कठोर भनाइ ठाडै भनेको होइन। बाघको सिकारमा निस्कँदा राणा वा शाहकालमा हात्तीले घेरेर मार्ने गरिएझैँ उसले कतै गोष्ठीमा, कतै पत्रपत्रिकाको कार्यालयमा र कतै सडक पेटीमा अप्रत्याशित भेट हुँदा स्टेप बाई स्टेप घेर्दै भन्दै ल्यायो। त्यस्तो समय उसको अनुहार एक किसिमको भुटेको तोरीको तेल घसेझैँ चिल्लो देखिन्थ्यो। ऊ  स्पष्टतः यस मान्यतामा दृढ थियो अर्थात् आफूले बनाएको मिथभित्र कैद थियो। त्यो मिथ यो कि उसको कथागुरुभन्दा अर्को कथा लेख्ने श्रेष्ठ पुरुष यस विधामा छैन। त्यस्तो मिथलाई एउटा अभेद्य व्यूह हो भन्न म रुचाउँछु। उसको मिथलाई मैले तोड्नु थिएन। ऊसित भिडिरहनुपर्ने झमेला बेसाउनु थिएन। मित्र, तपाईंलाई थाहा छ, नभए यो थाहा होस्, म एक छेउकिनार पक्डेर लुरुलुरु आफैँमा रमाइहिँड्ने आत्ममग्न व्यक्ति हुँ। त्यस्तो कथागुरुत्वको दाबी मलाई गर्नु छैन तर ऊ थियो खोजीखोजी मेरो कथालेखनलाई ठुङेर क्षतविक्षत पार्न चाहन्थ्यो, पारिरहेकै थियो। घाउ यद्यपि बाहिर देखिएका थिएनन् तर म भित्री घातले मरणासन्न थिएँ। एउटा मिथ मसँग पनि थियो, जटायुको मिथ, रावणले तरबार हिर्काएर क्षतविक्षत पारेको जटायुको विम्बीय मिथ। मलाई गर्व पनि लाग्यो कि वाह भाइ, म जटायु भएछु! कसो मलाई हाई ब्लड थिएन नत्र म उसका छेडपेच र अपमानले उसकै अगाडि पछारिन सक्थेँ। एम्बुलेन्स बोलाउनुपर्ने हुन्थ्यो। यद्यपि एम्बुलेन्समा लोड गरेर मलाई गंगालाल हृदय केन्द्रतिर पठाउने सहानुभूति कसैमा नहोला। तर मेरो मृत्यु साहित्य वृत्तमा देखापर्न थालेको संवेदनशीलताको ज्वलन्त उदाहरण हुने थियो। धन्न, त्यसो हुन सकेन। म काठामाडौंमै बसेर धुँवा, धुलो, जलवायु ध्वनि प्रदूषण सहेको, ठग ठेकेदार र लाचार सरकार व्यहोरेको एक निरीह र चाम्रे नागरिक थिएँ। म अपराजित छु भन्ने भ्रममा बाँच्न सक्थेँ तर मित्र, उसको त्रासले म सकेसम्म उसको अगाडि पर्नबाट तर्किन थालेँ, जोगिन थालेँ। बिस्तारै ममा ऊप्रति घनीभूत वितृष्णा जाग्दै आयो। घृणा पनि। ऊ सधैँ मप्रति नेगेटिभ एप्रोच राख्छ भने म मात्र ऊप्रति पजिटिभ हुने भगीरथ प्रयास किन गर्ने? मेरो आत्मसम्मानको कुरो पनि छ। तर ऊ थियो मलाई देखेपिच्छे पर्खालझैँ अगाडि उभिन आउँथ्यो र मलाई बाउन्ने पारिरहन्थ्यो।     

उसले गर्दा कसै गरे पनि केही भइरहेको छैन, मित्र लेख्नै सकिएको छैन। उसले मेरो कलम समातिदिएको छ, कम्प्युटर ह्याङ गरिदिएको छ। तपाईंले एउटा कथा माग्नुभएको थियो, त्यो सम्भव होला जस्तो छैन। नमागेको भए पनि अहिलेलाई यहाँ लेख्न दिनोस् न त। पछिको कुरा पछि। अब त्यस्तो उत्साह पनि छैन, कथा लेखिहालुँ भन्ने। कारण के पर्‍यो भने हिजो त्यो मान्छे भेट भएको थियो, फेरि। त्यसले यो भन्छ, 'तपाईं कथा लेख्न जान्नुहुन्न।' मित्र, तपाईंले पनि देख्नुभयो भने रिसाउनुहुन्छ। पक्का हो। रिसाउन त मलाई देखेर पनि रिसाउन सक्नुहुन्छ, उसमा र ममा फरक छैन भनेर। म त्यस्तो छुच्चो छैन। साला, क्षमा चाहन्छु, गाली प्रयोग गरेकामा तर यो त उसको व्यक्तित्वको तुलनामा एउटा भुसुनो गाली हो। उसलाई रिसले डल्लै गाली गर्नुपर्‍यो भने योभन्दा अझ ब्लन्डर गालीको प्रयोग गर्न सकिन्छ। उचित पनि त्यही हुन्छ। तर म गाली गर्दिनँ। अब गाली गरिहिँड्ने अवस्था पनि छैन।

एउटा उनीहरूको अड्डा छ, चिया पिउने, त्यहाँ उसका डफ्फा साथी छन् र त्यसअगािडबाट बाटो काटियो भने र ऊ छ भने बाटो काटिसकेपछि पिठ्युँमा गलल हाँसिदिन्छन्। फर्केर हेर्नु पनि भएन, अगाडि बढ्दा खुट्टा लर्बरिन खोज्छन्। अड् भइन्छ। उसले मैलाई लक्ष्य गरेर केही खिसी गरेको हुनुपर्छ नत्र त्यसरी हातहातमा चियाका कप समातेका उनीहरू गलल हाँस्नुपर्ने थिएन, मैले बाटो काट्दा। उनीहरूलाई थाहा छ, म एक गम्भीर व्यक्ति हुँ, फेस भ्यालुमा भन्नोस् न। मित्र, तपाईंलाई त थाहै छ, म ठट्टिने गर्छु। तर त्यो मान्छेको अनुहार देखेपछि मलाई एकतमासले त्रासद उदासीनताले छोप्छ। कारण के होला? यो त मैले पनि बु‰न सकेको छैन। बाहिरबाहिर म उसै पनि गम्भीर भएर हिँड्छु, मान्छेहरू यो देखून्, म मुलुक र राजनीतिको दुरवस्थाबाट अत्यन्त गम्भीर रूपमा चिन्तित छु, पीडित छु। म राजनीतिमा लागेको त छैन तर राजनीतिका नेताको ढोका चहार्ने गर्छु। मनमा एउटा लोभ रहेको हुन्छ, कतै तिनले मेरो उद्धार गर्ने हुन् कि? मान्छे त उनीहरूलाई पनि चाहिएकै हुन्छ। एक–दुईपटक उनीहरूले मलाई भित्र बोलाएर रातो चिया पनि खुवाएका हुन् र आश्वासन पनि दिएका हुन्– केही गरौँला भनेर। एकपटक त गरेका पनि हुन् तर एकपटकले जिन्दगी तृप्त हुन्छ र?

यसो भन्नुको मतलब यो हो, ऊ पनि नेताहरूको ढोकामा भेटिएको थियो। उसले मलाई देखेन र मैले पनि उसलाई देखिनँ, यस्तो व्यवहार गरियो। अर्कोपटक उसले सडकमा मलार्ई भेटेपछि मण्डले तालमा भन्यो, 'तपाईं लेख्न छाड्नोस्।' उसले मलाई धेरै गलाइसकेको छु भन्ठानेछ, त्यसैले त्यसो भन्यो होला। स्योर छैन म, अनुमान हो, नहुन पनि सक्छ। निरुपाय मैले भनेँ, 'हुन्छ।' छायायुद्ध गर्नु थिएन। उसै पनि मलाई कसैले लेख्नोस् भनेर लेखेको थिइनँ, त्यसैले उसले लेख्न छाड्नोस् भनेपछि आपत्ति भएन। लेखुँला/नलेखुँला त्यो पछिको कुरा तर उसले सडकमै बाटो छेकेर मलाई नलेख्नोस् भन्नुको अपमानले मलाई छोएन। मै मात्र लेख्ने त छैन साहित्यमा। अरू थुप्रै पनि छन् लेख्नेहरू। उसले तिनलाई यसरी सडकमै बाटो छेकेर त भनेन होला, नलेख्नास् भनेर। भनेको छ भने पनि त्यो ज्ञात भएन। मैलाई मात्र छानेर नलेख्नोस् भन्नुको कारण जेहोस्, त्यसको पछाडि म लागिनँ। मानिसहरू कस्तो बडी ल्याङ्ग्वेज भएकालाई हेप्छन्, त्यो म अलि बु‰छु। माइक्रोमा हिँड्दा मेरा लागि ज्येष्ठ नागरिकको सिट छाडिदिनोस् भन्दा बसेको ठिटो सुनेको नसुन्यै गर्छ। मेरो बडीबाट लुञ्जपुञ्ज किरण निस्किरहेको भान हुन्छ। बडी ल्याङ्ग्वेज भनेको। सिट नछाडेपछि म पनि उदारतापूर्वक मौन बसिदिन्छु। उसले मलाई अपमान गर्नुको खास कारण के हो, त्यो थाहा थिएन तर मलाई लाग्यो समाजमा एउटा प्रवृत्ति छ, अरूलाई हेपेर आफू ठूलो हुने। सिट नछाड्ने। उसले तैपनि मलाई त्यो उनीहरूको चिया अड्डामा बोलाएर सबैका सामु नलेख्नोस् भनेर भन्दो हो त त्यो झन् प्रभावकारी हुने थियो। जस्तै पारिको पिएमले सबैलाई मिलाएर संविधान जारी गर्नोस् भनेको अटेर गर्दा विभाजनको सँघारमा पुर्‍याइयो। टेरेको भए उसले सधैँ उसको सल्लाह अनुसार काम गर्ने पपेट बनाउँदो हो।

त्यो चिया अड्डाका समूहमा यस्ता पनि थिए, जसले मलाई खिसि्रक्क पारेको देखेर भन्न सक्थे, 'वाह गुरु, क्या दनक दिनुभो।' त्यसपछि खित्खित् गरेर हाँस्ने थिए। त्यहाँ प्रायः लेखककवि जम्मा हुन्छन्। त्यसमध्ये खित्खित् गरेर हाँस्ने एकजनालाई म राम्रै चिन्दछु। म त्यहाँ जाँदिनथेँ, धक र लाज लाग्थ्यो। मलाई लाग्थ्यो त्यहाँ सबै मभन्दा धेरै सफल र ठूला लेखक जम्मा हुन्छन्। तर बाध्यता यो थियो, धेरैजसो मैले त्यो बाटो हिँड्नैपर्थ्यो। मनमा लाग्थ्यो, म पनि त्यहाँ उभिएर केही गफ दिउँ्क र गफ सुनुँ। तर प्रायः ऊ नै त्यहाँ उभिएको हुन्थ्यो र ओँठ फट्ट्याएर मतिर व्यंग्यले चम्केका आँखाले हेरिरहेको हुन्थ्यो।

त्यस दिन, सडकमा उभिँदाउभिँदै एकाएक मलाई उसको आकृतिदेखि वितृष्णा लागेर आयो। पहिले पनि लाग्ने गरेकै थियो, त्यस दिन झनै गहन गरी लाग्यो। आफ्नो अपांग छोरो हेर्दै विवश र रोइरहेकी आमाझैँ भएँ म। कसो उसले त्यो देखन। मैले आँखा झुकाइहालेँ। नत्र ऊ मतिर मुख फट्ट्याएर हाँसिरहेको र उसका आँखामा मलाई गरिएको चर्को व्यंग्यभाव देख्न पाउँथेँ। सडकमै उभिँदा उसको जिउबाट एक किसिमको अनपेक्षित र अप्रिय ठालु गन्ध मैले सुँघे। हावा बोझिल भयो, यद्यपि सडक खुला थियो। भनुँ न सहिद पार्कनिरको कुरो थियो यो। त्यहाँ भएको एउटा सहिदलाई मानिसले हटाउन खोजेका पनि हुन् तर। त्यसो भएन। अहिले जस्तै, जसरी म उसलाई हटाउन खोजिरहेछु तर असफल भइरहेछु। 'त?' उसले मलाई नलेख्नोस् भनेपछि विशेष गरेर कथा नलेख्नोस् यो तपाईंको बुताको कुरो होइन भनेर पछि गरेको 'त' थियो त्यो। यसपछि मलाई झन् उसको जिउबाट सरकारी चना खुवाएर पालेको उन्मत्त घोडाको जस्तो गन्ध आयो। यो नमिल्दो उदाहरण हुन सक्छ, सरकारी घोडाको चना पूरै घोडाले खान पाउँदैन, त्यो उसको हेरचाह गर्ने कर्मचारी र उसलाई चढ्ने हाकिमले बाँडेर खाँदा हुन्। चना नखाए पनि चना किन्ने बजेटको रकम बिल भरपाई मिलाएर खाँदा हुन्। त्यसैले मलाई त लाग्यो, घोडो उन्मत्त हुन सक्दैन। बरु लुरेलुरे हुँदो हो। अचेल घोडा चढ्ने हाकिम पनि शून्यप्रायः छन् तर मोटरगाडी चढ्ने हाकिमलाई घोडाको चनाको रकम खाने ठाउँमा राखेर हेर्दा पनि हुन्छ।

जेहोस्, एउटा कुरा यो तय भयो, मैले नलेख्ने। कसो उसले लेख्दिनँ भन्ने करार गरेको कागज मलाई दिनोस् भनेन। भन्दो हो त म त्यो पनि गरिदिने थिएँ। उसबाट छुटकारा पाउनु थियो, पछि त्यो कागज अदालतमा प्रमाण मानिने थिएन। अथवा सर्वोच्चले यस्तो फैसला पनि दिन सक्थ्यो, कसैको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइन्न। उल्लेख्य कुरो यो पनि थियो, उसले चुरोट पिउँदैनथ्यो, मतलब एक–दुई यस्ता पनि छन् समाजमा जसले चुरोट तान्दै बडो कलात्मक रूपमा अरूको ‰याँको झार्छन्। लेखककवि समाजमा पनि छन्, त्यही रूपका तर म उनीहरूको सम्मान गर्छु। मनमनै वितृष्णा लागे पनि। मानौँ चुरोट खाएपछि भयंकर ठूलो कविलेखक भइन्छ। मलाई लाग्यो, चुरोटलाई बढी सम्मान दिनुपर्ने हुन्छ। तर प्रसंग यहाँ यो थियो, ऊसित चुरोट होइन, अर्को एक साथी थियो। उसले मलाई अझ आक्रामक भएर हेरिरहेको थियो। मलाई लाग्यो, उसले उसलाई कतै भट्टीमा लगेर खोयाबिर्के र ठूलो खसीको छोइला खुवाउने वाचा गरेको छ। मित्र, यस्तो शिष्य पाइन्छ। भित्रभित्रै कता हो कता गल्लीभित्रको पुरातन घरमा बस्दै बढ्दै हुर्कंदै आएका साथीबीच एउटा अभिन्नता हुन्छ। त्यस्तामध्ये एक–दुई यस्तो भ्रममा परेका हुन्छन्, यो मेरो सन्निकटको प्रतिभाका लागि बडीगार्ड अनिवार्य छ। उसले पनि उसलाई त्यसरी लिएको हुनुपर्छ र मान्यो होला, 'हिँड् यार, जाउँ्क आज डुल्न। कतै कोही फेला परिहाल्ला। तह लाउनुपर्‍यो भने मै मात्रैले कसरी सकुँला।' भन्दा घरैदेखि साथ लाएर आएको हुन सक्थ्यो।

मलाई उसै पनि वितृष्णा लागिरहेको थियो। बिहान यसो पत्रिका हेर्न निस्कुँ भनेको यसरी अत्तो न पत्तोसित फेला परिएला भन्ने पत्तै थिएन। नियतिले पनि कस्तोकस्तो खेल खेल्दो रहेछ। मैले सोचेँ, सस्तैमा छुट्ने भइयो, कागज त गराएन गराएन तर उसले यसो पनि भनेन, 'राष्ट्रिय अखबारको पाठक प्रतिक्रिया स्तम्भमा म अबदेखि कथा लेख्दै लेख्दिनँ भनेर चिठी लेख्नोस्। कि भन्नुहुन्छ भने म नै तपाईंको नामले चिठी छापिदिउँ्क कि?' मलाई लागिरहेको थियो, ऊ कुनै अखबारमा काम गर्छ। अखबारमा बरोबर लेख्थ्यो पनि। आफ्नो हात जगन्नाथ। जति छापे पनि भो। हुन त यो मेरो स्थापना विवादास्पद पनि हुन सक्थ्यो। कतिपय ठाउँमा बसेका यस्ताहरूले आफ्नो गुटबाहेक अरूको नछाप्ने प्रण पनि गरेका हुन्छन् रे। छापेमा सन्न्यास लिने उद्घोष गर्दै। एकजनाले एकपटक मलाई कथालाई ठाउँ नदिने निर्णय गर्दै भनेको थियो कि यो एक करोड हाराहारी सर्कुलेसन भएको पेपर हो, यसमा छापिनु भनेको करोड पाठक पाउनु हो। उसले भनेको मैले मानेँ। अखबारको ग्राहक बन्दा अचेल चिट्ठा पर्छ कि भनेर रसिद काट्ने धेरै छन्। ५० लाख, एक करोड नगद वा एक किलो सुन– स्वर्ण। मानौँ स्वर्ण भन्ने अर्कै उन्नत जातको सुन हो। त? करोडले पढ्छन् भन्ने पनि त छैन। चनाभुजाको सोलीमा परिणत भएको पनि त हुन सक्छ कथा छापिएको पन्ना। उसले कथा फिर्ता पनि दिएन न छाप्यो नै। मैले त आश मारिसकेकै थिएँ मानौँ डाक्टरहरूले भनिसकेका थिए, अब घरै लगेर अन्तिम समयको प्रतीक्षा गर्नोस्।  

तर एउटा कुरो सुनिश्चित थियो, अघि माथि भनिएझैँ मैले कथा लेख्दिनँ भनेर मात्र हुँदैनथ्यो, सम्पादकका नाममा त्यस्तो व्यहोराको चिठी लेखेमा त्यो रद्दीमा फालिन सक्थ्यो अथवा मेल गरेर पठाएमा रिसाइकल बिनमा कहिल्यै रिस्टोर नहुने गरी डिलिट गरिन सक्थ्यो। तर चिठी छापिन एउटा स्योर सट विकल्प थियो– थप यस्तो पनि लेख्नुपर्थ्यो कि अबदेखि मसँग कथाको याचना नगरियोस्। निकै ठूलो कथा लेखक लेख्दालेख्दा थाकेछ वा कथा माग्नेहरू उसको घरको ढोकामा कोरिया जाने फारम भर्नझैँ लाम लागेर हैरान गर्न थाले, कथा नपाएर हैरान हुन थाले, प्रदर्शनमा ओर्लने पनि हुन् कि? प्रहरी मूकदर्शक भएर हेरिरहन सक्थ्यो, कथा याचकहरूले उसको घर तोडफोड गरेमा। अथवा कथाको याचना नगरियोस् नभनेर कथा माग्ने कष्ट नगरियोस् अथवा कथा माग्दै नमाग्नुहोला भनेर लेखिदिएमा त्यो फ्याट्टै छापिने सम्भावना थियो। नत्र म अब कथा लेख्दिनँ। कथाबाट सन्न्यास लिएँ भनेको चिठी दिए ऊ छँदै थियो अखबारमा, छपाइछाड्थ्यो। अहिले पनि ऊ थियो अगाडि नै, सडकमै उभिएर लेख्न छाड्नोस् भनिरहेको र थपमा झम्टुँला जस्तो गरी आँखा पर्लक्क पारेर हेरिरहेको मसलम्यान पनि। उसलाई मैले बाटो छेकेजस्तो भइरहेको थियो, कति बेला भट्टीभित्र पसेर मांसाहार र मद्यरस दन्काउँला भन्ने थियो। बिनाकाम म बाधा भइरहेको थिएँ। यसैलाई भन्दा हुन्, नखाएको बिख पनि लाग्छ। वास्तवमा ऊ आज टुन्न होउन्जेल धोक्ने सुरमा थियो। निःसन्तान राजालाई सिद्ध जोगीले छोरो पाउने स्याउ दिएजस्तो आज मान्छे फेला परिरहेका छ र म कबाबको हाड भइरहेछु।

तर विचारणीय यो थियो मित्र, उसले मलाई किन कथा नलेख्नोस् भन्यो। विचारणीय नभनुँ सोच्नुपर्ने भन्नु उचित थियो। विचारणीय राष्ट्रिय मसलाहरूका लागि उपयुक्त शब्द हो। जे भए पनि कथाको विषय अनिकाल परिरहेको समयमा उसले मलाई यसपल्ट त बाटो छेकेरै भन्यो मित्र, कथा लेख्दै नलेख्नोस्। दुस्साहसी होइन? स्मरण रहोस्, उसको साथमा अर्को दुस्साहसी मसलम्यान पनि छ, जसको अदृश्य साङ्लो उसैले थामेको छ। अलिकति इसारा पाउनु मात्र अबेर छ, उसले दुई–चार सलिड मुड्की मेरो चिउँडोमा बजार्ने दाउ छोपिहाल्ने मुड देखाइरहेको छ। कुरो मजाक जस्तो लाग्न सक्छ। मैले अपमान झेलिरहेको थिएँ। यो साँचो हो। त्यति बेला मसित स्मार्ट मोबाइल आएको थिएन, किन्न नसकेको पनि हो। सेल्फी त के यसो मौका छोपेर फोटो लिइहाल्ने उपाय पनि थिएन। सेल्फीका लागि ऊसित प्रगाढ मित्रता हुनुपर्थ्यो। त्यो मित्रता त दिवास्वप्न थियो। नजिक पर्दैमा उसबाट उन्मत्त साँढेको गन्ध आएजस्तो लाग्थ्यो। मोबाइलमा लिन सकेको भए, पछि यो कुरो फेसबुकमा भाइरल हुन पनि सक्थ्यो, अचेल हुने गरेजस्तो। अहिले म सोच्छु, तर मलाई कथा नलेख भन्नु ठूलै राष्ट्रिय अपमान थिएन, सिमानाभित्र छिरेर एसएसबीले गोली ठोकेर नागरिक मारिरहेको थियो र नेताहरू आँखा निहुराएर आफूले माफी माग्ने मुद्रामा पारिकालाई माफी माग्नुपर्छ भनेर सानो स्वरमा भनभनाइरहेका थिए। त, त्यस्तो चोट त सहियो भने अब यो मुलाले कथै लेख्न छाडिदे भन्दा कत्रो वेदना हुने थियो र? झेलिएकै छ। मित्र, त त्यस दिन म त्यसरी उसको छायाबाट छुटेँ। उसले जहिले पनि जहाँ पनि देख्छ, यस्तो भनिरहेजस्तो गरेर हेरेझैँ लाग्छ, 'दुई–चार सिप्किनो लगाउँ्क कि? अझै कथा लेख्न छाडिनस्?'

मित्र, ऊ जो छ, एक अत्यन्त कठोर मूल्यवाला जस्तो देखिन्छ, जसले एक जनालाई मात्र ठूलो कथागुरु मानेको छ। आफूले पनि कथा लेख्थ्यो यदाकदा। पछिपछि देखिन छाड्यो। आजभोलि त झन् उसका कथा देखिएकै छैनन्। लेखेर थन्क्याउँदै गरेको होला, वर्तमानमा उसका कथाको मूल्यांकन हुने होइन, त्यसैले भविष्यमा कहिले छापुँला भनेर। तर यसो भन्दा ऊप्रति दुर्भावना राखिएको ठहर्छ। दुर्भावना त म राख्नै सक्दिनँ, ऊदेखि डर लाग्छ भनेपछि प्रस्टै छ ऊप्रति दुर्भावना राख्न सक्दिनँ। मित्र, तर उसले यसरी भनिरहन्छ, 'कथा नलेख्नू, खबरदार!' सपनामा पनि आउँछ र त्यही भनिरहन्छ भन्दा त्यो अति खोकेको हुन्छ। तर त्यसरी सपनामा आएर भन्यो भने पनि त्यो म ऊदेखि डराएकै प्रतिफल मान्नुपर्ला। समाजमा कस्ताकस्ता मान्छे छन्, भन्दाखेरि तीमध्ये म पनि एक थरीकै हुँ। सोचेर ठीकै लाग्छ। हप्ता असुली गर्ने डनजस्तो छ ऊ। ठाडै भन्यो बा, सडकमै उभिएर कि कथा नलेख्नोस्। अगाडिपछाडि कुनै भूमिका छैन, डाइरेक्ट टु दी प्वाइन्ट कि कथै नलेख्नोस्। प्रहरीमा रिपोर्ट गरेर मुठभेडमा पारिन सक्ने कुरो पनि भएन। त सार कुरो यो, ऊ अचेल समालोचनामा पनि 'हात अजमाइ' रहेछ। उसको चिन्ता यो छ, विश्वस्तरको रचना कसैले लेख्न सकेन, उसको कथागुरु बाहेकले। म त नतमस्तक छु, उसको स्थापनाका अगाडि डरैले भए पनि, म शिर उठाएर उसलाई हेर्न सक्दिनँ। उसको कथागुरुले उसलाई धाप मारेर एक दिन 'तिमी जस्तो कथा म पनि लेख्न सक्दिनँ' भनिदिएको थियो रे। रेका कुरा नपत्याउनू भन्ने छैन, उसको व्यवहार त्यस्तो छ।

मैले सोचेँ, उसको कथागुरुले जे भनुन् तर जे भने त्यसले फुर्केर उसले मजस्तै अरू कसैलाई कथा नलेख्नोस् भनेको भए? खासै के हुने थियो र? चिया गफमा यसो भनिने थियो होला, 'अर्को एउटा पागल जन्म्यो।' पागलहरू साहित्यका लागि स्वस्थकर नै हुन्छन्। ऊ मसित धेरैबेर उभिन सकेन होला। भन्यो, 'हिँड् जाउँ्क।' उसले साथकोलाई भनेको थियो। उसले पनि मेरो डर अनुभूत गर्‍यो होला। अर्को उसको मसल म्यानले मलाई वास्तै गरेन। बिहान थियो र मलाई यो चिन्ता लाग्यो, यति बेला उनीहरू के मदिरा सेवन गर्लान् कि अखबारको कार्यालयमा गएर समाचार सम्पादन गर्लान्। खै, मैले निर्क्योल्न सकिनँ, तर उदास मनले अखबार किन्नतिर गएँ।

प्रकाशित: २३ वैशाख २०७४ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App