१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एउटा हारमोनियमको निधन

गीतकार हुने मन थियो उसलाई। एउटा कपीमा उसले निकै गीत कोरेको पनि थियो। त्यो हरायो। अनजानमै हरायो वा कसैले लिएर गयो, उसलाई थाहा हुन सकेन। नलेखिएका गीत धेरै मीठा हुन्छन् भन्ने उसले सम्झ्यो। उसका त लेखिएकै गीत हराए। ती गीत नेपाली गीत जगत्मा माइलस्टोन हुने थिए, उसलाई यस्तो लाग्छ। उसले आफ्नो माइलस्टोन आफैँ खडा गरिहेर्‍यो। माइलस्टोन माने कोसेढुङ्गा नि! तर उसलाई लाग्यो माइलस्टोन स्थापित गर्न खाली ठाउँ पाइरहेको थिएन। वास्तवमा उसका गीत राम्रा थिए? गीततिर ऊ त्यसै लहसियो। गीतकारको इमेज ऊसित थिएन। त्यो पनि होइन। उसको घरछेउमा एक जना गीतकार थियो। गीतकार होइन, सङ्गीतकार। ओठमा चुरोट च्यापेर एउटा हातले हारमोनियमको पङ्खा फिट्दै अर्को हातले की–बोर्ड थिच्दै हुन्थ्यो। भाडामा कोठा लिएर बसेको। तर ऊ घरधनीको काका पर्थ्यो कि? भाडा तिरेरै बस्थ्यो।

विवाद हुनु त छँदै थियो, त्यसरी हारमोनियम चितामा फालिदिनु। पुरानो समयको सतीप्रथामा पनि यति निर्ममतासाथ पत्नीलाई पतिको चितामा हुर्‍याइँदैनथ्यो होला। मानिसहरूले अनुमान गरे। छोरोले निर्ममतापूर्वक त्यो एन्टिक भइसकेको हारमोनियम आगोमा होमिदियो। अचेल यस्तो हारमोनियम पाइँदैन। ओल्ड इज गोल्ड। कसैले भने– 'ठीक गर्‍यो! बुढोले हारमोनियमको पछि लागेर स्वास्नी–छोरो छाडिदियो। आफू पनि मर्‍यो।'

गीतकार भएर नै सङ्गीतकार छ वा सङ्गीतकार जन्मेपछि गीतकार आएको हो, त्यो चल्लो पहिले कि अन्डा भन्ने समाधानहीन प्रश्नजस्तै थियो उसका लागि, उति बेला। अहिले पनि उसले निश्चित समाधान पाइसकेको छैन। ऊ गीतकार र सङ्गीतकार दुवै नभएपछि त्यतातिर अल्भि्कनु थिएन।  गीतहरू लेखेको त्यो कापी नहराएको भए ऊ अवश्य पनि गीतकार हुने थियो। यस्तो लागिरहन्छ उसलाई। रोमान्टिक भावनामा बगेर कहिलेकाहीँ ऊ कापी खोज्न निस्केको सपना पनि देख्छ।  

सङ्गीतकार बस्ने कोठा कान्छोको थियो। सहरमा यस्ता धेरै थिए, को कहाँबाट आएको भन्ने खोजीनीति हुँदैनथ्यो। भइहाले पनि जिल्ला, गाउँ खुलाएर भन्दा समेत धेरैले धेरैलाई चिन्दैनथे। कोठाका बारेमा सङ्गीतकारको भनाइ थियो— 'म सित्तैँमा बसिदिएर त भएन नि! कान्छाका यत्तिका छोराछोरी छन्। पाल्न गारो छ।' कान्छाका त्यतिखेरसम्म एउटा छोरी जन्मेकी थिई र अर्को गर्भ हुर्किरहेको थियो। यो सिलसिला कायम रहने भविष्य देखेर उसले त्यसो भनेको हुनसक्छ। त्यसैले उसले भाडा तिर्थ्यो, काका भए पनि। टाढाको काकासित भाडा लिन अप्ठेरो पर्दैन भन्थ्यो कान्छो। कान्छोले त्यो कुरो हाँसेर भन्थ्यो। 'मिहिनेतले घर बनाइयो। थोरबहुत भाडा उठ्यो भने पनि भरथेग हुन्छ। काका त हुन् तर उनैले साइनो पहल्यिाएका, मैले त चिन्दिनँ।' अगि भनियो, सहरमा धेरैले धेरैलाई चिन्देनथे। सहर सानो थियो। भर्खरको। दुुई दशकपछि ऊ जाँदा सहर चिन्न नसकिने भइसकेको थियो। सङ्गीतकार पनि थिएन। अचेलको भनाइअनुसार रहेन। गीत लेखेको उसको कपी पनि यसै सहरमा हराएको थियो। यस्ता घटनाहरू भएका थिए सहरमा। 

दुई दशकपछि उसलाई लाग्यो सहर हेर्न जानु पर्छ। त्यसै सहरमा उसका पिताले अन्तिम सास फेरेका थिए र माता त अझै सँगै हुने थिइन्, पोहोर साल पन्चानब्बे छयानब्बेकी भएर गइन्। अझ केही वर्ष बाँचेकी भए बज्यै गिनिज बुक अफ रेकर्ड्समा आउने थिइन्। उसको छोरो भनेथ्यो, 'बाबा, हेर्नोस् त, बज्यैको जन्मदर्ता मिति नै छैन। कति पिछडिएका रहेछौँ हामी। विश्वकी सबभन्दा जेठी वृद्धा भनेर गिनिज बुकवालाले स्विकार्ने थिएनन्। हाउ स्याड!' आमा गइन्। उनैले उसलाई सहर छाड्न बाध्य पारेकी थिइन्, बुद्धलाई जस्तै।  

दुई दसकपछाडि फर्केर सहर डुल्न पुगेपछि उसको मन उदास भयो। सङ्गीतकारको सम्झनाले मात्र होइन, सहरमा उसलाई चिन्ने छँदै थिएनन् भने पनि हुन्छ। कान्छोले चिन्यो, मुस्किलले। उसैले चिनारीका लागि विगतका धेरै विवरण दिएपछि। उसका छोराछोरीले चिनेनन्। हाउ स्याड! घरभित्र लगेर कान्छोले चिया खुवायो। उसका छोराछोरीले उसको पहिचान गरेनन्। उसलाई अलिकति लाग्यो मुलुकमा जातीय पहिचानको कुरा किन उठेको रहेछ! त्यो र उसको पहिचान नहुनुमा सङ्गति थिएन। लागेको मात्र, किनभने मुलुकमा द्वन्द्व थियो— पहिचानसँगै सरोकार राख्ने विषयमा। एकल जातीय पहिचान खोज्दा राष्ट्रियता हराउने कुरो पनि थियो जुन सोच्दा ऊ डराउँथ्यो। त्यस्तै भयो उसलाई कान्छाको घरभित्र। धेरैले उसलाई मान्यता दिएनन्।

कोठामा भाडामा बस्ने काका सङ्गीतकार कता गयो, उसले त्यो सोधेन। यत्तिका वर्षपछि त ऊ मरिसक्यो होला! ऊ उसकै अगाडि मरेको हो। ऊ किन बिर्सिरहेछ ? सङ्गीतकार चुरोट तानिराख्थ्यो, कुपोषणग्रस्त जस्तो गरी। कहिलेकाहीँ नसल्काएको चुरोट, अन्तिम चुरोट हुनाले वा फारो गर्ने उद्देश्यले वा डाक्टरले चुरोट धेरै नखानू भन्ने चेतावनी दिएकाले वा चुरोटको प्याकेटमा धूमपान लिन्छ ज्यान भन्ने वैधानिक चेतावनी छापिन लागेकाले घन्टौँ ओठमा च्यापेर हारमोनियममा हराइरहन्थ्यो— बजाएर वा नबजाएर। डिमेन्सिया हुने सम्भावना पनि देखिन्थ्यो। कारण ऊ आफ्नो अगाडि हारमोनियम छ, त्यो निश्शब्द छ, त्यसलाई बजाउनु पनि छ भन्ने र ओठमा च्यापेको चुरोट सल्काएको पनि छैन भन्ने बिर्सिरहन्थ्यो। त्यसो पनि होला। सङ्गीतकारका बारेमा सहर छाडेपछि उसले पनि बिर्सेर गयो। ऊ स्वयम् पनि एक किसिमको डिमेन्सियामा परेको छ। छोराहरूले उसलाई कहीँकतै कुनै पनि योजना कार्यान्वयनमा सामेलै गर्दैनन्। सहरमा पनि ऊ कता जाने के गर्ने भइरहन्छ। सहर अति व्यस्त छ। खान र हिँड्न ऊ स्वतन्त्र छ। त्यतिले पनि मानिसलाई डिमेन्सिया हुँदोरहेछ कि?

उसलाई स्मरण हुनुपर्ने थियो। छ पनि। दिमागमा अलि जोड दिएपछि यस प्रसङ्गका लागि मात्र भनेझैँ उसको स्मृति फर्क्यो। सङ्गीतकार उसकै अगाडि मरेको हो। अगाडि भन्नाले सङ्गीतकारले हिरिक्कहिरिक्क प्राण छोडेको उसले देखेको होइन। पहिले त उसलाई अस्पतालमा भर्ना गरे। कान्छोले भर्ना गरेको थियो— 'यति उपकार त गर्नै पर्‍यो। कहिलेदखि हो काकाको भाडा खाँदैआइयो।'

डाक्टरहरू फोक्सो गलिसकेको छ भन्थे। सङ्गीतकारमा एउटा व्यथा थियो भित्री। कसैले भन्थे, उसकी श्रीमतीले छोडेर गई हारमोनियमको र्‍याइँर्‍याइँ सुन्दासुन्दा। र्‍याइँर्‍याइँ भनेको सारंगीको स्वरलाई हेलाँ गरेर नक्कल गरिने आवाज थियो। सहरमा त्यति बेलासम्म हारमोनियमको आवाजको नक्कल गरेर भनिने शब्द आइसकेको थिएन। उसले सोच्यो, उसलाई पनि अहिलेसम्म थाहा हुन सकेको छैन, नक्कलमा हारमोनियमको कुन आवाज कसरी निकाल्ने?

हारमोनियम नबजाएको भए सायद सङ्गीतकारकी श्रीमतीले छाडेर हिँड्ने थिइन। यस्तो अनुमान थियो। काखमा दुई वर्षको बालक थियो। उसलाई पनि लिएर गई। ममताले घचघच्यायो होला। जान्नेसुन्नेले भने, त्यस राति सङ्गीतकारले हारमोनियम बजाएन। सबैले उसको कोठाबाट हारमोनियमको आवाज नआएपछि भन्ठानेछन् आत्महत्या गर्ने सोचमा मग्न छ ऊ। बिहान नजिकैको कुनै रूखमा सङ्गीतकार तुर्लुङ्गिएको हुनेछ। उतिबेला सहरको बीचमा जङ्गल थियो। यसो पनि भन्न मिल्छ, जङ्गलका बीचमा सहर थियो। वर्षमा दुईचार जना महिला पुरुष जो भए पनि नजिकको रूखमा गलपासो लगाएर झुन्डिन्थे। कारण अनेक हुन्थे रूखमा झुन्डिने। 'मानिसको व्यथा बुझिनसक्नु छ!' —उसकी आमा खुइ्यय सास फेर्दै भन्थिन्।

रूख, रूख भनिरहनाले भ्रम पर्न सक्छ— रूख रूख भनेर चिच्याइरहेर के हुन्छ? त्यो रूखको जात पनि त हुनुपर्‍यो! रूखको अनुहारै नदेखेकालाई छक्याउन रूख रूख भनिराखेजस्तो छ। यस्तो आशङ्का जाग्न सक्छ, पाठकमा। रूख सालका थिए सहरमा। पछिल्लो पटक ऊ सहर पुग्दा ती सालका सबै सानाठूला रूख फँडानीमा परेर गायब भइसकेका थिए, एक किसिमले सङ्गीतकारझैँ। सङ्गीतकारलाई त कालले फँडानी गरेको थियो, सालका सर्लक्कका रूखहरूलाई राजनीति र प्रशासनको मिलेमतोमा मानिसले।

उतिबेलाको कुरा, एक पटक ऊ सहरमा एउटा सांस्कृतिक टोली सञ्चालन गर्ने अलि जेठोपाको साथीसित संगीतकारको कोठामा गएको थियो। सङ्गीतकार सादा पोसाकमा थियो। बयानले चित्रित गरेझैँ उसको कोठा फोहोर थिएन। विपन्नता झल्किन्थ्यो। भुइँमा एउटा सत्रन्जा थियो, त्यसमाथि एउटा चकला थियो। दुवै पुराना। ओछ्यानमाथि एउटा मैलो झुल कसेको थियो। मलेरिया उन्मूलन भइसकेको थिएन। विदेशी सहायताबाट पाइएको डिडिटी भनिने मच्छडमार पाउडर सरकारी योजनाअन्तर्गत नै पानीमा घोलेर पम्पले छर्कन थालिसकिएको थियो। मलेरिया उन्मूलन विभाग नै थियो। झुल फालिहाल्नु पर्ने भइसकेको थिएन, मैलो हुनुसँग मतलब थिएन, त्यो कसिनु प्रासङ्गिक थियो।                  

सङ्गीतकारले भन्यो— 'मैले कम्पोज गरेका गीत अझै कतै बजेका छैनन्।' भनाइमा यो थियो, भविष्यमा बज्ने छन्। बजे वा बजेनन्, त्यो थाहा भएन। बजेनन् होला। त्यसपछि के भयो? जेठोपाको साथीले सङ्गीतकारलाई एउटा गीतमा धुन भरिदिन भन्न गएको थियो। सङ्गीतकारले भन्यो— 'गीत पनि मेरै हुनेछ।' एकल सो दिने विचार रहेछ उसको। साथीले मानेन। उसको प्रतिष्ठाको विषय थियो, कुनै राजघरानियाँको व्यक्तिको आगमनमा स्वागतका लागि 'जयजयकार' को गीत थियो। धुन त्यसैका लागि चाहिएको रहेछ।  स्वागतगीत उसैको थियो। उसलाई आशा थियो, गीत कसले लेखेको भनेर सोधिएमा दस औँला जोडेर झुक्दै सगर्व उसले 'सेवकको हो सरकार' भन्न पाउनेछ। नभए जिल्लाका जयजयकारवाला वृत्तमा ऊ पनि घुसि्रन पाउनेछ।

पछिसम्म संगीतकारको हालत त्यस्तै रह्यो।

हुनु नै थियो। अस्पतालमै सङ्गीतकारको मृत्यु भयो। उसलाई चितामा सुताएपछि एउटा अनौठो कुरो यो भयो। वास्तवमा त्यस्तो केही चमत्कारिक कुरो भएको थिएन। अर्थात् उसको चिताबाट उदास धुनको हारमोनियमको स्वर निस्किएको होइन। अनौठो लाग्दो यो भयो, उसकी स्वास्नीले दुई वर्षको बालक छोरो जसलाई साथ लगेकी थिई, ऊ सहरमा आएको रहेछ। पिताको खोजीमा। उसले भन्यो रे— 'म अमेरिकी नागरिक भए पनि भिसा लगाएर आफ्नो उद्गम खोज्न आएको हुँ।' संयोग यस्तो पर्न गयो, ऊ सहरमा पुगेकै दिन सङ्गीतकारको निधन भएको थियो। कसैले यो किटानसाथ भन्न सकेन कि बाबु र छोराको अन्तिम मिलन भयो वा भएन।

अन्तिम संस्कार दुखद् रहेन। छोरोले अमेरिकाको कमाइले बाबुको अन्तिम संस्कार भव्यताका साथ सम्पन्न गर्‍यो। अन्तिम संस्कार भव्यताका साथ सम्पन्न गर्‍यो भन्नाले, नेताहरूको अन्तिम यात्रा सम्झन सकिन्छ, नेता बेइमान भए पनि। सहरमा अरू केही नभए पनि अन्तिम यात्रामा मानिसहरू घुइँचो लाग्ने गरी सहभागी हुने परम्परा थियो। उनीहरूको मनमा कहाँबाट यो अनकन्टार सहरमा आइयो, भविष्य के हुने हो, जे होस् आखिर जाने बाटो यही हो भन्ने असुरक्षा वा यथार्थबोधले झक्झक्याएर नै होला अन्तिम संस्कारमा यसरी जम्मा हुने।

छोरोले भन्यो— 'मैले जड पत्ता लगाए पनि त्यो गायब हुने बेलामा मेरो भेट भयो। सो स्याड!' सो स्याड उसको थेगो थियो कि वा यता आएपछि उसले आविष्कार गरेको थियो?

अनौठो कुरो यो थियो, छोरोले बाबुले आजीवन समालेर, समालेर होइन आफ्ना औँला ठुटा होउन्जेल बजाइराखेको हारमोनियमलाई हुरहुरी बलिरहेको उनकै चित्ाामा कत्ति पनि नहिचकिचाई फालिदियो। पुरानो हारमोनियम पनि जर्जर कायाको सङ्गीतकारसँगै सजिलै जलेर गयो। छोरोले भन्यो— 'फादरले यही एउटा मिस्टेक गरे। लाइफले जुन कुरो धान्न सक्दैनथ्यो त्यसैको पछि लागिरहे। सो स्याड।'

विवाद हुनु त छँदै थियो, त्यसरी हारमोनियम चितामा फालिदिनु। पुरानो समयको सतीप्रथामा पनि यति निर्ममतासाथ पत्नीलाई पतिको चितामा हुर्‍याइँदैनथ्यो होला। मानिसहरूले अनुमान गरे। छोरोले निर्ममतापूर्वक त्यो एन्टिक भइसकेको हारमोनियम आगोमा होमिदियो। अचेल यस्तो हारमोनियम पाइँदैन। ओल्ड इज गोल्ड। कसैले भने— 'ठीक गर्‍यो! बुढोले हारमोनियमको पछि लागेर स्वास्नी–छोरो छाडिदियो। आफू पनि मर्‍यो।'

कान्छोले सङ्गीतकारका पुराना लुगाफाटा लगेर उता पारिको सहरको फोहोर जमेर जाम भएको नालामा विसर्जन गरिदियो। रातिराति बूढो सङ्गीतकारको हारमोनियमको आवाज आउँछ कि भनेर दुईचार रात जागै रहेर सुनिरह्यो। तेह्र दिनसम्म दिवङ्गत आत्माले प्रेतयोनिबाट मुक्ति पाउँदैन भन्ने कताकता धार्मिक अन्धविश्वास उसमा थियो। दुईचार रातपछि उसलाई निद्राले बेहोस पार्ने गरी च्याप्यो र उसले त्यो काम छाडिदियो। पछि होमजग्गे गरेर घरशुद्धि गर्‍यो। अमेरिकाबाट आएको छोरोले बाबु संगीतकारको बक्यौता कोठाभाडा र सहरका पसलहरूको उधारो तिरतार गरिदियो र आफू गाडी रिजर्भ गरेर छेउको ठूलो सहरबाट चल्ने प्लेन चढेर नफर्कने गरी अमेरिकातिर लाग्यो।

यो सुनेपछि आमाले भनिन्— 'छोरो ज्ञानी रहेछ। पितृ रिन तिर्‍यो।' तर जब उनले संगीतकारको छोरोले हारमोनियम पनि चितामै डढाइदियो अनि उसले के भन्यो भन्ने थाहा पाइन् तब भनिन्— 'एकदम राइट कुरा गर्‍यो। आफूबाट हुन नसक्ने कुरोको पछि लाग्नु हुँदैन। बुझिस् छोरा, तेरो गीतको कापी हराएकोमा अफसोस नगर्। त्यो तँबाट पार लाग्दैन। हिँड् अर्को ठूलो सहरतिर, त्यता गएर व्यापारबट्टा गरिस् भने बरु जीवन र परिवार पार लाग्छन्।'

त्यतिबेला बुवा बितिसक्नुभएको थियो। आमाको सल्लाह वा आदेश शिरोधार्य गर्नु थियो।

कहिलेकाहीँ गीत लेखेको कापी ऊ झलझली सम्झन्छ। त्यसभित्र उसले कस्ता गीत लेखेको रहेछ भन्ने सम्झन्न। तर त्यो कापी फेला परे...। 

प्रकाशित: २२ माघ २०७३ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App