बिना तामाङ
अभिशप्त नागरिक
मलाई भनिदिनु
यो देशमा
आफ्नो सन्तानको घाँटीमा सुर्किने टाइ र
खुट्टामा टलक्क टल्कने एकजोर जुत्ता किनिदिन
एउटी आमाले उभिएर फुटपाथमा
कतिपटक गर्नुपर्छ मोलमोलाई आफ्नो शरीरको?
कतिपटक बिताउनुपर्छ
अनिदाअनिदा सिंगा रातहरू?
कहाँसम्म तय गनुपर्छ जिन्दगीको यात्रा?
मरुभूमिदेखि समुद्रसम्म
वा आफ्नै आँगनदेखि आर्यघाटसम्म?
यहाँ त,
पहिरो गएको अनुहार बोकेर
उभिएको यो कुरूप समय पनि
अट्टहास गरिरहेछ नियतिमाथि
र, तुर्क्याइरहेछ पिसाब
भर्खरै बलात्कार गरेर छोडेको आमाको शरीरमा
त्योभन्दा भयानक दुश्मन
आमाको फरिया बेचेर फर्किएका नेताहरू हुन्
जसले कहिल्यै सुनिश्चित गरेनन्
प्रत्येक बालकले पढ्न पाउने अधिकार
ए नालायक सरकार!
दुईवटा खुट्टामा उभिनकै निम्तिमात्रै हो भने
भो नफेरिदिउँला तिम्रा ती इर्ष्यालु हावा
भो नपिइदिउँला तिम्रो मुहानबाट
बग्दैबग्दै आएको बेस्वादिलो जिन्दगी
तर, आफूसँग जोडिएका तमाम भोलिहरूलाई
आजैबाट निकास दिन
म पिउँदैछु यतिखेर अभावको आलो रगत
र, बाँचिरहेछु यो देशको
एउटा अभिशप्त नागरिकको ट्याग भिरेर
यो देशमा त
जन्मनु, हुर्कनु र मर्नु पनि निःशर्त रहेनछ
म जनताले
आमाको गर्भैबाट बोक्दोरहेछु
रिनको भारी
र, त्यसको भारले आजीवन थेप्चिँदोरहेछु।
धुवाँमा आमा
सुनमाया
तिमीलाई थाहा छ?
हाम्रो घरको चुह्लो
मुस्किलले सल्किन्छ
जब सल्किन्छ
म देख्छु
चुह्लोबाट निस्किएको धुवाँमा
मेरी आमा साकिराझैँ ब्रेकडान्स गर्दैछिन्
कहिले पातली गाईको थुनमा
कहिले घरमास्तिरको पाखो बारीमा
कहिले अक्करे भीरमा
कहिले घरको दैलामा
मेरी आमाको हात
कलात्मकरूपले सर्याकसुरुक गरिरहेछ
मलाई लाग्छ
मेरी आमा
कुनै 'रियालिटि सो'मा भाग जनाउँदैछिन्
विडम्बना
निर्णायकहरू
कान थुनेर,
आँखा बन्द गरेर
बेसोमत हल्ला गरिरहेछन्
र त हरेक पटक उनी 'आउट' हुन्छिन्
जिन्दगीको रियालिटी सोबाट
फेरि पनि
मुस्किलले सल्किएको
चुह्लोबाट निस्किएको धुवाँमा
अझै पनि
मेरी आमा साकिराझैँ ब्रेकडान्स गर्दैछिन्।
देशले 'स्युत' गर्न बिर्सिएछ
देश बिरामी परेपछि
भत्किन थालेको हो, विश्वासको शिखर
झर्न थालेको हो, आफ्नै शरीरका अंगहरू
बग्न थालेको, इमानको रगत
र, देखिएका हुन्, वीभत्स दृश्यहरू
टेलिभिजनका पर्दाहरूमा
सुनिन थालेको हो कोलाहल, रेडियो नेपालमा
यहाँ देश बिरामी परेपछि
हुनु नहुनु सबथोक भइरहेछ
नागदेवताले पिरोलेर हो वा
वायुको वेगले हो?
अघिल्ल्ाो हप्ता असाध्यरोगले च्यापेपछि देशलाई
कोकोम्हेन्दोले
लगेकी थिई स्वास्थ्यचौकी
चढाएकी थिई ब्लडबैंकमा रहेको
शहिदहरूको स्टक रगत
तर, कामज्वरो एकबित्तो नघटेपछि
गुहारेर झाँक्रीबा
घरमै बजाउन लाएकी थिई
चेतावनीको ढ्यांग्रो
कसेर सचेतनाका घन्टहरू
रातरातभर जोखाना बसेपछि झाँक्री बाले भने–
—कोकोम्हेन्दो,
देशको सिमानामै रहेछन् मसानहरू
—देशको
शीरबाट छङ्छङ् ओर्लने नदीहरूको रंग
आदिम सुगन्ध बोकेर चल्ने बतासका झोँका
पसिनाका सुनौला थोपा सञ्चित
फराकिलो रिजर्भट्यांक
देखेरै हो मसानको नियत बिग्रिएको
र, खराब नजर लगाएको
नजर लाग्ला भनेर आमा सधैँ खानेबेला
एक सिता भात
एक त्यान्द्रो साग
एक चोक्टो मासु
र औँलाले चोपेर छ्याङ
गर्थिन् घरछेउका पिचाशहरूलाई सम्झेर 'स्युतस्युत'
अचेल देशको
—नुहुन थालेको छ हिमाल
—खस्न थालेको छ पहाड
—बगाउन थालेको छ मैदान
साँच्चै,
मेरो देशले छेउछाउमा रहेका मसानहरूलाई
देवता देख्यो कि
कि देख्यो पाहुना?
तब न बिर्सिएछ 'स्युत' गर्न
त्यसैले हिजो साँझ
झँाक्रीबाले मन्साएपछि सिमेभुमे,
वरिपरिका मसानहरू
कोकोम्हेन्दोले
लगेर थपक्क राखिदिएकी थिई
नाङ्लाभरिभरि धजा गाडिएका बुजुहरू दोबाटोमा
तर, फर्कंदाफर्कंदै
गायब भएकी थिई कोकोम्हेन्दो
खै केमा चित्त नबुझेर हो
खाँदैछ मसानले देशको मुटु
गायब पार्दैछन् कोकोम्हेन्दोहरू
अब त्यसलाई मन्साउन चाहिन्छ
—गोर्खाली खुकुरी
—आदिवासी धनुषबाण।
स्युतः (नजर लाग्ला भनेर खानुअघि खराब आत्माहरूलाई चढाउने परम्परा )
कोकोम्हेन्दोः (तामाङ समुदायको पवित्र कार्यमा प्रयोग गरिने टटेलाको फूल )
बुजुः (कोदोको पिठो मुछेर मसान मन्साउन बनाइने पिरामिड आकार )
प्रकाशित: ९ पुस २०७३ ०६:२२ शनिबार





