coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

आगो ओकल्ने कविता

टीका 'आत्रेय' पौडेल

जीवनका प्रत्येक सूक्ष्म घटनालाई मिहिन ढंगले केलाएर शक्तिशाली शब्दमा विष्फोट हुनु सीमा आभासको काव्यिक विशेषता हो। कतै नलेखिएका पात्रहरूलाई आशावादी बनाएर उभ्याउने सामर्थ्यबाट धेरै स्रोता तथा पाठकलाई कवितामार्फत् आफूतर्फ तान्न सक्ने क्षमता उनमा छ। यस्तै वजनदार कविताका साथ पाठकमाझ फेरि उपस्थित भएकी छन् उनी 'म स्त्री अर्थात् आइमाई' लिएर।

यसअघि उनका २०६३ सालमा 'साँझको संघारबाट' कवितासंग्रह र २०६६ मा 'टापुका स्वरहरू' कथासंग्रह आइसकेका छन्। 'साँझको संघारबाट'का अधिकांश कवितामा युद्धको पीडा पोखिएको छ। तत्कालीन समाजको ऐना नै हुन पुगेको छ सीमाको उक्त कवितासंग्रह। नवीनतम संग्रहमा सीमाले नारीको हालसम्म राम्ररी उल्लेख नगरिएको शक्तिलाई बहसमा ल्याएकी छन्। 'म स्त्री अर्थात आइमाई' कविता संग्रहलाई मञ्जरी प्रकाशनले २०७३ सालमा बजारमा ल्याएको हो। सितिमिति कविता प्रकाशन नगरिहाल्ने मञ्जरीका प्रकाशकले सीमाको पुस्तक प्रकाशन गर्ने चर्चा नहुँदै एक भेटमा भनेका थिए- 'म सीमाका कविताको बजार बनाउन सक्छु।' यसबाट पनि सीमाको कविताको तागत सहज अनुमान गर्न सकिन्छ।

आफू निदाएर अरुलाई ब्यँूझ भन्नेहरू धेरै होलान् समाजमा, तर आफैलाई सल्काएर उज्यालो बाल्न सक्ने काव्यिक चेतना छ सीमामा र प्रयोग पनि।  सीमाको यो कवितासंग्रहका कविता अत्यन्तै सुन्दर र सामर्थ्यवान लाग्छन्।

सीमा एक निडर कवि हुन् भन्ने कुरा उनले कवितामा प्रयोग गरेका शब्दबाट थाहा हुन्छ। शब्दहरूका माध्यमबाट समाजमा जडवत् रहेका प्रत्येक कुरीतिविरुद्ध उनी आगोजसरी खनिएकी छन्। 'म स्त्री अर्थात् आइमाई' कवितासंग्रहको शीर्षक नै एक सशक्त नारी रूप हो सीमाको। प्रत्येक शब्दलाई तर्क दिएर पुष्टि गर्नु उनको अर्को सामर्थ्य हो। समाजले हेलित ठानेको अझ उच्चारण नै नगरे हुन्थ्यो भन्ने 'आइमाई' शब्दको बारेमा उनको धारणा छ– संस्कृत भाषाअनुसार आइमाई भनेको सभ्यता बुझाउने आर्य शब्दको स्त्रीलिंगी रूप हो। आर्यते पुज्यते शब्दबाट आदर गरिने शब्दका रूपमा आर्य शब्द बनेको छ। आर्य शब्दको अर्थ सभ्य हुन्छ। र, आइमाई शब्द आर्य शब्दबाट बनेको छ। सभ्य आचरण भएकी नारीलाई आइमाई भनिन्छ। यसरी हेर्दा सीमालाई खोज तथा अनुसन्धान गर्ने कविका रूपमा पनि पाउन सकिन्छ।

   प्रस्तुत संग्रहमा ३७ कविता छन्। शीर्ष कवितामा एउटी आइमाईको चरित्रबाट आमआइमाईको चोखो, बृहत् र सम्मानित तस्बिर उतारिएको छ। अझैसम्म कसैले देख्न नसकेकी स्त्री अवतार जो प्रत्येक महिला आफैबाट जन्मिने सामर्थ्यको सन्दर्भसहित स्त्री भएर पुरुषको गर्भबाट जन्मिने चाहना राख्छिन् र भन्छिन्–

स्त्रीत्वले स्नान गर्दै

प्रत्येक मास नव—अवतार जन्मन्छु

आफ्नै शरीरबाट।

(म स्त्री अर्थात् आइमाई)

हरेक मानिस बाह्य दुनियाँका नयाँ वस्तुको खोजीमा रहन्छ र नयाँनयाँ आविष्कार गरिरहन्छ। यसका लागि ऊ भौतिक जगत्तर्फ फर्किएको हुन्छ, तर सीमा यस कृतिमा आफूतर्फ फर्किएकी छन्। आफूभित्रको आफूलाई चिन्नु अर्थात् शदियौँदेखि उठ्नैनसकेको 'आइमाई'लाई 'मान्छे'को रूपमा उनी देख्न चाहन्छिन् र यस्तै देख्न अनुरोध पनि गर्छिन्। आफूले आफूलाई नदेखेर, आफैलाई नचिनेर अरुले दिएको होचो स्थानमा रहिरहे नारी उहिलेदेखि अहिलेसम्म। आफू एउटा सिंगो सृष्टि हुँदाहुँदै पनि अरुले रचना गरिदिएको तुच्छ स्थानमा होच्चिइरहन बाध्य आमनारीका चेतनामा शंखनाद गर्दै ब्युँझाइरहन्छिन् सीमा कवितामार्फत्। नारी अस्तित्वको जर्जर अवस्थाबाट आफ्नो सृष्टि स्वरूप चिनाउनु यो संग्रहको शक्तिशाली र सफल पक्ष हो। सीमासँग यसका लागि शब्दका शंख, घन्ट, डमरु र चमर छन्। शक्तिस्वरूपा स्त्रीलाई म पात्रका रूपमा बाघ शक्ति निलाएर यसरी उतारेकी छन् सीमाले–

पहिल्याएको छु यसको जस्तै मेरो सामर्थ्य

गर्जनुछ मैले, मभित्र निदाएको मान्छे ब्यँुझने गरी

दौडनुछ मेरो दिमागले हाँकेको विमानभन्दा अघिअघि

आफूबाट उन्मुक्ति लिन निलिरहेछु बाघ।

(मैले बाघ निलेको छु)

 

संग्रहका ३७ मध्ये २३ कवितामा नारी पात्रलाई जगाएकी छन् सीमाले। आफ्ना पात्रहरूलाई एउटा साहसिक योद्धाको रूपमा काव्यिक मैदानमा उतारेकी छन् उनले। आगोले नुहाउन सक्ने, आगोकै नदी तर्न सक्ने, आगो पिएर आगो नै भएकी आमनारीको स्थानबाट उठेर सीमाले आगोजस्तै कविता लेखेकी छन्। आगोजस्तै शब्दहरू यस संग्रहका ताकत हुन्। जीवनका प्रत्येक कुनामा उभिएर जिन्दगी नियाल्न सक्नु र यस्ता अनुभवललाई बिम्बले सिंगार्नु सीमाको कलाकारिता हो। आफू नारी हुनुको अनुभव पनि हुनसक्छ, नारीका जीवन भोगाइलाई अत्यन्तै सफलतापूर्वक उभ्याएकी छन्। सीमाका अन्तरहृदयबाट जुन गर्जन शब्द भएर निस्कन्छ, त्यही शब्दबाट सशक्त चेतको तरंग फैलिँदै गएको पाइन्छ। धार्मिक युगदेखि नै नारी पात्रको अस्मिता जाँच गर्ने संयन्त्र अग्निपरीक्षा र त्यसपछिका हरेक अग्नि वा सोसरहका परीक्षाहरूले नारीलाई आगो बनाए।

कविताको नशाले पुर्‍याएको अन्तिम समाधीमा लिन भएर कविले आफ्ना रचनामा सौन्दर्य उतारेकी छन्। संग्रहभित्रका केही कवितामा प्रेम उभिएको छ भने केहीमा देश बुनिएको छ। शब्दकोशतिरै लुक्न लागेका पहाडी जनजीवनका थुप्रै शब्दसहित सिंगो समयलाई कवितामा अटाएर त्यस्ता शब्दको संरक्षणसमेत हुन पुगेको छ। आफू निदाएर अरुलाई ब्यँूझ भन्नेहरू धेरै होलान् समाजमा, तर आफैलाई सल्काएर उज्यालो बाल्न सक्ने काव्यिक चेतना छ सीमामा र प्रयोग पनि।  सीमाको यो कवितासंग्रहका कविता अत्यन्तै सुन्दर र सामर्थ्यवान लाग्छन्। यो संग्रह समयको सशक्त दस्तावेज पनि हो, तथापि एक पाठकको दृष्टिकोणमा यति वजनदार कृतिका लागि संग्रहको मुखावरण भने फितलो लाग्दछ। आगामी संस्करणमा यो कुरामा लेखक र प्रकाशक दुवैको ध्यान पुग्नुपर्ने देखिन्छ।

पुस्तक :  म स्त्री अर्थात् आइमाई

विधा :  कविता

लेखक :  सीमा आभास

प्रकाशक :  मञ्जरी पब्लिकेसन

मूल्य      रु.१५०

प्रकाशित: ९ पुस २०७३ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App