११ असार २०८३ बिहीबार
image/svg+xml
अन्य

गो, किस द वर्ल्ड

सुब्रोतो बागची

मेरा बा उडिसा (भारतको एउटा राज्य) को कोरापुत जिल्लामा डिस्ट्रिक्ट इम्प्लोइमेन्ट अफिसरका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यहाँ बिजुली थिएन, नजिक कुनै स्कुल थिएन, धारामा पानी आउँदैनथ्यो। परिणाम, म ८ वर्षको नहुञ्जेल स्कुल जान पाइनँ। मलाई मेरा बाले घरैमा पढाउनुभयो। मेरा बाको हरेक वर्ष सरुवा भइरहन्थ्यो। त्यसैले हाम्रो सरकारी डेरामा उति धेरै सामान हुँदैनथ्यो।

मेरा बा पूर्वी बंगाल (अहिलेको बाङ्लादेश) मा जन्मिएका थिए। मेरी विधवा हजुरआमाले उहाँलाई पढाउन निकै दुःख गर्नुभयो। अनि, मेरी आमाले स्कुल पढ्दापढ्दै बासँग बिहे गर्नु भएको थियो। मेरो परिवारको सिद्धान्त, मूल्य, मान्यताले आज म जे बनेको छु, त्यसको जग हालेको थियो। र, तिनै कुराले मेरो सफलताको परिभाषा कुँदेको छ।

मेरा बा अधिकृत हुनुभएकाले अफिसले उहाँलाई एउटा गाडी दिएको थियो। अफिसमा कुनै ग्यारेज थिएन। त्यसैले त्यो हामी बसेको डेरामै हुन्थ्यो। अधिकांश समय बाले यो गाडी प्रयोग गर्नु हुँदैनथ्यो। उहाँको धारणा थियो, 'अफिसले सबैभन्दा महँगो चिज दिएको छ, त्यसैले यसलाई सम्हालेर उपयोग गर्नुपर्छ।' यो गाडीको दुरुपयोग गर्न हामीलाई कति मज्जा लाग्थ्यो, घुम्न जान मन लाग्थ्यो तर अँहँ, बाले हामीलाई कहिल्यै पनि दुरुपयोग गर्न दिनुभएन। यो गाडी चलाउने सानो जातको एउटा ड्राइभर थियो राजु, तर उसलाई कसैले पनि नाम काढेर बोलाउन पाउँदैनथ्यो।

उसलाई ‘काका’ भन्नुपर्थ्यो। उहाँ भन्नुहुन्थ्यो, 'गरिब मानिसलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ, जति धनीलाई अनि साना मान्छेलाई पनि उत्तिनै मान्नुपर्छ जति ठूलालाई।' मेरो जीवनमा यो एउटा ठूलो पाठ बन्यो र मैले धेरैपछि मात्र बझेँ– ठूलालाई भन्दा सानालाई सम्मान गर्नु निकै महŒवपूर्ण कुरा हो।

कुनै ठाउँमा हाम्रो बाको सरुवा भयो भने आमाको काम नयाँ डेरामा चुलो बनाउनु हुन्थ्यो। माटोको चुलो बनाउन हामी सघाउँथ्यौँ। त्यो बेला ग्यास वा इलेक्ट्रिक स्टोभ हुने कुरै भएन। हाम्रो दैनिकी चियाबाट सुरु हुन्थ्यो। चियासँगै अखबार पढिन्थ्यो र बाले हामीलाई सधैँ अंग्रेजी अखबारको सम्पादकीय ठूलो स्वरमा पढ्न लगाउनु हुन्थ्यो। पढिसकेपछि हामीले पढेका अखबारलाई राम्रोसँग पट्याएर निश्चित ठाउँमा राख्नुपर्थ्यो। बाले हामीलाई सिकाएको यो एउटा निकै सामान्य पाठ थियो। उहाँ भन्नुहुन्थ्यो, 'अखबार र आची तिमी कुन रूपमा देख्न चाहन्छौ, त्यही रूपमा विसर्जन गर्नुपर्छ! हामीले चाहेको कुरा पूरा गर्न, त्यसलाई उत्तिकै महŒवका साथ हेर्नुपर्छ, चाहे त्यो अखबार होस् या ट्वाइलेट। झन्, अरु सम्बन्धको कुरा त

अति नै महŒवपूर्ण कुरा भई गए! त्यो बेलामा अखबारमा रेडियोका विज्ञापनहरू आउँथे। हामीलाई ती विज्ञापन देखेर औहाडा हुन्थ्यो किनभने हामीसित रेडियो थिएन। बालाई हामी रेडियो किनौँ न भनेर आग्रह गर्थ्यौं, उहाँ भन्नुहुन्थ्यो– 'घरमा तिमेरु पाँच–पाँच रेडियो छँदैछौ नि, किन चाहियो छैटौँ?' अरु सबै कर्मचारीहरूको आफ्नो घर हुन्थ्यो, तर हाम्रो थिएन। हामी भन्थ्यौँ, 'बा हामी पनि घर बनाउँ न!' उहाँको जवाफ हुन्थ्यो, 'मेरा पाँच–पाँच वटा घर छन्, किन चाहियो छैटौँ?' बाको उत्तरले हामीलाई खुसी दिँदैनथ्यो। मैले पछि मात्रै बुझेँ– मानिसको निजी सफलता र भौतिक प्रगति सफलताको मानक होइन।

जबजब बाको सरुवा हुन्थ्यो, आमाको काम नयाँ घरमा नयाँ बगैँचा बनाउने हुन्थ्यो। आमालाई बगैँचाको शोख थियो। मेहनतपूर्वक उहाँ डेराछेउको खाली ठाउँमा राम्रा–राम्रा फूलका बिरुवा लगाउनु हुन्थ्यो। जब यी फुल्न थाल्थे, बाको सरुवाको पत्र आइपुग्थ्यो। अन्य डेरावाल छिमेकी भन्थे, 'तिमीले व्यर्थै मेहनत गर्‍यौ। यत्रो मेहनत गरेर विरुवा हुर्कायौ, अब अरु कसैले फक्रक्क फुलेको फूलको आनन्द लिनेछ!' अनि, आमा भन्नुहुन्थ्यो, 'यिनलाई हुर्काउनु पनि कम्ता मज्जा आउने काम थिएन!'

फूलबारी मात्र होइन, सरकारले दिएको घर पनि हामी बसुञ्जेल सफा, रहरलाग्दो र रंग्याइएको हुन्थ्यो र त्यो घर जीवन्त हुन्थ्यो। छिमेकी भन्थे, 'यो कस्तो घर थियो, तिमीले कस्तो राम्रो बनाइदियौ! अब यति राम्रो घर छोडेर जानुपर्दा दुःख लाग्दैन?' आमा भन्नुहुन्थ्यो, 'यो सजाइएको घर देख्दा आउने मान्छेलाई कति मज्जा लाग्दो हो भनेर मलाई त खुसी पो लाग्छ!' आमाको यो कुराले मलाई धेरैपछि ठूलो पाठ सिकायो। सफलता त हामीले के पायौँ भन्नेमा होइन के छाड्यौँ भन्नेमा पो रहेछ!

सन् १९६५ मा मेरा एक जना दाइले भुवनेश्वर विश्वविद्यालयमा पढाउने काम पाउनु भयो र आमा पनि दाइहरूलाई सघाउन त्यहीँ आउनु भयो। म भएँ कान्छो, आमालाई छोड्ने कुरै भएन। पहिलो पटक मैले भुवनेश्वरमा बिजुली बत्ती देखेँ। पाकिस्तानसँग भारतले युद्ध गरिरहेका बेला आमा अखबारमा लेखिएका कुरा पढ्न चाहनु हुन्थ्यो। मेरी आमालाई बंगाली भाषामात्र आउँथ्यो। मैले आमालाई उडिया भाषामा छापिएका पत्रिका आमालाई पढेर सुनाउनुपर्थ्यो। मैले त्यो बेला बुझेँ, ठूलो संसारसँग जोडिनु कति आवश्यक छ। वृहत्रूपमा कुनै पनि कुरामा जोडिनु कति आवश्यक छ। युद्धको समाचार पढ्दापढ्दै म पनि युद्ध गरिरहेजस्तै लाग्थ्यो।

केही वर्षमै आमाका आँखा बन्द भए। आँखा त बन्द भए, तर उहाँले भित्रभित्रै ठूलो दृष्टि निर्माण गर्नुभएको थियो। म उहाँका लागि कैयौँ कुरा पढ्थेँ र मेरा आँखाले पढेका कुरा उहाँका अन्तरचक्षुले अझ वृहत्रूपमा बुझाउँथे। आमाको आँखा १९६९ मा बन्द भएका थिए र उहाँ २००२ मा बित्नु भयो। यी ३२ वर्षमा उहाँले आफू अन्धो भएकोमा कुनै गुनासो गर्नुभएन।

मैले एक दिन सोधेको थिएँ, 'आमा तपाईंको आँखा बन्द भएको बेला पूरै संसार अँध्यारो हुन्छ होला, हगि?' उहाँले भन्नुभयो, 'होइन, म अन्धकार देख्दिनँ। म त आँखा बन्द भए पनि उज्यालो नै देख्छु।' आँखा बन्द भए पनि उहाँले ८० वर्षको उमेरसम्म आफै योग गर्नुहुन्थ्यो, आफै लुगा धुनु हुन्थ्यो र कुचो लगाउनु हुन्थ्यो। मेरा लागि सफलता स्वतन्त्रताको महसुस हो। आमाका लागि संसार देख्नु ठूलो कुरा होइन, उहाँका लागि उज्यालो ठूलो कुरा थियो।

यत्तिका वर्षमा म हुर्किएँ, पढेँ, उद्यमी बनेँ। मैले त्यो बेलाका उम्दा मानिसहरूसँग काम गरेँ, गज्जबका काम गरेँ र संसार घुमेँ। सन् १९९२ मा म अमेरिकामा हुँदा मेरा बा ठूलो दाजुसँग रिटायर्ड जीवन बिताउँदै हुनुहुन्थ्यो। एउटा दुर्घटनामा उहाँको शरीर पूरै जल्यो। उहाँको घाँटीदेखि घुँडासम्म ब्यान्डेज लगाइएको थियो। म उहाँलाई हेर्न अमेरिकाबाट फर्किएँ।

दिल्लीको सफ्दरगञ्ज अस्पतालमा बालाई भर्ना गरिएको थियो। कैयौँ दिनदेखि एउटी नर्स उहाँको सेवामा लागेकी थिइन्। बाको अवस्था नाजुक थियो। अहिले हो कि भरेको स्थिति भइरहेको बेला पनि बाले छेउकी नर्सको निरन्तरको सेवाबाट मुग्ध हुँदै भन्नुभएको थियो, 'तिमीले धेरै दुःख गर्‍यौ नानी!'

म छक्क परेँ, बूढा मृत्युशै्ययामा छन् र पनि अरुको ख्याल गरिरहेका छन्! बा अर्को दिन त बितिहाल्नु भो, तर उहाँले सफलताको एउटा मानक सिद्धान्त छोडेर जानु भयो। उहाँको सिद्धान्त थियो– अनावश्यक कुरा त्याग्नु, वैश्विकरणमा विश्वास गर्नु र सबैलाई समाहित गर्नु। त्योभन्दा पनि ठूलो कुरा उहाँले के सिकाउनु भयो भने, हामी मानिस अप्ठेरोका बीच पनि मौलाउन सक्नुपर्छ। जस्तोसुकै विपत् किन नपरेको होस्, त्यसलाई पचाउने हिम्मत हुनुपर्छ। चाहनु भयो भने खराबभन्दा खराब अवस्थालाई पछार्ने सचेतना उत्पन्न गर्न सक्नु हुन्छ।

८२ वर्षको उमेरमा मेरी आमालाई प्यारालाइसिस भयो। म उहाँलाई भेट्न अमेरिकाबाट भुवनेश्वर गएँ। दुई साता उहाँको सेवा गरेपछि मेरो फर्कने बेला भएको थियो। म गह्रौँ मनले बिदा हुन आमाछेउ गएँ र निधारमा चुम्बन गरेँ। उहाँको शब्द थियो, 'ह्वाई आर यु किसिङ मि, गो किस द वर्ल्ड!' मलाई किन चुम्बन गरेको? जा सारा संसारलाई चुम्बन गर भन्ने आमाको त्यो भनाइमा कति ठूलो दर्शन थियो! एउटी अन्धी आमाको सोच, दृष्टि कति महान्! एउटा सरकारी जागिरेकी श्रीमतीको अन्तरदृष्टि कति बृहद्! एउटा साधारण जीवनबाट असाधारण सफलता पाउने शिक्षा!

तपाईंहरू पनि के खान चुपचाप बस्नु भएको? जानुस्, संसार अगाडि उभिएको छ। गो, किस द वर्ल्ड!

(सुब्रतो बागची माइन्ड ट्री नामक सूचना प्रविधिसम्बन्धी कम्पनीका प्रमुख कार्यकारी हुन्। उनको ‘गो, किस द वर्ल्ड’ नामक पुस्तक निकै चर्चित छ। उनी आधा दर्जन पुस्तकका लेखक पनि हुन्। उनको यो लेख सन् २००६ मा भारतको बंगलोरको आईआईएम नामक प्रख्यात सूचनाप्रविधिसम्बन्धी कलेजमा दिएको भाषणमा आधारित छ।)

अनुवाद :  अच्युत कोइराला

प्रकाशित: ४ भाद्र २०७३ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App