५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्य

कुम्हालेको जीवनचक्र

भक्तपुरको च्यामासिंहनजिकै गरुडकुण्डलमा तुलसीनारायण प्रजापति र लहरमायाको घर छ। मूलढोकाबाट छिरेलगत्तै सिंगो संसारको ढोका खुलेजस्तो लाग्छ। बैठक कोठाको भित्तामा रहेको बडेमानको नक्सामा अंकित सन्तानका तस्बिर नियाल्दै गरेका प्रजापति दम्पतीको अनुहारमा सिंगो संसार झल्किन्छ।

कुम्हाले समुदायका उनीहरुले जीवनका अधिकांश समय माटाको भाँडा बनाउने चक्र घुमाए। अहिले उनीहरुको चक्र रोकिएको छ। यतिबेला कुम्हाले दम्पती नै संसारको चक्कर लगाउँदैछन्। कुम्हालेको चक्र हेैन, स्वयं कुम्हाले नै घुमिरहेका छन्।

७० वर्षीय लहरमाया प्रजापति र उनका पति ७२ वर्षीय तुलसीनारायणका सन्तानले डाँडाकाँडा हैन, संसार ढाकेका छन्। लहरमायाको लहरो युरोप, उत्तर अमेरिका हुँदै अस्ट्रेलियासम्म पुगेको छ।

उनीहरुको माइलो छोरो ज्ञानेन्द्र बेल्जियमको ब्रसेल्स, साइँलो छोरो सुरेन्द्र अस्ट्रेलियाको पर्थ र कान्छो छोरा धर्मेन्द्र अमेरिकाको ह्युस्टन बस्छन्। उनीहरु जेठो छोरो दीपेन्द्र प्रजापतिसँग भक्तपुरमा बस्दै आएका छन्।

भक्तपुरस्थित निजी निवासको बैठक कोठामा रहेको नक्सामा उनीहरुले विदेशमा रहेका आफ्ना छोरासँगै स्वदेशमै रहेका छोरा र छोरीको परिवारसहितको तस्बिर राखेका छन्। त्यसैले उनीहरुलाई सिंगो संसार आफ्नै घरजस्तो लाग्छ।

'संसारको जुनसुकै कुनामा केही भयो कि हाम्रो मन दुखिहाल्छ,' तुलसीनारायणले भने, 'सबैतिर आफ्नै सन्तान छरिएका छन्।' साँच्चै नक्साको माथिल्लो छेउदेखि तल्लो कुनासम्म उनीहरुकै सन्तानले ढाकेजस्तो देखिन्छ।

यिनै सन्तानलाई पछ्याउँदै पाँच वर्षयता उनीहरुको संसार यात्रा सुरु भएको छ। सबैभन्दा पहिला उनीहरु कान्छो छोरा धर्मेन्द्रसँग अमेरिका पुगे। काठमाडांैबाट दिल्ली, बहराइन, लन्डन हँुदै डलास पुगेको यो दम्पती त्यहाँको चकाचौधबाट अचम्भित भयो। भक्तपुरको साँघुरो गल्लीमा जीवनका अधिकांश समय बिताएका उनीहरु पिँजडाबाट निस्केका चराजस्तै रमाए।

'जुन देश गयो त्यही रमाइलो,' तुलसीनारायणले सुनाए, 'कतै समुद्र राम्रा, कतै सडक राम्रा।' अमेरिकामा ६ महिना बिताएका उनीहरुले रकेट बनाउने ठाउँदेखि हिउँ पर्ने ठाउँसम्मको अनुभव बटुले। 'हिउँमा मचकमचक कुल्चँदा झनै रमाइलो,' लामो समय माटो मुछेका प्रजापतिले भने, 'यो म कहिल्यै भुल्न सक्दिनँ।'

अमेरिका भ्रमणको एक वर्षपछि उनीहरुले साइँलो छोरा  सुरेन्द्रसँग अस्ट्रेलिया भ्रमण गरे। त्यो पनि उनीहरुको जीवनमा निकै रमाइलो रह्यो। बुहारी लक्ष्मी र नातिनातिना सिल्भिया र स्यानुअलसँग एक वर्ष बिताए। त्यस क्रममा उनीहरुले वेभरक हाइडेन, मोरे रिभर, ग्युल्डरेसन, यान्चेप नेसनल पार्क लगायत ठाउँ पुगे।

उनीहरुले पछिल्लोपटक भूकम्पपछि एक वर्षअगाडि बेल्जियम भ्रमण गरे, जुन उनीहरुलाई निकै यादगार रह्यो। बेल्जियममा दुई महिना बिताएका उनीहरुले वरपरका फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, लक्जम्बर्ग लगायत युरोपेली देश पनि घुम्ने अवसर पाए। माइलो छोरा ज्ञानेन्द्र, बुहारी जोए र नाति भिक्टर र नातिनी स्टेरासँगको भेटघाट निकै रमाइलो रहेको उनीहरुले बताए।

'तीन वर्षको नाति भिक्टरले बाजे–अजी भनेको निकै खुसी लाग्यो,' उनले भने, 'हामी जहाँ गए पनि आफ्नो संस्कृति भुल्ने छैनौं।'

सन्तान टाढा भए पनि नेपालको माया गर्ने गरेका छन्। भूकम्पपछि थिलथिलिएको नेपाललाई विदेशमा रहेका उनका सन्तानले पनि सक्दो सहयोग पठाए। नेपाल आएको उक्त सहयोग उनीहरुले शिविरमा पुगेर पीडितको हातमा दिएको सुनाए।

'हामीलाई आफ्ना सन्तान र उनीहरु बस्ने देशको माया लागेजस्तो उनीहरुलाई पनि आफ्नो जन्मभूमिको माया लाग्छ,' तुलसीनारायणले सुनाए, 'यही मायाको धागोले सबैलाई बाँधिरहेको छ।'

माटालाई मात्र हैन, सन्तानलाई पनि आकार

भक्तपुरका अधिकांश प्रजापति समुदायले माटाका भाँडालाई आकार दिए पनि सन्तानलाई भने आकार दिन नसकेको गुनासो छ। बढ्दो महँगीमा माटाको भाँडाको कमाइबाट सन्तानको उच्चशिक्षा हासिल गराउन असजिलो रहेको प्रजापति समुदायको गुनासो छ।

तर तुलसीनारायणले भने गुनासो गरेनन्। काम मात्र गरिरहे। उनी माटाका भाँडा बेच्न मुलुकका विभिन्न भागमा पुग्थे। उतै गएर काम गर्थे। उनको कमाइको मुख्य ध्येय सन्तानले राम्रोसँग पढून् भन्ने थियो, जुन अहिले पूरा भएको छ।

उनका चार छोरा र दुई छोरीमध्ये तीन छोरा र एक छोरीले  स्नातकोत्तर सकाएर कामधाममा लागेका छन् भने अर्का छोरा पनि स्नातक सकाएर सरकारी सेवामा अधिकृत पदमा कार्यरत छन्। जीवनभर माटोसँग खेलेका प्रजापति दम्पतिका सन्तान अहिले सुन भएका छन्। यिनी सुनौला सन्तानलाई पछ्याउँदै उनीहरु संसार घुम्दैछन्। उनीहरुको जीवन सुनौलो भएको छ।

अमेरिका–युरोप र अस्ट्रेलिया–भ्यायमसु (भाषा छैन)

नेपालीसमेत राम्रोसँग नबुझ्ने भक्तपुरका रैथाने यी नेवार दम्पतीको यात्रा कम्ता रोचक रहेन। भाषा नबुझे पनि उनीहरुले विभिन्न देशका मानिसको भावना बुझे। उनीहरुसँग आफ्नो भावना साटे। 'सडकमा दुईजना मात्र टहलिँदा विदेशीले गाडी रोकेर कहाँ जाने भनेर सोध्थे,' उनीहरुले भने, 'हामी इसारामा बोल्थ्यौं।' कतिपयले उनीहरुलाई भारतीय ठानेछन्। उनीहरु नेपाली–नेपाली भन्दा रहेछन्। 'अमेरिका, अस्ट्रेलिया, बेल्जियम जता गए पनि बूढाबूढीलाई माया गर्दारहेछन्,' उनीहरुले भने, 'यस्तो सम्मान नेपालमा चाहिँ कहिल्यै पाइएन।'

फरक ठाउँका फरक खान्की र फरक बोलीचाली नियालेका उनीहरुले फरक मानिसको भेटघाट निकै रमाइलो रहेको अनुभव सुनाए। 'हामी भाषा बुझ्दैनथ्यौं,' तुलसीनारायणले भने, 'उनीहरुले गरेको माया र सम्मान सहजै बुझ्थ्यौं।'

संस्कृति भुलेका छैनन्

हिलोमाटो गरेर सन्तानलाई उच्च शिक्षा दिलाउन सफल यी दम्पतीले संस्कार पनि सिकाएका छन्। बेल्जियममा रहेका ज्ञानेन्द्रले त्यहाँकी नागरिकसँग भक्तपुरमै हिन्दु परम्पराअनुसार बिहे गरे। बुहारीलाई छिमेकीको छोरी बनाएर त्यस घरमा जन्ती गएका थिए। 'उतै जन्मेकी नातिनी अन्नप्रासनका लागि साउन अन्तिम साता नेपाल आउँदैछन्,' लहरमायाले सुनाइन्, 'जहाँ बसे पनि आफ्नो धर्मकर्मलाई बिर्सन हुँदैन।'

उनीहरु जता घुमे उतै रमाए। पहिलोपटक अमेरिका पुगेका उनीहरुलाई अमेरिका बिछट्टै मन पर्‍यो। त्यसपछि अस्ट्रेलिया पुगेको उनलाई त्यो पनि गज्जब लाग्यो। पछिल्लो पटक बेल्जियम पुगे, त्यो झनै राम्रो। तर त्योभन्दा पनि राम्रो उनीहरुलाई आफ्नै देश लागेको छ। 'हामी जता गयौं त्यतै राम्रो,' उनले यात्राको निचोड सुनाए, 'तर नेपाल तीभन्दा पनि निकै राम्रो।'

प्रकाशित: २२ श्रावण २०७३ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App