जनकपुर–दुई दिनदेखि हराइरहेको जनकपुर –१९ बेंगाशिवपुर निवासी असलम राईनका पाँच वर्षीय छोरा असरफ आइतबार बिहान आफ्नै घर पछाडि हत्या गरिएको अवस्थामा फेला परेको छ। वैदेशिक रोजगारको सिलसिलामा कतार गएका असलमका एकमात्र छोरा असरफलाई शनिबार बिहान करिब नौ बजे अपहरण गरिएको परिवारजनले जनाएको छ ।बिहान नौ बजेबाट नै बेपत्ता भएको छोरालाई दिनभर गाउँको घर–घरमा खोजियो । कतै फेला नपरेपछि साँझ प्रहरीलाई खबर गरिएपनि रातिमै बालकको हत्या भएको मृतकका काका सोमन राइनले बताए । आइतबार बिहान पाँच बजे घर पछाडिकै गहुँबारीमा असरफ मृतअवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । उनको नाक र आँखाबाट रगत आएको देखिएकाले घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट अनुमान गर्न सकिने जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले जनाए ।
घटनास्थलको मुचुल्कापछि शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । हत्या गरिएको बालकलाई फिरौतिको लागि बाहिरका अपराधीले अपहरण गरेको जस्तो नदेखिएको बताउँदै जोशीले नागरिकन्यूजसँग भने, 'व्यक्तिगत रिसइबी साध्न गाउँकै व्यक्तिहरुले यस्तो घटना गरेको जस्तो देखिन्छ ।' घटना गम्भिर प्रकृतिको भएको ठहर गर्दै प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जोशीले जनाए ।
प्रकाशित: ६ चैत्र २०७२ २३:४५ शनिबार