९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

प्रेमकै पूजा

जहिल्यै शिवको काखमा पार्वती देखिन्छिन्। कृष्ण र राधाको चर्चा हुन्छ। परापूर्वकालदेखि शुरु भएको प्रेमको व्याख्या व्यापक छ। चराचुरुङ्गीदेखि मानवसम्म प्रेममै बाँचेका छन्। जान अन्जान 'प्रेम'कै पूजा गरिएको हुन्छ।

मानिस आफू अनुकुल प्रेमलाई परिभाषित गर्छन। फराकिलो बनाएर हेर्दा दुइजना बीचको सम्बन्धलाई मात्र प्रेम भनिदैन। गीतकारले प्रेमलाई गीतमा ढाल्छ। संगीतकारले मधुर धुनमा परिणत गराउँछ। गजलकारले गजलमा व्यक्त गर्छ, मूर्तिकारले मूर्तिमा, चित्रकारले चित्रमा, लेखकले कथा र उपन्यासमा। प्रेम व्यक्त गर्ने आ–आफ्नै माध्यम छन्। तरिका छन्।

लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति 'मुनामदन'मा कलाकार लैनसिंह वाङ्देलले चित्र कोरे। मदनसँगको विछोडले घायल मुनाको 'प्रेम' वाङ्देलको चित्रमा झल्किएको थियो। विछोडमा होस् वा मिलनमा प्रेम व्यक्त भइरहेको हुन्छ।

चित्रकार हरिबहादुर खड्काले पत्नीको देहान्तपछि विछोडको प्रेम क्यानभासमा उतारे। दुई दशक अघि पत्नीसँगको प्रेमलाई नांगो चित्रमा उतार्न मन थियो। अफसोच अरुले के भन्लान भन्ने डरैडरले जेनतेन प्रेमलाई उतारे।

'माया प्रेम सबैको हो। उनीसँगको दिनचर्या चित्रकलामा उतारेका थिएँ', उनले भने। जीवनसंगी गुमाएपछि प्रेम पोख्ने माध्यम रङ र कुची मात्र थिए। उनले एउटा मात्र 'एरोटिक' पेन्टिङ बनाए। त्यो चित्र कोठामा लुकाएर राखे। कोठाको कुनामा घोप्टो पारेर लुकाइराखेका थिए। कोठा सफा गर्दा कसैले बाहिर निकालेर राखिदिएछन्। श्रीमती नभएको व्यक्तिले नग्न चित्र बनाएछ भन्ने डरले हत्तपत्त रङ मार्फत लुगा लगाइदिए। सम्झन्छन्, 'त्यत्तिकै राख्या भए पनि हुन्थ्यो।'

उनी भन्छन्, 'कलाकारको भित्री आँखा हुन्छ। लुगा लगाएका व्यक्तिलाई नांगो स्वरुपमा देख्न सक्छौं।' हरेक चीजबाट प्रेम देखाउन सकिने स्पष्ट पारे। बंगलादेश गएर समुद्र किनारमा ज्वारभाटा देखे। उनले तुलना गरे, सिनेमामा अंगालो मारेर नाचिरहेका नायकनायिका जस्तै! छाललाई प्रेमसँग तुलना गर्दै लडिबुडि नाचिरहेका प्रेमीप्रेमीकाको रङमार्फत रुप दिए।

सकारात्मक भावले हेर्योस भने, एउटा रुखको हाँगाले पनि अंकमाल गरिरहेको हुन्छ। हावा प्रेमसँगै तरंगित भैरहेको हुन्छ। बुधबार संस्कृतिविद् सत्यमोहन जोशीको घरमा पुगेर फर्केका उनले भने, 'प्रेमले नै उहाँलाई भेट्न गएको हुँ। केही बिसन्चो भएको रहेछ। श्रद्धा पनि माया हो।'

कुनैबेला देखिन्छ, कुनैबेला अनुभव गर्न सकिन्छ। कसैले भनेर, देखाएर हुने चीज पनि होइन। व्यक्तिको आत्माबाट आउने एकप्रकारको सकारात्मक भाव भन्न सकिन्छ। जसले आत्मीयता जगाइदिन्छ।

युवा चित्रकार सौरगंगा दर्शनधारीले प्रेमलाई क्यानभासमा आफ्नै तरिकाले पस्किने गरेकी छिन्। उनका चित्र प्रेमलाई प्रतीकका रुपमा देखाउँछन्। कहिलेकाँहि 'चन्द्रमा' प्रेमको प्रतीक बन्छ। कहिले कमलको फूल, कहिले सुन्दरी। जब कुची र रङसँग खेल्न थाल्छिन, उनको मनमा प्रेमील जोडीसँग माया बसिसकेको हुन्छ। त्यही माया क्यानभासमा छताछुल्ल हुन्छ। कहिलेकाँहि मन्दिर पुग्छिन्। मन्दिरमा राखिएका टुँडालमा चित्रभित्र डुब्छिन्। उनीजस्तै टुँडालमा आँखा पुर्या उनेहरु कसैले हेरिरहन्छन्, कसैले नदेखे झैं गरिदिन्छन्।

ती टुँडालमा कोरिएका मूर्ति कसैलाई प्रवाह नगरी एक अर्कालाई प्रेम गरिरहेछन्। तिनीहरुलाई कसैले घृणा गर्न सकेको छैन। बरु उल्टो पूजा पो गर्छन मान्छे। समाजले किन घृणा गर्छ! फेरि उनी प्रेमलाई प्राकृतिक परिभाषा दिन खोज्छिन्। अनि क्यानभास अघि बस्छिन्, लामो केशसँग प्रेमलाई तुलना गर्दै भन्छिन्, 'केश म सँग रहुन्जेल यसको मूल्य छ। जब काँगियो लगाएर कोर्दा झर्छ तब बढारेर डस्टबिनमा फाल्छौं।'

अनि क्यानभासमा लामो कपालभित्र बनाउँछिन् त्यसभित्रै अटाउँछिन् 'इरोटिक फिगर'। नकारात्मक टिप्पणी बनिदिने प्रेमकथा रङले सुन्दरता थपिदिन्छ। क्यानभासको चित्र हेरेर कसैले नकारात्मक टिप्पणी गर्ने हिम्मत गर्दैनन्।

पानीजस्तै छ जीवन। जहाँ राख्यो त्यही आकार दिन्छ। पानी र महिला उस्तै लाग्छन्। त्यसैले त निलो पृष्ठभूमिमा चन्चल एक किशोरीको खुट्टामा कल्ली लगाइएको छ, उसको खुट्टा पानीमा देखिन्छन्। छालसँगको संघर्षपछि बाहिर निस्केको कमल फूलजस्तै किशोरीको जीवन चुनौतिसँग दौडिरहेछ। उसले चाहेर पनि कसैसँग प्रेम गर्न बन्चित छे। किनकि उसको खुट्टामा कल्ली लगाइएको छ। समाजभन्दा टाढा ऊ दौडिन सक्दिन।

एरिना ताम्राकार एउटी कलाकार मात्र होइनन्। आमा पनि हुन्। त्यसैले त उनका चित्र उत्तिकै प्रेमील हुन्छन्। 'तिमी र म' शीर्षकमा चित्र प्रर्दशनी गरिसकेकी छिन् उनले। भरपर्दो व्यक्ति नजिकै छ भने नबोले पनि आड दिन्छ। त्यो त उनी पतिसँगै घरमा हुँदा कामले बोल्ने समय नहुँदा पनि मायाको अभाव ठान्दिनन्। आ–आफ्नै स्टूडियोमा रङ र कुचीसँग खेलिरहँदा क्यानभासमा प्रेम पोखिएकै हुन्छ। भन्छिन्, 'मायाका लागि अंगालो नै मारेर बस्नु पर्दैन।'

एक जोडी पेन्टिङको फ्रेमभित्र अटाउँछिन्। साथ हुँदा माया यसै आइदिन्छ। उनका चित्रमा जब अलिकति दुःखसुख कसैसँग साटिन्छ अनि प्रेम शुरु हुन्छ। साथीसँगको माया, बच्चा हुँदाको साथी, असल साथी, विवाह पछिको साथी सबैसँग फरकफरक भावमा प्रेम हुन्छ। भावनात्मक एकता प्रेम लाग्छ। त्यसैले उनका पेन्टिङमा प्रेम झल्कन्छ, खुसीमा हल्का उज्यालो रङ मिसिन्छ।

'आमा र बच्चा' उनको मनपर्ने मायाको क्षण हो। अन्जान बालकलाई काखमा च्यापेकी आमाको माया महसुस उनले गरिसकेकी छिन्। त्यही उनका चित्रमा निस्वार्थ प्रेम बनेर थाहै नपाइ कुची घुमेको हुन्छ। दुई वर्षसम्म आमाले जीउमै टाँसिरहने बच्चासँगको प्रेम अरु कसैसँग तुलना गर्न मन लाग्दैन ताम्राकारलाई। त्यही उनका चित्रमा देखिन्छन्। भन्छिन्, 'एकदमै नजिक। जब ठूलो हुन्छ आमासँग बच्चा टाँसिन आउँदैनन्। छोराछोरीप्रतिको मायामा मज्जा लाग्दैन।'

आमा र बच्चा, पतिपत्नी, साथी, घरपरिवार, नातागोता, चिनजानेको व्यक्ति सबैसँग फरक खालको माया दर्शाइरहेको हुन्छ। माया उस्तै लाग्छ तर, हरेकसँग भावनाको मूल्य पक्कै फरक हुन्छ।

चित्रमा माया झल्काउने आ–आफ्नै तरिका छन्। मिथिला संस्कृतिमा माया प्रेमलाई विवाहमा केन्द्रीत गरेको हुन्छ। एकअर्काको जीवन गरिएको समर्पण मिथिला कलामा देख्न सकिन्छ।

मिथिला कलामा लामो समयदेखि रङ र कुची दौडाइरहेका कलाकार एससी सुमन प्रेमलाई संस्कृतिसँग जोड्छन्। उनी भन्छन्, 'प्रेम मिथिला पेन्टिङ भित्रको विशेष पाटो हो। प्रेम बिनाको मिथिला चित्र अपूरो हुन्छ।'

पहिला बालविवाह हुन्थ्यो। त्यसलाई लक्षित गरी विवाहका दिन भित्तामा बनाइने चित्रमा यौन शिक्षा केन्द्रीत हुन्थे। प्रेममा रमाएका जोडीको चित्र मिथिला संस्कृतिभित्रको एउटा पाटो हो।

जनकपुरमा जब सीताको विवाह गरिदिए। छोरीका विवाहका लागि जनकपुर नगरी सजाउन शुरु गरियो। राजा जनकलाई शिक्षाका महर्षी भनिन्छ। त्यसबेला उनले 'कोहबर' घरको संरचना शुरु गरेका थिए। यौन शिक्षाको महत्व फैलाउन परम्परागत चित्रकला मार्फत 'कोहबर' बनाइएको मानिन्छ। विवाहपछि सुहागरात मनाउने ठाउँलाई कोहबर घर भनिन्छ। विस्तारै परिवर्तनसँगै परम्परागतमा समकालीन चित्र थपिँदै छन्।

भित्ताभरि कदमको रुखमुनि बसेर कृष्ण र राधा प्रेममा तल्लीन रहेका चित्र मिथिला संस्कृतिमा देख्न सकिन्छ। शिव र पार्वती, लटपटुवा सुगाका चित्र बनाइन्छन्। परम्परादेखि चलिआएको प्रेमलाई विवाहपछि अझै पूर्णता मानिन्छ। गौरीपूजामा पार्वतीलाई हात्तीमा राखेर बेहुलाबेहुलीले प्रेमपूर्वक सारी र धोतीको गठबन्धन हुन्छ।

चित्र बिनाको विवाह पूर्ण मानिँदैन। चित्रले रोमान्टिक मुडमा लैजान मद्दत पुर्याधउँछ। जीवनभर ऊर्जा श्रोत मानिने नवग्रह, पञ्चदेवता पनि चित्रमा हुन्छन्। चित्रमा यौन सम्पर्क सहमतिमा हुनुपर्छ भन्ने सन्देश सहित अंगालिएका सुगा पनि बनाइन्छन्।

एक हप्ता अघि नविन सुबेदीले मूर्तिकलामा प्रेमील जोडी प्रदर्शन गरे। 'मोहिनी' शीर्षकमा काल्पनिक पात्रको शारीरिक ढाँचालाई देखाए। प्रेममा लिप्त एक्लै अंकमालमा रहेको व्यक्तिलाई उनले मूर्तिमा उतारेका थिए। उनी भन्छन्, 'एउटा कपडा लगाएको मान्छे बनाउन न्यूड थाहा पाउनु आधारभूत विषय हो। कलामा प्रेम हरेक तरिकाबाट प्रस्तुत गर्न सकिन्छ।'

चित्रकार धनु याख्या प्राय चित्र र मूर्तिमा नारी आकृति उतार्छन्। प्रेमलाई आमा र बच्चाको रुपमा प्रस्तुत गर्छन्। उनी नारीलाई सौन्दर्यको प्रतीक भन्न रुचाउँछन्। शक्तिको प्रतीक, सिर्जनाको रुपमा देवीलाई क्यानभासमा उतार्छन्।

दुःख, वेदना, अस्तित्व बाजी राखेर सिर्जना गर्छन्। संसारमै ठूलो आमा हुन्। आमाले देखाउने माया, ममता अन्यत्र कतै पाइँदैन।

मूर्तिमा मन्त्रमुग्ध जोडी अलौकिक आनन्दको अनुभूतिमा रमाइरहेको दृश्य प्रेममा उतार्छन्। नारीले जत्तिको निश्कलंक माया आफूले दिन नसक्ने उनी बताउँछन्। उनी आफैले महसुस गरेको प्रेम चित्र र मूर्तिमा उतार्छन्। आफूलाई आमाले गर्ने स्नेह पत्नीले बच्चालाई दिने प्रेममा एकरुपता भेट्छन्। अनि उतार्छन मूर्तिमा प्रेमील जोडी। क्यानभासमा आमा र बच्चा।

प्रेमको सागरमा डुबेर कलाकारले भाव व्यक्त गरिरहेको हुन्छ। प्रेम प्रस्तुतिको एउटा माध्यम चित्र, मूर्तिमा पोखिएका भाव निकै फरक लाग्छन्। भगवानको नाममा प्रेमकै पूजा हुन्छ। हरेक व्यक्तिसँग प्रेम छ, र त भनिन्छ संसार प्रेममै अडेको छ।

प्रकाशित: २९ माघ २०७२ २२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App