१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

मुडेगाउँ जाँत एक्सप्रेस

उद्यमी गोपी हमालको अगुवाइमा कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा 'सुन्दर सुदूरपश्चिम' अभियान चलाएपछि देश/विदेशमा त्यहाँका पर्यटकीय सम्पदाहरूको राम्रो प्रचार भइसकेको छ। अभियानले सुदूरपश्चिमेलीमा आत्मगौरव बढाएको छ।

अपिशैपाल, खप्तड, बडिमालिका, रामारोशन, शुक्लाफाँटा, घोडाघोडी, टीकापुर, पाताल भुवनेश्वर गुफा तथा अनगिन्ती मन्दिरहरूले सुसज्जित सुदूरपश्चिम साँच्चै सुन्दर छ। त्यहाँका सांस्कृतिक पर्वहरूमा गुन्जिने देउडा भाका र थरीथरीका नाच मनमोहक छन्।

जात्रालाई डोट्याली भाषामा 'जाँत' भनिन्छ। सुदूरपश्चिममा धुमधामसँग जाँत मनाइन्छ। कात्तिक वैकुण्ठ चर्तुदशीका दिन ठूलै मेला लाग्छ। उग्रतारा (डडेल्धुरा), शैलेश्वरी (डोटी) लगायतका मन्दिरहरूमा। पूजापाठ, बाजागाजा, नाचगान र खानपिनको संगम। इन्द्रेणीझैं रंगीन बन्छ जीवन।

केही दिनपहिले सुदूरपश्चिमको जाँत हेरियो डोटीको मुडेगाउँमा। डाँडाको थाप्लोमा ९ मंसिर ०७२ का दिन असिउँ जाँत भरियो भने १० गते बेँसीमा बालुका जाँत। असिउँ महादेव हुन्। बालुका पार्वती। डाँडामा असिउँ माणु (मन्दिर) मन्दिर छ। त्यस्तै सेती किनारमा बालुका माणु।

संस्कृतिविद् पदमराज जोशी 'भारद्वाज'को पुस्तक 'कालोपाताल'का अनुसार असिउँ स्थानीय देवताहरूका राजा हुन्। जलदेवता। वरदानी देवता मानेर उनलाई पुजिन्छ। मनोकांक्षा पूरा भएपछि पूजापाठ गरिन्छ। मन्दिरमा घन्टी, त्रिशूल, गोल, आलम, लक्षबत्ती आदि चढाइन्छ।

बिहानको कलिलो घाममा उकालो लाग्दा मन्दिरमा गाउँलेको उपस्थिति बाक्लै थियो। मन्दिर स्यानो छ, आस्था ठूलो रहेछ। भित्र पूजा चल्दै थियो। गाउँलेहरू पूजाको सामान लिएर लामबद्ध थिए। मैले पनि धूप बालेँ। पुजारीका हातमा भेटी राखिदिएँ।

मन्दिरबाहिर अग्लाअग्ला रूख। सल्लाको फेदमा बसेँ, तल सेती नदी यु टर्न बगेकी। अलि पर दिपायल बजार। हेरिरहूँ लाग्ने दृश्य। मुडेगाउँमा जन्मी/हुर्केर राष्ट्रिय ख्याति कमाइसकेका पर्यटनकर्मी दाजु अमरबहादुर शाहीको योजना सम्झे। जन्मथलो मुडेगाउँमा 'म्याङ्गो रिसोर्ट' खोल्ने योजना। त्यहाँ उनको आँप बगान छ। रिसोर्ट बनाए राम्रै हुन्छ।

नयाँ साथी लोकेन्द्र शाहीले वरपरका गाउँ चिनाइदिए। बिहानै मुडेगाउँबाट धनबहादुर शाहीलाई पछ्याउँदै उकालो चढ्दा बाटैमा चिनापर्ची भएको थियो लोकेन्द्रसँग। त्यहीँ भेटिए रामबहादुर कार्की पनि। ०६७ फागुनमा खप्तड जाँदा कार्की दाइ हाम्रो सहयोगी बनेका थिए।

घमाइलो दिन, हातमा आलम (भगवान्लाई चढाउन बनाइएको रातो कपडाको झन्डा) बोकेर उभिएका थिए गाउँले। धनबहादुर दाइले पनि अघि नरबहादुर दमाईलाई सिलाउन लगाएर आलम बोकेका थिए। तल महाकाली माविको चौतारोमा आलम सिलाउन भ्याइनभ्याई थियो नरबहादुर दाइलाई।

जीवनको पहिलो कमाइबाट आफू पढेको त्यही महाकाली माविमा तीनकोठे पक्की भवन बनाइदिएका रहेछन्, अमर दाइले। त्यसको तस्बिर खिचेँ।

मन्दिर हातामै पनि दमाई दाइहरू हातेकल घुमाइरहेका थिए। छेउमा दमाहा थियो। हेर्दाहेर्दै गाउँले थपिए। मन्दिर पछाडि सुन्तला र मौसमको व्यापार चल्दै थियो। उखुका लाँक्रा पनि। हामीले सुन्तला खायौं।

दिउसो मन्दिरअगाडि गाँज बनाइयो। बरको लौरोमा रेशमी वस्त्र लगाएर गाँज बनाइन्छ। त्यसको शिरमा चमर (चौंरीगाईको पुच्छर) थियो। गाँजलाई पार्वतीको प्रतीक मानिँदो रहेछ। दिउँसो माहोल रंगीन बन्यो। पूजापाठ सकियो। बाजा बजाउन सुरु भयो।

दमाईहरूले दमाहा घन्काएपछि धामी नाच्न थाले। धामीमा देवता चढ्दो रहेछ। 'धामीहरू दैवीशक्ति प्रदर्शन गर्छन्,' संस्कृतिविद् जोशी भन्छन्, 'यो जात्राको रमाइलो पक्ष पनि हो।'

दमाहाको तालमा नाचूँनाचूँ लाग्यो। निकैबेर चल्यो नाच। साँझपख त्यो गाँज तल बालुकादेवी मन्दिरमा लानुपर्ने चलन रहेछ। गाँजलाई फनफनी घुमाउँदै तल लगियो। घरघरबाट दियो कलशसहित आएर गाउँलेले गाँज दर्शन गरे, धुपबत्ती चढाए। गाँज, आलम र गोलसहित हिँड्ने समूहलाई देउरो भनिँदो रहेछ।

गाँजसहित धामी, वाद्ययबादक र सरोकारवालाले रात बालुकादेवीमै बिताए। भोलिपल्ट त्यसैगरी बालुका जाँत मनाउनु थियो। दुवै मन्दिरमा माघ शुक्ल पूर्णिमा, जेष्ठ शुक्ल पूर्णिमा र कात्तिक वैकुण्ठ चर्तुदशीमा मेला लाग्छ।

बालुकादेवीको महŒव ठूलो छ। बाला (बालिका) पार्वतीले शिवलाई पति पाउन बालुवाको शिवलिंग बनाएर त्यहाँ पूजा गरेकी रैछिन्। पार्वतीले बालकपनमा पूजा र तपस्या गरेको ठाउँमा बालुकादेवी मन्दिर बनाइएको हो। बालादेवीको ऐतिहासिक नाउँ बालासैनी भएको कालोपाताल पुस्तकमा लेखिएको छ।

असिउँ जात्रा भएको भोलिपल्ट बिहान गाँजसहितको देउरो भागेश्वर दर्शन गराउन सेती नदी किनारमा पुग्यो। किनारको कपडेउती मन्दिर नजिकबाट भागेश्वर दर्शन गराइयो। बाजागाजासाथ देउरो त्यहाँ पुगेको थियो। सेतीको जल सिँचेर गाँज घुमाएपछि दमाहा बजाउँदै उनीहरू बालुकादेवी मन्दिर फर्के।

देउरो आउनुअघि हामी भागेश्वर पुगिसकेका थियौं। लोकेन्द्र र प्रभात शाहीसँगै। भारतमा सिए अन्तिम वर्ष पढिरहेका प्रभात जाँत भर्नकै लागि भनेर गाउँ आएका रहेछन्। सानैदेखि जाँतमा रमाएको झलझली सम्झेर उनी आएका। मान्छेको जीवनमा जात्रापर्वहरूको प्रभाव ठूलो हुन्छ।

सेती किनारमा खुला आकाशमुनि छन्, भागेश्वर। भागेश्वर र सालमुनि देवताको नाउँ मैले ०६७ सालमा धनगढीको होटल डिभोटी सुनेको थिएँ। कृष्णबहादुर महरा दाइले होटलका दुई कक्षको नाउँ सालमुनि र भागेश्वर राखेका छन्। भागेश्वर र सालमुनिप्रति उनको अगाध आस्था छ।

भागेश्वर बझाङको कमलतडोबाट बग्दैबग्दै यहाँ आइपुगेको विश्वास छ। कपडेउती देवताले नदीमा बग्न नदिई यहीँ रोकेर स्थापित गरेका थिए भनिन्छ। भागेश्वरलाई सत्य र न्यायका प्रतीक जलदेवताको रूपमा पुजिन्छ।

भागेश्वर दर्शनपछि गाँज घुमाएको हेरेर हामी बाटोमाथि रहेको सालमुनि मन्दिर पुग्यौं। पहिला नदी किनारमा सालको रूखमुनि देवता रहेछन्। त्यही भएर सालमुनि भनिएको रे। सडक खन्नेक्रममा माटोले पुरिने सम्भावना भएकाले सडकमाथि शिला सारिएछ।

कपडेउती र भागेश्वर साकाहारी देवता हुन्। तर, सालमुनि मांसाहारी देवता मानिन्छन्। सालमुनि भागेश्वर र कपडेउतीका प्रमुख अंगरक्षक देवता रहेछन्। त्यहाँ कालोपाताल क्षेत्रका असंख्य मांसाहारी देवताको बास भएको विश्वास गरिन्छ। मसानी, गौणीबाघ, कालादानव, भूतप्रेतादि गण, गन्याप मसानी, कालापत्थर मसानीलगायत देवताको बासस्थल।

सालमुनिमा दलित समुदायका पुजारी छन्। हामी पुग्दा पुजारी रामदास र चन्द्रबहादुर बादी थिए। सालमुनि दर्शन गरेर हामी कालागाड बजार गयौं। बजारमा सेतीका माछा पाइन्छ। असला, भोटे, बाम र शट्टा जातका माछा। डबलबहादुर दाइको पसलमा हामीले फ्राई माछा खायौं प्रतिप्लेट १४० रुपैयाँ तिरेर। वर्षैभरि माछा पाइँदो रहेछ।

सर्लाहीका ठगाहा सहनी ०५२ सालदेखि सेतीमा माछा मार्दै आएका छन्। पहाडियासँग मिलेर बसेका उनलाई मुडेगाउँवासीले चाचा (काका) सम्बोधन गर्छन्। रमाइला सहनीले माछा मार्दाका घटना सुनाए। उनी कालागाडमै पसल खोलेर बस्ने धुनमा छन्।

कालागाडबाट उकालो चढेर बालुकादेवी पुग्दा त्यहाँ मान्छेको जात्रा लागिसकेको थियो। मन्दिरअगाडि गाँज थियो। टाढाटाढा गाउँले आएका। कति धेरै मान्छे! बदाम, सुन्तला, उखुमात्र होइन मिठाइ व्यापार पनि चम्केको थियो। पहारिलो घाममा बसेर हामीले पनि खायौं बदाम र सुन्तला।

त्यहाँ भेटिए पूर्व डिआइजी केशबहादुर शाही। हिजो उनले असिउँ मन्दिरमा दराज र केही चमर चढाएका थिए। भित्र पूजा चल्दै थियो। बाहिर भिड बढ्दै गयो। देउरो तल बारीमा पुर्या्इयो। धुलो उडाउँदै गाँज नचाइयो। अलिक बेरमा दमाहा घन्किन थाल्यो। धामीहरू काम्दै नाच्न थाले।

धामी नाच्नेक्रम रोकिएपछि फेरि उसैगरी गाँज नचाइयो। अनि गाँजसहितको देउरो उकालो चढ्यो। असिउँ मन्दिर पुगेपछि जाँत सकियो। वर्ष दिनपछि फेरि त्यस्तै रौनक छाउनेछ, मुडेगाउँमा।

दुःखको कुरा— मुडेगाउँ क्षेत्रबाहेकका नेपालीले नै यस्ता सांस्कृतिक जात्राबारे थाहा पाउन सकेका छैनन्। असिउँ, बालुकादेवी, सालमुनि, कपडेउती, भागेश्वरलगायत देवदेवी दर्शनको प्याकेज बनाउन सकिन्छ। देश/विदेशका पर्यटक लोभ्याउन सकिन्छ। सुदूर तथा मध्यपश्चिमको पर्यटन प्रवर्द्धनमा योगदान पुर्यागउँदै आएका रैका ट्राभल्सका प्रबन्ध निर्देशक अमर दाइ भछन्, 'जात्राकै बेला पारेर खप्तड, बडिमालिका वा रामारोशन पदयात्रा प्याकेज बनाएर बेच्न सके राम्रो हुन्छ।'

सदियौंदेखि जाँत चलिरहेको छ। त्यसलाई व्यवस्थित बनाउन ढिला भइसक्यो। एउटा राम्रो समिति बनाएर पूजामा सहभागी पण्डित, धामी र वाद्यबादक सबैले पारिश्रमिक पाउने व्यवस्था मिलाउनुपर्छ। अन्यथा धर्मका लागिमात्रै भनेर सधैं जाँत चल्ला भन्न सकिन्न।

जाँत हेरेर हामी डबल दाइको पसलमा पुग्यौं। मन अघाउने गरी माछा खायौं। हामीले झैं सुन्दर सुदूरपश्चिमका जाँत र गन्तव्य घुमेर आनन्दित हुने वातावरण सबैले पाउन सकून्। त्यसका लागि जाँतको राम्रो प्रचार र घुमफिर प्याकेज चाहिन्छ। आस्थासँग जोडिएका हाम्रा पर्वले पक्कै मोहनी लगाउँछन्।

'सुन्दर सुदूरपश्चिम'मा अब पर्यटकीय पूर्वाधार विकास र मार्केटिङ अभियान चलाउने बेला भइसकेको छ। गोपी, अमर र महरा दाइहरूले यसमा सक्रियता बढाउनुपर्छ है।


कर मिनाहा

कृष्णबहादुर महरा

अध्यक्ष, पर्यटन विकास समाज

सरकारले सुदूरपश्चिमको पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ। निजी क्षेत्र ठूलो लगानी गरेर रिस्क मोल्दैन। त्यसैले सुदूरपश्चिममा व्यवसायीलाई केही वर्ष कर मिनाहा दिने व्यवस्था मिलाउनुपर्छ। ट्याक्स फ्रि जोन घोषणा गर्न सके लगानीकर्ता आकर्षित हुनेछन्। पर्यटनमैत्री सरकारी नीति चाहियो।

दैवीशक्ति

यदुनाथ जोशी

पुजारी, असिउँ तथा बालुका मन्दिर

असिउँ र बालुका देवीको दर्शनले मनोकांक्षा पूरा हुन्छ। जाँतका बेला धामीहरूले दैवीशक्ति प्रदर्शन गर्छन्। उनीहरू कामेका बेला बिरामीले सोधपुछ गर्छन्। ती देवताबाट आशीर्वाद पाउँछन्। देवताहरूको नाच सदियौंदेखि चलेको छ। यो जात्राको रमाइलो पक्ष पनि हो।

सबैलाई पारिश्रमिक

चक्रबहादुर नेपाली

मुख्य दमाहा बादक

धर्मका लागि भनेर बाउबाजेको पालादेखि हामीले जाँतमा बजाउँदै आएका छौं। बाजा बजाएस्वरूप मेरो परिवारले हरेक घरबाट बर्सेनि चार माना धान पाउँछ। तर, अरू वाद्यबादकले केही पाउँदैनन्। त्यसैले सबैलाई उचित पारिश्रमिक दिने व्यवस्था मिलाइदिए राम्रो हुन्थ्यो।

पर्यटक लोभिन्छन्

अमरबहादुर शाही

पर्यटन प्रवर्द्धक, सुदूर तथा मध्यपश्चिम

हाम्रा जात्राहरूले पर्यटक लोभ्याउन सक्छन्। जाँतका बेला खप्तड, बडिमालिका, रामारोशन, अपिशैपाल, सुर्मासरोवर लगायत क्षेत्र घुमाउने प्याकेज बनाएर पर्यटक आकर्षित गर्न सकिन्छ। जाँत देखाएर तिनलाई ती ठाउँमा घुमाउन सकेसके स्थानीयलाई फाइदा पुग्छ। जाँतहरूको प्रचार जरुरी छ।

संरक्षणको पर्खाइ

पदमराज जोशी 'भारद्वाज'

कालोपाताल पुस्तकका लेखक

कालोपाताल क्षेत्रका देवदेवीका मन्दिर क्षेत्रमा तारबार जरुरी छ। संरक्षणका लागि सरकारले पहल गर्नुपर्छ। साथै यस क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन हामी सबैले हातेमालो गर्नुपर्छ। सेतीको र्यासफिटङसँगै यहाँका मन्दिरहरूमा धार्मिक पर्यटक बढाउन सके राम्रो हुन्छ।

वर्षैभरि माछा

डबलबहादुर बोगटी

पसले कालागाड

सेतीको माछा स्वादिलो हुन्छ। नदीमा वर्षैभरि माछा पाइन्छ। चैत–वैशाखमा बढी हुन्छ। माछा खान टाढा–टाढाबाट पनि आउँछन्। हामी फ्राई तथा सुप हालेको माछा बेच्छौं। माछाको सुकुटी पनि बेच्छौं। सुकुटी कोेसेली भनेर लैजान्छन्।

प्रकाशित: २५ मंसिर २०७२ २२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App