१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

टहरामा भूकम्पपीडितको सकस

गोरखा- ताप्ले गाविस ५ का जुम्मदिन मियाँको परिवारलाई काखे छोरो कसरी हुर्काउने भन्ने चिन्ता छ। चार सन्तान हुर्काएका उनलाई भूकम्पले वर्ष दिन पनि नपुगेको छोरो हुर्काउन सकस बनायो। टहरामा दिन बिताउँदै आएका मियाँलाई कसरी चिसोबाटो जोगाउने भन्ने अर्को चिन्ता छ। मियाँले भने, 'जस्ता बारेर बसेका छौँ, चिसो बढेको छ, आफू त जसोतसो थेगिएला, बच्चा जोगाउनै मुस्किल।'उनको छिमेकी हाजिसेद मह्मद मियाँको घरमा ८ सदस्य छन्। उनीहरु अस्थायी टहरामा फल्याक ओछ्याएर सुत्छन्। भुइँको चिसो र जस्ताको शीत चुहिन्छ। सुत्न ग्ााह्रो हुन्छ।

गोरखा नगरपालिका ४ की गीता आलेको ५ महिने छोरी छिन्। त्रिपाल बारेर उनी टहरामा बस्छिन्। छोरीलाई चिसोले निमोनिया हुने डरले उनी घाम लागेपछि दिनभर बाहिरै बस्छिन्। साँझ पर्दानपर्दै आगोमा तेल लगाउँदै सेकाउँछिन्। 'रात कहिले बित्ला र घाम लाग्लाजस्तो हुन्छ,' आलेले भनिन्, 'चिसोले समात्यो भने निमोनिया हुन्छ, रुघा लाग्छ, उल्टी गर्छ, केही होला कि भन्ने चिन्ता लाग्छ।'

भूकम्पपछि घर भत्कँदा दुःख भोग्दै आएका पीडितलाई चिसोबाट कसरी जोगिन सकिएला भन्ने चिन्ता छ। हरेक जसो घरमा वृद्धवृद्धा र बालबालिका, शिशु छन्। चिसोले बालबालिका र वृद्धवृद्धालाई चाँडो असर गर्ने स्वास्थ्यकर्मी बताउँछन्। 'नवजात शिशु, बालबच्चा र वृद्धवृद्धामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ,' स्वास्थ्यकर्मी कृष्ण ढकालले भने, 'उनीहरुलाई चाँडो चिसोले समात्छ।' चिसोबाट बच्न तातो खानेकुरा खाने, ओढ्ने ओछ्याउने तातो गरी सुत्नु नै उत्तम उपाए भएको चिकित्सक बताउँछन्। पीडितको घरसँगै लत्ता कपडा पुरिँदा समस्या भएको हो। उत्तरी दुर्गम गाविस बारपाक, लाप्राक, उहीया, काशिगाउँ, केरौँजा, छेकम्पार, चुम्चेत, ल्हो, प्रोक, सामागाउँ लगायत गाविसमा हिउँ पर्छ। यी गाविसमा अत्याधिक चिसो छ। भूकम्पका कारण क्षति पनि धेरै भएको छ।

भूकम्पपछि विद्यार्थीलाई पनि समस्या भएको छ। विद्यालयमा रहेको पक्की भवन भत्किएपछि जस्ता र बाँसले बनाइएको टहरामा विद्यार्थी पढिरहेका छन्। जसका कारण चिसोले बिरामी हुने दर विद्यालयमा पनि बढेको छ। बोर्लाङ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट कुमार सुनार भन्छन्, 'अहिले विद्यालय समयमै उपचार गराउन आउने विद्यार्थीको संख्या बढेको छ, चिसोले समस्या बढेको हो।' विद्यालयको पक्की भवन भूकम्पले भत्काएपछि होचो, साँघुरो टहराले बनेको कक्षाकोठामा सकसले पढ्नुपर्दा गोरखाका अधिकांश विद्यालयमा विद्यार्थी चिसोले बिरामी छन्। उत्तरी दुर्गम सिर्दीबास स्रोत केन्द्र बाहेकका विद्यालय जाडोमा बिदा हुँदैन। नियमित विद्यालय पढ्नुपर्दा चिसोमा झनै समस्या थपिँदो छ।

अपांगलाई झनै सास्ती

गोरखा नगरपालिका ९ छेवेटारका ४१ वर्षीय रामजी कुमालको देब्रे खुट्टा चल्दैन। उनी बैसाखीको साहाराले हिँडडुल र सामान्य घरधन्दाबाहेक अन्य केही काम गर्न सक्दैनन्। ज्याला मजदुरी गरेर गुजारा चलाउनु त परको कुरा, १२ वैशाखको भूकम्पपछि घर भत्कँदा उनी टहरामा दिन बिताइरहेका छन्। घरमा भन्दा टहरामा गुजारा चलाउनु उनलाई सकस बनेको छ। उनका दुई सन्तान छन्। तीनको पठनपाठन र बिहान बेलुकीको घरखर्च कसरी चलाउने भन्ने चिन्ता उनमा छ।

ताकुकोटका यमबहादुर थापाको पीडा पनि उस्तै छ। हिँडडुल गर्न, चर्पी आउजाउन गर्न झनै समस्या भएको उनले बताए। दृष्टिविहीन, शारीरिक अपांगता भएका, बहिरा सबैखाले फरक क्षमताकालाई भूकम्पपछि सास्ती बढेको छ। ह्विल चियर, बैसाखी, छडीको सहायताले हिँडडुल गर्नुपर्ने अवस्था भएकालाई अपांगमैत्री भवन नहुँदा सेवाबाट बन्चित हुनुपरेको, झन्झटीलो हुने, समय, खर्च धेरै लाग्ने गरेको छ।

गोरखामा करिब १२ हजारको संख्यामा अपांग रहेको अपांग संघ गोरखाले जनाएको छ। तर अहिलेसम्म महिला तथा बालबालिका कार्यालयबाट करिब १५ सयले मात्रै परिचयपत्र लिएका छन्। ग्रामीण भेग र दुर्गम ठाउँमा रहेकाहरू परिचय पत्र लिनबाट पनि वन्चित भएको नेत्रहीन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले बताए। उनले भने, 'नेत्रहीनहरूलाई आफ्नै समस्या छ, पहिले घरबाट भित्र बाहिर गर्दागर्दै बानी परेको हुन्छ, अहिले टहरामा बस्नुपर्दा थाहै हुँदैन।'

प्रकाशित: १८ मंसिर २०७२ २२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App