४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

पाइला मुक्तिधामतिर

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु र बौद्धमार्गिको साझा तिर्थ हो। मन्दिर भित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गिले आ–आफ्नै किसिमले व्याख्या गर्छन। हिन्दुले मुल मूर्तिलाई बिष्णु मान्छन्। बिष्णुको दायाँ र बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती भनेर पूज्छन्।

हिन्दुले जुन मूर्तिलाई बिष्णु मान्छन्, बौद्धमार्गिले भने त्यसलाई लुवाङ ग्याल्बो अर्थात नागको राजाका रुपमा पूज्छन्। लुवाङको दायाँ बायाँका मूर्ति चाहिँ नागदेवी। तिनका छेउमा छन् बुद्ध र गरुडका मूर्तिहरु।

हिन्दु समुदायका बाहुनले मन्दिरमा नित्य पूजापाठ गर्छन भने बौद्ध समुदायका झुमा (आनी)ले। मुक्तिनाथका प्रमुख लामा वाङदेल लामाका अनुसार नागका देवता पुजेमा नाग लाग्दैन। मनले चिताएको पुरा हुन्छ।

हिन्दुको पनि यस्तै विश्वास छ। मुक्तिनाथ दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिन्छ। त्यहाँको पानी सेवन गरे पनि मुक्ति मिल्छ। त्यहि विश्वासले नेपाल र भारतका हजारौं तिर्थालु बर्सेनी मुक्तिनाथ यात्रा गर्छन। फर्कँदा मुक्तिनाथको जल लिएर जान्छन्।

हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए। त्यसबाट उनले सृष्टि गर्न शक्ति प्राप्त गरेका थिए। त्यसरी यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए। पछि तिनै देवता त्यहिँ बिराजमान भएको कथा हरिप्रसाद ज्ञवालीको पुस्तक 'देवभूमि नेपालका चारधाम' मा उल्लेख छ।

त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ। बौद्धमार्गीको भनाई अलिक फरक छ। मुक्तिनाथका प्रमुख लामा वाङदेलका अनुसार उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए। फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए। त्यो जल मुक्तिनाथमा सञ्चय गरे। त्यसबाटै १०८ धारा बनाइयो।

जसले जसरी व्याख्या गरेता पनि मुक्तिनाथ पवित्र भूमि हो भन्नेमा शंका छैन। शदियौं पहिल्य त्यहाँ थुप्रै तपस्वीहरुले ध्यान, योग र साधना गरेका थिए। र, साझा तिर्थ भएकैले यसको महत्व झन बढेको छ।

हिन्दु र बौद्धमार्गीको आस्था केन्द्र त भइहाल्यो, अन्नपूर्ण सर्किट पदमार्गमा पर्ने भएकाले गर्दा संसारभरका पर्यटकहरुका लागि समेत मुक्तिनाथ घुम्ने थलो बनेको छ। मनाङ भएर थोराङ पास गर्नेहरु हुन् या उपल्लो मुस्ताङको लोमन्थाङ घुम्नेहरु मुक्तिनाथ पुग्छन्।

मुक्तिनाथ मन्दिर नजिकै नरसिंह गुम्बा छ। यसको इतिहास लामो छ। गुम्बाभित्र गुरु पद्धमसंभवको मूर्ति छ। पद्धसंभव हिमाली भेकमा बौद्ध धर्म फैलाउने गुरु हुन्। उनी भारतबाट नेपाल हुँदै तिब्बत पसेका थिए। तिब्बत जानेक्रममा उनले मुक्तिनाथमा ध्यान गरे।

तिनताका मुक्तिनाथमा धेरै देवीहरुको बास थियो। 'केहि समय बसेर गुरु रिम्पोचे तिब्बत जान लाग्दा देवीहरुले रोकेछन्,' लामा वाङदेल भन्छन्, 'तपाइँ गएपछि हामी के गरेर बस्ने भनेर देवीहरुले सोधेछन्। देवीहरुले रोकेपछि गुरु पदसंभवले आफ्नो मूर्ति बनाउन लगाएछन्। म यहिँ हुन्छु। पूजा पाठ गरेर बस्नु भनेछन्।'

त्यसैले पनि यो भूमि महत्वपूर्ण मानिन्छ। नरसिंह गुम्बा मुन्तिर अरु गुम्बा छन्। थार्पा छोलिङ गुम्बामा आनी पढाइ हुन्छ। यतिबेला २५ जना पढिरहेका छन्। 'हामी गाउँतिर पूजापाठमा पनि जान्छौं', गुम्बाकी आनि छेन्जुम लामाले भनिन्।

मुक्तिनाथ मन्दिर मुन्तिर रानीपौवामा सुविधायुक्त होटल, लज र रेस्टुँराहरु छन्। वर्षैभरि मुक्तिनाथ दर्शन गर्न सकिन्छ। ३८०० मिटर उचाइमा भएकाले त्यहाँ वर्षैभरि चिसो हुन्छ। जाडो महिनामा हिउँ पर्छ। हातगोडा कठयाँग्रिन्छन्। न्याना लुगा लगाउनु पर्छ। तातो तातो झोल बढी खानु पर्छ।

मन्दिरका मुल पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार चैतदेखि असोजसम्म मन्दिर बिहान ६ बजेदेखि १२ बजेसम्म र दिउसो १ देखि ६ बजेसम्म खुल्छ। जाडो महिना कात्तिकदेखि फागुनसम्म भने बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र दिउसो १ देखि ५ बजेसम्म खुल्छ।

केही समय अघि मन्दिर पुननिर्माण गरिएको थियो। मन्दिरका ३० जना आनी छन्। केही काठमाडौं र भारतमा छन्। माथि मुक्तिनाथमा १७ जना बस्छन्। उनीहरु एकै ठाउँमा खाना खान्छन्। ज्वालामाई गुम्बामा। गज्जबै छ ज्वाला माई। त्यहाँ नित्य ज्वाला बन्छ। गुम्बाकी मुख्य आनी उपल ठकुरीका अनुसार भेटी, पूजापाठबाटै आनीहरुको खानपिन चलिरहेको छ।

मुक्तिनाथ बेस क्याम्प रानीपौवामा सुविधायुक्त होटल छन्। पर्यटकीय सुविधाका दुई दर्जन होटल। ५ सय देखि दुई हजार रुपैयाँ पर्ने कोठा पाइन्छ। पहिला पहिला बेनीदेखि हिँडेर जानु पर्थ्यो। अचेल रानीपौवासम्म गाडि पुग्छन्। मोटर बाटो खुलेपछि मुक्तिनाथमा पर्यटक बढेका छन्।

कतिपयलाई भने मुक्तिनाथमा राम्रा होटल र रेस्टुँरा छैनन् भन्ने भ्रम छ। केही भारतीय त पोखराबाटै खानेकुरा लिएर जाँदा रहेछन्। सत्य के हो भने दालभातदेखि बर्गर मम र पिज्जासम्म पाइन्छ त्यहाँ। जनप्रिय युवा क्लबका अध्यक्ष एवं पर्यटनकर्मी सुरज गुरुङ भन्छन्, 'मुक्तिनाथमा खाना र बासको राम्रो सुविधा छ भन्ने सञ्देश सबैतिर पुर्यारउनु जरुरी छ।'

रानीपौवा माथि डाँडामा ३० फिट अग्लो बुद्ध मूर्ति बनाइँदैछ। अमेरिकामा बस्दै आएका मुक्तिनाथका सोनाम लामाको एक करोड रुपैयाँ सहयोगमा वर्ष दिनभित्र मूर्ति पुरा भैसक्नेछ। ढुँगा कुँदेर बनाइएको मूर्ति। सुरजका अनुसार गाउँलेको दक्षिणपट्टि डाँडामा पुराङबासीले २० फिट अग्लो गुरु पदमसंभवको ढलोट मूर्ति स्थापना गर्दैछन्।

त्यहाँ रेष्टुँरा सहितको पार्क बनाउने योजना छ। दुबै मूर्ति मुक्तिनाथको गहना बन्नेछन्। त्यसले पर्यटकको बसाई लम्ब्याउन मद्धत पुर्याोउनेछ।

हिजो जस्तो आज मुक्तिनाथ यात्रा कष्टकर छैन। मोटरमा जान सकिन्छ। आठ वर्ष अघि सडकले मुस्ताङ र बेनीलाई जोडेपछि बस, जिप र मोटरसाइकल चल्न थालेका हुन्। बेनीमा पाइन्छ जोमसोम जाने बसहरु। जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथसम्म। जोमसोमबाट बिहान ९ र ४ बजे बस मुक्तिनाथ जाने बस छुट्छन्। अरु बेला जिप रिजर्भ गर्नु पर्छ। जीपमा १२ जना अटाउँछन्।

मुक्तिनाथ जाँदा बेनी, जोमसोम र मुक्तिनाथमा रात विताउने योजना बनाउनु पर्छ। फर्कंदा बेनीबाट ३ किलोमिटर पर गलेश्वरधाम दर्शन गर्न छुटाउनु हुँदैन। रमणीय धार्मिक क्षेत्रका रुपमा गलेश्वरधामको विकास गरिएको छ। बास बस्न बेनीमा राम्रा होटलहरुको दुःख छैन।

निलगिरी र धौलागिरी हिमालको उज्यालोमा मुक्ति क्षेत्र झलमल्ल देखिन्छ। तर, हजारौ पर्यटकको चहलपहल हुने मुक्तिनाथमा अस्पताल छैन। बेनीदेखि मुक्तिनाथसम्म सडक कालोपत्रे भैदिए त्यहाँ पर्यटक ओइरिने थिए। सरकारले यतातिर ध्यान पुर्या उनु पर्छ।

यातायात

काठमाडौं–बेनी २८२ किमि। काठमाडौंको कलंकीबाट छुट्छन् मिनी र माइक्रो बस। बसमा ९ घन्टा। बेनी–जोमसोम ७५ किमि। जोमसोम–मुक्तिनाथ २२किमि। पोखरा–जोमसोम हवाई यात्रा गर्न सकिन्छ।

खर्च

१५,००० रुपैयाँ। यति रकमले काठमाडौंबाट बेनी हुँदै मुक्तिनाथ आउन जान बस भाडा तिर्न, ५ रात खान र बस्न पुग्छ। कोसेली किन्न थप रकम बोक्नु पर्छ।

के लाने

ज्याकेट, माकल टोपी, टाउजर, न्यानो जुत्ता, न्याना कपडा, क्यामेरा, डायरी, कलम, रुमाल, टुथ ब्रस, टुथ पेष्ट, साबुन, सनक्रिम, घाम छेक्ने टोपी, लौरो, पानी बोतल, थर्मस लगायत सामाग्रि।

कोसेली

स्याउको सुकुटी, जिम्बु, शालीग्राम, खुर्पानीको सकुटी, आलु, स्याउ, स्याउको रक्सी, दाल र गेडागुडि जोमसोम र मार्फामा पाइन्छ। रानीपौवा बजारमा ध्वजापताका, डोरी, चुरा, सिन्दुर आदि पाइन्छ।

पौरखी मनहरु

तन्नेरी सपना

नम्ग्या वाङदी गुरुङ साथीसंगी माझ सुरज नाउँले चिनिन्छन्। जनप्रिय युवा क्लबका अध्यक्ष सुरजले रानीपौवामा भर्खरै आधुनिक सुविधायुक्त होटल ग्रान्ड साम्बला खोलेका छन्। ३ करोड रुपैयाँ खर्चेर। २४ कोठामा १९ वटा अट्याच बाथरुम सहित। बाँकी कमन छन्। एक रात सुतेको कोठा हेरि ५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ।

उनी ३ वर्ष जापान बसेर फर्किएका। ठमेलमा उनको साझेदारीमा कोरियन रेस्टुरेन्ट हानकुक साराङ सञ्चालित छ। मुक्तिनाथको पर्यटनलाई व्यवस्थित बनाउने अभियानमा जुटेका छन् उनी। क्लब मार्फत आन्तरिक पर्यटक बढाउने कार्यक्रम गर्दैछन्। 'आफ्नो ठाउँ आफैं बनाऔं भनेर लागेको छु', ४१ वर्षे गुरुङले भने, 'बाहिर सिकेको यहाँ प्रयोग गर्दैछु।'

हिमाली डाक्टर

निमा गुरुङ मुक्तिनाथ मुन्तिर झारकोट गाउँका आम्ची हुन्। हिमाली भेकमा जडिबुटिबाट उपचार गर्ने स्वास्थ्यकर्मीलाई आम्ची भनिन्छ। भारत र नेपालमा आम्ची अध्ययन गरेका निमाका बुबा पनि आम्ची हुन्। उनीहरु मुक्तिनाथ, जोमसोम, माथिल्लो मुस्ताङेका साथै विदेशीहरुको समेत उपचार गर्छन। 'हामीले उपचार गर्न नसक्ने बिरामीलाई अस्पताल रिफर गर्छौं', ४७ वर्षे निमाले भने।

झारकोटमा निमा र उनका बुबा मात्रै हुन् आम्ची। उनीहरु गाउँलेका सेवक। कहिले बिरामी उनको घरमै आउँछन्। कहिले उनी बिरामीको घरमा पुग्छन्। दिनरात खटिनु पर्छ। उपचार शुल्क तोकिएको छैन। बिरामीले स्वेच्छाले दिन्छन्। 'आम्दानी खासै छैन', गुरुङले भने, 'सेवा भावनाले काम गर्दैछु।'

अगुवा पर्यटनकर्मी

छिरिङ दाबा गुरुङ रानीपौवामा पहिलो होटल खोल्ने अगुवा हुन्। उनले ०३६ सालमा श्री मुक्तिनाथ होटल खोलेका थिए। तिनताका रानीपौवामा एउटा पौवा मात्रै थियो। तिर्थ यात्री त्यहिँ दाउरा बालेर खाना पकाउँथे। रात बस्थे। उनले ७ वटा बेड रुपम, १ किचेन, एक स्टोर एक डाइनिङ सहितको होटल खोले।

परिवारले चलाएको उनको होटलमा दालभात, फापरको रोटी र चम्पा पोरिज आदि पाइन्थ्यो। 'भबिश्यमा राम्रो होला भनेर होटल खोलेको', ६६ वर्षे गुरुङले भने। पर्यटक बढ्दै गए। उनले होटलको क्षमता बढाए। सँगै पोतला गेष्ठ हाउस पनि चलाएका छन्। सरोकारवालाले छिरिङलाई सम्मान गर्न ढिला भैसक्यो।

साइकल गुरु

गणेश गुरुङ मुस्ताङ आउट व्याक माउन्टेन बाइक कम्पनीका सञ्चालक हुन्। साथीहरु छेतेन र सन्दिपसँग मिलेर उनले सन् २०१२ देखि मुक्तिनाथमा कम्पनी सुरु गरेका। उनकोमा मरिन, जायन्ट र मोटाचि ब्राण्डका ३० वटा माउन्टेन बाइक छन्। बिशेषतः अन्नपूर्ण सर्किट पदयात्रा सकेर आउने विदेशीहरु साइकल भाडामा लिन्छन्। जोमसोम, तातोपानी वा पोखरासम्म साइकल लान्छन्। पर्यटक साइकलमा गए भने कम्पनीले उनीहरुको लगेज सम्बन्धित ठाउँमा पुर्यारइदिन्छ।

जोमसोमसम्म साइकल लगेको ३५, तातोपानीसम्मको ७० र पोखरासम्मको भाडा १५० डलर लिने गरेका छन्। 'हामी उत्साही छौं', ३२ वर्षे गणेशले भने, 'जे गर्छौं मुस्ताङमै गर्छौं। अब अपर मुस्ताङ प्याकेज पनि चलाउँछौं।'

होटल बब मार्लि

कर्म छिरिङ गुरुङ होटल बब मार्लिका सञ्चालक हुन्। बिद्रोहि गायक मार्लिको नाउँमा खोलिएको रानीपौवाको होटल चर्चित छ। उनका पिता रिन्जिङ छिरिङले तीन दशक अघि खोलेको होटलको नामाकरण भने कर्मले गरेका। होटलमा पुराना भाँडा वर्तन सजाएर संग्रहालयको झल्को दिएका छन् उनले। होटल विदेशी मन पराउँछन्। इजरायली त त्यहिँ बस्छन्।

होलमा २५ कोठा छन्। उनले दुईटा आधुनिक भवन पनि बनाएका छन्। 'पुरानो भवनलाई कायमै राख्छु', ४० वर्षे कर्म भन्छन्, 'भित्ताका काठमा रंग लगाउँदिन। पुरानोको महत्व ठूलो हुन्छ।' केही वर्ष उनी विदेशमा बसे। विगतमा अस्टे्रलियाको रेस्टुरामा भान्छे बनेका थिए कर्म। अब बाहिर जाने सोच छैन।

प्रकाशित: ४ मंसिर २०७२ २२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App