२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

आठ लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ

नेपालगन्ज– बाँके प्रहरीले नेपालगन्जको ठूलो जुवाखालमा छापा मारी आठ लाख रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।


नेपालगन्ज–१६ स्थित प्रकाश शाहको घरमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले छापा मारेको हो। पक्राउ पर्ने व्यक्तिहरु नेपालगन्जका प्रतिष्ठित व्यापारी र ठेकेदार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी भीमकिरण बोगटीकाअनुसार पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न प्रकाश शाह, नेपालगन्ज–२ निवासी अनय शर्मा, वडा नम्बर ५ का नवराज खड्का, रामबहादुर थापा, वडा नम्बर ६ निवासी अमन खान, पम्कज सोनी, पप्पु रस्तोगी, दिवाकर थापा, वडा नम्बर ७ का गोपी कुम्हार, वडा नम्बर १६ का प्रकाश बिक, रामजी यादव र हेमन्त विसी रहेका छन् । अभियुक्तहरुलाई बाँके जिल्ला अदालतबाट म्याद थप गरी जुवा ऐनअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी बोगटीले बताए ।

अभियुक्तको साथबाट नगद ८ लाख ९० रुपैयाँ, तासको गड्डी, क्वाईन बरामद गरिएको प्रहरीले जनाएको छ । नेपालगन्ज–१६ कोरियनपुरस्थित शाहको घरमा जुवा चलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले मंगलबार मध्यरातमा छापा मारेको थियो । स्रोतका अनुसार जुवा खेलिरहेको ठाँउमा सादा पोशाकका प्रहरीलाई नै पहिले जुवा खेल्न पठाएर छापा मारिएको हो ।

शाहको घरमा लामो समयदेखि जुवा खेलिरहेको रंगेहात फेला पार्न छापा हान्न खोज्दा पटक–पटक प्रहरी असफल हुँदै आएको थियो । छापा हान्न जाँदा 'प्रहरी छापा हान्न आउँदै छ' भन्ने सूचना घुमुवा प्रहरीले चुहाइदिदाँ प्रहरी असफल भएको थियो। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका विभिनन ठाउँमा अझैं पनि जुवा खेलाउने क्रम नरोकिएको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रकाशित: ११ कार्तिक २०७२ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App