‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझैं जेनजी सरकारका सुरुवाती हप्ताहरूमा केही सकारात्मक कुरा अवश्य देखिएका थिए। तलब, गाडी सुविधा, सरकारी आवास नलिनेजस्ता कार्य गरेर सरकार जनतामाझ लोकप्रियता बटुल्दै थियो। सरकारले बाढीको समयमा सतर्कतामूलक कदम चालेकाले सयौं मानिसको ज्यान जोगियो। तर यतिमै रमाएको जेनजी सरकारले सारा नेपालीको मनमा लागेको गम्भीर चोटमा मलम लगाउन भने खुट्टा कमाइरहेको छ।
जेनजीमाथि अन्याय गर्नेहरूलाई कारबाही गर्न गरिएको ढिलासुस्तीले कतै हामी युवाले फेरि एकपटक नेतृत्वको भूमिकामा नजाँदा गल्ती त गरिएन भन्नेमा शंका उत्पन्न भएको छ। जसरी खुट्टा ढोगेर दुर्गालाई महिषासुरको नाश गर्न पठाइयो र प्रकाशलाई अन्धकार हटाउन घर बोलाइयो, त्यसैअनुरूप द्रुत गतिमा कारबाही नहुँदा अहिले युवामा निराशा छाएको छ। यो सरकारले सरकारी भवन जलाउनेहरूलाई पक्राउ गर्दै गर्दा विद्यालयका बालबालिकालाई टाउकोमा गोली हानी सडकमा ढाल्नेहरूलाई चाहिँ किन पक्राउ गर्न सकेको छैन? अधिकांश नेपाली आश्चर्यचकित छन्।
नयाँ सरकार बनेको तीन महिना भइसक्दा पनि न्याय अझै अधुरो छ र सरकारप्रति जनताको विश्वास घट्दै गएको छ। जेनजीले हत्या, भ्रष्टाचार र सत्ताको दुरुपयोग गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरे पनि ती व्यक्तिहरू खुलेआम भाषण गर्दै हिँडिरहेका छन्। तिनै नेताका कार्यकर्ताले टोल टोलमा स्वघोषित पहरेदारी गर्दै स्थानीयलाई डरको माहोल सिर्जना गरिरहेका छन्।
अझै अचम्मको कुरा के छ भने जेनजी आन्दोलनका क्रममा अघिल्लो सरकारका केही मन्त्री र अधिकारीका कोठाभरि नगद भेटिएको भिडियो प्रदर्शनकारीले खिचेका थिए तर यसबारे कुनै कारवाही भएन। कतिपय राजनीतिक समूहले ती प्रमाण एआईले बनाएको भन्दै प्राविधिक भ्रम फैलाएर जिम्मेवारीबाट बच्ने प्रयास गरे। ती भ्रष्टहरूलाई कारवाही नहुनुमा सरकार र गृहमन्त्रालयको भूमिकामा नै गम्भीर प्रश्न सिर्जना भएको छ।
विश्वासको संकट केवल राजनीतिमा मात्र होइन, विचारधारामा पनि स्पष्ट देखिएको छ। नेपालमा सरकारी जागिरमा सहजै कार्य गर्न कुनै एक पार्टीको सदस्यता अनिवार्यजस्तो देखिन्छ भने विदेशी अधिकारीसँग मिलेर काम गरे ‘विदेशी दलाल’ भनेर बदनाम गरिन्छ। जहाँ क्षमताभन्दा पार्टीगत निष्ठा अवश्यम्भावी ठानिन्छ, त्यहाँ जेनजी युवाले राष्ट्र सेवामा भविष्य कसरी देख्ने? भर्ती केन्द्र केवल दलका निष्ठावान्का लागि मात्र खुला छ तर यसो भन्दै गर्दा नागरिकहरूले पनि आफ्नो दायित्व बिर्सनुहुँदैन। लोकतन्त्र साहस, नैतिकता र स्पष्टतामा टिक्छ, कुनै व्यक्ति वा संस्थाविशेषप्रति आँखा चिम्लिएर भेडाझैं आदेश मान्न वा कुनैप्रति पूर्वाग्रही भएर लाग्नमा होइन।
भदौ २३ गते जब बालबालिकामाथि गोली चलाइयो, पार्टीका समर्थकहरू प्रायः मौन बसे। तर २४ गते आक्रोशमा सरकारी भवन जलाइँदा पार्टी कार्यकर्ताहरू फेसबुकमा बुरुक बुरुक उफ्रिए। नेताहरूले सबै नैतिक सीमा नाघे पनि अधिकांश कार्यकर्ता शक्तिनजिकको विशेषाधिकार गुम्ने डरले मौन बसे।
जनताको आवाज भनिने प्रेस पनि उत्तिकै दोषी छन्। मिडियाहरू प्रतिरोधको पहिलो पंक्ति बन्नुपर्ने थियो तर धेरैजसोले सत्यभन्दा मौनता छाने। प्रेसले बेलैमा सामाजिक सञ्जाल बन्द हुँदा गम्भीर अभिव्यक्ति दिएको भए सायद जेनजी आन्दोलनले यस्तो हिंस्रक रूप लिँदैनथ्यो। मुखले ‘हामी सच्चिनेछौं’ भन्दै भाषण गरे पनि व्यवहारमा उही थरी थरी काण्डमा लिप्त नेतालाई प्राइम–टाइममा बोलाएर हिरो बनाई दोष पखाल्ने मौका दिई जनता भुलाउने काम गरेका छन्।
आगामी चुनाव विश्वसनीय बनाउन मिडियामा नयाँ पुस्ता मात्र होइन, सत्य, पारदर्शिता र निडरता बोकेको व्यक्तित्व आवश्यक छ। राजनीतिक संरक्षणबाट मुक्त भएर जनताकेन्द्रित पत्रकारिता गर्न सक्ने अनुहारको खोजी गर्नु अब आवश्यक छ।
पुराना भ्रष्ट पार्टीसँग नजिक पत्रकारहरूले जनताको आवाज कहिल्यै बोल्न सक्दैनन्। अब सम्पादकहरूले पनि जवाफदेही र इमानदार नेतृत्व चाहने पुस्तासँग उभिएर जनादेशको कदर गर्दै सत्यतथ्य जनतामाझ जस्ताको तस्तै पुर्याउन भूमिका खेल्नुपर्छ।
समाज परिवर्तनको तयारीमा छ र जेनजी आन्दोलनले यो स्पष्ट गरिसकेको छ। पुरानो राजनीतिक डुंगा चारैतिरबाट चुहिएको छ। यस अवस्थामा त्यसमा सवारहरू अवश्य डुब्नेछन्। अन्याय देखेर पनि मौन बस्ने बानी र झोला बोकेर घुम्ने प्रवृत्ति त्याग गर्नु अपरिहार्य छ। आज देशलाई इमानदार नेतृत्व चाहिएको छ।
देश बनाउन धेरै नयाँ पार्टी र अनुहार अगाडि आएका छन्। तर ती अनुहार सबै विखण्डित छन्। चुनावअघि यी नयाँ शक्तिहरूलाई एकै धारमा ल्याउन जरुरी छ। नयाँ पार्टीहरू अब सबै मिलेर एक हुनैपर्छ, अन्यथा यो ३५ वर्षदेखि देशलाई खोक्रो बनाएका पार्टीहरूलाई विस्थापित गर्ने सम्भावना क्षीण हुनेछ। देशको भविष्य र विकासका निम्ति सबै नयाँ पार्टी एउटै संकल्पसाथ एकजुट भएर उभिनु नै आजको जनादेश हो।
अन्त्यमा, हाम्रो ग्रन्थ भगवद्गीताको श्लोक स्मरण गराउन चाहे–
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।
जब जब धर्म कमजोर हुन्छ र अधर्म बढ्छ, म साधुजनको उद्धार गर्न, पाप गर्नेहरूको विनाश गर्न र धर्मको स्थापना गर्न हरेक युगमा प्रकट हुन्छु।
प्रकाशित: २५ मंसिर २०८२ ०८:४४ बिहीबार

