जीवाश्म इन्धनको प्रयोग घटाउने मागलाई बेवास्ता गर्न अब असम्भवप्रायः हुँदै छ। ब्राजिलमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप–३०) ले तेल, ग्यास र कोइला ठुलो मात्रामा उत्पादन गर्ने देशलाई चरणबद्ध रूपमा न्यायपूर्ण र व्यवस्थित तरिकाले घटाउँदै लैजाने योजना बनाउन दबाब सिर्जना गरेको छ।
दशकौंदेखि, कार्बन उत्सर्जन लक्ष्य र स्वच्छ ऊर्जाका प्रतिबद्धतामा जलवायु वार्ताको ध्यान केन्द्रित रहँदै आएको छ र विश्वका देशहरूले जीवाश्म इन्धन उत्पादनलाई कति छिटो र कसरी रोक्ने भन्ने संवेदनशील प्रश्नलाई राजनीतिक हिसाबले पन्छाउँदै आएका थिए। कोप –२८ ले ‘जीवाश्म इन्धनको प्रयोगबाट टाढिने’ भन्ने वाक्यांश सहमतिको दस्ताबेजमा समावेश गरेर यो विषयलाई नयाँ मोडमा ल्यायो तर त्यसपछि यो दिशामा वास्तविक प्रगति सुस्त र असमान रहेको छ।
कोप–३० का क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ‘पृथ्वीले अब जीवाश्म इन्धनको अत्यधिक प्रयोग धान्न सक्दैन’ भन्ने घोषणा गर्दै यो इन्धनको प्रयोगबाट बाहिर निस्कन स्पष्ट मार्गचित्र बनाउन आह्वान गरेका छन्।
जीवाश्म इन्धनका ठुला उत्पादक देश र ऊर्जा कम्पनीले यस्तो योजनामा विगतदेखि नै प्रतिरोध जनाउँदै आएका छन् तर, असमानता घटाउने र आधारभूत सेवा विस्तार गर्ने प्रयासमा लागेका धेरै देश यसो गर्दा उनीहरूको सामाजिक न्यायको लक्ष्यमा असर पर्ने भनेर चिन्तित छन्।
गरिबीको मारमा गुज्रेको तर नवीकरणीय ऊर्जाको विशाल सम्भावना र फस्टाउँदो ‘अफसोर तेल क्षेत्र’ रहेको देश ब्राजिललाई यसको उत्कृष्ट उदाहरण मान्न सकिन्छ। लुलाले जीवाश्म इन्धनमाथिको निर्भरता योजनाबद्ध र न्यायपूर्ण तरिकाले अन्त्य हुनुपर्ने विषयलाई जोड दिएर व्यवस्थित संक्रमणले विकासलाई कमजोर होइन, सबल बनाउन सक्छ भनेर संकेत गरेका छन्।
ब्राजिलका लागि चुनौती भनेकै विश्वसनीय अन्तर्राष्ट्रिय छवि कायम राख्दै आफ्नै ऊर्जा संक्रमण अघि बढाउनु हो। तेल आम्दानीको केही अंश हरित संक्रमणमा लगानी गर्ने लुलाको राष्ट्रिय कोषको प्रस्तावले यही सन्तुलनलाई झल्काउँछ। यसप्रकारको प्रयासले पुरानो अर्थतन्त्रका आम्दानी भविष्य निर्माणमा लगानी गरिनेछ र यसो गर्दा मजदुर र कमजोर समुदायलाई हानि हुने छैन।
त्यसो त, यस्तो दृष्टिकोण नयाँ होइन। नर्वेको सार्वभौम तेल कोषबाट प्राप्त आम्दानीलाई विश्वभरि न्यून–कार्बन क्षेत्रमा लगानी गर्छ, साथै उसले ‘अमेजन फन्ड’ जस्ता पहललाई समर्थन गर्छ। दक्षिणपूर्वी एसियामा पेट्रोलियम र ग्यासमै निर्भर पूर्वी टिमोरले पनि आफ्नो आय स्रोतलाई विविधीकरण गर्ने रणनीति अवलम्बन गर्दै आएको छ।
यी उदाहरणले जीवाश्म इन्धनमार्फत हुने आम्दानीलाई हरित संक्रमणमा लगाउने कार्य सम्भव र आवश्यक दुवै भएको देखाउँछन्। धेरै वर्षसम्म जलवायु अभियन्ताहरूले यस विषयलाई कलंक अर्थात् ‘ट्याबु’ जस्तै माने किनभने उनीहरूले तेल आम्दानीका विषयमा कुरा गर्नु भनेको तेल उत्खननलाई नै वैधता दिने हो भन्ने ठाने।
तर यस विषयमा मौन रहँदा, यही प्राकृतिक स्रोतमा निर्भर रहेका देशले आफ्नो हरित संक्रमणको यात्राका लागि खर्च जुटाउन नसक्ने जोखिम बढ्छ। जलवायुवित्त पर्याप्त स्तरमा नपुगुन्जेल विश्वका सरकारहरूले जीवाश्म इन्धन आम्दानीलाई राम्रोसँग सुशासित भएको सार्वभौमिक कोषमार्फत न्यायपूर्ण ऊर्जा संक्रमणमा लगानी गर्नुपर्छ।
आम्दानीलाई पुनः उपयोग गर्ने यसअघि गरिएका प्रारम्भिक प्रयासहरूले ठुलै परिवर्तनको संकेत दिन्छन्। एक दशक अगाडिसम्म कैयन् देशहरूले जीवाश्म इन्धनविहीन भविष्यको कल्पना गर्न समेत कठिन ठानेका थिए तर पछिल्ला वर्षमा अर्थतन्त्र बदलिएको छ। नवीकरणीय ऊर्जा प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएका छन्, स्वच्छ इन्धन प्रविधि परिपक्व भएका छन् र विकासशील देशले ऊर्जा संक्रमणलाई उत्पादकता, लचिलोपन, प्रतिस्पर्धात्मकता र सार्वभौमिकता बढाउने मार्गका रूपमा हेर्न थालेका छन्।
ब्राजिलको अनुभवले यसलाई प्रमाणित गर्छ। वर्षौंदेखि सामाजिक कार्यक्रम र पूर्वाधार विकासका लागि तेल आम्दानीमा ब्राजिल निर्भर रह्यो। सन् २०११ देखि २०२३ सम्म केन्द्रीय रोयल्टीको सानो अंश मात्र प्रमुख जलवायु कोषमा जाने गर्थ्याे तर अहिले उसले जैविक इन्धन उद्योगलाई विस्तार गरेको छ, दिगो हवाई इन्धन विकास गरिरहेको छ र नवीकरणीय ऊर्जामा तीव्र विस्तार गरेर यसअघिका जीवाश्म उत्खनन क्षेत्रमै नयाँ नयाँ रोजगारी सिर्जना गरिरहेको छ। ऊर्जा रूपान्तरणले विकासको अजेन्डालाई प्रतिस्थापन नगरी झन् बढी सुदृढ पार्न सहयोग गर्न सक्छ भन्ने उदाहरण ब्राजिलले प्रस्तुत गरेको छ।
उदीयमान भूराजनीतिक तनावले जीवाश्म इन्धनको विविधीकरणको आवश्यकतालाई झनै आवश्यक बनाएको छ। अहिले आपूर्ति शृंखलाहरू पुनर्संरचना भइरहेका छन्। ब्याट्री उत्पादन, हरित हाइड्रोजन, दिगो पूर्वाधार र उत्पादनमा प्रतिस्पर्धा बढ्दै छ। यसैबिच सुदृढ जलवायु कार्यको अभावमा समेत अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०३५ सम्म तेलको माग स्थिर हुने आँकलन गरेको छ तर तेल उत्पादक राष्ट्रको समूह ओपेकले यो शताब्दीको मध्यसम्म माग बढ्ने बताएको छ।
समयतालिकाका हिसाबले जे जसो भए पनि आफूलाई ढिलो विविधीकरण गर्ने अर्थतन्त्रहरू अन्ततः जोखिममा पर्न सक्ने देखिएको छ।
यो जोखिम ब्राजिलका लागि विशेष रूपमा महत्त्वपूर्ण छ किनकि उसले गहिरो समुद्री तहमा तेल उत्खननमा ठुलो स्तरमा लगानी गरेको छ। कोप-३० हुनुभन्दा केही हप्ताअघि ब्राजिलको वातावरणीय निकायले पेट्रोब्रास भन्ने कम्पनीलाई अमेजन नदीको मुखजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा उत्खनन गर्न अनुमति दिएको थियो।
उक्त कम्पनी र केही सरकारी अधिकारीले ऊर्जा सुरक्षाका लागि यो आवश्यक रहेको तर्क गर्छन् तर यसले ब्राजिलको जलवायु नेतृत्वलाई कमजोर पारेको वातावरणवादीको तर्क छ।
हरेक केसमा फरक हिसाबले नभई सुस्पष्ट र व्यवस्थित संक्रमण योजना बनाउन सक्दा यस्ता तनावलाई रोक्न सकिन्थ्यो। कोप-३० को अध्यक्षको हिसाबले आफ्नो नेतृत्व दीर्घकालीन रूपमा प्रभावकारी बनाउन, ब्राजिलले नयाँ संक्रमण कोषलाई केवल प्रतीकात्मक मात्र होइन, वास्तविक बनाउन सक्नुपर्छ। यसका लागि सरकारले आम्दानी वितरण स्पष्ट गर्नुपर्छ, पारदर्शी शासन संरचना बनाउनुपर्छ र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नुपर्छ। यस कोषलाई राष्ट्रिय पारिस्थितिक संक्रमण योजनासँग एकीकृत गरेमा दिगो इन्धन, नवीकरणीय ऊर्जा, हरित उद्योग र जलवायु–लचिलो पूर्वाधारजस्ता रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी प्रवाह गर्न सकिन्छ।
अन्तर्राष्ट्रियस्तरमा ब्राजिलले कोप–३० अध्यक्षताको अभिभारा वहन गर्दै गर्दा जीवाश्म इन्धनको चरणबाट बाहिरिनका लागि सहकार्यपूर्ण दृष्टिकोणलाई अघि बढाउनुपर्छ। कोस्टा रिका र डेनमार्कले सुरु गरेको ‘वियोन्ड आयल एन्ड ग्यास एलायन्स’ले आपूर्ति–केन्द्रित कारबाही गर्न खोजे पनि यसबाट प्रमुख उत्पादक देशहरू अझै पनि टाढा छन्। यो सन्दर्भमा ब्राजिलले सबै पक्षलाई व्यावहारिक र लचिलो हिसाबले तेल उत्पादन क्रमशः घटाउनेतर्फ दिशानिर्देश गर्न सक्छ, प्रोत्साहन गर्न सक्छ। त्यसो गर्न सकेमा अहिले विद्यमान रिक्ततालाई ब्राजिलले तोड्न सक्छ।
हाल भइरहेका यी छलफलले राष्ट्रिय क्षमता, ऐतिहासिक जिम्मेवारी र वर्तमान संस्थागत क्षमतालाई प्रतिविम्बित हुने गरी स्पष्ट मार्गचित्र तय गरिनुपर्छ। यसमा अनावश्यक नोकरसाही लाद्नुहुँदैन। सबैभन्दा महत्त्वपूर्ण विषय के हो भने अबका जलवायु वार्तामा जीवाश्म इन्धनको चरणबाट बाहिरिने विषय केन्द्रमा राखिनुपर्छ। यसले बहुपक्षीयताको महत्त्व पुष्टि गर्नेछ, राष्ट्रहरू सबैभन्दा संवेदनशील मुद्दाहरू पनि सामूहिक रूपमा सामना गर्न सक्छन् भन्ने देखाउनेछ। यसले जीवाश्म इन्धनको विषय अब अछुत होइन भन्ने संकेत दिनेछ र एक संरचित, सहकार्य पूर्ण प्रक्रियामा सामेल हुन तेल उत्पादक देशहरू पनि तयार छन् भन्ने सन्देश दिनेछ।
अन्ततः जीवाश्म इन्धनबाट हुने आम्दानीलाई कसरी प्रयोग गर्ने भन्ने विषयले हरित संक्रमणलाई प्रभाव पार्नेछ। अन्यथा जलवायु महत्त्वाकांक्षा आर्थिक तथा राजनीतिक वास्तविकतासँग मेल खाँदैन। ब्राजिलले कोप–३० मा यस प्रश्नलाई उठाएर संक्रमणलाई केवल पारिस्थितिक विषय मात्र होइन, सामाजिक–आर्थिक अवसरका रूपमा प्रस्तुतगर्दै एक साहसिक कदम उठाएको छ। अबको चुनौती भनेको घरमै होस् वा विश्वभर, यो बहसलाई एक सुसंगत योजनामा रूपान्तरण गर्नु हो।
- सहअध्यक्ष, ग्लोबल फन्ड फर अ न्यु इकनोमी
(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १० मंसिर २०८२ ०९:०१ बुधबार

