१३ पुस २०८२ आइतबार
image/svg+xml
विचार

असजिलो अर्थ-सम्बन्ध

विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुक भारत र अमेरिकाबिचको सम्बन्ध पछिल्लो समयमा तिक्ततापूर्ण बनेको छ। विशेषगरी अमेरिकाले भारतीय निर्यातमा सर्वाधिक ५० प्रतिशत भन्सार शुल्क लगाएपछि दुई देश बिचको सुमधुर सम्बन्ध कटुतापूर्ण बनेको हो। यसअघि अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबिच अत्यन्त राम्रो सम्बन्ध थियो। पछिल्ला दिनमा यी दुईबिचको सम्बन्धमा अप्रत्याशित दूरी देखिनु अकारण होइन। भारतले रुसी तेल किनेर युक्रेन युद्धका लागि आवश्यक पर्ने रकम जुटाउन सहयोग गरेको अमेरिकी तर्क छ। भारतले तत्काल रुससँग तेल खरिद रोक्न अमेरिकाले भनेको छ । उता भारतलेकोसँग तेल किन्ने आफ्नो सार्वभौम अधिकार भएको र त्यसलाई कसैले निर्देशित गर्न नसक्ने बताउँदै आएको छ।

भारतले शुल्क बढाउनुको अर्को कारण भारत–पाकिस्तानबिच भएको युद्धविराममा आफ्नो भूमिका रहेको भन्ने ट्रम्पको दाबीलाई दिल्लीले अस्वीकार गर्नु हो। भारतले आफुलाई उक्त श्रेय नदिएको ट्रम्पको गुनासो छ। कारण जे भए पनि यो गतिरोध दुबै राष्ट्रको हित अनुकूल छैन।

विशेषगरी, उदाउँदो अर्थतन्त्रको रूपमा रहेको भारतको गार्मेन्ट उद्योग ठुलो मात्रामा अमेरिकी निर्यातमा भर पर्दै आएको छ। भारतमा सस्ता टिसर्टदेखि लिएर उच्चस्तरीय डिजाइनका रेडिमेड कपडा उत्पादन हुन्छन् । गत वर्ष मात्रै भारतले कुल २१ अर्ब अमेरिकी डलरबराबरका कपडा अमेरिका निर्यात गरेको थियो।

ट्रम्पले हालै भारतको कुल ६५ अर्ब बराबरका निर्यात व्यापारमध्ये आधाभन्दा बढीमा ५० प्रतिशत शुल्क लगाउने आदेशमा हस्ताक्षर गरेपछि यसअघि सस्तो मानिएको आपूर्ति शृङ्खला अचानक महँगोमा परिणत भएको छ। कतिपय आकलनले यो कदमबाट भारतलाई ४१ अर्बदेखि ४५ अर्बसम्म आर्थिक क्षति गर्ने र यसबाट विशेष गरी गार्मेन्ट उत्पादन, जुत्ता, गहना र जेम्स उद्योग तथा झिँगे माछासहितका सामुद्रिक उत्पादन निर्यात प्रभावित हुने देखिन्छ।

भारतीय निर्यात संघका अनुसार तिरुपुर, नोएडा (उत्तर प्रदेश) र गुजरातका कारखानाले उत्पादन बन्द गर्न थालिसकेका छन्। यसले समग्र अर्थतन्त्र मात्र होइन, लाखौंको रोजगारी समेत गुम्न सक्ने आकलन छ। वर्षाैदेखि चलिआएका कारखाना बन्द हुने, सामूहिक बेरोजगारी र दशकौं समय लगाएर स्थापित भएको आपूर्ति शृङ्खला विघटन हुनु सुखद होइन।

यी घटनाक्रमले भारतको आर्थिक वृद्धिदर समेत यो वर्ष एक प्रतिशतले घट्न सक्ने कतिपयको आलकन छ। यो परिस्थितिसँग जुध्न भारतले अन्य विकल्पको पनि तयारी गरिरहेको देखिन्छ। उत्पादनकर्तालाई ऋण–राहत, निर्यात–सहयोग र अन्य देशमा नयाँ व्यापार सम्झौताको खोजी भइरहेको छ। आन्तरिक खपत र उपभोगका लागि पनि वस्तु तथा सेवाको क्षेत्रमा करछुट घोषणा गरिएका छन्।

यसैगरी जापान, दक्षिण कोरिया र चीनतर्फ व्यापार विविधीकरण गर्ने र ४० देशलाई  लक्षित गरेर गार्मेन्ट निर्यात अभियान सुरु गर्ने तयारी भारतको छ । भारतले अहिले अगाडि  बढाएका कदमहरूले भने बाह्य आघातलाई कतिसम्म थेग्न सक्छ हेर्न अझै केही समय  कुर्नुपर्ने हुन्छ।

अमेरिकामा उपभोग्य वस्तुको मूल्य बढ्ने आकलन छ। अमेरिकामा पनि भारतलाई  अनावश्यक रूपमा कर थोपरिएकोमा विरोध भइरहेको छ। भारतीय मूलका अमेरिकी मात्र  होइन, राजनीतिक तहमा पनि ट्रम्पको यो निर्णय व्यक्तिगत दम्भका आधारमा गरिएको र  व्यवहारिक नभएको भनिएको छ। अहिले दुई देशका अधिकारी एकअर्कालाई थकाउने  र थर्काउने नीति अख्तियार गरेको देखिन्छ। दुई देशबिचको व्यापारिक वार्ता अवरुद्ध छ।

कारण जे भए पनि भारत र अमेरिकाबिचको यो तिक्तताले व्यापारिक मात्र होइन,  आउने दिनमा भूराजनीतिक प्रभाव पार्ने निश्चित छ। त्यति मात्र होइन अहिलेसम्म रहेको  अमेरिकी प्रभुत्व यसले घटाउने मात्र होइन अन्य शक्तिहरूले नयाँ धु्रवीकरणतर्फ आफूलाई  लगाउने खतरा बढ्छ। अमेरिकाले आफ्नो प्रभाव आफैं कम गराउँदै गएको देखिँदैछ। विश्वमा अहिले क्षेत्रीय तनाव र अस्थिरताको कुनै कमी छैन।

यस अवस्थामा अमेरिका र भारतबिच हाल देखिएको व्यापारिक तनाव अन्त्य हुनु  दुवै देशका लागि मात्र नभई नेपाल लगायत तेस्रो मुलुकका लागि पनि उचित छ। अमेरिका  र भारत विश्वका ठूला अर्थतन्त्र रहेकाले दुवै मुलुकबीचको व्यापारिक असहजताले  विश्वव्यापी आपूर्ति शृङ्खला कमजोर पार्छ। यसले क्षेत्रीय स्थिरता र लगानीको  वातावरणसमेत बिथोलिन सक्छ। दुई ठूला लोकतान्त्रिक अर्थतन्त्रबिच तनाव रह्यो भने  विदेशी लगानीकर्तामा अनिश्चिय बढ्छ। यसले नेपालमा पनि प्रत्यक्ष लगानी आकर्षित  गर्न कठिन हुनसक्छ। स्वभाविक हो, लगानीकर्ताले क्षेत्रीय स्थिरतालाई प्राथमिकतामा  राख्छन्। आजको दिनमा समस्या भनेको एउटा विशेष देशको मात्र हुँदैन यो क्षेत्र र विश्वकै  निम्ति असजिलो अवस्था हुन सक्छ। 

दुई ठुला प्रजातान्त्रिक देश अमेरिका र भारतबीचको व्यापारिक तनाव अन्त्य  आवश्यक छ। यो विषय यी दुई देशसँग मात्र जोडिएको छैन, यो नेपालजस्ता देशको  प्रजातान्त्रिक देशको आर्थिक हित, क्षेत्रीय तथा विश्वव्यापी शान्तिका लागि पनि उत्तिकै  महत्त्वपूर्ण छ।  

प्रकाशित: २६ भाद्र २०८२ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App