२० मंसिर २०८२ शनिबार
image/svg+xml
विचार

‘अक्टोबर क्रान्तिको परिणाम कोल्खोज र शोभ्खोज’

तस्बिर : एपी

जब प्राचीन युगबाट मानव आधुनिक युगतर्फ लम्किँदै थियो, त्यही बेलादेखि मानव सभ्यताको इतिहासमा डरलाग्दो आर्थिक, राजनीतिक र सामाजिक विभेद र असमानता देखा पर्दै गए। समाजमा धर्म गुरुहरू दैवी नियमानुसार प्रशासक हुने चलन बन्यो। मानवले मानवलाई पशुसरह बेच्थ्यो। 

मालिकले मजदुरलाई बिक्री गर्ने र उनको श्रमको शोषण गर्ने, बाँच्न पुग्ने न्यूनतम ज्याला पनि नदिने। कति सम्मको अन्याय? कति सम्मको असमानता? हुने र नहुनेको बिचमा डरलाग्दो खाडल थियो। अन्ततः त्यो खाडलविरुद्ध संगठनात्मक आधारबाट युद्धका लागि उत्पीडित मानिसहरूलाई गोलबन्द गर्दै मानसिक र राजनीतिक चेतनाले प्रशिक्षित गराउँदै सामन्ती प्रथा र व्यवस्थाको अन्त्य लेनिनले सन् १९१७ को अक्टोबर क्रान्तिद्वारा तत्कालीन जारशाही निकोलस द्वितीयको शासकीय संरचना नष्ट गरेको दिन र रुस आजाद भएको दिन। 

त्यो दिनलाई आधारभूत तहका निमुखा जनताका लागि सुनौलो दिनको रूपमा हेरिन्छ। क्रान्तिपछि हेपिएका र पिल्सिएका रसियन जनताले सुनौलो बिहानको अनुभूति गरेको दिन। १९१७ अक्टोबर २५ को दिन रुसी राज्यसत्ताको बागडोर सम्हालेका लेनिनले त्यही दिनदेखि युद्ध समाप्त, ‘जमिन जोत्नेको, उद्योग मजदुरको’ भन्ने लोकप्रिय कार्यक्रमको सार्वजनिक उद्घोष गरे। रसियन न्यायप्रेमी जनताको सरकारले आफ्ना जनतालाई गरेको विभिन्न आयाममध्ये सबैभन्दा प्रभावकारी र पहिलो कार्यक्रमको सम्बोधन कृषिमा आधारित। युद्ध र क्रान्तिद्वारा थकित आजाद रसियन जनताका लागि।

१९१७ अक्टोबर २५ अर्थात् १०८ वर्षअघि आजकै दिन युगौँदेखि जरा गाडेर बसेको विशाल राजसंस्थाको अन्त्य भयो र श्रमजीवीहरूको प्रत्यक्ष संलग्न क्रान्तिद्वारा मानव इतिहासको एउटा यस्तो राजनीतिक घटना बन्यो, जसले विश्वको राजनीतिक, आर्थिक र सामाजिक चेतनालाई अन्तर्राष्ट्रिय स्तरको नयाँ दिशा दियो। यो क्रान्तिले रुसमा शासन परिवर्तन मात्र गरेन, श्रमिक र किसान वर्गलाई सत्ताको केन्द्रमा ल्याएर पुँजीवादी र सामन्तवादी संरचनाको चुनौतीका रूपमा आफूलाई स्थापित गर्‍यो। 

भ्लादिमिर इल्लिच लेनिनको नेतृत्वमा सम्पन्न यो क्रान्ति शोषण, असमानता र सामन्तवादविरुद्धको जनविद्रोह थियो, जसको मुख्य ध्येय जनताका हातमा वास्तविक राज्य शक्तिको डोरी पुर्‍याउने थियो। सोभियतकालमा ती किसान परिवारलाई सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायता राज्यको जिम्मेवारीभित्र पार्‍यो। यी सुविधा सबै निःशुल्क र अत्यधिक सब्सिडीसहित उपलब्ध गराइएको थियो। शिक्षाको हकमा प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म निःशुल्क थियो। तब रुस (यूएसएसआर) बन्यो।

रसियन क्रान्तिको मूल उद्देश्य तीन शब्दमा व्यक्त गरिएको थियो: शान्ति, रोटी र जमिन। प्रथम विश्वयुद्धको त्रासदी, भोकमरीको पीडा र भूमि असमानताको अन्यायबिच जन्मिएको यो आन्दोलनले रुसी जनतालाई नयाँ आशा दिएको थियो। शान्तिको मागले रुसलाई सन् १९१४ बाट सुरु भएको पहिलो विश्वयुद्धको नरसंहारबाट मुक्त गराउने उद्देश्य राख्थ्यो। 

रोटी अर्थात् अन्नको मागले उत्पादन र वितरणको समानताको आवश्यकता जनाउँथ्यो। र जमिनको मागले किसान वर्गको शताब्दीऔँ पुरानो पीडालाई सम्बोधन गर्थ्यो, जसमा जमिनदार र चर्चले विशाल भूमि कब्जा गरी लाखौँ किसानलाई निर्मम रूपमा शोषण गर्दै आएका थिए। त्यसैले अक्टोबर क्रान्तिको वास्तविक आत्मा जमिनको प्रश्नसँग जोडिएको थियो।

सोभियत सरकारले त्यतिबेला सबैभन्दा निर्णायक कदमका रूपमा रसियन जनतालाई भूमिसम्बन्धी क्रान्तिकारी नीति ल्यायो। क्रान्ति सम्पन्न भएको भोलिपल्टै शताब्दीऔँदेखि केही धनी वर्ग, चर्च र सामन्तको नियन्त्रणमा रहेको सम्पूर्ण जमिन जनताको सम्पत्तिको र प्रगतिशील कार्यक्रमको रूपमा घोषणा गर्‍यो। यस घोषणाले सबै निजी स्वामित्व समाप्त गर्‍यो र लेनिन सरकारले स्पष्ट भने: अब कुनै पनि नागरिकले जमिन किनबेच वा भाडामा दिन पाउने छैन। 

जमिन जोत्न सक्ने किसानले मात्र त्यसको प्रयोगको अधिकार पाउनेछ। यसरी राज्य स्वामित्व कायम राख्दै जमिन प्रयोग गर्ने अधिकार किसानका हातमा आयो, जसले जमिन जोत्नेको नारालाई व्यवहारमा उतार्‍यो। जमिन अब कसैको व्यक्तिगत सम्पत्ति रहेन, सामूहिक स्वामित्वको रूपमा रहने व्यवस्था गरियो।

ग्यारेन्टीसहित राज्यले जमिन वितरणको मापदण्डलाई समाजवादी दृष्टिकोण अपनायो। परिवारको आकार, श्रमशक्ति र माटोको उब्जनी क्षमताका आधारमा जमिन बाँडिन्थ्यो। यो जमिन कसैको निजी स्वामित्वमा होइन, सामूहिक स्वामित्वअन्तर्गत राज्यको सम्पत्ति रहन्थ्यो। किसानले त्यसलाई जोत्न र उत्पादन गर्न पाउने, तर किनबेच गर्न वा भाडामा दिन नपाउने व्यवस्था थियो।

तर लेनिन र उनका सहकर्मीहरू (बोल्सेभिक) को दृष्टिकोणले व्यक्तिगत खेतीलाई प्राथमिकतामा राखेन। उनीहरूले सामूहिक उत्पादनलाई समाजवादी अर्थतन्त्रको आधार ठाने। त्यसैले केही वर्षपछि सोभियत सरकारले सामूहिक खेतीको नीति अघि सार्‍यो। यसै क्रममा रुसी भाषामा कोल्खोज (सामूहिक, अर्थात् सहकारी फार्म) र शोभ्खोज (सरकारी, अर्थात् राज्यको फार्म) को अवधारणा विकसित भयो। कोल्खोजमा किसानहरूले सहकारी रूपमा श्रम, बीउ, औजार र पशुधन प्रयोग गर्थे र उत्पादनलाई सामूहिक रूपमा बाँड्थे। शोभ्खोज भने राज्यको स्वामित्वमा सञ्चालन हुने ठूला कृषि फार्म थिए, जहाँ कृषि मजदुरहरू ज्याला लिएर काम गर्थे।

यद्यपि, अक्टोबर क्रान्तिपछि सुरुको दशकमा भूमिसुधारको मूल उद्देश्य भूमिहीन किसानलाई राहत दिनु र सामाजिक न्याय कायम गर्नु थियो। तत्कालीन अवस्थाअनुसार, जमिन बाँडफाँटले हजारौँ किसान परिवारलाई स्वतन्त्र उत्पादनको अवसर दियो। उनीहरू अब जमिनदारका नोकर होइन, आफ्नै श्रमका मालिक बने। यो परिवर्तनले रुसी ग्रामीण जीवनमा गहिरो मानसिक र व्यापक सामाजिक रूपान्तरण ल्यायो। किसान वर्ग पहिलो पटक सत्ता र नीति निर्माणमा सहभागी वर्ग बन्यो।

जनतालाई जमिन वितरणको दीर्घकालीन दृष्टिकोणले हेर्दा, अक्टोबर क्रान्तिपछि गरिएको क्रान्तिकारी भूमिसुधारले रुसी समाजमा सामन्तवादको अन्त्य मात्र गरेन, समाजवादतर्फको ठोस आर्थिक संक्रमणको बाटो पनि खोल्यो। यसले भूमिसम्बन्धी सम्पूर्ण ढाँचा उल्टाएर उत्पादनका साधनहरू श्रमिक वर्गको नियन्त्रणमा ल्यायो। जमिन जोत्नेको, राज्य सबको, भन्ने सिद्धान्त त्यस समयको नयाँ युगको स्लोगन बन्यो।

अक्टोबर क्रान्तिको मूल उद्देश्य सामाजिक समानता र आर्थिक न्यायको स्थापना गर्नु थियो, र त्यस उद्देश्यलाई व्यवहारमा उतार्ने पहिलो सरकारको समाजवादी कदम भूमिहीन किसानबिच जमिन वितरण नै थियो। करिब ८ देखि १३ हेक्टरसम्मको क्षेत्रफल प्रत्येक परिवारलाई वितरण गरेर राज्यले युगौँ पुरानो असमानताको अन्त्य गर्‍यो। सामन्तवादको जरो उखेलेर श्रमिक र किसानलाई सत्ताको धुरीमा ल्याउने यो नीति मानव इतिहासकै ऐतिहासिक मोड बन्यो। अक्टोबर क्रान्तिले देखाएको जमिन जोत्नेको सिद्धान्त आज पनि सामाजिक न्याय र समानताको सार्वभौम मूल्यका रूपमा जीवित छ। 

मार्क्सवादले व्याख्या गरेको धनीमानी मालिकको पुँजी र सर्वहारा श्रमजीवीको श्रमबिचको असमानताको दूरीलाई एकै ठाउँ उभ्याउन सफल अक्टोबर क्रान्तिले भूमिहीन किसानका लागि कोल्खोज र राज्य नियन्त्रित कृषि प्रणाली शोभ्खोजमार्फत उत्पादनसँग सम्बन्धित वस्तुहरू जनताको हातमा पुर्‍याएर रुसले समाजवादी यात्रा तय गर्दै शैक्षिक र विज्ञानको क्षेत्रमा विश्वमै पहिलो पटक पृथ्वीबाट अन्तरिक्षमा मानवयान पठाउन सफल देशको रूपमा कम्युनिस्ट अर्थात् समाजवादी मुलुक सोभियत संघ रुस विश्वभर परिचित भयो। संसारमै समाजवाद स्थापनाका लागि आर्थिक, राजनीतिक सहयोग पुर्‍याएका कारण हिजो समाजवादी मुलुक सोभियत संघ रुसले के सोचिरहेको होला भनेर विश्वले आकलन गर्थ्यो। 

स्वतन्त्रता र प्रजातन्त्रको नाममा अमेरिकी साम्राज्यवादको अवैध कोखबाट जन्मिएका मिखाइल गोर्भाचोभले सन् १९९१ डिसेम्बर २५ मा सोभियत संघ विघटन गरेको पनि आज ३४ वर्ष भयो। तत्कालीन सोभियत सरकारले अपनाएको सामूहिक कृषि प्रणालीलाई भत्काएर पुनः निजीकरणको नाममा धनी र गरिबको खाडल फेरि उस्तै भएको छ, आज पुटिनको देश रुसमा।

प्रकाशित: १० कार्तिक २०८२ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App