नेपाली समाजमा झट्ट सुन्दा नौलो लाग्ने शब्द जेनजी खास १३ देखि २८ वर्ष उमेर समूहको युवा पुस्ता हो। मोबाइल, कम्प्युटर ट्याबजस्ता आधुनिक उपकरणसँग खेल्दै सामाजिक सञ्जालको विशेष प्रयोग गरी नयाँ नयाँ कुरासँग साक्षात्कार हुँदै सिक्दै, सिकाउँदै विश्वभरका नागरिकसँग जोडिने उमेर समूह हो जेनजी। बाहिर व्यक्त नगरे पनि भित्रभित्रै जेनजीहरू जान्ने–बुझ्ने, मित्रता बढाउने, आन्तरिक सञ्जाल फैलाउने, विभिन्न आविष्कार गर्ने कार्यमा खप्पिस भइसकेका छन्।
तत्कालीन सरकारले गत भदौ १९ गते फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, युट्युबलगायत सामाजिक सञ्जालका माध्यममा रोक लगाएपछि एकाएक यो समूह निराश बन्यो। आफूहरू रमाइरहेको र कर्म गरिरहेको क्षेत्रमा रोक लगाइँदा उनीहरूले एक्लो र निस्सासिएको महसुस गरी सरकारविरुद्ध आन्दोलन घोषणा गरे। यो आन्दोलनको तत्कालीन कारण थियो।
आन्दोलनका अन्य कारण पनि थिए। देशमा कुशासन र भ्रष्टाचार मौलाउँदा सुशासन सुकेको थियो। युवा बेरोजगार थिए पनि कुनै पनि निकाय पारदर्शी र जनताप्रति उत्तरदायी थिएनन्। यसैकारण जेनजी समूह राज्य सञ्चालकप्रति रुष्ट थियो। सबै समस्याको एकमात्र विकल्प आन्दोलन ठानेका उनीहरू सबै शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका हुन्।
भदौ २३ तदनुसार ८ सेप्टेम्बरमा यो समूहले काठमाडौंलगायत देशभरका विभिन्न स्थानमा शान्तिपूर्ण तवरले बृहत् उपस्थितिका साथ आन्दोलनको सुरुवात गरेको थियो। आफ्ना मागलाई उनीहरू सरकारलाई सुनाउन, बुझाउन र कार्यान्वयन गराउन चाहन्थे तर शान्तिपूर्ण आन्दोलनमा सरकारले अराजक शैली अपनायो। प्रहरीको गोली लागेर एकैदिन २० जनाको ज्यान गयो। सयौं घाइते भए। यस किसिमको दमनबाट युवा झनै आक्रोशित बने र उनीहरूले अर्को दिन २४ गते पनि आन्दोलनलाई जारी राखे।
वास्तविक जेनजी शान्तिपूर्ण विरोधको कार्यक्रममा सरिक भए। उनीहरूलाई एकातर्फ आफ्ना साथीहरूको मृत्युको पीडा थियो भने अर्कोतर्फ माग जसरी पनि पूरा गराउनु थियो।
आन्दोलन सोचेको दिशामा अगाडि बढ्न सकेन। वास्तविक जेनजी आफ्ना माग र आन्दोलनमा अडिग रहे तर विडम्बना आन्दोलनमा घुसपैठ भयो। आन्दोलनकारीका नाममा नेपालको सांस्कृतिक र प्रशासनिक धरोहर सिंहदरबार, न्यायिक इतिहासको धरोहर सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रहरी भवन लगायत सरकारी, निजी र प्रतिष्ठानका भौतिक संरचना तोडफोड गरियो, आगो लगाएर ध्वस्त पारियो।
हरेक जिल्लामा रहेका प्रशासन कार्यालय, मालपोत, नापी, राजस्व, प्रहरी कार्यालयमा पनि तोडफोड गरी आगो लगाइयो, विभिन्न पालिका र वडा कार्यालय पनि तोडफोड र आगजनीमा परे।
सरकारी उच्चपदस्थ कर्मचारी, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सांसद, मन्त्री र नेताको घर/सवारीसाधनमा पनि तोडफोड गरियो, आगो लगाइयो। विभिन्न व्यापारिक भवन र पार्टी कार्यालयमा पनि आगो लगाइयो। तोडफोड र आगजनीबाट खर्बौं रुपैयाँबराबरको सम्पत्ति ध्वस्त भयो। प्रहरीले गोली चलाउँदा र विभिन्न भवनमा लगाइएको आगोमा परी मानवीय क्षति पनि भयो। जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ७२ यकिन भएको छ।
भदौ २३ गते २० युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए भने २४ को मध्याह्न हुन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिए।
भदौ २४ गत मध्याह्न नहुँदै प्रधानमन्त्रीको राजीनामा आए पनि आगजनी र तोडफोडको क्रम रोकिएन। राति ९ बजेसम्म यस किसिमको कुकृत्य भइरह्यो। राति १० बजेपछि शान्ति सुरक्षाको जिम्मा सेनाले लिएपछि स्थिति शान्त हुँदै गयो। दिउँसै सेनाले सुरक्षाको जिम्मा लिएको भए सायद यति ठुलो भौतिक क्षति हुने थिएन होला। यसमा कमजोरी भएको देखियो।
पहिलो दिन आक्रामक बनेको प्रहरी टोली दोस्रो दिन निरीह देखिन्थ्यो। दोस्रो दिन प्रहरीको नियन्त्रणमा केही र कोही पनि थिएनन्। आन्दोलनका नाममा आक्रमणकारी अराजक देखिन्थे। उनीहरूका कुकृत्यबाट आमजनता अत्यन्त तर्सित बनेका थिए।
जेनजी उमेर समूहको भौतिक संरचना र व्यक्तिमाथि आक्रमण गर्ने उद्देश्य नभए पनि जेनजीकै नाममा आक्रोशित भिडले भ्रष्ट नेताहरूको घरमा आक्रमण गर्दा कोही बोल्न सकेनन्। सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, निर्दोष व्यक्ति र व्यापारिक घरानाका भवनमा आगलागी र तोडफोड गरेर जेनजीमाथि कालो धब्बा लगाउने काम भयो।
केही भ्रष्ट नेता र कर्मचारीको घरमा भएको तोडफोड र आगजनीबाट भ्रष्टाचारी सबै निकै डराएका थिए। यसलाई आन्दोलनको सकारात्मक पक्षकै रूपमा लिन सकिन्छ।
आन्दोलनका नकारात्मक पक्ष
आन्दोलनका क्रममा देशले करिब ६ दर्जन युवा गुमायो, आमाबुबाको काख रित्तियो। देशमा खर्बौं रुपैयाँबराबरका भौतिक संरचना क्षति भए। कार्यालय आगजनी र तोडफोडमा परेकाले सरकारी कामकारबाही केही समयका लागि प्रभावित बन्यो। सर्वसाधारण त्रासदीपूर्ण वातावरणमा बस्न बाध्य भए भने हजारौं श्रमिकको रोजीरोटी खोसियो।
सकारात्मक पक्ष
आन्दोलनमा निस्किएका केही युवाको ज्यान गए पनि समग्रमा युवाको जित भयो। भ्रष्टाचारीको बेहाल भयो। जनप्रतिनिधि कुर्सीमा बस्नु नागरिकको पीडा बुझ्न हो भन्ने सिकाइ राम्रै भयो। भ्रष्टलाई कारबाही हुने र सुशासन कायम हुने, देश गति र मतिका साथ अघि बढ्ने आशाको सञ्चार भएको छ।
यो आन्दोलनले योजनाविहीन र भिजनविहीन नेतालाई गतिलो झापड दियो। पुराना दललाई सच्चिने अवसर पनि प्राप्त भयो। युवाका माग सुनिनुपर्छ भन्ने मान्यता स्थापित भयो। सरकार परिवर्तन भयो। नयाँ जनादेशबाट देश चलाउने निर्णयसहित अन्तरिम सरकार गठनसँगै प्रतिनिधिसभा विघटन भयो। सत्ता र राजनीति नेताका लागि होइन, जनताका लागि हुनुपर्छ र गरिनुपर्छ भन्ने सन्देश यो आन्दोलनले दिएको छ। अब देश नयाँ गति र मतिका साथ अघि बढ्नुपर्छ भन्ने दिशाबोध गराउन पनि आन्दोलन सफल भएको छ।
केही अनुत्तरित प्रश्न
जेनजीका नाममा सुरु भएको आन्दोलन तोडफोड, लुटपाट र आगजनीसँगै हिस्रक बन्नु यसको कालो पक्ष हो। सुरक्षा दिन प्रहरीले नसकेको अवस्थामा सिंहदरबारलगायतका भौतिक सम्पदा जल्दा सेना मूकदर्शक भएर बस्नुले सेनाप्रति जनतामा रहेको सकारात्मक धारणामा केही आँच आएको छ।
राष्ट्रका सम्पदा, सेनाकै परमाधिपतिको कार्यालय जल्दा पनि किन सेना देखेर पनि नदेखेझैं गरी बस्यो? त्यस्तै सरकारी संरचना जल्दा, तोडफोड हुँदा सर्वसाधारण र राज्यका अन्य निकाय प्रतिकारमा किन उत्रिएनन् भन्ने प्रश्न पनि उठेको छ। आन्दोलनकारीको त्रासले वा अन्य केही कारण छ? निर्दोषका घर र सम्पत्तिमाथि किन आक्रमण गरियो? जेनजीले भौतिक संरचनामा आक्रमण गरेका होइनन्, आन्दोलनमा घुसपैठ भएको हो भने त्यसको प्रतिकारमा जेनजी किन उत्रिएनन्? आन्दोलनमा एक भएका जेनजी अन्तरिम सरकार गठन प्रक्रियासँगै किन विभाजित भए?
समग्रमा दुई दिनको जेनजी आन्दोलनले देशको राजनीतिक दृश्य बदलिदियो। दलीय सरकारका प्रधानमन्त्री राजीनामा दिन बाध्य भए। दल बाहिरबाट नयाँ सरकार गठनसँगै मुलुकमा भ्रष्टाचारीमाथि कठोर प्रहार र सुशासनका पक्षमा काम हुने आशामा जनता छन्।
मानवीय र भौतिक क्षति भए पनि दुई दिनको जेनजी आन्दोलन मुलुकमा सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण साबित हुने आशा गर्न सकिन्छ। सरकारले प्रतिनिधिसभा सदस्य चुनावसँगै जेनजीको चाहनाअनुसार सुशासनका पक्षमा काम गर्नुपर्छ। सरकारले जेनजीसँग गरेको १० बुँदै सम्झौता कार्यान्वयन गर्नुपर्छ। अन्यथा जेनजी आन्दोलन खेर जानेछ।
प्रकाशित: २७ मंसिर २०८२ ०६:०४ शनिबार

