मेडिकल साइन्सको प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’मा गत हप्ता तीनवटा समीक्षात्मक आलेख प्रकाशित भए। अस्ट्रेलिया, अमेरिका, क्यानडा, ब्राजिल लगायतका दर्जनौं रिसर्च इन्स्टिच्युटका झन्डै चार दर्जन अन्वेषणकर्ताले विश्वभरबाट प्रकाशित सयभन्दा अधिक अनुसन्धानात्मक आलेखलाई चिरफार गरेपछि मात्र संसारलाई नतिजाको जानकारी दिए।
प्रकाशित लेखहरूले जंक खान्कीले १२ किसिमका स्वास्थ्य जटिलतालाई अस्वाभाविक हिसाबले उकासेको देखाए। मधुमेह, मुटुरोग, मृगौलाका समस्या मात्र होइन, मानसिक रोग, क्यान्सरका अतिरिक्त अल्पायुमै मृत्यु हुनेको संख्या वृद्धि हुनुमा चलानी खान्कीको भूमिका देखियो।
पछिल्लो समय क्यान्सर, मुटुरोग लगायतका नवीन चरित्रका स्वप्रतिरक्षा समस्याहरू आकासिएका छन्। उमेर ढल्किएपछि मात्र लाग्नुपर्ने क्यान्सर, मुटुरोगजस्ता जटिल समस्याको मारमा कलिला बच्चासमेत परेका छन्। जंक फुडको प्रयोग बढेसँगै त्यही अनुपातमा रोगले आफ्नो स्वाभाविक मार्ग बदलेको देखिन्छ। विज्ञानले प्रशोधित खान्कीले किन नवीन रोगलाई हौस्याउँछ भन्ने प्रश्नको बायोलोजिकल जवाफ दिन नसके पनि जंक फुड रोगको घर भएको यथार्थ भने पुष्टि गरेको छ।
अल्ट्रा प्रोसेस्ड फुडलाई सामान्य बोलीचालीको भाषामा जंक फुड भनिन्छ। जंक फुडले स्वास्थ्यमा बहुआयामिक खराबी गर्ने भएकाले त्यस्ता पदार्थलाई नेपाली जनजिब्रोमा खराब खान्की भनिन्छ।
जंक फुड खानु हुँदैन, त्यस्ता भोजनले स्वास्थ्यमा प्रतिकूल असर पार्छ भन्ने जान्दाजान्दै पनि प्रयाप्त सूचनाको कमीले धेरै नेपालीले खराब खान्कीको पहिचान गर्न सकेनन्। प्रशोधित खाद्यान्नको सहज पहिचान गर्ने उपाय, स्वास्थ्य असर अनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट चाल्नुपर्ने कदमको चर्चा यो आलेखको लक्ष्य रह्यो।
नेपाली घरमा नपाइने मरमसला प्रयोग गरी बनाइएका खान्कीलाई जंक फुड भन्दा फरक नपर्ला। जति खायो त्यति खाऊँखाऊँ लाग्ने, हेर्दैमा आकर्षक देखिने अनि लामो समयसम्म भोजन नबिग्रियोस् भन्नका लागि चलानी खानामा रासायनिक पदार्थहरू प्रयोग गरिन्छ। कोक, पेप्सी, बिस्कुट, चाउचाउजस्ता प्याकेटका खानामा धेरै किसिमका केमिकल प्रयोग गरिन्छ।
हालै प्रकाशित एक तथ्यांकले संसारमा झन्डै १० हजार रासायनिक पदार्थ प्रशोधिक खाद्य पदार्थमा प्रयोग भइरहेको बतायो। यस्ता रासायनिक तत्त्वहरू चलानी खान्कीमा दशकौंदेखि प्रयोग भए पनि रसायनहरूले मानवीय स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुराको यथार्थ जानकारी अनुगमन निकायलाई समेत हुँदैन भन्दा धेरैलाई अचम्म लाग्ला।
अन्तर्राष्ट्रिय मान्यताअनुसार प्याक भएका खान्कीलाई सबलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले छोटो जनावर परीक्षणपछि खान्कीमा मिसिने अबसर पाउँछ। मुसामा गरिने लघुपरीक्षणले रासायनिक पदार्थलाई तत्कालीन अवस्थामा घातक नदेख्नेबित्तिकै उक्त तत्त्वले खाद्यानमा प्रयोगको अनुमति पाउँछ। छोटो परीक्षणका भरमा दिइने प्रयोग अनुमतिले दीर्घकालीन परिणामको पूर्वानुमान गर्न सकिन्न नै।
पेय पदार्थ कोकाकोलाको बिक्री वितरण सुरु भएको एक शताब्दी नाग्यो। कोकमा दशकौंदेखि प्रयोग गरिँदै आएको एक तत्त्व ‘फोर मिथाइल इमिडाजोल’ले क्यान्सर लाग्ने कुरा भर्खर मात्र पत्ता लाग्यो। अनि उक्त पदार्थको प्रयोगमा बन्देज लाग्यो। त्यस्तै ल्याब निर्मित रङ ‘रेड डाई थ्री’ सन् १९६० को दशकदेखि नै खानालाई रङ्गीन बनाउन प्रयोग हुन थाल्यो।
केही वर्षअघि यो कृत्रिम रङ क्यान्सर, मुटु रोग तथा मधुमेह जस्ता लक्षणको कारक रहेको यकिन भयो। केमिकलमा बन्देज लाग्यो। उल्लिखित दुई रासायनिक तत्त्वलाई उद्धरण गरिए पनि यथार्थमा प्याक भएका खानामा प्रयोग भएका दर्जनौं रसायनले क्यान्सर, मुटु, मिर्गौला रोग भित्र्याएको पत्ता लागेको छ। भिन्न रासायनिक तत्त्वहरूले विभिन्न विधिमार्फत आफ्नो प्रभाव फैल्याउँदै हामीलाई रोगी बनाउँछन्।
प्रशोधित खान्कीमा प्रयोग हुने केही रासायनिक तत्त्वले महिला हर्मोनलाई काबुमा लिने भएकाले पुरुषको दाँजोमा महिलालाई केही क्यान्सरले दुगुना सताउँछ भन्ने अन्वेषणको निचोड हो।
त्यस्तै खाद्यान्नमा प्रयोग हुने केही रासायनिक रङको रासायनिक बनोट पुरुष हर्मोनसग मिल्दोजुल्दो हुने शुक्रकीटको घनत्व घटाएर व्यक्तिको पुरुषत्वलाई नकारात्मक असर पार्न सक्ने अन्वेषण यसै वर्ष ‘नेचर रिभ्युस युरोलोजी’मा प्रकाशित भयो। त्यसका अतिरिक्त विभिन्न समयमा प्रकाशित अन्वेषणले प्रशोधित खानामा प्रयोग गरिने रासायनिक तत्त्वले धेरै किसिमका हर्मोनलाई दखल दिने भएकाले व्यक्तिको ‘मेटाबोलिज्म’लाई असर पार्ने ठोकुवा गरेका छन्। मेटाबोलिक प्रक्रियामा नकारात्मक असर पर्दा शारीरिक बायोलोजी खलबलिने हुँदा विभिन्न किसिमका रोग लाग्छन्।
चलानी खान्की तथा बोतलका पेय पदार्थ मात्र खराब होइनन्, बरु प्याक गर्न प्रयोग भएका प्लास्टिक अझ दूषित छ भन्ने कुराले कसलाई दुःखी नबनाउला? प्लास्टिकमा प्याक भएर आउने खाना र पेय पदार्थ कति घातक छ भन्ने प्रश्नको उत्तर दिने प्रयास गरेका छन् संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले। जर्नल ‘पिएनएएस’मा गत वर्ष प्रकाशित एक अन्वेषणले प्लास्टिकमा प्याक भएका ठोस तथा तरल दुवै किसिमका खाने कुरा सेवन गर्दा उल्लेख्य मात्रामा माइक्रोप्लास्टिक शरीरमा जान्छ।
उदाहरणका लागि एक लिटर बोतलको पानीमा सालाखाला दुई लाख ५० हजार माइक्रोप्लास्टिक पाए अन्वेषणकर्ताले। आँखाले देख्न नसकिने प्लास्टिकका सूक्ष्म अंशलाई माइक्रोप्लास्टिक भनिन्छ। फरक अध्ययनले प्लास्टिकमा प्याक भएको चाउचाउ, बिस्कुट लगायतका सुक्खा खानेकुरा खाँदासमेत थुप्रै सूक्ष्म प्लास्टिक शरीरमा पुग्ने देखियो। खानामार्फत शरीरमा पुगेका सूक्ष्म प्लास्टिक मस्तिष्क, रक्त नली लगायत शरीरका प्रत्यक अंगप्रत्यंगमा स्थायी बास बसेको देखियो। माइक्रोप्लास्टिक्सको महत्त्वपूर्ण अंगमा घर बनाउँदा धेरै किसिमका नवीन रोग लाग्ने देखिन्छ।
प्लास्टिक उत्पादन गर्दा खनिज पदार्थका अतिरिक्त फालेटस, बिसफेलोन ए (बिपिए), पोलिब्रोमिनेटेड डाइफिनाइलइथर (पिबिडिइ) जस्ता केमिकलको प्रयोग गरिन्छ। हल्का पारदर्शी पानीको बोतल बनाउन ‘बिपिए’ प्रयोग गरिन्छ। अनि उक्त केमिकलको बनोट र चरित्र महिला हर्मोन ‘एस्ट्रोजिन’ सँग मिल्ने भएकाले बजारमा पाइने ‘सिंगल युज’ बोतलको पानी दिनहुँ सेवन गर्दा महिलाको इन्डोक्राइन सिस्टममा प्रतिकूल प्रभाव पार्न सक्छ।
त्यस्तै प्लास्टिकको भाँडा बनाउँदा नफुटोस् भन्नका लागि ‘फालेटस’ अनि तातोबाट बचाउन ‘पिबिडिइ’ भन्ने रासायनिक पदार्थ प्रयोग गरिन्छ। फालेटसले पुरुष हर्मोनलाई प्रतिकूल प्रभाव पारेको देखियो भने पिबिडिइले इन्डोक्राइन सिस्टममा बहुआयामिक असर पाइयो। तसर्थ प्लास्टिक बनाउन प्रयोग हुने रासायनिक तत्त्व शरीरमा पुग्दा प्रजनन स्वास्थलाई नकारात्मक असर पार्ने देखियो। यसरी माइक्रोप्लास्टिक्स र प्लास्टिकमा प्रयोग भएका रासायनिक तत्त्वले रोगको आयतन दिनानुदिन बढाइरहेको छ।
उल्लिखित अध्ययनले चलानी खान्की र खाना प्याक भएका प्लास्टिकका भाँडा दुवैले हाम्रो स्वास्थ्यमा धावा बोलिरहेको भए पनि किन कसैले सकारात्मक कदम चाल्दैन त?
‘मनी स्पिक्स’ -पैसा बोल्छ भन्ने भनाइ अटल छ। जसले जति धेरै कराउन सक्छ, त्यसको कुरा सबैले सुन्छन् भन्ने भनाइ प्रशोधित खानाको हकमा बेठिक हुने कुरा भएन। कोकाकोला र नेस्ले संसारका सबैभन्दा ठुला चलानी खान्की पेय बनाउने कम्पनी हुन्।
सन् २०१२ मा संसारभरका मिडिया विज्ञापन खर्चको १७ प्रतिशत हिस्सा उनीहरूको देखियो। आफ्नो सामानको विज्ञापन गर्न र आफूविरुद्धको हुन सक्ने सम्भाव्य चुनौतीलाई निस्तेज गर्न एक वर्षमा ६ अर्ब अमेरिकी डलरभन्दा अधिक खर्च गरे कोकाकोला र नेस्लेले। दुई कम्पनीले केवल मेडिया विज्ञापनमा खर्चिएको ६ अर्ब डलर बेलायतले नेपाललगायत संसार दर्जनौं विपन्न मुलुकलाई दिने वैदेशिक सहायतासँग दाँज्न मिल्ने पैसा हो भन्ने कुरा बिर्सनु हुँदैन।
चाउचाउ, बिस्कुट, कोकपेप्सी लगायत चलानी खान्कीले हाम्रो स्वास्थ्यलाई बहुआयामिक रूपले आघात पारिरहेका छन्। उत्पादकको पैसाको बलमा चलानी खान्कीको दुष्चरित्रबारे नेपालीले सुसूचितताको अवसर पाएनन्। त्यस्तो अवस्थामा सरकारले चलानी खान्कीको वास्तविक चरित्रबारे जानकारी गराउनुपर्छ। चुरोटको बट्टामा अंकित विकृत फोक्सोको आकृतिले समाजमा धूमपान नियन्त्रणमा सकारात्मक परिणाम दिएकाले त्यस्तै प्रकृतिको निषेधात्मक विज्ञापन लाभप्रद देखिन्छ।
त्यस्तै राष्ट्रिय तथा स्थानीय स्तरमा गरिने समाज केन्द्रित सूचना प्रवाह अर्को माध्यम हुन सक्छ। जंक फुड र प्लास्टिक दुवै स्वास्थ्यका लागि घातक हुन् भन्ने कुरा बताउन हिचकिचाउनु हुँदैन। जनहितका वैज्ञानिक अन्वेषणको जानकारी गराउनु सचेत नागरिक अनि राष्ट्रिय तथा स्थानीय सरकारको दायित्वभित्र नै पर्छ।
प्रकाशित: १० मंसिर २०८२ १०:०५ बुधबार

