१० पुस २०८२ बिहीबार
image/svg+xml
विचार

विभाजित मानसिकता

विभाजन भूगोलको मात्रै हुँदैन, दिल, दिमाग, इमान, उद्देश्य र सिद्धान्तको पनि हुन्छ। हजारौं रूप छन्, विभाजनका। भाषा, क्षेत्र, राजनीतिक विचार, धर्म, पन्थ, रूपरङ आदिका कारण पनि मानिस विभाजित हुन्छन्। सोभियत संघ विभाजनको कारण बनेका १५ राष्ट्र कोसोभो, सोमालिया, कोरिया, भियतनाम आदि उदाहरण छन्।

राष्ट्र टुक्राटुक्रा हुन भूगोल खण्डित हुनुपर्दैन। विचार नमिल्ने समुदाय विभाजित भएपछि विग्रह सुरु हुन्छ। दलभित्रै गुट र घरघरमा फुट हुन्छ। आपसमा भाइचारा, प्रेम, सदभावना, विश्वास छ भने राष्ट्र टुक्रिँदैन। जब सबैलाई जोड्ने कडी टुट्छ, धागो छिनेपछि पोते भुइँमा छरपस्ट भएजस्तो हुन्छ, राष्ट्र।

युवाका कुरा सुन्दा उनीहरू फरक ढंगले सोचिरहेको पाइन्छ। म इलाम विमानस्थल नजिकै घरमा बसेर यी पङ्ति लेखिरहेको छु। फुर्सदमा युवासँग संवाद गर्छु। विगतका अनुभवबाट शिक्षा लिएर भविष्यमाथि मन्थन गरिरहेका छन्, युवा। जिल्लामा पुराना नेता सुस्त र थकित भएको युवाको धारणा छ। युवा भन्छन्, उनै असफल पात्र पुनः सत्तामा पुगे भने विकास कछुवावाको गतिभन्दा पर जाँदैन।

एउटा सानो जमघटमा मलाई पुराना पत्रकार भनेर भाइबहिनीहरूले बोलाए। मैले भने अर्बौं डलर तिरे पनि हामीले अर्को दिन आजको समय अर्थात् वर्तमान किन्न सक्दैनौं तर वर्तमानमा सही निर्णय गरेर अथाह स्रोत साधन, सम्पत्ति र भविष्य जोगाउन सक्छौं।

घण्टी दल भनेर परिचित रहेछ, राष्ट्रिय स्वतन्त्र पार्टी। त्यसका इलाम जिल्ला सभापति टीकाले भने, ‘मेरा पिताले राप्रपा दलमा लामो समय सक्रिय भएर झापाका गाउँमा संगठन गर्नुभयो। कसैको सामु दुईचार हजार रुपियाँ मागेर गुजारा गर्नुपर्ने अवस्था थिएन। हाम्रो परिवारले झापामा पचास वर्ष पहिले नै बस व्यवसायीको परिचय बनाएको थियो। मैले होटल व्यवसायमा हात हालेँ। राम्रो चलेको छ।’

उनी भन्छन्, ‘राजनीति सेवा हो, पेशा होइन। के गर्नुहुन्छ? भनेर प्रश्न गर्दा राजनीति गर्छु भन्नेहरूलाई लाज लाग्नुपर्ने हो। तलबभत्ता, कमिसन, भ्रष्टाचार आदिका लागि मात्रै राजनीतिमा सक्रिय हुनेहरू कलंक हुन् !’

सुवासचन्द्र नेम्वाङका सुपुत्र उदीयमान युवा नेता पनि विकास, अनुशासन र सत्कर्ममा लागेर राजनीति गर्नुपर्ने बताइरहेका छन्। पुस्तान्तरण हुँदा राजनीतिमा गुणात्मक सुधार आउन सक्छ तर लगातार धेरै पल्ट शक्तिशाली भए पनि विकासका काममा ध्यान नदिनेहरूलाई जनअभिमतले बढार्न सक्छ। म नहुँदा नेपाल ठप्प हुन्छ र पृथ्वी मेरै वरिपरि घुम्छ भनेर अभिमान देखाउने सबै अब किनारा लाग्ने निश्चित छ।

सेक्सपियरले म्याकबेथ पुस्तकमा पहिलोपटक ‘एसासियसन’ शब्द प्रयोग गरे। उच्चस्तरमा रहेका राजनीतिक मानिसको हत्या भन्ने शब्दको रूपमा त्यो प्रचलित भयो। इन्दिरा गान्धी हुन् वा महात्मा गान्धी, लिंकन हुन् वा केनेडी, धेरैजसोको हत्या हुँदा विश्व स्तब्ध भयो। राजा वीरेन्द्रको हत्याका कारण लाखौं मानिसले आँसु बगाए। सुन्दा अप्रिय लाग्न सक्छ तर आज नेपालका कुनै नेता मारिए भने उनको परिवार, गुट र सीमित मानिस दुःखी होलान् तर धेरैलाई त्यो शोक समाचार चिया चिसो भएको अवस्था जस्तो पनि हुने छैन।

चीनको राजनीति हातमा लिने उद्देश्यले सिआइएले कोमिन्ताङ दल खोलेको कतिपय लेखकले उल्लेख गरेका छन्। पश्चिमा शिक्षा लिएका सुन यात–सेनलगायतलाई धेरैले विश्वास गरेनन्। उनीहरूले राम्रो उद्देश्य देखाएर गलत बाटो हिँडेको प्रमाणित भयो। सन् १९४९ मा कम्युनिस्ट शासन सुरु हुने धेरै कारण छन् तर इमानदार, प्रजातान्त्रिक र देशभक्त दल नहुँदा कम्युनिस्टहरू प्रवल भए।

सन् १९१२ मा राजतन्त्र अन्त्य भएपछि गृहयुद्धका कारण जर्जर चीनलाई अधिनायकवादी बाटोमा हिँडाउन कम्युनिस्टले लाखौंको हत्या गरेको ‘ब्ल्याक बुक अफ कम्युनिजम’ पुस्तकमा लेखिएको छ। राष्ट्र बचाउन र उठाउन सबै ऐक्यबद्ध नहुने हो भने भावनात्मक विभाजनका कारण राष्ट्रिय एकता धराशायी हुन्छ। राष्ट्र ‘फेल्ड स्टेट’ बन्न सक्छ। सुडान दुई टुक्रा भयो, सन् २०११ मा। कान्छो राष्ट्र साउथ सुडान अझै अशान्त छ। भावनात्मक विभाजन कति डरलाग्दो हुन्छ, भनिरहनै परोइन।

विदेशीले सोध्छन्, ‘नेपाल किन स्वतन्त्रता दिवस मनाउँदैन?’ सायद उनीहरूलाई थाहा छैन ‘परतन्त्र भएको राष्ट्रले मात्रै स्वतन्त्र भएपछि स्वतन्त्रता दिवस मनाउने गर्छन्।’

हामी कहिले पनि पराधीन भएनौं तर आज आत्मनिर्णयको अधिकार गुमाइरहेका छौं। हाम्रा आधारभूत कुरामा हमला भइरहेको छ। राष्ट्रिय चरित्र गुमाएको अवस्था छ। स्थायित्व, कूटनीतिक विश्वास र राष्ट्रिय एकताका यावत् पक्ष कमजोर छन्। घातप्रतिघातका कारण राजनीतिक शक्ति विभाजित छन्। सैद्धान्तिक भिन्नता खासै देखिदैन तर राजनीति सीमित मानिसको सम्पत्ति कमाउने उद्योग बनेको छ।

संविधानमा नलेखिए पनि ‘भागबण्डा’ शब्द वैधानिक बनेको छ। साठी लाखभन्दा धेरै युवाले रगत, पसिना र आँसु बगाएपछि नेपाल आउने गरेको सम्पत्तिमा सरकार गर्व गर्छ। सयौं उद्योग बन्द भए, बेचिए। हामी सियोसमेत अरू राष्ट्रबाट ल्याएर काम चलाइरहेका छौं। यहाँको अर्थतन्त्रसमेत विदेशी ऋण र दानमा चलेको छ। हामीलाई लज्जा अनुभूति भएन। अनेकौं काण्डमा मुछिएका भ्रष्टले ‘भ्रष्टाचार हुन दिइने छैन’ भन्छन्, हामी थप्पडी बजाएर खुसी हुन्छौं।

जनता मात्रै दास हुने प्रतियोगितामा सहभागी नहुने हो भने धेरै उच्चपदस्थ नेता र कर्मचारी जेलमा हुने थिए। फरक विचारमा हिँड्ने सबैलाई शत्रु देख्ने र आफ्नो दल र गुटका सबैलाई बुद्ध मान्ने प्रवृत्तिले न राष्ट्रघात रोकिन्छ, न भ्रष्टाचार।

एकाउन्न प्रतिशत जनप्रतिनिधिले राष्ट्र बेच्ने निर्णय गरे पनि ४९ प्रतिशत जनप्रतिनिधि र उनीहरूलाई मत दिनेहरू लाचार हुन्छन्। राजा वीरेन्द्रले नेपाली जलस्रोत, राष्ट्रिय सुरक्षा र नेपाली नागरिकताबारे लिएको अडान जगजाहेर छ। ठूलो मूल्य चुकाएर राजाले लिएको अडान स्वागतयोग्य थियो तर राजनीतिक दलहरूले त्यो राष्ट्रिय भावना बुझेनन्।

राजासँग धेरै प्रश्नमा सहमत राष्ट्रिय प्रजातन्त्र पार्टीका केही राष्ट्रघातीले महाकाली सन्धिको पक्षमा समर्थन जनाए। राजाबाट मनोनीत केही सांसद नै राजाको भावना विरुद्ध उभिए। ऊबेला एक जना नेताले मलाई भनेका थिए, ‘करोडौं रूपैयाँ त तिमीहरूलाई राजाले पनि दिँदैनन्। त्यसकारण महाकाली सन्धिको विरोध नगर’ भनेर तर्साउने काम गरे। मलाई धनको दुःख थियोे, एक करोड रूपैयाँ लिएर समर्थन गरेँ।

सिक्किम भारतले लिनुअघि जनमत संग्रहको नाटक गरियो। इस्ट टिमोरलाई इन्डोनेसियाबाट पृथक गर्दा त्यसै गरिएको थियो। इरिट्रियाको कथा त्यस्तै छ। साउथ सुडान जनताकै अभिमतले विभाजित भयो भनियो तर योजनाकार अरू नै थिए।

केही उच्चपदस्थ विदेशीले २०४६ साल र २०६३ सालमा नेपालमा आफूहरूले सफलता पाएको दाबी गरेका छन्। एसडी (सुखदेव) मुनि र अशोक मेहता, श्यामशरण लगायतका मानिसले नेपाललाई आफू अनुकूलको बाटोमा हिँडाउन राजनीतिक परिवर्तन गराएको बताएका छन्। खुसुक्क भनेको होइन, पुस्तक, लेख र अन्तरवार्तामा भनेका छन्।

यता नेपालका केही नेता परिवर्तन त आफूले गराएको बताएका छन्। सत्य के हो, सबैलाई थाहा छ। विश्वका सञ्चारमाध्यम हेरिरहने युवालाई झन् धेरै थाहा छ, जो नेपाल र नेपालीको लागि होइन, अरूका लागि काम गरिरहेका छन्, उनीहरूलाई पुनः जिम्मेवारी दिँदा नेपाल र नेपालीको भविष्य कस्तो होला?

राष्ट्रघात नियमित आकस्मिकता बनेको छ। बहुमतको निरङ्कुशतन्त्र डेमोक्रेसी होइन भन्ने कुरा सर्वसाधारणले नबुझेसम्म केही ठूला दलले राजनीतिक प्रणालीलाई दल, गुट र निजी स्वार्थका लागि मात्रै प्रयोग गरिरहने छन्। बरु स्वतन्त्र हुन नचाहने केही नेतालाई धर्मबाबू मानेर बस्ने स्वार्थी व्यक्तिका कारण तल्लो तहसम्म डेमोक्रेसीको मर्म पुग्न सकेन र हामीलाई विभाजित गर्ने प्रपन्च मात्रै भयो। के यही हो, लोकतन्त्र?

प्रकाशित: २३ श्रावण २०८२ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App