नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ। हरेक वर्ष हजारौं नेपाली युवा विदेशिन्छन्, जसमा केवल शिक्षा र रोजगारीको खोजी मात्र होइन, जीवनको सम्पूर्णताको लागि अवसरको खोजी रहेको छ।
यो पलायन केवल व्यक्तिगत निर्णय मात्र होइन, यसले राष्ट्रिय जनशक्ति, सामाजिक संरचना, सांस्कृतिक अस्तित्व र आर्थिक प्रगतिमा गहिरो प्रभाव पार्ने सम्भावना समेत राखेको हुन्छ। त्यसैले, यो विषयमा सबैस्तरमा गम्भीर चिन्तन र राष्ट्रिय छलफलको आवश्यकता बनेको छ।
युवा पलायनको यो प्रवृत्तिले नेपालको सामाजिक व्यवस्थामा समेत नकारात्मक प्रभाव पारिरहेको छ। परम्परागत रूपमा नेपाली समाज सामुदायिक सहकार्य, साझा चासो र सामूहिक उत्सवको संस्कृतिमा बढी विश्वास गर्ने गर्दथ्यो तर हाल आएर दशैं, तिहार, चाडपर्वहरूमा पनि त्यो मौलिक उल्लास, पारिवारिक मिलन र सामुदायिक सान्दर्भिकतामा कमी देखिन थालेको छ।
घरघरमा कुनै न कुनै सदस्य बिदेशमा हुनाले चाडपर्वको मिठास कम भएको महसुस गर्ने गरिन्छ। आमाबाबुको माया बाँड्ने, दाइभाइको साथमा हाँस्न-खेल्ने, श्रीमान-श्रीमतीको साथमा जीवनयापन गर्ने र साथीभाइको संगतमा बिताउने सामान्य जीवनशैली अब दुर्लभ बन्दै गएको छ। यसले गर्दा पारिवारिक बन्धनमा दरार आएको छ, सामाजिक सम्बन्धहरू कमजोर भएका छन् र एकान्तताको भावना बढेको छ।
सामाजिक सहयोगको भावना, जुन नेपाली समाजको मेरुदण्ड हो, त्यो पनि क्षणिक बन्दै गएको छ। यसले दीर्घकालमा हाम्रो सामाजिक एकता र संरचनामा ह्रास गराउने खतरा बढेको छ।
आर्थिक क्षेत्रमा पनि यसको प्रभाव उल्लेख्य छ। नेपालले आफ्नो सबैभन्दा सक्षम, शिक्षित र उत्पादक युवा शक्तिलाई विदेश पठाइरहेको छ। देशले लगानी गरेर तयार पारेको मानवीय पूँजी विदेशिन्छ र त्यसको फाइदा अन्य देशहरूले उठाइरहेका छन्।
विदेशबाट पठाइने रेमिटेन्सले अर्थतन्त्रलाई सहारा दिइरहेको भएपनि, त्यो दीर्घकालीन राष्ट्रिय विकासको लागि टिकाऊ मोडेल भने होइन। देशभित्रै उत्पादकता बढाउने, उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र गुणस्तरीय रोजगारी सिर्जना गर्ने क्षमतामा यसले ठूलो चुनौती खडा गरेको छ।
गाउँघरमा कृषि योग्य जमिन बाँझो पर्दै गएको छ, सामुदायिक संस्थाहरू कमजोर भएका छन् र स्थानीय बजार सङ्कुचित भएका छन्। देशको आर्थिक स्वावलम्बनको सपना युवा शक्तिको अभावमा साकार हुन कठिन देखिन्छ। युवाहरू विदेशिनुको अर्थ देशको भविष्य निर्माण गर्ने प्रमुख आधार वञ्चित हुनु हो।
सांस्कृतिक पहिचानको संकट पनि यसको अर्को पक्ष हो। नेपालको समृद्ध सांस्कृतिक विरासत, परम्परा, भाषा, रीतिरिवाजहरू युवा पुस्ताको सक्रिय सहभागिताबिना कसरी जिउँदो रहन्छन? विदेशी संस्कृतिले गर्दा नेपाली युवामा देखा परेको सांस्कृतिक पलायनले देशभित्रै सांस्कृतिक अस्मिताको संकटलाई जन्म दिइरहेको छ। नयाँ पुस्ताको लागि सांस्कृतिक मूल्यहरू स्खलनको मार्गतिर गईरहेको छ। यसले गर्दा हाम्रो राष्ट्रिय एकताको आधार सांस्कृतिक विविधतामा कमी आउने सम्भावना रहेको छ।
यो समस्याको समाधान के हो? सबैभन्दा पहिले, राज्यले यस विषयलाई राष्ट्रिय प्राथमिकताको रूपमा राखेर हेर्नुपर्छ। युवाहरू विदेशिनुको मूल कारण अर्थात् रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूमा गुणस्तरीय सेवा प्रवाह गर्न सक्षम नीति तथा कार्यक्रमहरू ल्याउनु जरुरी देखिन्छ।
देशभित्रै उद्यमशीलतालाई प्रोत्साहन दिने, लघु र मझौला उद्यमहरूको विकास गर्ने, तथा निजी क्षेत्रलाई लगानीको लागि अनुकूल वातावरण सिर्जना गर्ने जस्ता कदम चाल्नुपर्छ। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा जस्ता क्षेत्रहरूमा ठूलो सम्भावना रहेको छ। ती क्षेत्रहरूको विकासले धेरै युवाहरूलाई देशभित्रै आकर्षित गर्न सक्छ।
दोस्रो, शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक छ। हालको शिक्षा प्रणालीले रोजगारीमुलक शिक्षा, दक्षतावादी तालिम र नविनतम सोचलाई प्राथमिकता दिएको छैन। युवाहरूलाई देशको आवश्यकता अनुरूप कौशल सीप दिने गरीशिक्षा प्रणाली विकास गर्नुपर्छ। त्यसो गर्दा युवाहरूले विदेश जानुको सट्टा देशभित्रै आफ्नो क्षमतालाई राम्रोसँग विकास गर्न सक्छन्।
तेस्रो, विदेश पलायन गर्ने युवाहरूसँग जोडिने र उनीहरूको ज्ञान, अनुभव र पूँजीलाई देशको विकासमा लगानी गर्ने रणनीति बनाउनुपर्छ। धेरै विदेशमा बसेका नेपालीहरूले आफ्नो मूल भूमि प्रतिको गहिरो माया राख्छन्। उनीहरूले नेपालको विकासमा योगदान पुर्याउन चाहन्छन्। तिनको यो इच्छाशक्तिलाई सकारात्मक रूपमा उपयोग गर्न सकिने खालको वातावरण नीति स्तरमा सिर्जना गर्नुपर्छ। उदाहरणका लागि, उनीहरूबाट सीप, प्रविधि र पूँजीको लगानीका लागि विशेष प्रोत्साहन जस्ता कार्यक्रमहरू सुरु गर्न सकिन्छ।
चौथो, सामाजिक दायित्वको भावना पनि यसको लागि अति आवश्यक छ। हरेक नागरिक, विशेष गरी युवाहरूले आफ्नो देश प्रतिको दायित्व महसुस गर्नुपर्छ। देशको विकास र समृद्धिमा आफूलाई सहभागी बनाउने मानसिकताको विकास गर्नुपर्छ। देश बनाउने काम सरकार मात्रको हैन, यो हरेक नागरिकको सामूहिक दायित्व हो। त्यसैले, आफ्नो व्यक्तिगत विकासलाई मात्र केन्द्रमा राख्नुको सट्टा सामूहिक विकासलाई पनि महत्त्व दिनुपर्छ।
युवाको पलायन राष्ट्रिय चुनौती हो। यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक भविष्यलाई जोखिममा पारेको छ तर यसलाई अवसरमा पनि परिणत गर्न सकिन्छ। यसको लागि राज्य, निजी क्षेत्र, नागरिक समाज र व्यक्तिगतस्तरमा पहलको प्रयास आवश्यक छ।
देशभित्र राम्रो अवसर सिर्जना गर्ने, युवाहरूको आकांक्षालाई पूरा गर्ने वातावरण निर्माण गर्ने र उनीहरूमा देशप्रतिको अपनत्व र गौरवको भावना जगाउने काम गर्नुपर्छ। हामी सबैले मिलेर नेपाललाई यस्तो राष्ट्र बनाउनुपर्छ जहाँ हरेक युवाहरुले समृद्धिको सपना देख्न सकोस्, त्यसलाई पूरा गर्न सकोस् र आफ्नो भविष्य यहीँको भूमिमा निर्माण गर्न सकोस्। यो काम सजिलो त छैन तर असम्भव पनि होइन। राष्ट्रप्रेम, सामूहिक सोच र दूरदर्शी नेतृत्वको बलमा मात्र नेपालले यो चुनौतीलाई अवसरमा परिणत गर्न सक्छ र एक समृद्ध र स्वावलम्बी राष्ट्रको रूपमा उभिन सक्छ।
स्तम्भकार युवा गैरसरकारी संस्था महासंघ नेपालका महासचिव हुन्।
प्रकाशित: १२ पुस २०८२ १२:०६ शनिबार

