आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन्।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघात लगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका छन्।
काठमाडौँको जडीबुटी नरेफाँट बस्ने वसन्तले पनि यो कुरा बुझ्न थालेको तीन वर्ष भयो। उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलसँग एकै पटक सङ्घर्ष गर्नु परेपछि उनले यो कुरा बुझ्न थालेका हुन्। उमेरले ३३ वर्ष पुगेका वसन्तले खानपान र जीवनशैलीलाई गरेको बेवास्ताको परिणाम हिजोआज भोग्दै छन्। “औषधि खान थालेकै तीन वर्ष भयो, हाल न खान मन लागेको खान पाइन्छ, न मन लागेको काम निश्चिन्त भएर गर्न पाइन्छ। कामभन्दा औषधि छुट्ने पिरलो”, उनी भन्छन्, “यस्तो अवस्थामा स्वास्थ्यबारे सोच्नु कि करियर! समयमै ध्यान दिएको भए त यस्तो हुन्थेन होला।”
ललितपुर टिकाथलीकी ३० वर्षीया श्रीमायाको अवस्था पनि त्यस्तै छ। उमेरले उनी ३० वर्षकी भइन् तर तौल भने ८० किलोग्राम। बिहे गरेको छ वर्ष हुन लाग्यो, बच्चा भएको छैन। चिकित्सककहाँ जाँदा थाहा भयो, थाइराइड छ, कलेजो बोसोले टम्म। अब २५–३० केजी तौल नघटाए थप शारीरिक समस्या थप भोग्नुपर्ने छ। अचेल उनी अरू प्राथमिकता छोडेर नियमित व्यायाम खाना धाउँछिन्। “समस्याको जड त मोटोपन रहेछ, बल्ल १० केजी घट्यो। खै! ५५ केजी कहिले पुर्याउने होला!”, श्रीमायाले भनिन्।
टीकाथलीकी प्रमिलाको तीन पटक गर्भपतनको पीडा सहिन्। चिकित्सकको उच्च निगरानीमा रहेर बल्लतल्ल बच्चा त जन्मियो, तर फुर्तिलो भएन। “थाइराइडको समस्याले गर्भ खेर जाने भइरह्यो, उच्च सतर्कता अपनाएर बच्चा जन्मिए पनि स्वास्थ्य समस्या देखिएको छ। खै ! ध्यान त दिएकै हो, समस्या भइहाले छ”, उनले दुखेसाे पाेखिन्।
यी त उदाहरण मात्र हुन्, अचेल हरेक घरघर र व्यक्तिव्यक्ति यस्तै कुनै न कुनै समस्याबाट ग्रस्त छन्। मधुमेह, मुटुरोग, उच्च रक्तचाप, मोटोपन, कोलेस्टेरोल, क्यान्सर, मानसिक स्वास्थ्य समस्या, श्वासप्रश्वास रोग, अल्सर, पाचन प्रणाली गडबडी लगायत जीवनशैलीजन्य विविध रोगले डरलाग्दो रूप लिइरहेका छन्। चिकित्सकहरूले नसर्ने रोगको अवस्थालाई ‘सुषुप्त महामारी’ र ‘साइलेन्ट किलर’ (बिस्तारैबिस्तारै मार्ने) भन्ने गरेका छन्।
नसर्ने रोगहरू सम्बन्धी सञ्जाल नेपाल एनसिडी एलायन्स (एनएनसिडिए) का अनुसार नेपाल अब सङ्क्रामकभन्दा नसर्ने रोगका कारण थला पर्दैछ। हरेक वर्ष हुने मृत्युमध्ये ६० प्रतिशत मृत्युको कारण नसर्ने रोगहरू नै छन्। यो विश्वभरिकै समस्या हो। विश्वमा दुई तिहाई मृत्युको कारण नसर्ने रोग हुन् भने यीमध्ये पनि मुटु रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वास सम्बन्धी रोगहरूको हिस्सा ८२ प्रतिशत छ।
हिजोआज अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, स्वास्थ्यका लागि हानिकारक मानिएका पत्रु खाना उपभोग, निस्क्रिय जीवनशैलीजस्ता कारण अनेक रोगका लागि ढोका खोलिदिएका छन्। यो समस्या सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत विस्तार भइरहेकामा चिन्ता व्यक्त गर्छन् एनएनसिडिएका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी। हाल ग्रामीण क्षेत्रमा पनि ब्लडप्रेसर, थाइराइड, क्यान्सर, दमखोकी, मधुमेह लगायत समस्या बढिरहेको उनको भनाइ छ।
“हालै कर्णालीको जाजरकोटमा गरिएको एउटा अध्ययनमा तीन वयस्कमध्ये एकजना र १० जनामा एकजनामा मधुमेह देखियो। छ वर्षअघि बाथमुटु रोग बढी थियो, अहिले त्यो घट्यो। सहरमा हृदयघात पहिलो र थाइराइड दोस्रो समस्याका रूपमा छ”, उनले भने, “प्रशोधित खानेकुरा, तयारी खाना (जङ्क फुड), चिल्लो, गुलियो, नुनिलो धेरै खाने तर परिश्रम नगर्ने अव्यवस्थित जीवनशैलीले समस्या भइरहेको छ।”
डा. रेग्मी ग्रामीण क्षेत्रमा खानापछि खानु भनेको औषधि पनि बिस्कुट खाएर सेवन गर्ने, घरको चामल बेचेर बजारको प्रशोधित मसिनो चामल, मैदा उपभोग गर्ने जस्ता व्यवहारले समस्यालाई बढावा दिइरहेको धारणा राख्छन्। “हाल सहरमा बरु केही चेतना बढेको छ तर गाउँमा देखासिकी। मकै बेचेर चाउचाउ, घरको चामल, पीठो, गेडागुडी बेचेर बजारबाट तयारी खानेकुरा ल्याउने प्रचलन बढ्दो छ। यो चिन्ताको विषय हो”, उनले भने।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पोषणकै कमीले हाल पाँच वर्षमुनिका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, आठ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशत बालबालिका र ३४ प्रतिशत महिलामा रक्तअल्पता छ।
यसले व्यक्तिको जीवनमा मात्र होइन, देशको अर्थतन्त्र, परिवार र सामाजिक संरचनामा समेत गम्भीर असर परिरहेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीको भनाइ छ। हाल बाल्यावस्था र युवावस्थामै विभिन्न शारीरिक तथा मानसिक समस्या उत्पन्न हुँदा राष्ट्रको स्वास्थ्यलाई नै समस्यामा पारिरहेको उनी बताउँछन्। “नसर्ने र अन्य रोग निम्त्याउने कारणमा हाम्रो खाद्यबानी, जीवनशैली र आफ्नो पौष्टिक खाद्यवस्तु छाडेर आयातित जङ्कफुड/पत्रुखाना खाने र खुवाउने प्रवृत्तिले समस्या भइरहेको छ। सजिलोका लागि धेरैको रोजाइमा यस्तै वस्तु छन्, जसले एकछिन र एक दिनका लागि सजिलो भए पनि जीवनभरका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन निम्तिन्छ। यो विषय हरेकले बुझ्न आवश्यक छ”, उनले भनिन्।
थपिँदै चुनौती
विभिन्न अध्ययनले विश्वमा प्रत्येक दुई सेकन्डमा ७० वर्षमुनिका एक व्यक्तिको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको देखाएका छन्। यसरी हुने अकाल मृत्युमध्ये ८६ प्रतिशत हिस्सा न्यून मध्यम आय भएका देशहरूको छ।
आधुनिक जीवनशैली, खानपान र शारीरिक निष्क्रियताका कारण यो समस्या झन् जटिल बन्दै गएको छ। विश्व मुटु महासङ्घका अनुसार विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउँछन्।
यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि ज्यान गुमाउनेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ। विश्व स्वास्थ्य सङ्गठनले भविष्यवाणी गरे अनुसार सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्नेछ।
यस्तै, कोरोनरी मुटुको रोग (हृदयघात) संसारकै एक नं हत्यारा रोगका रूपमा स्थापित हुनेछ।
नेपालमा पनि यो समस्या स्वास्थ्य सङ्कटकै रूपमा देखिँदै गएको नेपाल हृदय रोग निवारण प्रतिष्ठानको तथ्याङ्क छ। प्रतिष्ठानका अनुसार हाल नेपालमा ३० प्रतिशत अर्थात् करिब एक करोड मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित छन्। यो सङ्ख्या २० वर्षयता पाँच गुणाले बढेको छ।
नेपाल एनसिडी एलायन्सले पनि नेपालमा करिब ३० प्रतिशत वयस्क नागरिकलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कालेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोग रहेको जनाएको छ।
यसो हुनुमा ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखानु, करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम नगर्नु र ४० प्रतिशतले चुरोट, सुर्तीजन्य पदार्थ सेवन गर्नुलाई कारण मानिएको छ।
हाम्रै खाद्यबाली औषधि र भान्छा औषधालय
विभिन्न समयमा भएका अध्ययनले जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटु लगायत नसर्ने रोगका कारणमाथि नियन्त्रण गर्न सकिने देखाउँछन्। समग्र नसर्ने रोगको निदानका लागि स्वास्थ खानपान, प्राकृतिक जीवनशैली र नियमित परिश्रम नै अचुक उपाय भएको जानकारहरू बताउँछन्।
नेपाल सरकार, खाद्य अनुसन्धान केन्द्रका प्रमुख डा. रोमन कार्की नसर्ने रोगको मूल जडका रूपमा ‘इन्सुलेन्स रजिस्टेन्स’ रहेको बताउँछन्। यो भनेको शरीरका कोषहरूले इन्सुलिन हर्मोनप्रति ठीकसँग प्रतिक्रिया नजनाउने अवस्था हो। जुन प्यान्क्रियासबाट निस्कन्छ र शरीरमा ग्लुकोज (चिनी) लाई कोषहरूभित्र लैजाने काम गर्छ तर जब कोषहरूले इन्सुलिनलाई ‘नचिन्ने’ अवस्था बन्छ, तब रगतमा चिनीको मात्रा बढ्छ। शरीरले धेरै इन्सुलिन उत्पादन गर्न थाल्छ।
यसले गर्दा बिस्तारै टाइप २ डायबेटिज, मोटोपना, हृदय रोग, मेटाबोलिक सिन्ड्रोम जस्ता नसर्ने रोगहरू देखापर्न थाल्छन्। “यो शारीरिक असन्तुलनको मौन सुरुआत हो, तर सुरुआतमा बेवास्ता गरिन्छ, पछि दीर्घकालमा गम्भीर स्वास्थ्य समस्याको कारण बन्नसक्छ”, उनले भने, “यसको पनि मूल जड इनर्जी बढी भएका तर पोषण तत्त्व कम भएका अत्यधिक प्रशोधित खानाको सेवन गर्नु हो। खानेबित्तिकै तुरुन्त पच्ने र ग्लुकोजको मात्रा बढाउने खालका अत्यधिक पोलिस गरेका ‘जिआइ फुड’ (चामल, मैदा, चिप्स, फ्रेन्च फ्राई, चिनी, कोक आदि) यसमा पर्छन्। यो समस्या हाल १५/१६ वर्षकै उमेरमा देखिन थालेको छ।”
यसको विकल्पमा हाम्रा रैथाने खाद्यबाली अर्थात् कम ग्लाइसेमिक इन्डेक्स (लो जिआई फुड) भएका कोदो, ब्राउन चामल, किन्नोआ, मसुरो, मस्यौरा लगायत प्रशोधन नगरिएका सूक्ष्म पोषक तत्त्वयुक्त खानेकुरा प्रयोग गर्नु उत्तम हुने डा. कार्कीको सुझाव छ।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का प्रमुख डा. बालकृष्ण जोशी सहरिया भनेर चिनिने नसर्ने रोग निदानमा रैथाने औषधीय अनाज र कोदे बाली उपयोगी हुने बताउँछन्।
रैथाने बाली शुद्ध, पोषिलो, स्वस्थ, गुणस्तरीय र स्वादिलो (पञ्चगुण) र खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण (पञ्चकर्म) का लागि पनि उपयोग हुने उनको भनाइ छ। “मधुमेह, उच्च रक्तचाप, मुटुरोग, हृदयघात, मोटोपन, थाइराइड, ग्यास्ट्रिक, अपच, प्रोस्ट्रेड, उच्च कोलेस्ट्रोल, कलेजोमा बोसोजम्ने जस्ता जीवनशैलीजन्य रोगहरू तीव्र गतिमा फैलिरहेका छन् तर यी रोगहरूको रोकथामको उपाय हाम्रै रैथाने खाद्यबाली र परम्परागत खानपानमा छ”, डा. जोशी भन्छन्, “खासगरी कोदे बाली (कागुनो, जुनेलो, कोदो, सामा, धान कोदो, घोँगे र चिनो) को सेवनले अस्पतालले निको नपारेका रोगहरू पनि निको भएका अनुभव मैले सुनेको छु। यसमा रोगप्रतिरोधी विभिन्न १५ गुण पाइने भएकाले पनि स्वास्थ्यका लागि अचुक उपाय हुन्। यति मात्र होइन हाम्रा परम्परागत खानामा पाइने फाइबर, प्रोबायोटिक, एन्टिअक्सिडेन्ट र स्वस्थ फ्याट्सले पाचन, मुटु र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गरेको विभिन्न अध्ययनले देखाएका छन्।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ पेट भर्न (क्यालोरी पाइने) पर्याप्त विकल्प भए पनि सूक्ष्म पोषक तत्त्व पाइने खाद्यमा ध्यान नदिँदा स्वास्थ्यमा विविध समस्या देखिएको बताउँछन्।
“पहिलो कुरा त हामीले विविधतायुक्त खानपान व्यवहार छोड्दै गयौँ। एकल बाली कृषि प्रणालीका कारण उत्पादन सीमिततामा गयौं। यस्ता उत्पादनले पोषणका लागि क्यालोरी त पूरा भयो तर सूक्ष्म पोषक तत्त्वको अभाव देखियो। यसले मान्छेको सर्वाङ्गीण विकास हुन सकेन”, डा. श्रेष्ठ भन्छन्, “यो समस्या सहरको मात्र होइन, खुलाबजार अर्थतन्त्रका कारण बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका जङ्क फुड दूरदराजमा पनि पुगे। कोदाका रोटी, मकैका ठेट्ना, रैथाने खाद्यसामग्री विस्थापित हुन थाले। मही खान छोडेर बजारका पेयपदार्थ रोज्न थाल्यौँ। हाल खान नपाएर कुपोषण हुने सङ्ख्या करिब छ प्रतिशत छ, तर धेरै खाएर, खान नजानेर र सूक्ष्म पोषक तत्त्वको अभावमा शारीरिक, मानसिक, सामाजिक र हरेक दृष्टिले कुपोषित हुने सङ्ख्या अत्यधिक छ।”
उनी पनि यसको समाधान कोदो, फापर, जौ, मकै, भटमास, सिमी, गुन्द्रुक लगायत हाम्रा रैथाने बाली र खाद्य व्यवहारमै देख्छन्। “यसर्थ अब हरेक नागरिकले कम्तीमा आफ्नो स्वास्थ्यका लागि, सरकारले ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा, दिगो, उत्थानशील र समावेशी खाद्य प्रणालीका लागि रैथाने बालीको विकास र प्रयोगमा जोड दिन आवश्यक छ”, डा. श्रेष्ठको भनाइ छ।
रैथाने गौआधारित कृषि र पञ्चगव्यको उपयोगबारे सन्देश फैलाइरहेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कौशलेन्द्र झा पनि आधुनिक रोगहरूको निदानका लागि परम्परागत खाद्यबाली र बानी महत्वपूर्ण हुने धारणा राख्छन्। उनी आधुनिकताको लहलहैमा आफ्नो माटो छोड्दा नेपाली सामाज नै आधुनिक रोगहरूका कारण थला पर्न थालेको जिकिर गर्छन्। “आयातित जङ्क फुडको कुरा मात्र होइन, हाम्रो नीति, अभ्यास र आधुनिकताको लहडले नेपाली माटो, हावापानी पनि प्रदूषित भइरहेको छ। हाम्रा मही, दही, घिउ लगायत पञ्चगव्य, कोदो, फापर, मस्यौरा जस्ता सुपर फुड हेलामा पर्दा रोगव्याधि बढेर हैरानी बढेको हो”, झा भन्छन्, “पहिले परम्पराग उब्जनी भएका अन्नबालीमा प्राकृतिक गुण भएकाले रोग प्रतिरोधी क्षमता थियो। अन्न होइन, स्वास्थ्यका लागि अमृतपान गरे जस्तै हुन्थ्यो। हाल पञ्चतत्व नै विशाक्त भए, जीवनशैली अप्राकृतिक भयो। शरीर मात्र होइन, मानसिकतामै नकारात्मक पक्ष हाबी हुँदै गएको छ। जसले क्यान्सर जस्ता असाध्य रोगबाट व्यक्ति र गलत सोचका कारण समाज आक्रान्त छ।”
त्यसैले अब हाम्रै रैथाने बाली, बानी र खाद्य प्रणाली विकासमा लाग्नुपर्ने उनको भनाइ छ। “आधुनिक रोगहरूको समाधान खोज्दै विदेश र अस्पताल धाउनुभन्दा अब हाम्रो आफ्नै भान्सामा फर्केर हेर्ने समय आएको छ। अब परम्परागत खाद्य र जीवन पद्धति नै हाम्रो सुन्दर भविष्यको आधार बन्न सक्छ”, अभियन्ता झाको निष्कर्ष छ।
पत्रु खाना विरोधी अभियानमा सक्रिय डा. उप्रेती पनि ‘फास्ट फुड’ र प्रशोधित खानेकुराको सट्टा गाउँघरका परम्परागत खाना र खाने पद्धतिको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउँछिन्। “विभिन्न अध्ययनले नै रूप र गुण नबिगारिएका वनस्पतिजन्य पदार्थहरूबाट तयार पारिएका खानालाई उचित समय र मात्रा मिलाएर खाने र आचारविचार ठीक राखे धेरै रोगबाट बच्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिसकेका छन्। त्यसैले रैथाने बालीको संरक्षण र उपयोगमा व्यक्ति तथा सिङ्गो राज्य नै लाग्नुपर्छ”, उनी सुझाउँछिन्।
- टिकाराम सुनार / रासस
प्रकाशित: ३० असार २०८२ १३:०२ सोमबार

