१४ पुस २०८२ सोमबार
image/svg+xml
विचार

जलवायु परिवर्तनमा बजार फेरि गलत साबित

यही नोभेम्बरमा ब्राजिलमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३०) हुनुअघि विश्व अर्थतन्त्र  तीव्र र दीर्घकालीन जलवायुजन्य झट्काका कारण असुरक्षित छ। यसको प्रभाव २००८ को वित्तीय संकटभन्दा पनि गहिरो हुन सक्ने मानिएको छ। यही विषयमा व्यवसायी, विश्वका सरकार, विज्ञ र गैरनाफामुखी संस्थाका प्रतिनिधिले जलवायु कार्यको भविष्यबारे सो सम्मेलनमा बहस गर्ने तयारीमा छन्।

हाल, विश्वका धेरै सरकार र व्यवसायले जलवायु परिवर्तनको जोखिमलाई अझै पनि कम आँकलन गरेकाछन्। तर हामीले ध्यान दिनुपर्ने कुरा के हो भने वित्तीय बजार र नियामकहरू सधैं सही हुँदैनन्। जलवायु जोखिमका विषयमा उनीहरूको लापरवाही  विनाशकारी हुन सक्छ।

सन् २००८ को वित्तीय संकटले हाम्रा अपेक्षा कति छिटो भत्किन सक्छन् भनेर देखाएको थियो। सन् २००० को दशकको मध्यतिर नियमन कम गर्ने र प्रणालीगत प्रक्रिया सरलीकृत पार्ने आम चलन थियो । त्यतिबेला जोखिमहरूलाई कम आकलन गरेर र ढाकछोप गरेर ऋण प्रवाह गरिन्थ्यो। त्यतिबेला कारोबारको कोलाहलमा चिन्ताका आवाजहरू हराइरहेका थिए तर संकेतहरू त्यहीं थिए। त्यतिबेला आधारभूत विषयहरूठिक थिएनन्।

सन् २००८ को अन्त्यतिर विश्व अर्थतन्त्र पतनको नजिक थियो । केही दिनमै ठुला बैंकहरू ढले। सरकारले ‘बेलआउट’ नगरेको भए पूरै वित्तीय प्रणाली धराशायी हुन्थ्यो।

त्यो संकटकालपछि बैंकिङ क्षेत्र पूर्णतः बदलियो। कडा नियम र नियमनका कारण सुशासन र लचकताले बैंकिङ क्षेत्रमा फेरि विश्वास दिलायो। पेन्सन फन्ड र बिमा कम्पनीजस्ता दीर्घकालीन लगानीकर्ताले मूल्य पुनः स्थापना र लाभांश पाउने दिशामा र  महँगो पुनरुत्थानका लागि  वर्षौंसम्म पर्खनुपर्‍यो। त्यतिबेला बैंकहरू ढलेको भए, ती सम्पत्ति तथा आजको वित्तीय प्रणालीले पनि त्यही बाटो समाएको हुन्थ्यो।

संकटकालपछिको युगमा सामूहिक विनम्रता र प्रणालीगत जोखिम स्वीकार गरेको देखियो। सन् २०१५ मा ‘वित्तीय स्थायित्व बोर्ड’ले जलवायु परिवर्तनलाई सम्भवतः सबैभन्दा ठुलो प्रणालीगत खतरा भनेर मान्यता दियो।

सन् २००८ को वित्तीय संकटपछि पनि हाम्रो प्रणाली र प्रक्रिया जलवायु परिवर्तनले ल्याउने जोखिम मापन र व्यवस्थापन गर्न तयार देखिएका छैनन्। लगानीकर्ताको प्राथमिकतामा जलवायु जस्तो महत्त्वपूर्ण विषय फिका हुँदै जानु डरलाग्दो कुरा हो। आपूर्ति शृंखला टुट्नु, सम्पत्ति क्षति, पूर्वाधारमा धक्का, सार्वजनिक स्वास्थ्य संकट र सामुदायिक अव्यवस्थालगायत कैयन् व्यवसायले यसअघिनै जलवायु परिवर्तनको गहिरो असर महसुस गरिरहेका छन्।

समस्या ठुलो ठुलो विपत्तिको समाचारमा मात्र सीमित छैन। सूक्ष्म, दीर्घकालीन असरहरूले पनि मूल्य घटाइरहेका छन्, जुन हाम्रो प्रणालीले न त देख्न सक्छ, न त व्यवस्थापननै गर्न सक्छ । फेरि पनिहालका आधारभूत विषयहरूगलत छन्।

नासाको तथ्यांकले बढ्दो चुनौतीलाई पुष्टि गर्छ। अमेरिकी उपग्रहहरूले सन् २००३–२०२० को औसतको तुलनामा हाल चरम मौसमी घटनाको तीव्रता दोब्बर बढेको देखाएका छन्। यसको मानवीय परिणाम झन् गहिरो छ। उदाहरणका लागि अफ्रिकामा सन् २०२३ मा रेकर्डअनुसार सुक्खाका कारणदुई करोड ३० लाख मानिस तीव्र खाद्य संकटमा परेका थिए।

यसैगरी विश्व अर्थतन्त्र पनि ठुलो आघातमा छ। विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को अनुसन्धानअनुसार मौसमसम्बन्धी क्षतिले सन् २००० पछि व्यवसाय, पूर्वाधार र स्थायी सम्पत्तिमा तीन गुणा बढी क्षति भएको छ। विगत दशकमा मात्र यो क्षति २०खर्बडलर पुगेको छ। सन् २०२२–२३ मा मात्रै यो क्षति चार खर्ब ५१अर्ब डलर बराबरको  थियो।

यी जोखिम घटाउने कदम चाल्नुको साटो धेरै लगानीकर्ता, कम्पनी र सरकारहरूले अझै पनि यसलाई बढाउने गतिविधिलाई प्रोत्साहन दिइरहेका छन्। विश्वका अग्रणी कम्पनीहरूले आफ्ना बोर्ड र लगानीकर्तालाई दीर्घकालीन रणनीतिमा विश्वास दिलाउन संघर्ष गर्नुपरेको छ। बैंकहरू पनि नयाँ प्रविधि र नयाँ जोखिम मूल्यांकनमा अल्मलिएका छन्। समयभन्दा अघि हुनुपर्ने लचकता र नवप्रवर्तनको व्यापारिक आधार पर्याप्त हिसाबमा स्पष्ट छैन। अर्को शब्दमा बजारले फेरि पनि ठुलो गल्ती गरिरहेको छ।

यो क्षेत्रमा बिमा उद्योग भने अपवाद हो। जोखिम मूल्यांकनमा विशेषज्ञ मानिने यी कम्पनीहरूले छिटो सिकिरहेका छन्। सन् २०२३–२४ मा जलवायुसम्बन्धी विपत्तिका कारण बिमाले एक खर्ब ४३ अर्ब डलर दाबी तिर्नुपरेको छ। बढ्दो संख्यामा बिमाकर्ताहरू नाफा–नोक्सानको हिसाब गरेर जलवायुजन्य जोखिमलाई कभर गर्न नसकिने निष्कर्षमा पुगेका छन्। उनीहरूले प्रिमियम अति उच्च बनाउने अथवा विपत्ति–जोखिम बजारबाटै आफैंहट्ने, दुवैमध्ये एउटा विकल्प रोज्नुपर्ने स्थिति छ।

दोस्रो सम्भावना बढी सम्भावित र वास्तविक जस्तो देखिएको छ। अन्तर्राष्ट्रिय बिमा कम्पनी अलियान्जा बोर्ड सदस्य गुन्टर थालिङ्रले हालै चेतावनी दिएका छन्, ‘पूरै क्षेत्र बिमा गर्न नसकिने देखिएको छ। मुख्य सम्पत्तिहरू वास्तविक समयमा नै नष्ट भइरहेका छन्। बजारले अझै यो महसुस नगर्ने हो भने  प्रणालीभित्रै पुग्न अझ धेरै समय लाग्नेछ।’

विगतका संकटहरू यो स्पष्ट छ। तैपनि चेतावनीका आवाजहरू दबाइएका छन्  तर यसपटक जोखिम उच्च छ, असर फराकिलो छ र परिणाम अपरिवर्तनीय हुनेछ। यसपटक  विश्व अर्थतन्त्रसँग ठुलो अन्धविन्दुर सन् २००८ जस्तो ‘बेलआउट’ अथवा छिटै बाजी मारेर कोही विजेता हुनेबाला छैन। हामी सबै हार्नेछौं।

पक्कै पनि प्रणालीगत अन्धविन्दु र सामान्य अन्धविन्दुमा भिन्नता हुन्छ। हामीलाई यो अन्धविन्दुबारे थाहा छ तर वित्तीय प्रणालीले यसलाई आर्थिक मापनका अभिन्न हिस्सा नबनाएसम्म यसको सम्बोधन गर्न सक्दैन। यसका लागि निजी क्षेत्रले कार्यकारी कदम उठाई जलवायु जोखिम मापन, व्यवस्थापन र प्रतिकार्य गर्ने तरिका सुधार्नुपर्छ। पुँजी प्रदायक, मानक तय गर्ने संस्था र नीतिनिर्मातासँग मिलेर जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनतर्फ पुँजी परिचालन गर्नुपर्छ।

तर यो विषयमा केवल तथ्यांक हुनु पर्याप्त छैन। अर्नेस्ट हेमिङ्वेको भाषामा भन्नुपर्दा जलवायु पतनको सुरुवात बिस्तारै हुन्छ तर पतन अचानक हुन्छ। व्यवसाय र लगानीकर्ताले आफ्ना संस्थाभित्र र आपूर्तिशृंखला एवं प्रभाव क्षेत्रहरूमा छिटो परिवर्तन गर्ने क्षमता बनाउनैपर्छ। यो विनम्रता र प्रणालीगत जोखिमको स्वीकृतिबाट सुरु हुन्छ।

सन् २००८ को वित्तीय संकटले विश्वलाई हल्लायो र केही पनि सुनिश्चित छैन भनेर देखायो। अहिलेको दाउ अझै ठुलो छ र यसपटक ‘बेलआउट’ हुनेवाला छैन। हामीले समयमै अग्रिम कदम चाल्नैपर्छ।

- फियोना वाट्सन विश्व व्यावसायिक परिषद्की उपाध्यक्ष हुन्।

(प्राजेक्ट सिण्डिकेटबाट)

प्रकाशित: १० आश्विन २०८२ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App