२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
विचार

सगरमाथा, मुक्तिनाथ र पग्लिँदै गरेको हिमालय

विश्वभरका सञ्चार माध्यमले सन् २०२६ को सफल सगरमाथा आरोहण सिजनका समाचारलाई प्रमुखतासाथ प्रस्तुत गरिरहेका बेला म भने तेस्रो पटक मुक्तिनाथ यात्रामा थिएँ। समुद्री सतहबाट करिब ३,८०० मिटरको उचाइमा रहेको मुक्तिनाथ संसारकै अग्ला धार्मिक स्थलमध्ये एक हो। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुक्तिनाथ उपत्यकामा अवस्थित यो तीर्थस्थल थोराङ ला भन्ज्याङको काखमा अवस्थित छ।

यसपटक मुक्तिनाथ पुग्दा नेपाली र भारतीय श्रद्धालु, पर्यटक तथा पदयात्रीहरूको उल्लेखनीय भिड देखियो। धार्मिक पर्यटन र पदयात्राको आकर्षण बढ्दै गएको यस दृश्यले स्थानीय अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाएको स्पष्ट देखिन्थ्यो। हिमाली क्षेत्रका स्थानीय बासिन्दाका लागि पर्यटन केवल भ्रमण होइन, जीविकोपार्जनको आधार पनि हो।

यस वर्षको यो समय हिन्दु धर्मावलम्बीका लागि विशेष महत्त्व बोकेको पुरुषोत्तम महिना अर्थात् अधिकमास (मलमास) पनि हो। करिब प्रत्येक तीन वर्षमा एकपटक आउने यो अतिरिक्त महिना भगवान् विष्णुको आराधनाका लागि अत्यन्त पवित्र मानिन्छ। धार्मिक विश्वासअनुसार यो महिना आत्मशुद्धि, उपवास, दान, जप, तप तथा आध्यात्मिक साधनाका लागि उत्तम समय हो। हिन्दु दर्शनले मोक्षलाई जीवनको अन्तिम लक्ष्य मानेको छ र पुरुषोत्तम महिनामा गरिने धार्मिक कर्मले त्यस यात्रामा सहयोग पु¥याउने विश्वास रहिआएको छ। नेपालमा यस वर्ष जेठ ३ देखि असार १ सम्म यो महिना मनाइँदै छ।

हिमाल नेपालीहरूको पहिचान मात्र होइन, हाम्रो सभ्यता, संस्कृति र आस्थाको आधार पनि हो। हिन्दु धर्ममा हिमालयलाई भगवान् शिवको निवासका रूपमा लिइन्छ। पुराण र धार्मिक आख्यानहरूमा हिमालयलाई देवभूमि भनिएको छ। यही कारण विश्वभरका हिन्दुहरूको धार्मिक आस्थासँग हिमालय गहिरोसँग जोडिएको छ। धार्मिक महत्त्वसँगै यही हिमशृंखलाले विश्वभरका पर्वतारोही र पदयात्रीलाई पनि दशकौंदेखि आकर्षित गर्दै आएको छ।

कुनै समय सगरमाथा र अन्य हिमाल आरोहण गर्नेहरू मुख्यतः व्यावसायिक पर्वतारोही हुन्थे। अहिले भने संसारका विभिन्न पेसा, उमेर र पृष्ठभूमिका मानिस सगरमाथा चढ्ने सपना देख्न थालेका छन्। पर्वतारोहण एउटा उपलब्धि, प्रतिष्ठा र जीवनको लक्ष्यका रूपमा स्थापित हुँदै गएको छ।

यसबिच एउटा प्रश्नले मलाई पटक–पटक घचघच्याइरह्यो– हामीले सगरमाथालाई जित्दै गइरहेका छौं कि जलवायु परिवर्तनले बिस्तारै हिमालयलाई नै जित्दै गएको छ?

तेस्रो पटक मुक्तिनाथ पुग्दा मैले सबैभन्दा पहिले महसुस गरेको परिवर्तन तापक्रम थियो। बेनी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको यात्रा गर्दा विगतका भ्रमणहरूको तुलनामा निकै बढी गर्मी अनुभव भयो। मुक्तिनाथ पुग्न उक्लिनुपर्ने तीव्र उकालो पहिलेजस्तै कठिन थियो, उमेर बढ्दै जाँदा झन् चुनौतीपूर्ण पनि लाग्यो। तर यसपटक एउटा अर्को कुरा झन् बढी महसुस भयो– हिमाली क्षेत्रमा बढ्दो गर्मी।

त्यति मात्र होइन, मुक्तिनाथ वरपरका हिमालमा हिउँको मात्रा विगतको तुलनामा निकै कम देखिन्थ्यो। केही दशकअघि वर्षभरि सेताम्मे देखिने चुचुराहरू अहिले धेरै स्थानमा कालापहाडजस्ता देखिन थालेका छन्। जलवायु परिवर्तन अब केवल वैज्ञानिक प्रतिवेदनको विषय रहेन,  हिमाली यात्रामा प्रत्यक्ष देख्न, छुन र महसुस गर्न सकिने वास्तविकता बनिसकेको छ।

नेपालले वन क्षेत्र विस्तार गरेर वातावरण संरक्षणमा उल्लेखनीय प्रगति गरेको छ। वन क्षेत्र बढ्नु सकारात्मक उपलब्धि हो। तर विश्वका विकसित राष्ट्रबाट भइरहेको अत्यधिक कार्बन उत्सर्जनले हिमालयको तापक्रम बढाउँदै लगेको छ। यसको असर नेपालले भोगिरहेको छ, जबकि यस समस्याको मुख्य जिम्मेवार नेपाल होइन।

नेपाल सरकारका अनुसार सन् २०२६ को आरोहण सिजनमा सगरमाथा आरोहणका लागि ४९४ वटा अनुमति जारी गरिए, जुन अहिलेसम्मकै उच्च संख्या हो। मे महिनाको एकै दिन २७४ जनाले सफल आरोहण गरे, जसका कारण विशेषगरी ‘डेथ जोन’ भनिने क्षेत्रमा अत्यधिक भिड देखियो। यसै सिजनमा पाँच जनाले ज्यान गुमाए।

यसैबिच, कामीरिता शेर्पाले मे १७ मा ३२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै विश्व कीर्तिमानलाई फेरि सुधार गरे। अर्का अनुभवी आरोही केन्टन कुलले २० औं पटक सगरमाथाको सफल आरोहण गरी गैरशेर्पा आरोहीमध्ये नयाँ कीर्तिमान कायम गरे। तर खुम्बु हिमनदीको अस्थिर बरफका कारण आरोहण तालिका प्रभावित हुनुका साथै सुरक्षासम्बन्धी चिन्ताहरू पनि बढिरहेका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन् २०२६ को प्रतिवेदनले झनै गम्भीर चित्र प्रस्तुत गरेको छ। प्रतिवेदनअनुसार हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदीहरू सन् २००० को तुलनामा अहिले दोब्बर गतिमा पग्लिरहेका छन्। सन् १९७५ यता हिमनदीहरूले करिब २७ मिटर बाक्लाइ गुमाइसकेका छन्। त्यस्तै, सन् २०११ देखि २०२० बिच हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको उल्लेख गरिएको छ।

अन्य वैज्ञानिक अध्ययनहरूले पनि सगरमाथा क्षेत्रमा रहेका हिमनदीहरू वार्षिक १० देखि ५९ मिटरका दरले पछाडि हटिरहेको देखाएका छन्। अझ चिन्ताजनक कुरा के छ भने वर्तमान गतिमा तापक्रम वृद्धि भइरहे सगरमाथाको दक्षिण कोल हिमनदी यो शताब्दीको मध्यसम्म हराउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

हिमालयका हिमनदीहरू केवल नेपालको सम्पत्ति होइनन्। तिनले करिब दुई अर्ब मानिसको खानेपानी, कृषि, जलविद्युत् र जीविकोपार्जनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धानिरहेका छन्। त्यसैले हिमालयको भविष्य विश्वकै भविष्यसँग जोडिएको छ।

नेपालले हिमताल विस्फोटको जोखिम पनि बढ्दो रूपमा भोगिरहेको छ। हिमताल फुट्ने घटनाले तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई ठुलो जोखिममा पारिरहेको छ। यसका साथै अनियमित वर्षा, बाढी, पहिरो तथा मौसमको बदलिँदो चक्रले कृषकहरू परम्परागत खेती प्रणालीबारे अन्योलमा परिरहेका छन्। मौसमको भरमा खेती गर्ने समुदाय अहिले सबैभन्दा बढी असुरक्षित बन्दै गएको छ।

निःसन्देह पर्यटन नेपालको प्रमुख आम्दानीको स्रोत हो। सगरमाथा र हिमालयले नेपाललाई विश्व पर्यटनको नक्सामा स्थापित गरेका छन्। तर विकास र आर्थिक समृद्धिको यात्रासँगै केही गम्भीर प्रश्न उठाउन पनि आवश्यक छ। सगरमाथा अत्यधिक व्यवसायीकरण र भिडभाडको सिकार त बन्दै गएको छैन ? बढ्दो पर्यटन गतिविधिले हिमाली वातावरणमा कस्तो असर पारिरहेको छ ? विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण नेपालले भोगिरहेको क्षतिप्रति विश्व समुदायको दायित्व के हो ? यस्ता विषयमा अब गम्भीर राष्ट्रिय बहस आवश्यक देखिन्छ।

मुक्तिनाथ पुग्ने क्रममा चार दिनसम्म मुस्ताङका विभिन्न बस्तीमा स्थानीय समुदायसँग कुराकानी गर्ने अवसर मिल्यो। उनीहरूले मौसमको परिवर्तन, पानीका स्रोत सुक्दै गएको अवस्था, खेतीपातीमा आएको बदलाव र जीविकोपार्जनका चुनौतीबारे सुनाएका अनुभवहरूले हिमालयमा भइरहेको परिवर्तन केवल तथ्यांक होइन, मानिसहरूको दैनिक जीवनको यथार्थ बनेको स्पष्ट देखायो।

यस वर्ष सगरमाथा आरोहण सिजन समाप्त हुँदै गर्दा पुरुषोत्तम महिना सुरु भएको छ। सायद यो संयोगले पनि एउटा सन्देश दिन खोजिरहेको छ। हाम्रा देवताहरूले हिमालय केवल हेर्न र जित्नका लागि होइन, संरक्षण गर्नका लागि दिएका हुन्। हिमाल हाम्रो राष्ट्रिय सम्पत्ति मात्र होइन, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा सम्पदा पनि हो।

आज देश विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धिका नयाँ योजनाहरूमा अघि बढिरहेको छ। तर विकासको यात्रासँगै हिमालयको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्न सकिएन भने त्यो विकास दिगो हुन सक्दैन। आजको पुस्ताले लिने निर्णयले नै भोलिको हिमालय कस्तो हुनेछ भन्ने निर्धारण गर्नेछ। त्यसैले हिमाल जोगाउनु केवल वातावरणीय अभियान होइन, नेपालको भविष्य सुरक्षित गर्ने राष्ट्रिय दायित्व पनि हो।

प्रकाशित: २९ जेष्ठ २०८३ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %