एउटा व्यावसायिक भेलामा मुटु चिकित्सक र हाडजोर्नीका डाक्टरसँग आमनेसामने भयो। पेशागत संवादपछि स्वास्थसम्बन्धी भलाकुसारी पनि भयो। मुटुका डाक्टरले दगुर्ने सल्लाह मात्र दिएनन् बरु जति धेरै हिँडडुल गर्यो ‘कार्डियो भास्कुलर डिजिज’ हरूको सम्भाव्यता त्यसै अनुपातमा घट्ने बताए।
तत्कालै अर्का चिकित्सकले जोर्नीका समस्याको चिरफार गरे। धेरै हिँड्ने गर्दा मुटुको समस्या घट्ने तर जोर्नीमा नवीन समस्या निम्तने बताए। उनले मानिसहरू मुटुको स्वास्थ्यसँग सजग भएर अत्यधिक दगुर्ने गर्दा पछिल्ला दिनमा हाडजोर्नीका सर्जरी अत्यधिक बढेको विश्वव्यापी तथ्यांक नै प्रस्तुत गरे। एउटा अंगलाई सबल बनाउँदा अर्कोलाई आघात परेको त छैन? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ भन्ने चिकित्सकहरूको निचोड थियो।
विश्वका विभिन्न भौगोलिक इलाका र खानपिन तथा रहनसहनमा हुर्किएका अर्बौं जनसंख्याको आयु चिरफार गर्दा जुनसुकै लिंग, वर्ण, रङका भए पनि मानवीय उमेरको सीमा एक शताब्दी भन्दा बढी नहुने देखिन्छ भने आठ दशकभन्दा अधिक सुझबुझसहितको क्रियाशील जीवन बिताउन कठिन छ। प्रकृतिले नै उमेरको परिधि तोकेको अवस्थामा पाँच सय वर्ष चल्ने मुटुको कल्पनामा दगुर्नुको के अर्थ? यद्यपि जटिल शारीरिक कारण कति कसरतले एक शताब्दी मात्र चल्ने बनाउन सकिन्छ भन्ने ठम्याउन कठिन छ।
बेलायती अर्थशास्त्री थोमस माल्थसले सन् १७९८ मा ‘एन एस्से अन द् प्रिन्सिपल अफ पपुलेसन’ पुस्तक प्रकाशन गरे। त्यसबखत रफ्तारले बढी रहेको जनसंख्यालाई खुवाउन धेरै फल्ने प्रजातिका अन्न उत्पादनका लागि संघर्षरत वैज्ञानिकहरूलाई सान्त्वना दिने खालको निचोड निकालेका थिए, माल्थसले उक्त पुस्तकमा। पपुलेसन कन्ट्रोल गर्न थप केही गर्नु पर्दैन भोकमरी, रोग अथवा युद्धका कारण पृथ्वीको जनसंख्या स्वत: नियन्त्रणमा आउने माल्थसको सिद्धान्तको सार थियो। पछि मलखाद र किटनासक ओखतीको आविष्कार, उन्नति प्रजातिका अन्नबालीको विकास अनि प्रविधिको आधुनिकीकरणले खानाका लागि छटपटाएर मर्नुपर्ने अवस्थाको अन्त्य भयो। विज्ञानले भोकमरीको सामना गर्नुपर्ने अवस्थाको अन्त्य गरेपछि माल्थसको सिद्धान्तमा शंका गरियो।
संसारभर रुमलिएको युद्धको बादलले तेस्रो विश्वयुद्धलाई ललकारेको अवस्थामा माल्थसले भनेझैँ विश्व जनसंख्या आफैं आजभन्दा दुई सय वर्षअघिको अवस्थामा पुग्ने हो कि भन्ने भान पारिरहेको छ। कोरोना भाइरस जस्ता सूक्ष्माणुको प्रकोप मात्र होइन बरु बाल्यकालमै देखिने गरेका अस्वाभाविक लक्षणले कहाली लाग्दो महामारीको संकेत गर्यो।
आधुनिक खेतीपाती अनि वैज्ञानिक आविष्कारले भोकमरीको समस्याबाट विश्व माथि उठेको छ। खान नपाएर मर्नुपर्ने बाध्यताबाट गुज्रने जनसंख्या नगन्य देखिन्छ भने चाहिनेभन्दा अत्यधिक खाना खानेको संख्या उकासिएको छ। विश्वका झन्डै १५ प्रतिशत जनसंख्याको तौल स्वस्थ शरीरले थेग्नेभन्दा अत्यधिक देखिन्छ। अध्ययनले मोटा मानिसको जनसंख्या वितरण देशको आर्थिक समुन्नतिसँग जोडिएको देखाएको छ। सम्भ्रान्त देशमा मोटा मानिसको संख्या धेरै बढ्यो भन्छ एक अध्ययनले। त्यो अध्ययन संसारभरका दर्जनौं अन्वेषणकर्ताको सहभागितामा गरिएको थियो। सो अध्ययनको निष्कर्ष यसै महिना जर्नल ‘पिएनएएस’मा प्रकाशित छ। संयुक्त राज्य अमेरिकाको ड्युक युनिभर्सिटीका अनुसन्धानकर्ता एमान्डा मेग्रोस्कीको नेतृत्वमा बाहिरिएको उक्त अध्ययनले गरिब देशमै पनि धनी मानिसले चाहिने भन्दा अत्यधिक खाना खाने गरेकाले उनीहरूको तौल बढेको उल्लेख गरेको छ।
दुब्लाउन भोजनको नियन्त्रण र शारीरिक कसरतको सहारा लिनुपर्ने तथ्य जगजाहेर रहेको विषय भए पनि कुन विधि वजन नियन्त्रणको लागि प्रधान हुन्छ भन्ने विषय बहसमै थियो। जति धेरै खाए पनि कसरत मार्फत ऊर्जा दहन गर्ने हो भने के फरक पर्छ र भन्ने बहानामा चाहिनेभन्दा धेरै भात खाने मानिस छन्। दुबै विधिको सार्थकता समान भए पनि त्यसको प्रभावकारिता परीक्षण भएको थिएन। उक्त अनुत्तरित प्रश्नको उत्तर दियो ड्युक युनिभर्सिटीको गत हप्ता छापिएको माथि उद्धृत अध्ययनले। संसारका लाखौं मानिसको जीवनशैलीलाई समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो। तसर्थ, शरीरको तौल घटाउने हो भने अविलम्ब खानामा लगाम लगाउनुपर्ने देखियो। वजन नियन्त्रणका लागि शारीरिक कसरत सहायक सिद्ध हुने भए पनि खान्कीमै कटौती नगरी दुब्लो बन्न सकिँदैन भन्ने उक्त अध्ययनको सार हो।
हिजोका दिनमा आर्थिक अभावका कारण खान नपाउने वर्ग वैदेशिक रोजगारीका कारण आर्जित रकमले गर्दा दुई छाक भात खाने मात्र होइन बरु चाउचाउ समेतको जोहो गर्नसक्ने अवस्थामा पुग्यो। स्थानीय गोरसको बदला सहरको अनुकरण गर्दै कोक र पेप्सीसमेत दुर्गम गाउँमा पुग्यो। ग्रामीण सुमानी दही–चिउरालाई बेइमानी चिप्स, बिस्कुट जस्ता पत्रु खानाले प्रतिस्थापन गर्यो।
पृथक स्वाद अनि लामो समयसम्म नबिग्रियोस् भनेर तयारी खान्कीमा विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग गरिन्छ। भर्खर आविष्कार भएको रासायनिक पदार्थलाई छोटो तथ्यांक संकलनलाई आधार मानेर खाद्य पदार्थमा प्रयोग गर्न अनुमति दिइने भएकाले उक्त रसायनको दीर्घकालीन स्वास्थ्य असरको खासै जानकारी हुँदैन। खाद्यान्नमा प्रयोग भएका रासायनिक पदार्थको वास्तविक चरित्र थाहा पाउन वर्षौ कुर्नुपर्ने भएकाले तथ्य बाहिरिनु अघि नै लाखौं उपभोक्ता उक्त केमिकलले भित्र्याउने रोगको मारमा परिसकेका हुन्छन्।
उदाहरणका लागि केही वर्षअघि बोतलमा प्याक भएको पेयमा रासायनिक पदार्थ ‘क्लोरेट’ भेटिएपछि युरोपियन युनियनबाट धेरै पेय पदार्थ बिक्री गर्न बर्जित गरियो। त्यस्तै डाएट कोकाकोलालाई गुलियो बनाउन लामो समयदेखि प्रयोगमा रहेको ‘एस्पार्टेम’ले क्यान्सर भित्र्याउने यथार्थ थाहा पाउन वर्षौं लागेकाले त्यसको दीर्घकालीन असरको भयावह परिणाम भनिरहनु परेन। अहिलेसम्मको तथ्यांक केलाउँदा चलानी खान्कीमा प्रयोग भएका अधिकांश रासायनिक तत्व क्यान्सर लगायतका दीर्घरोगको सम्भाव्यता बढाउने देखाएकाले बट्टाबन्द खान्कीलाई रोगको घरभन्दा अन्यथा हुँदैन।
तरकारी फलफूल, माछामासु लगायतका खान्कीको उत्पादन रासायनिक पदार्थ तथा विषादीको प्रयोग बिना प्राय असम्भव छ। तसर्थ, जतिसुकै सावधानी लिए पनि खानासँगै दूषित केमिकल हाम्रो शरीरमा पुग्छ नै। व्यक्तिको सचेतताले विषादीको मात्रा फरक हुन सक्छ। सूक्ष्म परिमाणमा शरीरमा पस्ने विषादीलाई शारीरिक प्रक्रियाले निस्तेज पार्ने भए पनि दिनहुँ खाने खान्कीमा पाइने रासायनिक पदार्थको संसर्गसँग आन्तरिक बायोलोजीले हार्छ। अनि व्यक्ति विभिन्न किसिमको रोगको सिकार हुन्छ।
जंक फुड खराब हो भनेर जान्दाजान्दै पनि अहिलेको संस्कारमा बट्टाको खान्कीको निषेध असम्भव छ। वर्जित गर्न सम्भव नभएपछि हाम्रो शरीरमा पस्ने केमिकलको मात्रा न्यूनीकरण अहिलेको आवश्यकता भएको छ। सभ्यताको विकाससँगै फेरिएको जीवनशैलीले गर्दा जन्मदा देखि विषाक्त वायु, अशुद्ध पानी र खराब खान्की शरीरमा पुग्यो। कलिला ज्यानमा झाँगिदै गरेको प्रतिरक्षा संयन्त्र बाह्य विषादीसँग पराजित हुँदा बालबालिका रोगको सिकार बन्न पुग्छन्। साना बालबालिकामा लाग्नै नहुने क्यान्सर, मधुमेह, मुटुका रोग दिनानु दिन बढ्नुमा बदलिँदो सामाजिक परिवेश र आधुनिकताको उपज देखियो। सावधानी अपनाएको खण्डमा रासायनिक तत्वको मात्रा शरीरमा घटाएर रोगको आयतन कम गर्न नसकिने होइन तर शून्यमा झार्न भने सकिँदैन।
क्रयशक्तिमा वृद्धि भएपछि मानिसले धेरै खान थाले, शरीर भारी भयो। मोटो शरीर क्यान्सर, मधुमेह, मुटु रोग लगायतका दर्जनौं समस्याको कारक भएकाले पनि खान्कीले हौस्याएको मरण बढ्नु अस्वाभाविक रहेन। यसरी विकाससँगै बालबालिकादेखि वयस्कसम्ममा रोगको प्रकोप बढ्दा समष्टिगत मरणको आयतन बढेको छ। अघिल्लो कालमा पर्याप्त खान्की नहुँदा भोकमरीले मर्नेको संख्या धेरै थियो भने पछिल्लो समय अधिक भोजनले मृत्यु हुनेको संख्या अकासिन सक्ने देखियो।
माल्थसले भनेभन्दा फरक भोकमरी र युद्धलेभन्दा पनि भोजनको अत्यधिक खपतले बढाएको मृत्युले पो जनसंख्यालाई नियन्त्रण गर्ने देखियो! सय वर्षअघि कुपोषणले निम्त्याउने समस्याको वर्चस्व थियो भने अहिले धेरै खाँदा लाग्ने रोग अकासिएको छ। वैज्ञानिक आविष्कारको राम्रा पक्षको दोहन अनि नकारात्मक उपजलाई निषेध गरी स्वस्थ जीवन शैलीको प्रवर्द्धन गर्न आवश्यक देखियो।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: ६ श्रावण २०८२ ०८:४९ मंगलबार

