आफूलाई लोकतान्त्रिक पार्टीका रूपमा अर्थ्याउने नेपाली कांग्रेस वर्तमान अवस्थामा कठिन मोडमा पुगेको देखिन्छ। संस्थापक नेता बिपी कोइरालाले प्रजातन्त्रकाबारे लोकतन्त्र र देशको भलाइका लागि यदि मनमा द्विविधा भए देशको माटो हातमा लिनु, अन्तरहृदयले जे ठम्याउँछ, त्यही निर्णय गर्नु भनी भावी पुस्तालाई अर्ति दिएको हिजोजस्तै लाग्छ तर ५२ वर्ष बितिसकेछ, यो वाणी बोलेको। भविष्य द्रष्टा बिपीको पार्टीको वर्तमान अवस्था देख्दा यो मन पोलिरहेछ, किंकर्तव्यविमूढ भइरहेछ।
अत्यन्तै बेथिति र अराजक बढिरहेछ लोकतान्त्रिक पार्टी कांग्रेसमा। देशको सबैभन्दा ठुलो र जेठो पार्टीका नाताले नेपाली कांग्रेसले देश र समाजको अभिभावकत्व निर्वाह गर्नुपर्ने बेलामा गत भदौ २३ र २४ गतेको घटनापछि निरीह बनेको देखिन्छ। एकातिर संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, सानेपास्थित पार्टी कार्यालय जलेर खरानी भएको पीडा जो कोही लोकतन्त्रवादीलाई लागेको छ।
इतिहासका दस्तावेजहरू पूरै नष्ट गरिए। पार्टी कार्यालय सानेपामा कालिगडले ढंगिलो पाराले निर्माण गरेका महँगा ढोकाहरू खरानी बनाए। जहाँ बिपी, सुवर्ण शमशेर, गणेशमान, किसुनजी, महेन्द्रनारायण निधि, सेख इन्द्रिस, भीमबहादुर तामाङ, मंगलादेवी सिंह, शैलजा आचार्यलगायतका तस्बिरहरू हुवहु रूपमा कुँदिएका थिए। भवनभित्रका कोठा र त्यहाँ राखिएका दराज, फर्निचर पूरै खरानी भए।
आठ रेक्टर स्केलसम्मको भूकम्पले पनि असर गर्न नसक्ने किसिमले निर्माण गरिएको सो ऐतिहासिक भवनको आर्थिक कारोबारको जिम्मेवारी पूर्वअर्थमन्त्री डा. रामशरण महतले लिएका थिए। निकै सुझबुझका साथ मापदण्डअनुसार निर्माण गरिएको सो भवनका लागि यो पंक्तिकारले पनि केही रकम जुटाउन सहयोग गरेको याद आउँछ।
२०६६ सालमा नेपाली जनसम्पर्क समिति कोरियाका तत्कालीन अध्यक्ष नरेन्द्र गुरुङको संयोजकत्वमा सियोललगायतका सहरमा सांस्कृतिक कार्यक्रम र चन्दा संकलन कार्य गरिएको थियो, चन्दा संकलन कार्यको संयोजन युवानेता साम्राज्य विक्रम पाण्डेले गरेका थिए।
सात लाख नगद रकम पार्टीका कार्यालयमा हस्तातरण गरेको पनि हिजोजस्तै लाग्छ। बिपी गणेशमान, किसुनजी, गिरिजाबाबुको याद आउँछ, बिपी स्मृति भवन अगाडिको प्राङ्गणमा उभिँदा। चारतारे झन्डा पनि नेपालको चन्द्र सूर्य अंकित राष्ट्रिय झन्डाको जस्तै माया लाग्छ तर आगोको मुस्लोले केही पनि देखिन्न।
इतिहासका हरेक मोडमा विवेक र एकताले समस्या समाधान गर्न सक्ने खुबी भएका नेता थिए कांग्रेसका। त्यही विवेक, दूरदर्शिता र राष्ट्रको भलाइका लागि नेपाली कांग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्य भयो। २०४६ सालमा जनआन्दोलन सफल भयो, २०६२÷६३ सालको दोस्रो जनक्रान्ति सफल भयो। कानुनी शासन कायम राख्न स्व. सुशील कोइरालाको प्रधानमन्त्रीत्व कालमा २०७२ सालमा संविधान जारी भयो। ती दिनहरू सम्झँदा एउटा लोकतान्त्रिक, राष्ट्रवादी र कांग्रेसको सामान्य सिपाहीका कारण गर्वको अनुभूति हुन्छ तर २०७४ सालको राष्ट्रिय चुनावपछि कांग्रेसले आफ्नो साख गुमाउँदै गयो।
२०७९ सालको चुनावमा त कांग्रेस पार्टी परजीवीजस्तै बन्यो र नेकपा माओवादीसँग चुनावमा हात मिलाउन पुग्यो। जिन्दगीभर रुखको छहारीमा बसेका देशका लाखौं कार्यकर्ता कलम र हसिया हथौडालाई सिरानीमा राख्न पुगे। त्यहीबाट पार्टीमा विग्रह र ध्रुवीकरण सुरु भयो। जिन्दगीभर प्रजातन्त्रका पक्षमा आवाज उठाउँदा कारागारको जीवनसमेत बिताएका हामी तल्लो तहका नेता कार्यकर्ताको आवाज नेतृत्वपंक्तिले कहिल्यै पनि सुन्न चाहेन। पार्टीमा विधि र नीति कुल्चेर हैकम चलाउने, आफन्तलाई काखी च्यापेर अकुत सम्पत्ति कमाएर पार्टीको बदनाम गर्ने काम खुलमखुला रूपमा भयो।
नेपाली कांग्रेसभित्रको तिक्तता सैद्धान्तिक विचार, बिपीको व्याख्या, पार्टीलाई शुद्धीकरण कसरी गर्ने भन्ने बहसका लागि नभएर आपसिक मनोमालिन्य, अहम् र जुँगाको लडाइँका लागि देखिँदैछ।
पार्टीमा योगदान गरेका तर पदमा बसिरहने इच्छा जाहेर गरिरहने, पुरानो पुस्ता र नवयुवाहरूको जिम्मेवारीमा बस्न रुचाउने २१ औं शताब्दीको कांग्रेसको सिद्धान्त अपनाउनुपर्ने मान्यता बोकेका समूहबिचको घम्साघम्सी हो अहिलेको अवस्था। दुई पटक पार्टी सभापति बनिसकेका, केही महिनापछि अवकाश लिँदै गरेका सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र समूहबिचको हो यो विवाद। तेस्रो धार डा. शेखर कोइराला पार्टीमा फाटो नपरोस् भन्नका लागि मिलनविन्दुको खोजीमा लागेका देखिन्छन्। जसलाई मध्यमार्गी धार भनिन्छ। पार्टीमा यस्तै विवाद आइरहँदा कुनै बेला हालका राष्ट्रपति रामचन्द्र पौडेलले भूमिका खेल्ने गर्नुहुन्थ्यो।
कांग्रेसको विधानअनुसार पार्टी सभापतिलगायत सबै पदाधिकारीको गत मंसिरमा चार वर्षे कार्यकाल पूरा भइसक्यो। अधिवेशन समयमा नै सम्पन्न गरिनुपर्नेलगायतका विषयमा गत असोज–कार्तिकमा ४९ दिन चलेको केन्द्रीय कार्यसमितिको बैठकबिना निष्कर्ष टुंगियो। पुनः बसेको बैठकले पुस १६ गतेदेखि मसान्तसम्ममा गाउँदेखि केन्द्रसम्मको महाधिवेशन सम्पन्न गर्ने निर्णय त ग¥यो तर नौ लाख क्रियाशील सदस्यतामध्य झन्डै पाँच लाख क्रियाशील सदस्यता फाराममा सिरियल नम्बर नराखिएका भेटिए। त्यहींबाट अर्को लफडा सुरु भयो।
पार्टीको विधानको धारा ७१ (२) मा कठिन अवस्थामा विशेष महाधिवेशन बोलाउने प्रावधान छ। गत भदौ २३ र २४ गतेपछि देशमा देखापरेको विषम परिस्थिति र सरकारले तोकेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलगायतका विषयमा केन्द्रित रही महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भइसकेको छ।
यता सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति र केन्द्रीय समितिमा बहुमतको आडमा नियमित अधिवेशन गर्ने भन्दै नयाँ कार्यतालिका बाहिर ल्याए। जसअनुसार आगामी २०८३ वैशाख अन्त्यसम्ममा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ भनिएको छ। यद्यपि विशेष महाधिवेशन आह्वान मात्र होइन, सुरु नै भइसकेको छ।
संस्थापन पक्ष र गगन थापा पक्षको दुवैको भनाइ छ, कुनै पनि हालतमा हामी पार्टी फुट्न दिँदैनौं। विडम्बना चारतारे झन्डा ओढेर बसेका तर भिन्न मत जाहेर गर्ने दुवै समूहको पछिल्लो गतिविधि हेर्दै जाँदा पानी बाराबारको स्थितिमा पुगेका छन्। यस्तो टकराबको स्थिति आउन न दिनका लागि डा. शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतका प्रबुद्ध नेताहरू लागि परेका देखिन्छन्। अझै पनि मिलनविन्दु खोज्न सकिन्छ। यसका लागि एउटा पक्षले आगो र अर्को पक्षले पानी भएर बस्नुपर्छ भन्ने चाहना राख्छन् लाखौं शुभेच्छुकहरू।
नेपाली कांग्रेस निरीह बन्नुहुँदैन। यसो भए लोकतन्त्र नै धरापमा जान सक्छ भन्ने भनाइ गाउँगाउँबाट र बुद्धिजीवीबाट पनि सुनिन थालेका छन्। गाउँ सहर लेकबेँसी जताततै कांग्रेसको अबको बाटो कस्तो हुने? कतै पार्टी धरापमा त पर्दैन भन्ने चिन्ता छ। चर्चा पानी पँधेरामा बढी छ। एकता नै बल हो भाइ भाइमा झगडा भए विनाशबाहेक केही हुँदैन भन्ने अर्ति द्वापरयुगमा कुरु क्षेत्रमा कौरव पाण्डवबिच युद्ध सुरु हुँदा भीष्मपितामहले दुवै पक्षलाई सम्झाएको यो आदेश पनि मनन गरौं।
प्रकाशित: २८ पुस २०८२ ०७:१० सोमबार

