२२ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

चिनियाँ-अमेरिकी दिमागको प्रतिस्पर्धा

विश्वभरका सरकारहरू विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्न होडबाजी गर्दैछन्। जर्मनीको ‘एक्जेलेनजइनिसियटिभ्स’ देखि भारतको ‘इन्स्टिच्युट अफ इमिनेन्स’ जस्ता परियोजनाको उद्देश्य समान छ। विश्वभरका उत्कृष्ट प्रतिभालाई आकर्षण र पोषण गर्ने, अत्याधुनिक अनुसन्धान गर्ने, नवप्रवर्तन तथा विकासलाई अघि बढाउने संस्था तयार गर्ने यिनको उद्देश्य देखिन्छ। यो होडबाजीमा सबैभन्दा ठूला दाबेदार अमेरिका र चीन रहेका छन्, किनभने यी दुई विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका प्रतिस्पर्धी देश हुन्।

उच्च शिक्षा क्षेत्रमा भइरहेको नेतृत्व–प्रतिस्पर्धा केवल प्रतिष्ठासँग मात्र सम्बन्धित छैन। अग्रणी विश्वविद्यालयहरूले नवप्रवर्तनलाई उत्प्रेरित गरेर, उत्पादकत्व बढाएर र व्यक्तिगत आम्दानी सुधार जस्ता आर्थिक गतिविधि समेत गरेर समाजलाई विभिन्न तरिकाले प्रभाव पारीरहेका हुन्छन्। यिनै अग्रणी संस्थाबाट स्नातक गरेका व्यक्तिहरू वैज्ञानिक, आविष्कारक र उद्यमी बन्ने सम्भावना बढी हुन्छ। राष्ट्रिय तहमा हेर्ने हो भने पनि उच्चस्तरीय विश्वविद्यालय भएका देशहरूमा औद्योगिक प्रवद्र्धन र उत्पादकत्व वृद्धि छिटो भएको देखिन्छ।  

केही वर्ष अघिसम्म अमेरिकी र चिनियाँ विश्वविद्यालयको तुलना गर्न सजिलो थियो। दशकौंसम्म अमेरिकी विश्वविद्यालयहरूले विश्वव्यापी श्रेणीक्रममा प्रभुत्व जमाएका छन्। अमेरिकाका एमआइटी, स्ट्यानफोर्ड, र हार्वार्डजस्ता संस्थाहरू नवप्रवर्तनका केन्द्र बनेका छन् र अमेरिकाका वैज्ञानिकहरू नेतृत्व तथा उद्यमशीलताको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरू – जस्तै गुगल, मेटा, एनभिडिया र टेस्ला – यीनै विश्वविद्यालयका स्नातकहरूले स्थापना गरेका थिए।

यस्ता स्नातकहरू प्रायः अमेरिकी नहुन सक्छन्। अमेरिकाका अर्ब डलर भन्दा बढी मूल्य रहेका आधाभन्दा बढी नवप्रवर्तनमा कम्तिमा एकजना आप्रवासी संस्थापक रहेका छन् भने एक चौथाइ नवप्रवर्तनको स्थापनामा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका व्यक्तिहरूको सहभागिता छ।

विश्वभरका उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न सक्ने क्षमता नै अमेरिकी विश्वविद्यालय प्रणालीको एउटा सुदृढ पक्ष हो। अमेरिका भित्र रहेका शीर्ष अनुसन्धान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हिस्सा १४ प्रतिशत छ भने आइभी लिग, स्ट्यानफोर्ड, र एमआइटी जस्ता उत्कृष्ट संस्थाहरूमा यो २८ प्रतिशतसम्म पुग्छ। २०२३–२४ शैक्षिक वर्षमा मात्र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा झन्डै ४४ अर्ब डलर योगदान दिएका थिए। उनीहरूले तीन लाख ७८ हजारभन्दा बढी रोजगारी सिर्जनामा सहयोग गरेका थिए।

उच्च शिक्षामा रहेको अमेरिकी प्रभुत्व भने स्थायी देखिदैन। अमेरिकी र युरोपेली विश्वविद्यालयहरू अझै पनि विश्वव्यापी श्रेणीक्रममा अगाडि छन्, तर चिनियाँ विश्वविद्यालयहरू पनि तीव्र गतिमा यो श्रेणीक्रममा माथि उक्लिरहेका छन्। क्युएस र टाइम्स हाइअर एजुकेसन सूचीमा पेकिङ र छिङह्वा विश्वविद्यालय शीर्ष २० भित्र परिसकेका छन्।

सन् २०२५ को ‘नेचर इन्डेक्स’ अनुसार विश्वका शीर्ष १० अनुसन्धान संस्थामध्ये आठ चीनमा आधारित छन्– पश्चिमी विश्वको तर्फबाट यो सूचीमा स्थान पाउनेमा हार्वड र जर्मनीको म्याक्स प्लान्क सोसाइटी मात्र छन्।

त्यसैगरी स्ट्यानफोर्डको ढाँचामा विकास गरिएको झेझियाङ विश्वविद्यालयले हाङझाउ प्रान्तलाई चिनियाँ ‘सिलिकन भ्याली’ मा रूपान्तरण गर्न मदत गरेको छ। उद्यमशील वातावरण, सरकारको समर्थन र विश्वविद्यालय–उद्योगबिचको सहकार्यले यो क्षेत्रको विकासलाई तीव्रता दिएको छ। एआई क्षेत्रमा शक्तिशाली कम्पनी मानिएको डिपसिक पनि यहीं जन्मिएको हो।

चिनियाँ विश्वविद्यालयहरू विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) क्षेत्रमा विशेष रूपमा बलिया देखिन्छन्। चीनले प्रत्येक वर्ष करिब २० लाख विज्ञान तथा इन्जिनियरिङ स्नातक उत्पादन गर्छ– जुन अमेरिकी संख्याको दोब्बर हो। चीनमा इन्जिनियरिङ डिग्रीले सबै स्नातक डिग्रीको ३३ प्रतिशत हिस्सा ओगटेको छ, जबकि अमेरिकामा यो केवल आठ प्रतिशत छ।

अहिले ६०० भन्दा बढी चिनियाँ विश्वविद्यालयहरूले एआई विषयमा स्नातक कार्यक्रम चलाएका छन्। आज विश्वका शीर्ष एआई अनुसन्धानकर्ताहरू मध्ये करिब आधा चिनियाँ मूलका छन् र ती मध्ये पनि धेरै त अब चीनमै काम गर्न रुचाउँछन्।

यी उपलब्धिहरू संयोगवश भएका होइनन्। यो चिनको तीन दशक लामो सरकारी प्रतिबद्धताको नतिजा हो। ‘प्रोजेक्ट ९८५ र डब्बल फस्र्ट क्लास कन्स्ट्रक्सन प्रोग्राम’ जस्ता योजना यसका उदाहरण हुन्। यसै वर्ष चीनले २०३५ सम्म देशलाई ‘वैश्विक प्रभावसहितको शैक्षिक शक्ति’ बनाउने राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ – विशेष गरेर एआई, सेमिकन्डक्टर, र रोबोटिक्समाको विकास मार्फत चीनले यो प्रगति हासिल गर्न चाहेको छ।

निश्चित छ, चीनको यो आकांक्षा पूर्ति गर्न केही चुनौतीहरू पनि छन्। अत्याधुनिक अनुसन्धान र नवप्रवर्तनको लागि बौद्धिक तथा शैक्षिक स्वतन्त्रता अपरिहार्य हुन्छ– जस्तै प्रचलित विचारको प्रश्न गर्न, नयाँ अवधारणा अन्वेषण गर्न र सोच्ने ढाँचा अद्यावधिक गर्न स्वतन्त्रता हुन आवश्यक हुन्छ।

आलोचकका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले विश्वविद्यालय र सञ्चारमाध्यममा गर्ने कडाइ र नियन्त्रण गर्न चाहन्छ र यस प्रकारको स्वतन्त्रताका लागि चीन उपयुक्त छैन।

जे जसो भए पनि, चीनले उच्च शिक्षामा लगानी गर्ने प्रतिबद्धता स्पष्ट देखिन्छ। उता अमेरिका भने विपरीत दिशामा जाँदैछ, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्रमुख विश्वविद्यालयहरू विरुद्ध युद्धको घोषणा गरेको छ। यस अन्तर्गत अनुसन्धानका लागि अर्बौं डलरको कोष रोकिने, हार्वार्ड र कोलम्बियाजस्ता संस्थाहरूलाई पाठ्यक्रम परिवर्तनदेखि त्यहाँ रहेका विविधता कार्यक्रम हटाउन दबाब दिने कार्यहरू समावेश छन्। साथसाथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गर्न र सीमित गर्न समेत पहल गरिएको छ।

यद्यपि अमेरिकी विश्वविद्यालयहरूले केही प्रतिरोध गरेका छन् तर उनीहरूले ठूलो हदसम्म आत्मसमर्पण गरेका छन्। अब अमेरिकामा उच्च शिक्षामा जनविश्वास घट्दो छ र विदेशी विद्यार्थीहरूको आवेदन दर तीव्र रूपमा घटिरहेको छ। ट्रम्प प्रशासनको आप्रवासन कडाइले यसलाई अझ चर्काएको छ। यी घटनाहरूले अमेरिकी शैक्षिक स्वतन्त्रता मात्र होइन, देशको दीर्घकालीन वैज्ञानिक, प्रविधि र आर्थिक अग्रतालाई पनि जोखिममा पार्ने निश्चित छ।

आशा गरौं, ट्रम्प प्रशासनको उच्च शिक्षामाथिको आक्रमण छोटो अवधिको लागि हुनेछ र अमेरिका फेरि शैक्षिक स्वतन्त्रताको प्रवद्र्धन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वागत र विश्वविद्यालयहरूलाई नवीन विचारहरूको केन्द्रका रूपमा समर्थन गर्न प्रतिबद्ध हुनेछ। चीनले विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न, विदेशी प्रतिभा आकर्षित गर्न र उद्योग–शिक्षा सम्बन्ध बलियो बनाउन लगानी गरिरहँदा, अमेरिका आफ्ना उपलब्धिलाई जोगाउन निश्चिन्त भएर बस्न मिल्दैन। प्रतिभा प्राप्ति र दिमागी युद्धको क्षेत्रमा देखिएको यो वैश्विक प्रतिस्पर्धा कसरी अघि बढ्छ भन्ने विषय महत्त्वपूर्ण छ। प्राविधिक नेतृत्व, आर्थिक शक्ति, र भू–राजनीतिक प्रभावलाई आगामी दशकहरूसम्म यही विषयले दिर्घकालिन असर गर्नेछ।

-ली जोङ–ह्वा कोरिया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्। उनी एसियाली विकास बैंकका पूर्व प्रमुख अर्थशास्त्री तथा दक्षिण कोरियाका पूर्व राष्ट्रपतिको लागि वरिष्ठ अन्तर्राष्ट्रिय आर्थिक सल्लाहकार थिए। (प्रोजेक्ट सिण्डिकेटबाट)

प्रकाशित: २ श्रावण २०८२ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App