सन् २०२५ अगस्ट २१ मा चीनको राष्ट्रिय ऊर्जा प्रशासनद्वारा प्रकाशित तथ्यांकअनुसार जुलाईमा चीनको कुल विद्युत् खपत १० खर्ब २२ अर्ब ६ करोड किलोवाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६ प्रतिशतले वृद्धि भएको हो। चीनको मासिक विद्युत् खपत १० खर्ब किलोवाट घण्टा नाघेको यो पहिलो घटना हो। साथै, कुनै देशको मासिक विद्युत् खपत १० खर्ब किलोवाट घण्टाभन्दा बढी हुनु विश्वमै पहिलोपटक हो। यसले जापान, जर्मनी, फ्रान्स र बेलायतजस्ता देशहरूको वार्षिक विद्युत् खपतलाई समेत उछिनेको छ।
‘स्पेस–एक्स’ का संस्थापक एलन मस्क र चिनियाँ लेखक लिउ छ–सिनले विश्व प्रसिद्ध काल्पनिक विज्ञान कथा ‘द थ्री बडी’ मा भनेका छन्– सभ्यताको विकासस्तर मापन गर्ने एउटा प्रमुख तरिका भनेको त्यसको कार्दासिएभ सूचकांकको प्रगति हो। यसको अर्थ हो, ऊर्जा दक्षता र ऊर्जा विकासको स्तर नै कुनै सभ्यताको विकासस्तर नाप्ने महत्वपूर्ण मापदण्ड हो।
उत्पादन क्षेत्रमा उपलब्धि
वर्षौंको विकास र निर्माणपछि चीनले कोइलामा आधारित विद्युत्लाई सन्तुलन प्रदान गर्ने तौल ढुंगा, जलविद्युत्लाई स्थिरता दिने आधार र आणविक तथा नयाँ ऊर्जालाई ‘दुई पखेटा’ बनाई व्यापक विद्युत् उत्पादन प्रणाली तयार गरेको छ। त्यसमा बतास र सौर्य ऊर्जामा उल्लेखनीय प्रगति भएको छ। सन् २०२४ मा चीनले ७९.९ गिगावाट नयाँ बतास ऊर्जा र २७८ गिगावाट नयाँ सौर्य ऊर्जा क्षमता थपेको छ।
सन् २०२४ सम्म चीनको बतास र सौर्य ऊर्जा विश्वको कुल क्षमताको ४७ प्रतिशत पुगेको छ। नयाँ थपिएको क्षमतामा भने चीनले विश्वको ६३ प्रतिशत हिस्सा ओगटेको छ। बतास र सौर्य ऊर्जा क्षमतामा चीन लगातार १० वर्षदेखि विश्वमै पहिलो स्थानमा छ। ऊर्जा उद्योगको पूर्वाधारमा आकार, संरचना र लचिलोपन सबैमा निरन्तर प्रगति हुँदै आएको छ, जसले आर्थिक विकासलाई अटुट शक्ति प्रदान गर्दै आएको छ।
प्रसारण र वितरण प्रणाली
‘चौधौं पञ्चवर्षीय योजना’ सुरु भएपछि राष्ट्रिय ग्रिडले जम्मा १८ हजार किलोमिटरभन्दा बढी विशेष उच्च भोल्टेज प्रसारण लाइन (१००० किलोभोल्ट वा सोभन्दा माथिको एसी र ८०० किलोभोल्ट वा सोभन्दा माथिको डिसी प्रविधि) निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।
सन् २०२५ अगस्टसम्म चीनमा विशेष उच्च भोल्टेज प्रसारण परियोजनाको कुल दुरी ५० हजार किलोमिटर नाघिसकेको छ। यो विश्वकै सबैभन्दा विशाल र आधुनिक विद्युत् ग्रिड प्रणाली हो। चीनको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म जोड्ने यी विशेष उच्च भोल्टेज प्रसारण परियोजनाहरू ऊर्जाका ‘राजमार्ग’ जस्तै बनेका छन्। यसले चीनको उत्तर–पूर्व, उत्तर र पश्चिम क्षेत्रमा उत्पादित बतास–सौर्य ऊर्जा, चीन–शा नदीको जलविद्युत् तथा तटीय क्षेत्रमा रहेको आणविक ऊर्जाको अन्तरक्षेत्रीय वितरणलाई कुशलतापूर्वक सम्भव बनाएको छ। यसले ‘जहाँ उत्पादन गर्ने हो त्यहीं खपत गर्नुपर्ने’ भौगोलिक समस्या मात्र समाधान गरेको छैन, विश्व ऊर्जा रूपान्तरण प्रक्रियामा पनि चिनियाँ समाधान प्रस्तुत गरेको छ। १० खर्ब किलोवाट घण्टा विद्युत् खपतको पृष्ठभूमिमा फेरि एकपटक ‘पूर्वाधार निर्माणमा उन्मादी’ उपनामद्वारा चिनिने चीनको पूर्वाधार निर्माणको जीवन्त कथा देखिन्छ।
ऊर्जा आपूर्ति र आर्थिक स्थिरता
आर्थिक गतिविधिको सहज सञ्चालन स्थिर र भरपर्दो ऊर्जा आपूर्तिविना सम्भव हुँदैन। विद्युत् आपूर्ति सञ्जालको स्थिरता भनेकै औद्योगिक वातावरणको गुणस्तर मापन गर्ने महŒवपूर्ण संकेत हो। कुनै देशको विद्युत् माग लगातार उच्च रहँदा विद्युत् प्रणाली कमजोर छ भने बारम्बार लोडसेडिङ हुन सक्छ, जसले औद्योगिक र आपूर्ति शृंखलामा ठूलो असर पार्छ।
तर चीनमा जुलाईमा माग तीव्ररूपमा बढ्दा पनि (जुलाई १६ मा देशको अधिकतम विद्युत् लोड पहिलोपटक १.५ अर्ब किलोवाट नाघ्दासमेत) राष्ट्रिय विद्युत् व्यवस्थापन प्रणाली व्यवस्थित ढंगले सञ्चालनमा रह्यो। देशका प्रमुख क्षेत्र र मुख्य उद्योगहरूमा कुनै प्रणालीगत विद्युत् अभाव देखिएन।
यस प्रकारको स्थिरताले राष्ट्रिय ऊर्जा सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयनलाई झल्काउँछ, विद्युत् व्यवस्थापन नियन्त्रण प्रणालीको वैज्ञानिक र कुशल सञ्चालन देखाउँछ र औद्योगिक वातावरण ‘स्थिर र प्रगतिउन्मुख’ छ भन्ने वास्तविक चित्र प्रस्तुत गर्छ।
बजारकेन्द्रित सुधार
आजको चीनमा विद्युत् बजारकेन्द्रित सुधार निरन्तर अघि बढिरहेको छ। उच्च–न्यून माग मूल्य प्रणाली अझ पूर्ण हुँदै गएको छ र बहुआयामी सहभागिताले विद्युत् आपूर्ति प्रणालीको लचिलोपन र दक्षता बढाएको छ। विद्युत् सञ्जाल व्यवस्थापन विभागले डिजिटल प्रविधिमार्फत् मागलाई सही रूपमा पूर्वानुमान गरी स्रोतहरूको अनुकूल वितरण गर्छ।
यसका कारण करोडौं व्यवसाय र परिवारहरू उष्णयाममा पनि कारखानाका मेसिनहरूको कोलाहलमा रमाउन र झिलिमिली बत्ती बाल्न सक्षम भएका छन् । यस्तो वातावरण विश्वव्यापी पुँजी आकर्षित गर्न र औद्योगिक स्तरवृद्धि गर्न महŒवपूर्ण प्रतिस्पर्धात्मक शक्ति हो।
औद्योगिक विद्युत् खपत
मुलुकभरको विद्युत् खपत वृद्धिमा औद्योगिक क्षेत्रको विद्युत् खपत सधैं प्रमुख स्थानमा रहँदै आएको छ । जुलाईमा दोस्रो उद्योग (निर्माण तथा उत्पादन) क्षेत्रको विद्युत् खपत ५.९ खर्ब किलोवाट घण्टा पुगेको छ, जुन गत वर्षको तुलनामा ४.७ प्रतिशतले बढेको हो। यसले चीनको उत्पादन उद्योगको पुनःउत्थान र निरन्तरताको प्रतिबिम्ब गर्छ।
उच्चस्तरीय उपकरण निर्माण, नयाँ ऊर्जामा आधारित सवारी साधन र इलेक्ट्रोनिक सूचना उद्योगजस्ता नयाँ क्षेत्रमा विद्युत् माग तीव्र रूपमा बढेको छ, जसले नयाँ प्रकारको उत्पादन क्षमताले छिटो आकार लिँदैछ भन्ने देखाउँछ।
त्यसैगरी, परम्परागत उद्योगहरूले प्राविधिक सुधार र हरित रूपान्तरणमार्फत ऊर्जा दक्षताको स्तर उकासेका छन्, जसका कारण प्रति एकाइ उत्पादनमा विद्युत् खपत घटेको छ । तर कुल उत्पादनमा वृद्धि भएकाले विद्युत् खपत समग्रमा अझै बढिरहेको छ । ‘परिमाणमा वृद्धि र गुणस्तरमा उन्नति’ को यो प्रवृत्तिले चीनको औद्योगिक प्रणालीको लचिलोपन र स्तरोन्नतिको बाटो स्पष्ट देखाउँछ।
चीनको औद्योगिक क्षमता
विश्व औद्योगिक शृंखलामा गहिरो समायोजन भइरहेको आजको सन्दर्भमा चीनको पूर्ण औद्योगिक वर्गीकरण र विशाल उत्पादन क्षमताको पृष्ठभूमिमा औद्योगिक विद्युत् खपत एउटा ‘वस्तुगत सूचक’ बनेको छ। यसले चीन निर्माण उद्योग क्षेत्रमा विश्वको केन्द्रका रूपमा रहेको स्पष्ट देखाउँछ।
औद्योगिक विद्युत् खपतको पछाडि केवल कार्यशालामा गुन्जिने आवाज वा उत्पादन लाइनको व्यस्तता मात्र होइन, त्यहाँ करोडौं कामदारहरूको मेहनत, पसिना र बुद्धिमत्ता पनि निहित छ । यही शक्ति नै ‘चीनमा बनेको’ बाट ‘चीनको बुद्धिमत्ताबाट बनेको’ तर्फको रूपान्तरणलाई अघि बढाउने शक्तिशाली इन्जिन हो।
निष्कर्ष
ऊर्जा उद्योगको पूर्वाधार निर्माण क्षमतादेखि लिएर विद्युत् सञ्जालको स्थिर सञ्चालनसम्म र औद्योगिक प्रणालीको प्रचण्ड शक्तिसम्म नियाल्दा चीनको विद्युत् खपत १० खर्ब किलोवाट घण्टा नाघ्नु पूर्वनिश्चित उपलब्धि हो भन्ने प्रस्ट देखिन्छ।
यसले चिनियाँ अर्थतन्त्रको बलियो आधार, विकासको प्रचुर गतिशक्ति र औद्योगिक उन्नयनको ठोस आधार प्रस्तुत गर्छ। भविष्यतर्फ हेर्दा हरित रूपान्तरण गहिरिँदै जाँदा र नयाँ प्रकारको उत्पादन शक्ति निरन्तर सशक्त हुँदै जाँदा चीनको विद्युत् वक्र रेखा अझ नयाँ उचाइमा पुग्ने देखिन्छ। चिनियाँ अर्थतन्त्रको ‘१० खर्ब शक्ति’ ले अझ प्रचण्ड ऊर्जा प्रवाहित गर्नेछ र विश्वको हरित रूपान्तरण तथा दिगो वृद्धिका निम्ति साझा अवसर प्रदान गर्नेछ।
–सङ नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत हुन्।
प्रकाशित: २० आश्विन २०८२ ०७:२४ सोमबार

